घरगाउँमा यदाकदा भनेको सुनिन्थ्यो कि 'जीवनमा सफल बन्न छ भने परालको लौरो बनेर काम छैन। परेको बेलामा मान्छेका माझँमा पसेर बोल्न सक्नुपर्छ। लुते कुकुरझैं मुन्टो लुकाएर हिँडने मान्छेको काम छैन।'
अस्ति मात्र एक आफन्तको किताब विमोचनमा गएको थिएँ। उहाँको विमोचित पुस्तकको नाम थियो 'असलपन र प्रभावकारिता'। म अचम्मित भएँ किनकि असलपन त ठिकै हो तर प्रभावकारिता कहाँबाट आयो? असल मान्छेको प्रभावै नभएको समाजमा यो असलपन र प्रभावकारिता भन्ने किताबको के अर्थ छ त, घोत्लिएँ।
उक्त किताबको बारेमा पूर्वसचिवले समीक्षा गर्नु भएको थियो। उहाँले किताबको मुक्तकण्ठले प्रशंसा गर्नुभयो। जसमा असल मान्छे नभै कसरी उहाँले असलपनको बारेमा किताब लेख्न सक्नुहुन्छ? हुन त डाक्टरले चुरोट पिए तापनि भेट्न आउने सबै बिरामीलाई 'चुरोट नखानुस्, क्यान्सर हुन्छ' भन्ने गर्नुहुन्छ। सबै कुरा आफनो जीवनमा लागु गरेपछि मात्र त्यसको बारेमा बोल्न सकिन्छ भन्नु गलत होला कि। किनभने मानिसले सबै कुरा आफै भुक्तभोगी भएर मात्र टिप्पणी गर्न सकिन्छ भन्ने तर्क राख्ने हो भने त प्रायः विषयहरू उठान नै हुन सक्दैनन्।
पोखरामा काम गर्दा ताका एकजना आसामतिर काम गरेर उताबाट नेपाल आउनु भएको एकजना बुवासँग काम गर्ने संयोग मिल्यो। उहाँ अहिले त परलोक भैसक्नु भो यद्यपि उहाँले भनेका शब्दहरूले मलाई हरपल घचघच्याई रहन्छ- 'सोझो हुनुहुन्छ हेप्छन्। तपाईं जंगल जानुभयो भने जंगलमा सोझो रुख खोजेर काट्छन् किनकि बाङ्गो त काम लाग्दैन। न तगारो बनाउन मिल्छ न बलो, न त हलो, न दलिन बनाउन मिल्छ। तसर्थ सोझो रुख खोजि खोजि काट्छन। त्यसैले बोल्नपर्छ। चुप लागेर बस्न हुन्न।'
कुरा ठिकै लाग्यो। त्यसैले होला दिनहुँजसो माइतीघरमा दुई/चार जना कहीँ न कहीँ केहीँ विषयमा प्लाकार्ड लिएर कराइरहेको देखिन्छ।
त्यसो त धर्मपत्नी पनि दिनहुँजसो सोझो भएर काम चल्दैन भन्छिन्। होकि जस्तो लाग्छ। जब व्यवहार पर्छ, बोल्छु भन्छु फेरि बोली आउँदैन। लुरुक्क 'हस्, हुन्छ' भन्छु, तल पर्छु। त्यहाँबाट हिँडेपछि मनमा कुरा खेल्छ, बोल्नुपर्थ्यो। किनकि बोलेको भए हुन्थ्यो होला, मनमा तर्क आउँछ तर जुनबेला बोल्नपर्ने हो बोल्न सक्दिनँ।
बोल्न नसकेर चर्को स्वर निकालेर नबोल्दा भएका घाटाहरू सयौं छन् तर पनि जब बेला आउँछ तब बोल्न सकिन्न। म आफूलाई आम नेपाली जनतासँग तुलना गर्न पुग्छु, मजस्तै लाग्छ। जहाँ बोल्नुपर्ने त्यहाँ नबोल्ने र जहाँ नबोल्नु पर्ने त्यहाँ बोल्ने। म आफू त्यही समाजको एउटा व्यक्ति, ममा पनि अवश्य त्यही गुण आउँछ नि।
हाम्रा गाउँका चिया पसलहरूमा बिहानैदेखि हाम्रा बुवा, दाजु, भाइ, हजुरबा, काकाहरू भेला भएर चिया पिउँदै आमा, दिदी, बहिनी, श्रीमतीलाई भान्सा कुराएर डोको न डालाको राजनीति कुरा वा युरोप अमेरिकाको समीक्षा गरेर समय खेर फलिरहेका भेटिन्छन् तर उहाँहरू खेतबारी, घर, परिवारमा समय दिन आनाकानी गर्नुहुन्छ।
परालको लौरो न टेक्न मिल्छ न त्यसले कुट्न मिल्छ न पिट्न मिल्छ। तसर्थ यो प्रयोगविहीन चिजलाई उपमाको रुपमा समाजमा भन्ने गरिन्छ। हाम्रो नेपाली समाज पनि कतै परालको लौरो जस्तो लाग्छ होइन र? किनकि हामी नेपाली हरेक विषयका मुद्दामा मौन रहेर देशलाई नेताको हातमा जिम्मा दिएर बसेका छौं। न हामीलाई जनप्रतिनिधिलाई गलत गरे फिर्ता बोलाउने अधिकार नै छ न उनीहरूलाई कारवाही गर्न सक्छौं। केवल भोट दिने र ५ वर्षसम्म रुने हाम्रो नियती छ।
व्यवस्थापन विषयमा प्रभावकारिता र दक्षतालाई पढाइन्छ अंग्रेजीमा 'इफेक्टिभनेस एण्ड इफिसेन्सी' भनेर कोर्शमै समावेश गरिएको छ। तर अधिकांश नेपाली युवायुवतीहरूलाई न प्रभावकारिताको ज्ञान छ न दक्षताको नै। केवल विदशीको नक्कल गर्ने, भडकावमा रहने, आफ्नो धरातल बिसर्ने र दिनभर सामाजिक सञ्जालमा झुन्डिरहने मनोवृत्ति छ। यी यावत विषयले राजनीति गर्नेले हामीलाई ठगिरहेका छन्।
प्रभावकारिता भन्नाले आशातीत परिणाम निकाल्ने विषय पर्छ भने दक्षतालाई मितव्ययी ढंगबाट किफायत गरी परिणाम निकाल्ने भन्ने बुझिन्छ। यी दुवै कुरा हामीमा छैन किनकि हाम्रा हरेक कृयाकलापहरू दिशाविहीन, लक्ष्यविहीन र सोचविहीन छन्। तसर्थ हामी काम बढी तर परिणाम कममा छौं। किनकि हाम्रो काम सुखद् भविष्यको निर्माणका लागि सहयोगी छैन। नेपाली समाजमा 'कुकुरका छाउरा गनेजस्तो' भन्ने गरिन्छ। किनकि हरेक पटक कुकुरका छाउरा गनेझैं गरी छाउरा कति, छाउरी कति। त्यसमध्ये गोरे, काले, ध्वाँसे कति हेर्न पटक पटक जान्छौं। जुन एकैपटकमा सम्भव हुने कुरा हो। हाम्रा व्यवहारहरू अपूर्ण तथा अपरिपक्व छन्।
हाम्रा कलेज, स्कुल र विश्वविद्यालयहरूमा परिणाममुखी तथा मितव्ययी बन्न सिकाइन्न किनकि हाम्रो पाठ्यक्रम नै समयानुकूल छैन। शिक्षामा तीन घण्टामा कति गर्न सक्छ हेरेर मूल्याङ्कन गर्ने प्रचलन छ। स्कुल कलेजमा व्यवहारिक ज्ञान कम र किताबी ज्ञान अधिक छ। तर बाँच्नका लागि व्यवहारिक ज्ञान चाहिन्छ।
मानिसको योग्यता क्षमता मापन गर्ने विधि नै गलत छ। बुझ्नेभन्दा घोक्ने बढी छ। विषयवस्तुको ज्ञान नभई सुँगाले जस्तै बोल्नेहरू अब्बल मानिन्छ। मूल्य, मान्यता, नैतिकता, धर्म, संस्कारको कमि छ। नियम र अनुशासन मान्ने कमजोरले हो। बलियाले मान्नु पर्दैन भन्ने सोच छ। महँगो शिक्षाले त महँगो जनशक्ति उत्पादन गर्छ। तसर्थ सेवा पनि महँगो हुँदैछ।
कवि लेखनाथ पौड्यालको नैतिक दृष्टान्त 'ज्यादा सोझो हुनुभन्दा टेढिनु छ फलाधिक, गर्छ को लोकमा सोझा ग्रहको पुजनादिक' भन्ने कवितालाई आत्मसात गर्नुपर्छ। राजनैतिक, आर्थिक, सामाजिक क्षेत्रमा रहेका विकृति विसंगतीको कारण पनि हामी नेपालीहरूको सोझोपन हो।
छिटो विश्वास गर्ने नेपाली मनोवृति देशमा घटेका भएका यावत कुराको मूल कारण हो। तसर्थ हामी सम्पूर्ण नेपाली आफू हरेक व्यक्ति सुध्रिनु अत्यावश्यक छ। असलपन आफैमा विरोधभासपूर्ण छ। यो स्थान, व्यक्ति विशेषमा पनि लागु हुनसक्छ। संस्कार र परम्परा धान्नु असलपना हो। यी कुराहरू धर्ममा पनि केही हदसम्म सम्बन्धित छ तर बढी मानवतामा आधारित छन् जस्तै- 'परोपकाराय पुन्याय, पापाय परपिडनम'। अर्थात् अरुको कल्याण गर्नु धर्म हो र अरुलाई पीडा दिनु पाप हो।
असल बन्न गरिने हरेक क्रियाकलापहरूमा प्रभावकारिता हुनुपर्छ तर असलपन र प्रभावकारी सँगै लैजान कठिन छ तर सम्भव पनि छ। आफ्नो मत विचार सभ्य भाषामा स्पष्टसँग राख्नु पनि प्रभावकारिता हो। हाम्रा नेता महोदयहरूमा प्रभावकारिता कम छ जसको परिणाम देशले भोग्न परिरहेको छ।
हामी अक्षरस विदेशी ऐन नियम र कानुन अवलम्बन गर्छौं जब कि विदेशी परिवेश हाम्रो परिवेशभन्दा फरक छ। हामी त्यो कुरा विदेशीलाई बुझाउन चुक्यौं। तसर्थ हुबहु विदेशी ऐन नियम कानुन देशमा लगायौं, परिणाम आज देश कता गयो। चिनमा वा भारतमा पानी पर्दा हामी नेपालमा छाता ओढ्ने मनोवृतिले अधोगतितर्फ जाँदैछौं।
बार्गेनिङ, मोलमोलाइ, घटबढ, लेखाजोखा, विश्लेषण क्षमताजस्ता कुराहरू प्रभावकारिताको लागि अनिवार्य छन्। यी यावत कुराको कमिले हामी नेपाली कमजोर भैरहेका छौं।
असलपन के हो जसमा मितव्ययी, सहयोगी, प्रष्टवक्ता, मृदभाषी, मेहनती हुनुपर्छ तर प्रभावकारिता समाजको लागि भन्दा पनि व्यक्तिगत जीवनमा ऊ स्वयमको लागि अत्यावश्यक छ।
परालको लौरो नेपाली समाजको दृष्टान्त हो। सबैजसो नेपालीमा यो समस्या छ। हामी र हाम्रो कमजोरीले हामी सबै पीडित छौं किनभने हामी हवस्, हजुर, हुन्छ, ठिक छ, भयो, पुग्यो, ओके, भन्ने शब्दावलीमा हामी जिइरहेका छौं जुन परालको लौरो भन्न लायक छ।
भोट माग्न आउँछ, उसलाई नमस्कार गर्छौं उल्टो अनि सोध्दैनौँ जितेर के-के काम गर्छौं, कसरी गर्छौं, कुन तरिकाले गर्छौं? पानी खोल्ने बन्द गर्ने, चिठी पुर्याउने, सरकारी कार्यालयमा काम गर्ने कर्मचारीलाई अतिरिक्त भुक्तानी गर्छौं। हरेक दिन हरेक स्थानमा हामी नबोलेर हामी ठगिरहेका र लुटिरहेका छौं। बोल्नुपर्ने ठाउँमा बोल्न सक्दैनौं।
सरकारी कार्यालय, न्यायालय, पसल, होटल रेष्टुराँ जहाकहीँ पनि जायज कुरा, उचित माग जुन मूल्य, गुणस्तर, सेवा, काम वा सेवाको समयावधिमा पनि कुनै विषयमा बोल्न हिम्मत गर्दैनौं। बरु पीडित बनेर बस्न तयार छौँ। त्यसैले हामी सबै परालको लौरो हौं।