आजकलको जमानामा प्रेमिका नहुने को नै होला र!
धेरै जसो नवजवान केटाकेटीहरू लभमा परेका हुन्छन्। लभमा पर्नुलाई जिन्दगीले लय समातेको तरिकाले नै व्याख्या गर्दा ठिकै होला! जति लभ पर्छ उति धेरै ब्रेकअप हुने संख्या बढ्ने नै भैहाल्यो। अनि बिछोड पछिको जिन्दगीमा चाहिँ भूतपूर्व भएका प्रेमी वा प्रेमिकाको स्थान चाहिँ के नि? भनेर कसैले सोध्यो भने- उत्तरमा नाक खुम्च्याउनुबाहेक केही रहँदैन!
अर्थात् भूतपूर्व भएपछि एकअर्काका लागि उनीहरूको अस्तित्व सकियो। तर यति मूल्यहीन भूपू किन हुन्छन् माया प्रेममा। उता राजनीति, निजामतीदेखि लिएर पुलिस, आर्मीहरूको हेर्नुस् त भूपूको इज्जत!
भूपू भयो भन्दैमा प्रधानमन्त्री मन्त्रीहरूको साख गिराउने काम गर्छ र सरकारले? कति प्रतिष्ठाका साथ नाम उच्चारण गर्छ। तर प्रेम र राजनीति उस्ता उस्तै भनिएता पनि यो भूपूको केसमा धेरै फरक देखिन्छ।
के तपाईंले अझै पनि तपाईंकी भूतपूर्व प्रेमिकालाई त्यति नै इज्जत वा नसके पनि अलि कमसम्म दिन सक्नुभएको छ? वा बाटोमा देखे पनि मुन्टो बटारेर हिँड्नुहुन्छ? वा फेसबुक, इन्स्टामा ब्लक गरेर मन शान्ति गरिराख्नु भाछ?
म दुइटा आएका ट्रोलबाट कुरा सुरू गर्छु।
एउटा हालसालै गएको नाग पञ्चमीमा धेरैले आफ्नो पूर्वप्रेमिकालाई नागसँग तुलना गरेर ट्रोलहरू सेयर गरे। जुन कुनै कोणबाट पनि चित्ताकर्षक देखिँदैन, सुनिँदैन।
अर्को कुरा साउने सोमबारमा व्रत बसेका कन्याहरूप्रति कटाक्ष गर्दै 'अर्कैको एक्स भएर पनि चोखो केटा पाउन, के ब्रत बस्छ्यौ?' सम्म भनेर ट्रोल गर्न भ्याए।
यी ट्रोल भए पनि भूपू प्रेमिकाप्रति आमयुवाहरूको धारणा कति नाजुक छ पत्ता लाउन सकिन्छ।
केही अघि म काठमाडौंबाट पोखरा आउँदै गर्दा बसमा मभन्दा पछाडि बसेका दुई जना केटाहरूबीच भएको कुरा सुन्दै थिएँ।
एउटाको भर्खर बिछोड भाको रैछ। अनि बिछोडवाला केटा भन्दै थ्यो-'यार, आजकल त मलाई त्यो केटी कत्ति मनपर्दैन। याद आएजस्तो भएर यसो फोटो हेर्दा नि कस्ती सँग लभमा परिएछ जस्तो हुन्छ। टाइमपास चाहिँ राम्रैसँग गरियो। तर मभन्दा हेन्डसम केटा त त्यसले अब कहाँ पाउली र?' बिछोडवाला केटाको अहम चानचुने छँदै थिएन।
बिछोड पछि पनि ऊ आफूलाई अब्बल देखाउन हरहमेशा लागिरहेको थियो। प्रेममा भइन्जेल स्वर्गकी परी हुने केटी बिछोड पछि एक्कासि आँखाको कसिङ्गर जस्तै कसरी हुन सक्छ? कि त केटा प्रेममा परेको थिएन कि त मानसिक रूपमा ऊ विछिप्त छ।
मेरो एउटा साथी छ जसको चार वर्ष लामो प्रेम भर्खर टुंगिएर साधुजस्तै जिन्दगी बाँचिरहेछ। अरू कुनै केटीको फोटो देखाउँदा पनि उसलाई झर्को लाग्छ रे।
पूर्वप्रेमिकालाई साथीका रूपमा स्वीकार गरेर पनि ऊ हिँड्न सक्दैन न त भूपू मायाको प्रगति नै सुन्न सक्छ। भाषाहीन युगको पशुजस्तो भएको छ साथी। प्रेमको बिछोडलाई सहन नसकेर नै भए जत्तिको दोष सबै भूपू प्रेमिकालाई दिएर ऊ अब आफ्नो जीवनमा कुनै रंग ल्याउने मोडमा छैन।
गुलाफ देखेर मगमगाउने मेरो साथी आजकल गुलाफ देखेर तर्सिन्छ। ऊ आफ्ना अनुभूतिहरूलाई न कवितामा ढाल्न सक्छ न ज्ञान बनाएर अरूलाई बाँड्न सक्छ। पीडादायक प्रमोद खरेलका गीतहरू सुन्दै उही भूपू मायाप्रति खेदो खन्छ। नशाहरूमा हराइदिन्छ र कुनै चेत पनि पाउन सक्दैन।
टुटेका सम्बन्धमा आफूलाई पानी माथिको ओभानो पनि ऊ बनाउन सक्दैन। तर त्यो बिछोडको छालबाट पार लाउन हम्मेहम्मे परेको छ। भूपू मायाका फोटा च्यात्ने अनि टुक्रा टुक्रा पारेर फेरि जोड्ने अनि कतै प्रेम गाँसिन्छ कि? भनेर सूत्र खोज्ने, उर्फ मेरो साथीको दिनचर्या। प्रेमिकालाई केटा ठिक लागेन उनले छोडिन् अर्थात् सम्बन्धमा एक जनालाई चित्त नबुझी नबुझी पनि बस्नुपर्छ भन्ने छैन। तर एकोहोरो आत्मभाषी भएर भूपूमायाको दुत्कार गर्नु राम्रो होइन। बिछोडहरू प्रेरणाका स्रोत पनि हुन्। आफूमा रहेको कमजोरीलाई सुधार्ने मौका पनि हो। तर भूपू प्रेमिकामाथि दोषारोपण गरेर मात्र हामी उम्किन खोज्यौं भने हाम्रा प्रेमहरू निरन्तर असफल हुनेछन्। मेरो साथीले पनि सिक्नुपर्ने कुराहरू धेरै छन्।
प्रेमिका हुँदैमा सूर्योदय भएर चम्किलो हुने अझ उही प्रेमिका भएमा मात्र। नभए वा अनुपस्थितमा सुनसान निराकार चकमन्न हुने कुरा एकदम गलत हो। एउटा मान्छेको जिन्दगीमा धेरै मान्छेहरू आउँछन्। कोही लामो समयसम्म बस्छन्, कोही क्षणमा नै हराउँछन्। प्रेममा पर्नु आफैंमा अलौकिक कुरा हो। एक जुनि होइन सातौ जुनिको कसम खाएर बस्नेहरू एक महिना पनि टिक्न नसकेपछि एक अर्कालाई छि: छि: र दु दु गर्दै छुटिन्छन्। प्रेममा पर्दा सिकेका कुराप्रति बेवास्ता गर्छन्।
फरक/फरक मान्छे अनुसार फरक कुरा सिकिन्छ। आफ्नो जीवनमा प्रेमिका आउनु भनेको नयाँ शिक्षक आफ्नो निजी कक्षामा आउनुजस्तै हो। यो भन्दैमा धेरै बिछोड भएमा धेरै कुरा सिकिने पनि होइन।
बिछोड एउटा नचिताएको घटना हो जसबाट पनि हामी शिक्षित हुन सक्छौं भनेको हो।
एउटा कल्पना गर्नुस् त तपाईंले हेर्नै नचाएको भूपू प्रेमिकासँग एउटै अफिसमा काम गर्न पर्यो भने? एउटै कक्षमा अध्ययन गर्न पर्यो भने? सिटको आमनेसामने भएर लामो यात्रा गर्न पर्यो भने? अरू त अरू घरकाले केटी हेर्दा घुमी फिरी उही भूपू मायाको फोटो खान्दानी र संस्कारी छे है भन्ने निहुँमा तपाईंको हातमा थमाइदिए भने? के गर्नुहुन्छ?
पृथ्वी त गोलो छ। एक न एक दिन तपाईं बाटोमा भूपू मायालाई उसका छोराछोरी र श्रीमानसँग भेट भयो भने पनि त मुस्कुराउनु त छँदैछ। तर अहिलेको यो 'इग्नोर' वाला एटिच्युड केका लागि? मानौं तपाईंको कलेज पढ्दा पढ्दै ब्रेकअप भयो। तपाईंको र प्रेमिकाको सम्बन्धको बारेमा कलेज भरी हल्ला थियो। तर ब्रेकअपपछि तपाईंले आफूलाई ठूलो देखाउन, उसका नराम्रा पक्षलाई बढाइ चढाइ एककान दुईकान मैदान बनाइदिनु भयो भने त असर त भूपू प्रेमिकालाई पर्छ नि हैन र? अनि उसलाई पर्न सक्ने मानसिक तनावको हिसाबकिताब तपाईंले कहिल्यै गर्नुभएको छ। एकाध समय चाहिँ दिव्य बन्धनमा बस्ने अनि बिछोडपछि सीमा मिचेर तथानाम बोल्दै हिँड्दा कस्तो आनन्द मिल्छ र?
बिछोड अकल्पनीय हुनसक्छ। असह्य पनि हुनसक्छ। तर प्रेममा रहँदा नै बिछोड आउन सक्ने सम्भावनामा पाठ सिक्यौं भने हामी छालले पछारेझैं किनारमा बेस्सरी पछारिनौं। हृदयबाट प्रेमको कम्पन हट्न विस्तारै समय लागे पनि हामी संयमित हुन्छौं। बिछोडपछि प्रेमिकालाई फेरि पहिलाको जस्तै साथीको रूपमा हेर्न नसक्नु पनि एउटा सुन्दर उपस्थिति गुमाउनु हो।
लेखेर राख्नुस्! एउटा सम्बन्धपछि रहेको मित्रताको व्यवहार सधैं स्मृतिपटलमा रहन्छ र यो जो कसैको सामर्थ्यले भ्याउँदैन। रिलेसनसिप केही बेरको होला तर मित्रतामा गाँठो कसेपछि क्रिया र शक्ति दुवै आर्जन हुन्छन्। प्रेमी प्रेमिकामा बिछोड होला जहाँ भूपू प्रेमिकाले पनि यही अनुसारका व्यवहार भूपू प्रेमीलाई गर्न सक्नुपर्छ।
यहाँ त डिभोर्स भएका कति पति पत्नीहरू हुन्छन्, उनीहरूको अवस्थामा समेत यो नियम लागू जरूर हुन्छ। कोही पनि राम्रो नराम्रो भन्ने हुन्न। मात्र समय र कालखण्डले मानिसलाई कहाँबाट कहाँ पुर्याउँछ। तर सबै भिन्नताबाट पाठ सिक्नु र गतिशील हुनु जीवनको आयाम हो। एउटा पंक्तिबाट अर्को पंक्ति बिछोडिदैमा कविता टुंगिदैन बरू निरन्तर लय पक्रिएर बगिरहन्छ, त्यस्तै नकारात्मकता र तिरस्कार होइन सहकार्यबाट जीवन चलिरहन्छ।