दैलेख जिल्लामा पर्ने बेस्तडा बजारमा दुई दिनदेखि निरन्तर परेको झरीले मेरो मनमात्र विचलित पारेको छैन, यसले गर्दा न फोनमा राम्रो नेटवर्क छ, न त इन्टरनेट नै चलेको छ।
सधैं बिहान उठेर मोबाइल चलाउने साह्रै नराम्रो बानी। तर आज इन्टरनेट नचलेको हुनाले फोन चलाउन छोडेर झ्याल खोली बाहिर हेर्न थालें।
शान्त भएर बर्सिरहेको झरी। झरीजस्तै शान्त भई यसलाई धेरैबेर नियालिरहें। नियालेर धीत मरेन। आँखा खोलेर हेरें, आँखा बन्द गरेर सुनें। हृदयबाट स्पर्श पनि गरें। प्रत्यक्ष नरूझी रूझेको महशुस भइरह्यो।
शान्तसँग निरन्तर पल्लो घरको छानामा खसिरहेको पानीको थोपाले उत्पन्न गरेको सुन्दर ध्वनिले मेरो विचलित मनलाई केही शान्त बनाइरहेको थियो।
झ्याल खोल्नेबित्तिकै देखिने पारि वनको डाँडा र जंगलको हरियो दृश्य एकदम मनमोहक लाग्यो। झ्यालबाट त्यो पारिको वन हेर्न थालेको महिनौं भए पनि यसअघि यति गाढा हरियो लागेको थिएन। यति सुन्दर कहिले पनि देखेको थिइनँ। डाँडा र जंगललाई यति नियालेर हेरेकै रहेनछु सायद।
पानीले छपक्कै ढाकेर सेतो देखिएको आकाश, त्यसको तल हरियो वनमा उडिरहेका सेता बादल अनि खसिरहेका पानीका मसिना थोपाहरू धेरैबेरसम्म नियालिरहेँ। झरी यति सुन्दर मलाई कहिले पनि लागेको थिएन।
तराईमा यस्तो दृश्य देख्न नपाइने भएकोले पनि होला मलाई मनसुनमा पहाड अनि त्यहाँ उड्ने बादलको दृश्यको असाध्यै लोभ लाग्छ। आँखा थाकुन्जेल हेरिरहुँजस्तो।
एकनास झरीको मज्जा लिँदै गर्दा मानसपटलमा बाल्यकालको समयमा पुर्याइदिने घटना सम्झना बनी आउन सुरू गरे।
मन बेस्तडा बजारबाट एक्कासि सर्लाहीमा रहेको मेरो गाउँमा पुग्यो।
तराईमा प्राय: माटो र काठले बनेका घरहरू हुन्छन्। हाम्रो काठले बनेको २ तलाको घर थियो। भुइँ कतै काठ र कतै माटोले बनेको थियो भने छाना खपडाले छाइएको थियो। खपडा, माटोबाट बनाइन्छ। मेरो गाउँमा खपडा दनुवार समुदायका मानिसले बनाउने गर्थे।
यसलाई अहिले सिमेन्टको टायल तथा जस्ताले विस्थापित गरिसक्यो र दनुवार समुदायका व्यक्तिहरू पनि त्यो पेशाबाट विमुख भइसके। अझ अहिले त धेरै काठका घरभन्दा पनि सिमेन्टका कंक्रिट घरहरूले गाउँलाई सहरको झल्को दिने बनाइसक्यो।
करिब ५०-६० घर दनुवार समुदायका मानिसहरू गाउँको एक कुनामा झुण्ड बनाइ बसेका थिए। उनीहरूमध्ये धेरैको घरबाहेक अरू खेती गर्ने जमिन थिएन। उनीहरू त्यहाँका आदिवासी भएता पनि सिन्धुली, रामेछाप आदि पहाडी भेगबाट बसाइ सरेका क्षेत्री, ब्राह्मणहरूले उनीहरूसँगै जमिन किनेर आफ्नो बस्ती विस्तार गरे। उनीहरू चाहिँ विस्थापित भई खोला नजिक साँघुरो क्षेत्रमा बसोबास गर्छन्। इँट्टा भट्टाको निर्माणपश्चात् त्यहाँ ज्याला मजदुरी गर्नु तथा माछा मार्ने काम उनीहरूको मुख्य पेशामा पर्छ।
पानी झमझम परिरहेको थियो। रोपाइँ सकिसकेको थियो वा थिएन मलाई उति राम्रो याद भएन। त्यो बेला म करिब ६-७ वर्षको थिएँ होला।
गाउँमा सम्पन्न मानिने एक व्यक्तिको घरमा मात्र टेलिभिजन थियो। महिनाको कुनै एउटा शनिबार दिउँसो नेपाली चलचित्र आउँथ्यो सायद। बाटोमा धेरै जना हरियो, निलो, गुलाबी रंगका रंगीचंगी प्लास्टिक ओढेर हतारिँदै त्यतै जाँदै थिए।
मेरो आमा र बुवा भने गोठमा मकै छोडाउँदै हुनुहुन्थ्यो। म पनि उहाँहरूलाई सघाउन पुगेकी थिएँ।
धेरै दिनदेखि झरी परिरहेको हुनाले खपडा रसाएर जताततै चुहिरहेको थियो। खपडाले छाएका घर यस्तै हुन बर्खामा। बुवाले बेला-बेलामा पानी नचुहियोस् भनेर खपडालाई यताउति सार्दै मिलाइरहनु भएको थियो। त्यै पनि बुवाको देब्रे पाखुरामा पानीका थोपा निरन्तर खसिरहेका थिए। बुवा त्यसको पर्वाह नगरी मकै छोडाइरहनु भएको थियो।
हाम्रो घर अलि भित्र र बाटो छेउमा गोठ थियो। दुई तलाको गोठमा तल गाई, भैंसीहरू बाँध्ने र माथि घाँस, पराल, अन्नहरू राख्नका लागि भकारी तथा एक छेउमा जाँतो पनि त्यहीँ बनाइएको थियो।
असार, साउनमै हो आमाले गोठको छेउमा कुडो पकाउन बनाइएको ओदानीमा मकै पोल्दै हामीलाई दिँदै गर्नु हुन्थ्यो। नुन र हरियो खुर्सानी पहिले नै पिसेर राख्नुभएको हुन्थ्यो। अनि हामी आमाले पालैपालो पोलेर दिनु भएको मकै खाँदै रमाउथ्यौं।
चुल्हो गोठको छेउमै थियो र त्यसको आडैमा नरिवलको रूख। नरिवलको पातबाट झरेको पानीले अलि-अलि रूझिन्थ्यो तर पनि ओदानीको भुङ्ग्रो नजिकै बसेर पोलेको मकै खानुको मज्जा नै बेग्लै थियो। साह्रै रमाइला थिए ती दिनहरू।
झरीको समयको अर्को धेरै याद आउने चाहिँ रोपाइँको लागि हलो र जुवा बोकेर एक हल गोरुलाई अघि लगाउँदै खेततिर जान लाग्नु भएको मेरो बुवाको दृश्य हो।
दैवज्ञराज न्यौपानेद्वारा रचित ‘किसान’ कविताको चित्रमा भएको किसानजस्तै। अब त्यो दृश्य सम्झनामै सीमित रह्यो। म सानै हुँदा बुवा बित्नु भयो। अब न त्यो झरी फर्केर आउने छ, न त बुवा हलो बोकेर खेततिर नै लाग्नु हुनेछ।
हाम्रो १६ कठ्ठा भन्ने खेत थियो। त्यहाँ सबैको १६/१६ कठ्ठा जमिन भएकोले त्यसको नाम नै १६ कठ्ठा राखिएको हो। यो वल्लो छेउदेखि तल खोलाको बगरसम्मै फैलिएको थियो। सबैको भागमा बराबरी जमिन। त्यहीँको अन्नले हाम्रो ६ जनाको परिवारलाई लगभग वर्षभरि खान पुग्थ्यो। हुन त हाम्रो अरू ठाउँमा पनि जग्गा जमिन नभएको होइन तर त्यो खेतसँग निकै आत्मीय सम्बन्ध गाँसिएको थियो, मेरो अनि मेरो परिवारको।
घरबाट नजिक, घाँस र स्याउला लिन म, मेरी आमा र दिदीहरू सधैंजसो जाने ठाउँ, धेरै उब्जाउ हुने जमिन अनि धेरै यादहरू भएको ठाउँ। हाम्रो धेरै थोक थियो त्यो जमिन। मेरो ठूल्दिदीले भन्नुहुन्थ्यो, ‘दिउँसो १२ बजे एक्लै घाँस काट्न जाँदा पनि डर लाग्दैन।’
मान्छे, सर्प, भूत केहीको पनि डर लाग्दैन थियो रे।
अहिले पनि म त्यहीँ गएको, त्यहाँ तलको खोलामा दाजुसँग माछा मर्न गा’को अनि काठमाडौंका साथीहरूसँग पनि त्यहीँ पुगेको, यस्तै कुराहरू सपनामा देखिरहेको हुन्छु। आजको झरीसँगै १६ कठ्ठा अनि त्यहाँको रोपाइँ पनि याद आयो।
म छिटो-छिटो धान रोप्न त जान्दिनँ तर काम चलाउ सिकेकी थिएँ, मेरी आमा तथा दिदीहरूले रोपेको देखेर। रोपाइँमा अलि-अलि धान रोपेझैं गर्ने, हिलो खेल्ने अनि गंगटो र माछा समात्ने काम हुन्थ्यो म र मेरो दाजुको। गंगटाहरू टन्नै पाइन्थ्यो। मेरो दाजु खुबै सिपालु थियो माछा मार्न अनि गंगटा समात्न। हातैले समाउँथ्यो।
एक पटक धान काट्ने समयमा दाजु र म त्यहीँको खोलामा माछा समात्न गयौं। खोला सानो तर पानी संग्लो थियो। कत्रो ठूलो माछा भनेर मैले नै देखाएको थिएँ उसले हातले समाउन लागेको त पानीमा बस्ने सानो सर्प पो रहेछ। त्यसपछि हाम्रो सातो उडिहाल्यो अनि अगाडि नै समातेका स-साना ४-५ वटा माछा लिएर फर्कियौं। माछा पनि यति साना कि डाडुमा त पकाउथ्यौं, घर छेउका अरू २-४ जना साथीहरू नि जम्मा हुन्थे भागमा कति नै पर्थ्यो होला र तै पनि खुब मीठो मानेर खान्थ्यौं।
मलाई रोपाइँको सबभन्दा मनपर्ने कुरा खाजा थियो। आमा गहुँको रोटी, गेडागुडीको तरकारी अनि छोप हालेको प्याजको अचार र दही र मोही लिएर आउनुहुन्थ्यो। भिजेर निथ्रुक्क भएकी मलाई खाजा खाइसकेर घरतिर दौडिन हतार हुन्थ्यो। आज परेको झरीले मलाई मेरो बाल्यकालको रोपाइँको सम्झनालाई ताजा गरिदियो।
अहिले त मेरो गाउँमा खासै रोपाइँ हुन्न। म सानो छँदै धान र मकैलाई उखुले विस्थापित गर्न सुरू गरिसकेको थियो। इन्दुशंकर चिनी मिलले धान फल्ने खेतहरूलाई विशाल उखुघारीमा परिणत गरिदिएको छ। हुन त त्यसले त्यहाँको मानिसहरूको जीवनस्तर उकास्न केही सहयोग पनि गरेको छ।
अरू बालीबाट सय र हजारमा पैसाको कारोबार हुने किसानहरूले उखु खेतीबाट एकैपटक एक लाखभन्दा बढीको रसिद लिएको मलाई जानकारी छ। बाल्यकालमा मेरो आफ्नै घरमा पैसाको अभाव देखेकी थिएँ। दूध बेच्दा डेरीबाट महिनाको रु १००० देखि १५०० तथा अन्न बेचेर केही हजार रकम प्राप्त हुन्थ्यो तर उखुबाट एकै वर्षमा लाखभन्दा धेरै आम्दानी भएको याद छ मलाई।
झम्किएर वर्षिरहेको झरीले फेरि यो मनलाई दैलेखको रोपाइँतिर डोर्यायो। मैले पहिलो पटक पहाडको रोपाइँ हेर्न र अनुभव गर्ने अवसर पाएँ। सँगै काम गर्ने क्रममा नजिकिएकी मित्रले यहीँ बेस्तडाबाट करिब ३ घण्टा हिँडेपछि पुगिने सिडाँडा भन्ने ठाउँमा रोपाइँका लागि म र मेरी सहकर्मीलाई निमन्त्रणा दिएकी थिइन्।
यहाँ गरिने रोपाइँ तराईको भन्दा केही फरक लाग्यो। यतातिर खाजामा पुरी बनाउने चलन रहेछ। साथीकी भाउजूले ४० जना जतिलाई खाजा बनाउनुपर्छ भन्नुभयो।
मलाई अचम्म लाग्यो कति धेरै खेताला, खेत पनि धेरै नै रहेछ क्यारे! हाम्री साथी, भाउजूसहित हामी दुई भएर बिहान ११ बजेदेखि पुरी तरकारी र अचार बनाउन लाग्यौं। सुधारिएको चुल्हो (दाउरा कम प्रयोग हुने र धुँवा सानो चिम्नीमार्फत् भान्छा बाहिर पठाउने गरि बनाइएको आधुनिक चुल्हो) नै रहेछ। तर कोठा सानो, झ्याल पनि नभएको तथा दिउँसो हावा चलेको हुनाले धुँवा जति भान्छाभित्र नै घुमिरहेको थियो। धुवाँले साह्रै गाह्रो बनायो।
धेरै वर्षपछि आगोमा खाना बनाएकोले रमाइलो त लाग्दै थियो तर आँखा पनि खुबै मिच्न पर्यो। आँखा मिच्दै करिब ३ घण्टा लगाएर खाजा तयार पारेर हामी खेततिर लाग्यौं। खेत घरबाट ५ मिनेटकै दूरीमा रहेछ। ४-५ रोपनीमा रोपाइँ थियो होला, भिरालो जमिन अनि साना-साना गह्रा। हलो जोत्ने र बाउसे गर्ने १५-१६ जना अनि रोप्ने चाहिं २२-२३ जना। साना गह्रा भएकोले होला काम गर्न ढिला र गारो भएको। दुई जना पनि नअट्ने सम्म गह्रा पनि थिए। मलाई लाग्छ, हाम्रो खेतमा रोपाइँ हुँदा २ जनाले जोत्ने अनि १-२ जनाले आली लाउने (बाउसे गर्ने) र ८-९ जनाले रोपेर एक दिनमै १४-१५ कट्ठाको फाँट सकिन्थ्यो।
हामीले सबैलाई खाजा दियौँ। सबैभन्दा पहिले बाउसे गर्ने तथा खेत जोत्नेलाई दिइयो। ५-७ साना बच्चाहरु पनि थिए। उनीहरुलाई पनि दियौं। त्यसपछि रोपारुहरुको पालो आयो। सबैलाई खाजा दिइसकेपछि हामी पनि रोपाईमा लाग्यौँ।
सिमसिम पानी परि नै रहेको थियो। काठमाडौँबाट आएको भन्ने थाहा पाएर रोपारुहरु “धान रोप्न त आँउछ?” भनेर जिस्काउँदै थिए मलाई।
'किन नआउनु नि?' भन्दै बिउ लिएर रोप्न लागें।
एक जनाले साँखु (पानीबाट जोगिन बाँस र भित्र प्लास्टिक हालेर बनाइएको ओढ्ने, तराईमा यसलाई घुम भनिन्छ) दिनुभयो।
मैले रोप्न सुरू गर्ने बित्तिकै एक जना बाजेले कसरी थाहा पाउनु भयो कुन्नि!
'कहाँ तराईको जसरी रोपेर हुन्छ त?' भन्नुभयो।
अनि साथीकी दिदीले रोप्न सिकाइदिनु भयो। यहाँ एउटा मात्र बिउ लिएर बाक्लै रोपिने रहेछ। मेरो अनुभवमा हाम्रोतिर ३-४ वटा बिउ एकै ठाउँमा लिएर अलि पातलो रोप्ने चलन थियो।
धेरैपछि धान रोप्न पाएर रमाइलो लागिरहेको थियो। सँगसँगै तराईको धान रोपाइँसँग तुलना पनि गरिरहेकी थिए। हाम्रोतिर घरकै मान्छे, केही आफन्त र प्राय: खेताला लगाएर धान रोपिने चलन थियो। यतातिर पर्मको चलन रहेछ। सबैको खेतमा पालैपालो रोपाइँ हुने रहेछ।
यहाँको रोपाइँ देख्दा मलाई दुख र लगानी धेरै तर त्यसको प्रतिफल भने कम आउने रहेछ जस्तो लग्यो। ४/५ रोपनीको खेतमा ३०-४० जना खटिएका छन्, खाजा खर्च, मेहनत सबै हेर्दा त्यहाबाट प्राप्त हुने लगभग २-३ क्विनटल धानले कसरी लाभ लिने होला? म सोचिरहेँ। उनीहरुलाई सोधें पनि त्यति धानले वर्षभरि खान पुग्छ त ? अनि उत्तर थियो कहाँ पुग्नु नि !
अहिलेसम्म पनि प्राचीन खेती पद्धति नै लागु छ, जसमा मेहनत, समय र लगानी धेरै तथा प्रतिफल भने कम। यसमा बिस्तारै परिवर्तन आउँला भन्ने सोच्दै थिएँ गडगडाएर ठूलो पानी पर्न थाल्यो। एकछिन धान रोपेर रोपाइँ, खेत र खेतपछाडिको डाँडोमा देखिएको झरना (खहरे) लाई क्यामेरामा कैद गर्दै फर्कियौं।
साथीकी भाउजु पनि हामी सँगै आइन्। उनको १० महिनाको बाबु छ। तर साथीको दिदी र अरु रोपारुहरु अझ २-३ घण्टा पछि रोपाइँ सकाएर मात्र घर फर्किए त्यस दिन।
आजको झरीले एकै पटकमा मलाई मेरो गाउँ, त्यहाको झरी, रोपाइँ र मेरो बाल्यकाललाई ब्युँताइदियो। म धेरैबेर बाल्यकालतिरै हराएँ। शनिबारको दिन भएकोले झ्यालबाट शान्त झरीलाई हेर्दै ढिलासम्म बिस्तरामै पल्टिरहेँ।
झ्यालबाहिर पारी वनको डाँडा र जंगलको हरियो झन् झन् गाढा, झन् झन् सुन्दर देखिइरहेको थियो।