हामी कक्षामा त जान्छौं, पढाउँछौं। विद्यार्थीहरूलाई यो गर, त्यो गर भनेर भन्छौं। उत्साहित पनि हुन्छौं। तर उत्साह धेरै बेर टिक्न पाएको हुँदैन कि त्यो निराशामा परिणत भइदिन्छ। कारण, हामी शिक्षकले कक्षाकोठालाई व्यवस्थित गर्न सकेनौं।
आफूलाई आउने जे-जस्तो तरिका अपनाउँछौं, विभिन्न शिक्षक सहकर्मीलाई समेत सोध्छौं तर पनि प्रायःको कक्षाकोठा अस्तव्यस्त भइरहेको हुन्छ। विद्यार्थीहरूले तपाईंलाई ध्यान दिइरहेका हुँदैनन्। हल्ला भइरहेको हुन्छ। एउटा समूहलाई कन्ट्रोल गर्न खोज्यो, अर्कोपट्टि रहेकाहरू हल्ला गर्न थाल्छन्, चल्न थाल्छन् र अन्तिममा हार मान्छौं हामी। निराश हुन्छौं। यस्तो हुनुमा धेरै कुराहरूले प्रभाव पारिरहेको हुन्छ तर लेख पढ्दै जानुभयो भने चिन्ता लिनुपर्ने कारण खासै देखिँदैन।
मैले हालसालै काठमाडौं विश्वविद्यालयको प्रोफेसर डा. काशीराज पाण्डेले लेख्नु भएको किताब- थियोराइजिङ ट्रान्सफरमेटिभ लर्निङ पढेको थिएँ। त्यसमा उहाँले सरल र सटीक रूपमा आठ वटा बुँदा तयार पार्नुभएको छ जसलाई हामी शिक्षकहरूले प्रयोग गर्न सक्छौं आफ्ना कक्षाकोठालाई रुपान्तरण गर्न अर्थात् सुधार्नको लागि।
ती आठ वटा बुँदा म यहाँ लेख्छु र त्यसपछि यो आठ वटा बुँदाले कसरी मलाई कक्षाकोठा सुधार्न मद्दत गर्यो भनेर मेरो शिक्षण अनुभवलाई जोडेर बताउने छु।
१. विद्यार्थी र शिक्षकको जीवनलाई जोड्ने सिकाइ
प्रायः कक्षाकोठामा के भइरहेको हुन्छ भन्दा हामी पढाउने विषयमा मात्र तल्लीन हुन्छौं र त्यो पठन सामाग्रीलाई एकदमै झ्याउ लाग्दो तरिकाले पढाउँछौं। त्यही भएर विद्यार्थीहरूले ध्यान दिँदैनन् र अल्छी मान्न थाल्दा हल्ला हुन थाल्छ। यो विषय कक्षाकोठामा पढाउँदा यसले कसरी विद्यार्थी र शिक्षकको जीवनमा प्रयोग भएका छन् वा यसले कसरी असर गर्नेछ हाम्रो जीवनमा र त्यसै अनुरूपको उदाहरण पेश गरेर पनि कक्षाकोठालाई हामीले सुधार्न सक्छौं। भन्न खोजेको के हो भने यदि विद्यार्थी र शिक्षकको जीवनलाई जोड्ने खालको सिकाइ प्रयोग गर्यौं भने कक्षाकोठालाई सुधार्न सकिन्छ।
उदाहरणको लागि मलाई कक्षा आठको अङ्ग्रेजी विषयमा गणेशमान सिंहको बायोग्राफी पढाउनु छ भने त्यही बायोग्राफीको फर्म्याट प्रयोग गरेर हामी शिक्षकले हाम्रो आफ्नै बायोग्राफी भनेर बुझाउन सक्छौं र त्यसपछि उनीहरूलाई उनीहरूकै जीवनको लगायत घरमा हुनुभएका पाका उमेरका सदस्यहरूको बायोग्राफी लेखेर ल्याऊ भनेर पनि त्यसरी जीवनसँग जोडेर पढाउन थाल्दा कक्षाकोठा राम्रो भएका उदाहरणहरू छन्।
२. सामाजिक तथा रीतिरिवाजलाई प्रयोगमा ल्याएर सिकाइ
हाम्रा कक्षाकोठामा विभिन्न समुदायका विद्यार्थीहरू पढ्छन् र तिनीहरूले पालना गर्ने विभिन्न रीतिरिवाजहरू हुन्छन्। यो कुरालाई हामी शिक्षकले बुझ्न हेलचेक्र्याइँ गरिरहेका छौं। स्कुल वरिपरि भइकन पनि हामी विभिन्न ठाउँ, परिवेश, धर्म, संस्कृतिसँग आबद्ध भइरहँदा हाम्रा विद्यार्थीहरूले पनि कक्षाकोठामा विविधता खोजिरहेका हुन्छन्। तर उनीहरूको चाहनालाई नबुझेर पढाइरहँदा कक्षाकोठा अव्यवस्थित हुन पुग्दछ। हाम्रा कन्टेन्टहरूलाई उनीहरूको सामाजिक परिवेश र रीतिरिवाज अनुरूप विद्यार्थीहरूको ग्रुप बनाएर सोधीखोजी गर्न लाएर पनि कक्षाकोठामा राम्रो अनुभवको सिर्जना गर्न सक्छौं।
उदाहरणको लागि चाडपर्वको बारेमा पढाइरहँदा वा भनौं न समाजमा घटित घटनाहरूको बारेमा पढाउनुपर्यो भने एकल हुनसक्छ र ग्रुपमा पनि हुनसक्छ, उनीहरूलाई दसैँ कसरी मनाउँछौं? कस्तो चालचलन/रीतिरिवाज छ आआफ्ना घर तिर मनाउने? कुन मन्दिरमा पूजा, बलि चढाउन जान्छौ? लगायतका कुराहरू सोध्न सक्छौं र दसैँ मनाउने वर्ग एउटै भएँ/नभए पनि सबैको आआफ्नै रीतिरिवाज हुनसक्छन मनाउने। त्यसैगरी समाजमा राम्रा/नराम्रा घटनाहरू घटिरहँदा त्यस्तो अवस्थामा के गर्दा, कस्तो होला भनेर विद्यार्थीलाई नै सोच्न तल्लीन गरायौं भने पनि कक्षाकोठालाई व्यवस्थित रूपमा सुधार्न सजिलो हुने थियो।
३. सिर्जनशीलता र कल्पनाशीलतामा जोड
हाम्रा विद्यार्थीहरू एकसेएक छन्। उनीहरूका प्रतिभा पनि एकसेएक छन् तर हामी केही शिक्षकहरू अटेरी छौं। विद्यार्थीहरूको सिर्जनशीलता र कल्पशीलतामा हामी यति रुष्ठ छौं कि के भन्ने? कसैले केही बनाएर ल्याए त्यसमा खोट देखाएर हामी उनीहरूको आत्मबलमा चोट पुर्याइदिँदा उसले फेरि आँट्न नसक्ने गरी उसलाई थचारिदिन्छौं।
हिन्दी फिल्म 'थ्री इडियट्स'को उदाहरण यहाँ प्रस्तुत गर्न चाहन्छु। एकजना जोए भन्ने विद्यार्थीले ड्रोन बनाएर प्रोफेसरलाई देखाउँदा ती प्रोफेसरले खोट देखाइदिन्छन् र घरमा फोन गरेर तपाईंको छोराले नचाहिँदो कुरा बनाइरहेका छन्, सम्झाइ दिनुहोस् भनेर कुरा लाउँदा ती विद्यार्थीलाई फ्रष्ट्रेशन हुँदा उनी डिप्रेसनमा जान्छन् र आत्महत्या गर्छन्। प्रायः शिक्षकले त्यस्तै व्यवहार अन्जानमा गरिरहेको हुँदा हाम्रा सिर्जनशील र कल्पनाशील विद्यार्थीहरू कहिले फक्रिन पाउँदैनन्।
यदि हाम्रा विद्यार्थीलाई माया गरेर उत्साह थप्ने हो भने जस्तोसुकै समस्याको या प्रोजेक्ट वर्कको अनेकौं सिर्जनशील कामहरू गरेर देखाउने छन्। हामी आफै छक्क पर्नेछौं उनीहरूको सिर्जनशीलता देखेर।
४. सरल, सहज र सही शिक्षाशास्त्रको प्रयोग गरी सिकाइमा जोड
प्रायः कक्षाकोठा अव्यवस्थित हुनुको कारण भनेको पढाउने विषय सामाग्रीलाई हामी यस्तो अप्ठ्यारो बनाइदिन्छौं कि हाम्रा विद्यार्थीहरूले बुझ्नै सकिरहेका हुँदैनन्। बरू त्यहीं कुरालाई अघि १ र २ नम्बरको बुँदालाई जोडेर सरल तरिकाले पढायौं भने बुझिहाल्छन् नि हाम्रा विद्यार्थीले।
म अङ्ग्रेजी पढाउने शिक्षक, कतिपय कथा या ती किताबमा आउने पात्रहरूको नाम विदेशी खालको हुँदा विद्यार्थीहरूलाई गाह्रो लाग्ने गर्दछ। बरू पात्रको नाम उसले सुनेको, देखेको, संगत गरेको मान्छेको नाम राखेर र परिवेश पनि अलि हाम्रै ठाउँ तिरको जोडेर बुझाउने हो भने त सजिलै बुझ्छन् नि!
अर्को समस्या सरकारी तथा बोर्डिङ स्कुलमा मैले के पाएँ भन्दा पूरै अङ्ग्रेजीमा पाठ पढाउँदा धेरै विद्यार्थीले बुझिरहेका हुँदैनन् तर अलिकति नेपालीमा बुझाइदिँदा सहजै बुझ्छन्। भन्नुको अर्थ कहिलेकाहीं भाषाको समस्याले गर्दा पनि कक्षाकोठामा विद्यार्थीहरूलाई असहज हुँदा हाम्रा विद्यार्थी अलमलमा परिरहेका हुन्छन्।
अर्को भनेको हामी परिभाषा घोकाउनतर्फ लाग्छौं। बरू ती परिभाषाको आशय के हो, त्यो बुझाउन उदाहरण दियौं भने मात्र बुझ्छन्। यो भनिरहँदा मलाई 'थ्री इडियट्स' फिल्मको एउटा प्रसङ्ग याद आयो। एक शिक्षकले मेसिनको बारे पढाइरहेका हुन्छन् र आफ्ना विद्यार्थीलाई एकदमै अप्ठ्यारो गरी परिभाषा घोकाइरहेका हुन्छन्। उनले एकजना विद्यार्थीलाई सोध्छन्। उसले आफूले बुझेको कुरा भन्छ तर उसलाई ती शिक्षकले गाली गर्छन्, मिलेन भनेर। र अर्को विद्यार्थीलाई सोध्दा उसले रटेको परिभाषा भन्दा मिल्यो भन्छन्।
हाम्रो पनि प्रायः कक्षाकोठामा यस्तै भइरहेको हुन्छ। परिभाषा घोकाउनमा तल्लीन छौं तर त्यसले भन्न खोजेको आशय के हो, त्यसलाई सरल तरिकाले बुझाइरहेको नहुँदा विद्यार्थीमा डर पैदा हुँदा कक्षाकोठा अव्यवस्थित हुन जान्छ।
५. दिगो सिकाइको लागि सहभागितामा जोड
गर्नुपर्ने तर नगरिरहेका महत्वपूर्ण काम भनेको सहभागिता हो। विभिन्न मान्छे, निकाय, समुदाय, अभिभावक, पूर्वविद्यार्थी लगायत सबैको साथ चाहिन्छ स्कुल तथा कक्षाकोठालाई सबल बनाउन।
पूर्व विद्यार्थीको राय सल्लाह महत्वपूर्ण हुन्छ कक्षाकोठालाई सुधार्न किनकि उनीहरूले धेरै कुराको अनुभव गरिसकेका हुन्छन्- के राम्रो, के नराम्रो, कसरी पढाउँदा उपयुक्त होला, केलाई अलि व्यवस्थित गर्ने हो, कुन सर-मिस कस्तो हो लगायतका कुराहरू। स्कुलले पूर्व विद्यार्थीहरूलाई निरन्तर सम्पर्कमा राखेर उनीहरूको सहयोग लिने हो भने स्कुललाई विभिन्न कुरामा सहयोग मिल्नेछ।
एउटा उदाहरण- स्कुलमा शिक्षकको अभाव छ, अब तुरुन्तै पढाउन अर्को शिक्षक नियुक्ति गर्नुपर्ने हुँदा यदि पूर्व विद्यार्थी हाम्रो सम्पर्कमा हुनेछन् र उनीहरू त्यो विषयलाई राम्ररी पढाउन सक्नेछन् भने किन ती पूर्व विद्यार्थीलाई बोलाएर उसको सहयोग नलिने? स्कुलको पनि भलो हुने थियो र ती पूर्व विद्यार्थीले पनि पारिश्रमिक पाउने थिए। दुवैलाई फाइदा। यसरी पनि सोच्नुपर्ने बेला आएको छ। यसो गरेमा पूर्व विद्यार्थीलाई पनि गर्व महसुस हुनेछ आफूले पढेको स्कुलको लागि केही योगदान पुर्याउन सकेकोमा।
त्यस्तै कक्षाकोठामा पनि बेलाबेला विभिन्न पठन सामाग्रीसँग मिल्ने आफ्नै वरिपरिका विज्ञहरूलाई बोलाएर त्यो विषयको ज्ञान दिन लाए कति जाति हुने थियो। विद्यार्थीले प्रत्यक्ष रूपमा ती विषयको बारेमा विज्ञहरूसँग त्यही बेला पढ्न र बुझ्न पाउँदा कक्षाकोठाको अनुभव एकदमै राम्रो हुने थियो। यो मात्र हैन, अन्य समाजमा भएका स्कुल र विद्यार्थीहरूसँग सम्बन्धित निकायलाई संलग्न गराउन पाए कक्षाकोठाको सिकाइलगायत विद्यालयको चर्चा अन्य ठाउँसम्म पुग्ने थिए र ती विद्यालयले पनि सिक्ने थिए। यो विषयमा तपाईं हामी सबै लागिपर्ने पो हो कि!
६. एकअर्काप्रति सद्भाव, माया र विश्वासमा विकास
हामीले हाम्रो कक्षाकोठालाई विभिन्न नकारात्मक कुराहरूबाट टाढा राख्नुपर्ने हुन्छ। जस्तै जातीय भेदभाव, लिङ्गको आधारमा भेदभाव, रङ्गको आधारमा भेदभाव, छालाको आधारमा भेदभाव, बलियाले कमजोरलाई गर्ने भेदभाव, जान्नेले नजान्नेलाई, धर्मको आधारमा भेदभावलगायत अन्य थुप्रै भेदभाव। यदि त्यस्तो भेदभाव कायम रह्यो भने हाम्रा स्कुल, कक्षाकोठामा सधैं द्वन्द्व चलिरहनेछ। डर र त्रासको वातावरणको सिर्जना हुनेछ।
जो आफूलाई कमजोर ठान्छन् उनीहरू विद्यालय आउन छाड्नेछन्। त्यस्तो अवस्था सिर्जना हुन नदिन तपाईं हामी सबै सरोकारवालाहरू सचेत हुनुपर्नेछ। त्यसको साथै एकअर्काप्रति सद्भाव, माया र विश्वासको वातावरण बनाउन सक्नुपर्छ। कोही विद्यालय आउँदा उसलाई केही कुराको डर नहोस्। आफूलाई सुरक्षित महसुस गर्न सकोस्। उसलाई सम्मान गरेको अनुभूति होस्। यदि त्यस्तो गर्न सके हाम्रो स्कुल र कक्षाकोठा आफै सुध्रिनेछ।
७. आलोचनात्मक प्रतिबिम्ब, खोज गर्ने दक्षता र सशक्तीकरणमा जोड
हामीले विद्यार्थीलाई सूक्ष्म तरिकाले सोच्न सिकाएनौं। यो पढेपछि केमा काम लाग्छ अथवा यसले हाम्रो जिन्दगीमा कहाँ-कहाँ प्रभाव पार्न सक्छ भनेर आलोचनात्मक प्रतिबिम्ब गर्न सिकाएनौँ। हामीले विद्यार्थीलाई खोज अनुसन्धान गर्न सिकाएनौँ। किताबमा जे छ त्यही हुबहु रट्न सिकायौं तर त्यही कुरा कसरी लेखिएको रहेछ, कहाँ-कहाँ लेखक गएका रहेछन्, के गरेछन्, कसरी लेखेछन् भन्ने खालको खोज गर्न सिकाएनौँ जसले गर्दा हाम्रा विद्यार्थीहरू मेसिन सरह हुन पुगेका छन्।
यस्तो क्रियाकलापले कसरी विद्यार्थीहरूको जीवनमा प्रभाव पार्न सकिएला र उनीहरूबाट राज्यले के अपेक्षा राख्ने? फेरि हामीले सामाजिक, गणित, विज्ञानका कुरा पढायौँ तर जीवन उपयोगी कुराहरू काम लाग्ने जस्तै- बिजुलीको तार सट हुँदा त्यसलाई बनाउने तरिका, घरमा धारा बिग्रिँदा धारा बनाउने सीप, खाना बनाउने, लुगा धुने सीप, गाडी चलाउने सीप, जुत्ता सिलाउने सीप, पढाउने सीप। यी सुन्दा कस्तो कस्तो लाग्ला तर यी सीपहरूले उसलाई पैसा कमाउन मद्दत गरेर उसले आफ्नो जिन्दगी चलाउन पाउनेछ।
विज्ञान, गणितका फर्मुला रटेर उसको सर्टिफिकेटले केही सहयोग त गर्ला तर यत्ति मात्रले उसको जिन्दगी नचल्ने हुँदा यस्तो पढाइले ती विद्यार्थी र हाम्रो जीवनमा खासै प्रभाव पर्ने छैनन्। बरू उसलाई राम्ररी अन्तर्वाता लिन सिकाउने, क्यामेरा खिच्न सिकाउने, राम्रो कसरी देखिने भन्ने खालको कुरा पनि सिकाउने ताकि उसले ती सीप सिकेर सामाजिक संजालमा आफ्ना कन्टेन्ट राखेर जीविकोपार्जन गर्न सकोस्। भलै यो कुरा पछि पुरानो होला उसले अर्कै कुरा सिक्नु पर्ने होला तर अहिलेको आवश्यकता त त्यो हो नि।
भन्न खोजेको विद्यार्थीलाई सशक्त गर्न सक्यौं र त्यसैगरी आफूले गरेका, पढेका, सुनेका, जानेका, बुझेका कुरालाई आलोचनात्मक प्रतिबिम्ब गर्न तथा ती कुराहरूको खोज गर्न सिकायौं भने कक्षाकोठा मात्र त के, स्कुल, कलेज र अन्य सबै ठाउँहरू सुध्रिनेछ।
८. भावनात्मक, बौद्धिक र कलात्मक विकासलाई उजागर
हामीले अन्य पक्षहरू पनि सिकाउनु पर्नेछ हाम्रा विद्यार्थीहरूलाई। जस्तै- भावनात्मक विकास। मान्छेमा विभिन्न संवेग हुन्छन्- खुसी, रिस, राग, इगो, दया, माया, घृणा, उत्ताउलोपना, नैराश्यपनलगायत अन्य थुप्रै संवेग। त्यस्तो अवस्थामा आफूलाई कसरी नियन्त्रण गर्ने? त्यस्तो अवस्थालाई कसरी सहजीकरण गर्ने खालको कुरा सिकाउन जरुरी छ अबको दिनमा।
यस्ता कुरामा ध्यान नदिँदा धेरै दुर्घटनाहरू घटेका थिए, घटिरहेका छन् र घटिरहने छन्। ठूल्ठूला मान्छेले त आफ्ना भावनासँग जुझ्न गाह्रो भइरहँदा हाम्रा सानासाना बालबालिकालाई कस्तो हुने हो? त्यसको बारेमा बहस गर्न जरुरी छ। त्यसैगरी विभिन्न समसामयिक विषयहरूको प्रश्न गरेर उनीहरूको बौद्धिक विकासमा टेवा पुर्याउनु पर्ने अहिलेको जरूरत हो। विभिन्न कोणबाट त्यस प्रश्नलाई हेर्न र त्यसको समाधान पनि खोज्न लाउनुपर्ने अहिलेको आवश्यकता हो।
हाम्रा विद्यार्थीहरूमा विभिन्न अद्भूत क्षमता हुँदा उनीहरूको कलात्मक विकासमा जोड दिनुपर्ने हुन्छ। कसैले लेखाइमार्फत आफ्नो कुरा प्रस्तुत गर्न सक्छन् त कसैले चित्रकलामार्फत, कसैले क्यामेराको अगाडि भिडिओमार्फत, कसैले गीत संगीत र नृत्यमार्फत, कसैले पाककलामार्फत। यी कुराहरूमा हामी शिक्षकहरूले कमै ध्यान पुर्याएका हुन्छौँ जसले गर्दा हामीले सबैलाई एउटै खालको व्यवहार गर्दा, त्यही खालको प्रश्न सोध्दा, परीक्षा लिँदा विद्यार्थीहरूमा समस्या पाउँछौ, जुन समास्या तपाईं हामी शिक्षाले गर्दा उत्पन्न भइरहेको हुन्छ।
यदि उनीहरूको भावनात्मक, बौद्धिक र कलात्मक विकासलाई उजागर गर्न सक्यौं भने हाम्रा स्कुल, कक्षाकोठा आफै सुधारतर्फ लम्किनेछ।
यी केही कुरा मैले मेरो शिक्षण अनुभवमा हासिल गरेको हुँ कक्षाकोठा सुधारका निम्ति। अर्को भन्नुपर्ने कुरा भनेको हामी शिक्षकमा पढ्ने, खोज अनुसन्धान गर्ने बानी निकै कम छ। त्यसलाई विकास गर्न सके, आफूमा निहित प्रतिभाहरू कक्षाकोठामा लान सके र विद्यार्थीहरूलाई पनि आफ्ना प्रतिभा देखाउन उपयुक्त वातावरण सिर्जना गर्न सके कक्षाकोठा आफै रमाइलो तरिकाले सिक्ने सिकाउने ठाउँ बन्न सक्छ।
विद्यार्थीहरूलाई विभिन्न कुराजस्तै- खेल, साहित्य, इको क्लब, टिचिङ क्लब, चाइल्ड क्लबलगायत अन्य क्लबको नेतृत्व लिन प्रेरित गर्न सके हाम्रा कक्षाकोठाहरू जल्दाबल्दा नेतृत्वकर्ता जन्माउने थलोको रूपमा पनि बन्न सक्नेछ। भन्नाले हाम्रा स्कुल र त्यहाँका कक्षाकोठाहरू सबैले तारिफ गर्न लायक र हाम्रा कक्षाकोठाबाट अन्यले सिक्न लायक हुने थिए।
(लेखक टिच फर नेपालको अलुम्नाई र हाल रूपान्तरणमुखी सिकाइ सहजकर्ताको रुपमा कार्यरत छन्।)