२०६३ साल पुस १४ गते शुक्रबार। बिहानैदेखि काठमाडौं उपत्यकामा कठ्याङ्ग्रिँदो जाडो थियो। चन्द्रागिरि, फुलचोकी, नागार्जुन र नगरकोट डाँडा हिउँले ढपक्क ढाकेको देखिन्थ्यो। त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसरमा देशभरिका उत्साहित स्नातक उत्तीर्ण विद्यार्थीहरूको घुइँचो थियो।
जनआन्दोलन भाग २ र त्यसपछिका राजनीतिक तरलताले देशलाई गाँजेको थियो। देश संक्रमणकालीन अवस्थाबाट गुज्रिएको थियो। यही कालखण्डमा त्रिवि नराम्ररी गिजोलिएको थियो। देशकै जेठो विश्वविद्यालयमा पठनपाठन अवरुद्ध थियो। विश्वविद्यालयका वार्षिक कार्यक्रमहरू अस्तव्यस्त थिए। वार्षिक परीक्षा समयमै नभएको धेरै भएको थियो। परीक्षाफल ढिला प्रकाशित हुने भएकाले त्रिविका नयाँ भर्ना कार्यक्रमहरू सङ्खे किराको लयमा अघि बढ्दै थिए।
मैले ऐच्छिक अङ्ग्रेजी र समाजशास्त्र विषयमा स्नातक तह उत्तीर्ण गरेको थिएँ। यी दुई विषयमध्ये समाजशास्त्रमा स्नातकोत्तर तहको अध्ययन गर्ने सङ्कल्प लिएको थिएँ। स्नातकोत्तर तहमा भर्ना हुन म विश्वविद्यालय परिसरमा रहेको नेपाल बैंक लिमिटेड कीर्तिपुर शाखातिर अघि बढ्दै थिएँ। मजस्ता सयौँ स्नातक तह उत्तीर्ण विद्यार्थीहरू बैंकअगाडि लाइनमा उभिएका थिए।
म पनि विद्यार्थीहरूकै लाइनमा मिसिएँ। विद्यार्थीहरू बैंकका झ्यालबाट स्नातकोत्तर तह प्रथम वर्षको भर्ना शुल्क बुझाउँदै गरेका देखिन्थे। स्नातकोत्तर तहमा नयाँ भर्ना हुन लाग्दा म निकै हर्षित थिएँ। जसोतसो विद्यार्थीका जोशिला हातहरू बैंकका झ्यालतर्फ अघि बढ्दै थिए। मेरा पाइलाहरू पनि स्वचालित ढङ्गले अघि बढ्दै थिए।
यसै समयमा एक परिचित व्यक्तिसँग जम्काभेट भयो। उहाँ भिसी कार्यालय हुँदै नेपाल बैंक लिमिटेडतर्फ आउँदै हुनुहुन्थ्यो। नयाँ सामसुङ मोबाइलमा कसैसँग गफिँदै हुनुहुन्थ्यो। उहाँको नजर मतिर पर्नासाथ फोन संवादलाई टुङग्याउनु भयो। मैले नमस्ते सर भनेर सम्बोधन गर्न नभ्याउँदै 'के छ सुधीर बाबु?' भनेर मेरो हाल खबर सोध्नुभयो।
पहिला आफ्नो हालखबर सुनाउँ कि नमस्ते सर भनी अभिवादन गरूँ, म दोधारमा परेँ। केही क्षणको अलमल पछि 'नमस्ते कपिल सर' भन्दै आफ्नो हालखबर सुनाएँ।
डा. कपिल लामिछाने भैरहवा क्षेत्रकै प्रतिष्ठित र बहुआयामिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो। म स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापति भएकै शैक्षिक संस्था भैरहवा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख हुनुहुन्थ्यो। मेरो कार्यकाल (२०६०-२०६२) भर उहाँ अध्ययन बिदामा हुनुहुन्थ्यो। जसकारण क्याम्पस परिसरमा उहाँसँग विरलै भेटघाट भयो। तथापि क्याम्पस बाहिरका कार्यक्रमहरूमा पटक पटक देखभेट भएको थियो।
लामिछाने सरको बारेमा उहाँका सहकर्मी, शिक्षक, कर्मचारी, विद्यार्थी र शुभेच्छुकमार्फत जान्ने, बुझ्ने अवसर पाएको थिएँ। उहाँ क्याम्पस प्रमुख हुँदा क्याम्पसको शैक्षिक उन्नयन र भौतिक प्रगतिका निम्ति अहोरात्र खट्नु भएको थियो। भैरहवा वहुमुखी क्याम्पसलाई पश्चिमाञ्चलकै नमुना शैक्षिक संस्था बनाउन भरमग्दुर प्रयत्न गर्नुभएको थियो।
मेरो दृष्टिमा उहाँ पूर्वक्याम्पस प्रमुख मात्र नभएर कुशल व्यवस्थापक, कर्मशील शिक्षक, प्रेरणादायी शिक्षाविद् र सुप्रसिद्ध बाल साहित्यकार हुनुहुन्थ्यो। म अङ्ग्रेजी साहित्यको विद्यार्थी भए तापनि उहाँको नेपाली बालसाहित्य सृजनाबाट निकै प्रभावित थिएँ।
उहाँसँग नेपाल बैंक लिमिटेड कीर्तिपुरमा जम्काभेट हुँदा म निकै रोमाञ्चित भएँ। म बैंकको लाइनमा उभिरहेको थिएँ। उहाँ मेरै अगाडि आउनुभयो। मेरो पढाइको विषयमा जिज्ञासु हुनुभयो।
मलाई प्रश्न गर्नुभयो, 'सुधीर, अब कुन विषय पढ्ने?'
'सर, म समाजशास्त्र पढ्ने।'
'समाजशास्त्र किन रोजेको? '
'सर, समाजशास्त्र मलाई मन पर्ने विषय हो। यस विषयमा स्नातकोत्तर गरेर नेपाली समाजलाई समाजशास्त्रीय दृष्टिबाट बुझ्ने रहर छ।'
समाजशास्त्रप्रति मेरो रुचि बुझेर उहाँ ६० सेकेन्ड मौन रहनुभयो। सायद मलाई शैक्षिक परामर्श दिन इच्छुक हुनुहुन्थ्यो कि? उहाँको मनमा के खेलिरहेको होला? मैले कल्पना गरिरहेँ। तर अरूको मनमस्तिष्कमा खेलेका कुरा कसरी पो ठम्याउन सक्थेँ र? केहीबेर पश्चात् उहाँले मौनता चिर्नुभयो।
'तिमीले स्नातक तह अङ्ग्रेजी र समाजशास्त्रमा उत्तीर्ण गरेको मलाई राम्ररी जानकारी छ। मेरो विचारमा यी दुई विषयमध्ये अङ्ग्रेजी विषयमा स्नातकोत्तर तहको अध्ययनलाई अगाडि बढाउँदा श्रेयस्कर होला।'
'अङ्ग्रेजी विषयमा नै स्नातकोत्तर तह किन सर?' मैले प्रश्न सोधेँ।
'हुन त सबै विषयको आ-आफ्नै महत्व हुन्छ तर अङ्ग्रेजीमा स्नातकोत्तर तह उत्तीर्ण भए रोजगारको उच्च सम्भावना रहन्छ। शिक्षा र रोजगार व्यवस्थापनमा चुके बेरोजगार हुने सम्भावना रहन्छ। त्यसैले रुचिभन्दा रोजगारको अधिक सम्भावना हुने विषय रोज्न सल्लाह दिन्छु।'
उहाँको सुझावले मेरो मनमस्तिष्कमा हलचल भयो। बैंकतर्फ अघि बढ्नुपर्ने पाइलाहरू क्रमशः भारी हुँदै गए। गोडाहरू अकस्मात् बाँधिएझैं भयो। म त अलमलमा परेँ। अक्क न बक्क भएँ। 'समाजशास्त्र वा अङ्ग्रेजी, कुन विषय छनोट गरूँ?' म रनभुल्लमा परेँ।
मसँग लामिछाने सरको सल्लाहभन्दा उत्तम विकल्प थिएन। त्यसैले समाजशास्त्री हुने मेरा सपना सुदूर भविष्यतिर मोडिएझैँ महसुस गरेँ। कपिल सर र मबीच संवाद जारी थियो। त्यसै बेला पावरवाला चस्मा लगाएका र कालो झोला भिरेका एक अधबैँसे पुरुष हाम्रो नजिक आए। लामिछाने सरतिर हेर्दै भने, 'कपिल सर, स्मृति हलमा प्राध्यापकहरूको मिटङ सुरु हुन लाग्यो है।'
मिटिङको खबर कानमा पर्नासाथ सरले हाम्रो संवादलाई छोट्याउनु भयो। जसकारण हाम्रो संवाद निष्कर्षविहीन भयो। छुट्टिने बेलामा भन्नुभयो, 'मौका मिले फेरि भेटौँला।'
मबाट उहाँ बिदा हुनुभयो। म आँखा झिमिक्क नगरी स्मृति हलतिर मोडिएका उहाँका पदचापलाई हेरिरहेँ। उहाँको अनुपस्थितिमा शून्यता महसुस गरेँ।
समाजशास्त्र वा अङ्ग्रेजीमा भर्ना हुने? म सोचमग्न भएँ। नयाँ विद्यार्थी भर्ना अवधि पुस मसान्तसम्म छ। आज नै किन हतारिनु र? हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनुभन्दा भर्ना प्रक्रियालाई थाती राख्नु उचित ठानेँ। अन्ततः नयाँ भर्ना प्रकियालाई अस्थायी रूपमा स्थगित गदैँ म कीर्तिपुर पाँगातिर लम्किएँ।
पाँगास्थित डेरामा पुग्दा मन मात्र अशान्त थियो। दिन ढल्दै जादाँ तनमन दुवै अशान्त भयो। हिउँदमासमा दिन छोटो र रात लामो हुने भएकाले कति छिटो झिसमिसे साँझ अन्धकारमा परिणत भएको पत्तै भएन। झ्याल बाहिर दक्षिणपश्चिम तिर नियाल्दा चम्पादेवी डाँडामा औँसीको रातझैँ अन्धकार थियो। तर कोठाभित्र पूर्णिमाझै उज्यालो थियो।
२० औँ शताब्दीका विश्व चर्चित ब्रिटिश साहित्यकार डिएच लरेन्सले आफ्ना विश्वविख्यात उपन्यास 'वुमेन इन लभ' मा लेखेका थिए- 'बत्ती निभाऊ, झन् चहकिलो देख्नेछौ।' डिएच लरेन्सले लेखेझैँ कोठाको बत्ती निभाएँ। बत्ती निभ्नासाथ कोठामा चुक छर्किएझैं अन्धकार छायो। कोठा अँध्यारो भए पनि मन उज्यालो हुँदै गयो। अन्धकारमय कोठामा, उज्ज्वल शैक्षिक भविष्य खोजिरहेँ।
अंग्रेजी वा समाजशास्त्र? कुन विषय उत्तम होला?' मन्थन गरेँ। अन्ततः व्यत्तिगत इच्छा, चाहनाभन्दा लामिछाने सरकै सुझाव उत्तम मानेँ। त्यसैले अङ्ग्रेजीमा स्नातकोत्तर तह पढ्ने निधो गरेँ। यसरी अन्धकार कोठामा उज्यालो भविष्यउन्मुख निर्णय लिएँ।
म यो निर्णय सबैभन्दा पहिला लामिछाने सरलाई सुनाउन उत्सुक थिएँ। तर कोठा भित्रको चाइनिज टेबल घडीले मध्यरातको सङ्केत दियो। जसकारण मैले चाहेर पनि उहाँलाई फोन गर्न सकिनँ। तर मसँगै भएको एघार सय मोडेलको नोकिया मोबाइलमा केही शब्दहरू हतारिँदै लेखेँ।
'आदरणीय कपिल सर नमस्कार, आज मध्यरातमा मैले एउटा महत्वपूर्ण निर्णय लिएको छु। तपाईंको सुझावलाई अनुशरण गर्दै, म अङ्ग्रेजी विषयमा स्नातकोत्तर तह पढ्ने भएँ। मध्यरात भएकाले चाहेर पनि तपाईंलाई फोन गर्न असमर्थ भएँ। त्यसैले मोबाइलको मेसेजबाट यो सन्देश पठाएको छु। तपाईंको अमूल्य सुझावप्रति सदैव कृतज्ञ रहनेछु। तपाईंको प्रिय विद्यार्थी सुधीर।'
मोबाइलमा सन्देश पठाउनासाथ कतिबेला भुसुक्क निदाएछु पत्तै भएन। बिहान उठ्दा पुस १५ सुरु भएको थियो। चम्पादेवी डाँडामा उज्यालो छाएको थियो। गुरुङ समुदायका घर आँगनमा नयाँ वर्ष आएको थियो। भैरहवा र पोखराका हितैषी गुरुङ साथीहरूले मोबाइलमा शुभकामना सन्देश पठाएका थिए। 'तमु ल्होसारको धेरै धेरै शुभकामना।'
यी शुभकामना सन्देशले नयाँ जोश थपेको थियो। अङ्ग्रेजी विषयमै स्नातकोत्तर गर्ने जाँगर मिलेको थियो। सरकारले पुस १५मा 'तमु ल्होसार' को बिदा दिएको थियो। पुस १६ गते पुनः नेपाल बैंक लिमिटेड कीर्तिपुर शाखा पुगेँ। खुसी मनले अङ्ग्रेजी केन्द्रीय विभागको नाममा भर्ना शुल्क तिरेँ। भर्ना शुल्कको रसिद घडी भवन नजिकैको अङ्ग्रेजी केन्द्रीय विभागमा बुझाएँ। पुस १६ देखि म अङ्ग्रेजी केन्द्रीय विभागको विद्यार्थी भएँ।
समयको गति कति छिटो अगाडि बढेको पत्तै भएन। तीन वर्षभित्र अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर तहको उपाधि हालिस गरेँ। यत्तिकैमा मेरो शैक्षिक यात्रा कहाँ रोकिन्थ्यो र? राजनीतिशास्त्रमा स्नातकोत्तर तहको दोस्रो उपाधि हासिल गरेँ। एउटा विषयमा स्नातकोत्तर तह अध्ययन गर्न गएको छोरा दुई विषयमा डिग्री हासिल गरेको खबरले मेरो अभिभावकहरू अत्यन्तै खुसी हुनुभयो। अङ्ग्रेजी विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेपछि म कहिले बेरोजगार हुनुपरेन।
आज म देशकै प्रतिष्ठित शैक्षिक संस्थाहरूमा आबद्ध छु। शैक्षिक कर्ममा रमाएको छु। अङ्ग्रेजी केन्द्रीय विभागबाट विद्यावारिधि गर्दैछु। मैले प्राप्त गरेका शैक्षिक सफलताको श्रेय लामिछाने सरलाई दिन चाहन्छु। सरसँगको त्यो अविस्मरणीय जम्काभेट र उहाँको सही समयमा सही सुझाव दिने कला र क्षमताप्रति म सदासर्वदा कृतज्ञ रहने छु। उहाँको गुनप्रति म आजीवन ऋणी भइरहनेछु।