बा तपाईंलाई सम्बोधन गर्ने त मसँग कुनै शब्द नै छैन। तपाईंलाई सधैं बुवा भनेर बोलाउन पाइराखूँ। शारीरिक रूपले टाढा भए पनि आत्मियता गाढा छ। हजुरको कारण म यो स्थानमा छु। हजुरको मुहारमा सधैंभरि खुसी छाओस्, बाँकी दु:ख, कष्ट, रोग, पिर, ब्यथा म आफैं बुझौंला अनि सहौंला पनि।
‘प्रिय बुबा म आज जे छु, तपाईंले हिजो गरेको कर्मको कारणले छु’ - स्टेफन कोबे।
कुशे औंसी अर्थात् जीवन मार्गदर्शकलाई श्रद्धापूर्वक नमन गर्ने दिन! आज तपाईंको मुख हेर्ने दिन रहेछ बुवा।
म तपाईंभन्दा निकै टाढा छु। जसले आफ्नो सपना छाडी सन्ततिको सपना पूरा गर्ने संकल्पसहित दृढ रहन्छन् त्यस्ता महान् पुरूषका लागि जीवनभरिको श्रद्धा सम्मान पनि अपुरो हुन्छ, अधुरो हुन्छ तै पनि यो विशेष दिन बाबाका लागि!!
बाबा, तपाईंको लागि भनेर मैले शुभकामना दिन धेरै शब्द खोजिरहें, तर कुनै शब्दले पनि तपाईंलाई शुभकामना दिन सकिनँ,, किनकि मेरा लागि बुवा शब्दबाहेक अरू कुनै शब्द नै भेटिनँ कि ती शब्द प्रयोग गर्न सकूँ!!
मैले धेरै पढें आमाका वेदनाका कथा, तर कहिल्यै पनि पढिनँ बाका अनुहारमा सलबलाएका दु:खका बक्र रेखाहरू।
हुन त आमाको जति चर्चा परिचर्चा बुवाको बारे भएको पाइन्न। बुवाको बारेमा प्रसंग कम नै मात्रामा आउने गर्छ। आमाले जसरी दस महिनासम्म अनेकौ दु:ख, कष्ट सहेर गर्भमा हुर्काउँछिन् र यस धर्तीमा आगमन गराउँछिन्। त्यसपछि बुवाको सन्तानप्रतिको जिम्मेवारी उसैगरी बढेर जान्छ त्यसैले बुवालाई मुख हेर्ने दिनको शुभकामना!
बुबाको मुख हेर्ने दिन नजिकिँदै गर्दा मलाई धेरै कुराले उकुसमुकुस गराउँछ। हुन त तपाईंलाई यी कुरा पढिरहँदा झिनामसिना लाग्न सक्छन् तर धेरै कुरा सामान्य लागे पनि बुझ्ने कोसिस गर्नुहोस्।
बुवाकै मुख हेर्ने दिन बिहानै उठेर बुवालाई फोन गरेर ‘ह्याप्पी फादर्स डे’ भनें बाबाले बुझ्नुभएन फेरि पनि ‘ह्याप्पी फादर्स डे’ बाबा भनें।
बाले राम्रै त भनेको होला भनेर ‘आशीर्वाद छ बाबु’ भन्नुभयो। छोरो मान्छे हुँदा आफ्नो बुवालाई कति माया गर्छु भनेर भन्न सजिलो हुँदैन रैछ। तर धेरै माया गर्छु बुवा! ठूलो महलमा राख्न नसकूँला तपाईंलाई। झुपडीमै खुसी भैदिनु।
सन्तानले जिम्मेवारी पूरा गर्छन भनी ढुक्कका साथ लामो समयसम्म बाँचिरहनु। फेरि पनि बुवाको मुख हेर्ने दिनको शुभकामना छ बुवा।
बुवा तपाईं अहिले जागिरको शिलशिलामा उमेर छउन्जेल परिवारसँगै बस्न नपाउनुको ब्यथा हाल विदेश गएर रोजगार गर्नुको भन्दा कम छ र?
प्रिय बुवा तपाईं किन यति महान हुनुहुन्छ? तपाईंलाई लाग्न सक्ला कतै म आफ्नो सन्तानको प्रेमबाट ओल्झिएको त छैन? यस्तो नसोच्नु है बुवा!
आमाको गीत गाउँदा आमासँगै लहरिने बुवालाई बिर्संदा तपाईलाई पीडाले मन भत्भती पोलेको त छैन नि?
बुवा तपाईंलाई लाग्दो हो तपाईंले भोगेका र गरेका थुप्रै कष्ट तिम्रा सन्तानले देखेनन्। तपाईंले एकान्तमा रोएका आँसु कसैले देखेनन्। तर एउटा सामान्य परिवारको बुवाले गिटी कुटेर होस् या खेत जोतेर होस् सन्तानको भविष्यको निम्ति आफ्ना थुप्रै पीडा लुकाएर एक जोर कपडा पनि नफेरी दु:ख गरेका हुन्छन् सन्तानको भविष्य उज्वल होस् भनेर।
परिवार चाहे सामान्य होस् या सम्पन्न। जस्तोसुकै भए पनि बुवाले दु:ख गर्ने आखिर सन्तानको लागि त हो ‘हड्डी घोटेर सन्तानको जीवन रंगीन बनाउने, आफ्नो पसिनाले सन्तानको भविष्य लेख्ने अनि एक्लै घर चलाउने हिम्मत राख्ने बुवालाई फेरि पनि कुशे औंशीको शुभकामना!
ताते, तातेदेखि लिएर कर्मयोगी बनाउँदासम्म आफ्नो सन्तानको लागि हरेक दु:ख पीडा सहेर संघर्ष गर्ने आखिर बुवा त हुन्। जो कोही पनि ‘पिताको लागि गौरवको कारण बन्न नसकिए पनि कलंकको टीका नबनौं’।
कस्तो अचम्म छ है! चोट छोराछोरीलाई लाग्छ तर पीडा बाबालाई हुन्छ। दु:ख छोराछोरीलाई हुन्छ तर आँसु बाबाका खस्छन्।
अब त बुबा तपाईं आउँदा घरको कुना-कुना खोज्ने छु, पत्ता लगाउनु छ दु:ख कहाँ लुकाउनु हुन्थ्यो! अनि सोध्नु छ खुसी कुन बजारबाट किनेर ल्याउनुहुन्छ?
बुबा, यदि यस संसारमा एक व्यक्ति छ जो मलाई साँच्चै प्रेम गर्दछ, मलाई हेरेर जिउने गर्दछ र मलाई सजिलै आत्मसात गर्छ भने त्यो हो तपाईं बुवा।
तपाईंलाई धन्यवाद दिन चाहन्छु। तपाईं मेरो प्रेम हुनुहुन्छ। म तपाईंलाई जीवनभरी खुसी दिन सकूँ। कुशे औंशीको फेरि पनि शुभकामना बुवा।
बुवा समय र दुरीले हामीलाई अलग बनाएको छ तर तपाईंको साथ, सहयोग, सल्लाह र प्रेम उत्तिकै रहनेछ। म तपाईंबिना अधुरो हुनेछु।
अनि बुवा तपाईंले मलाई हुर्काउनको लागि आफ्नो कोमल हातमा उठाएका फोहोरा मेरा यी आँखाले कसरी मध्यनजर गर्न सक्थे र?
रात दिनको तनाव, घरपरिवारको तनाव, सन्तानको पढाइ-लेखाइको तनाव, कति हो कति म सम्हाल्न कहाँ सक्थे र?
सन्तानको भारले थिचिएका र आफू भोको रहेर भए पनि हामीलाई खुवाउँदा तिम्रो अनुहारमा झल्केका खुसीहरू म कसरी पोख्न सक्छु र?
एकदिन छोराछोरी बिरामी हुँदा रातभर छटपटाउनु हुन्छ तर तपाईं बिरामी हुँदा छोराछोरीलाई पानी तताएर दिने फुर्सद पनि हुँदैन बुवा।
हुन त आज एकदिन सम्मान देखाएर हुने पनि केही हैन। तसर्थ क्षणिक खुसी दिएर हैन सधैं सम्मान र सुखी बनाएर राख्न सकूँ।
दुनियाँमा हर छोरा मान्छेको भगवान हुन् ‘बुबा’ किनकि हरेक मार्गदर्शनमा कुनै पनि तिखो प्रतिक्रिया होस् या सरल, हरेक कुराको ज्ञान भएका बा नै हुन्।
धेरै कहानी लेखें, सबै प्रेम कहानी भए। सबै कहानीको अन्त्य प्रेमिका नै!! तर आजसम्म तपाईंलाई एउटा पनि पढेर सुनाउने हिम्मत आएन। न त पढ्नुहोस् भनेर दिए नै। लाज अनि डर दुबै कुराले पोल्दो रहेछ। लेख्न त धेरै मन थियो तर यहाँ धेरै लेख्दा पनि ‘फादर डेको स्वाग’ पारेको आरोपी बन्न सक्छु बुवा। मुलुक र समाजलाई हानी हुने तथा भोलिका दिनमा आफ्नो बुवा चिनाउन कठिन हुने गरी केही गरेको छैन।
समाजमा ठूलो योगदान दिन नसके पनि समाजलाई हानी हुने केही पनि गरेको छैन। आफ्नो काममा इमानदारिता देखाउनुपर्छ भन्ने तपाईंको आदर्शलाई आत्मसात गरेर अगाडि बढेको छु।
जीवनमा तपाईंलाई केही दिन नसके पनि तपाईंबाट धेरै कुरा लिएको छु बुवा, तपाईंबाट पाएका आदर्श र ज्ञान-गुनका कुरालाई मनन गर्दै फेरि पनि कुशे औंशीको शुभकामना टक्राउन चाहन्छु।
बुवा, यसपटकको कुशे औंशीमा कोही बुवाहरू घरबारविहीन नहुन्। मन्दिरको पेटीमा नभेटिऊन्। वृद्ध आश्रममा आँसु नखसालून्। स्वस्थ रहून्। खुसी रहून्। परिवारको साथमा रहून्। सन्तानबाट हेला हैन, स्नेह पाऊन्। सम्पूर्ण बुवाहरूमा अनि बुवाको भूमिका निभाउने सम्पूर्ण आमाहरूमा पनि कुशे औंशीको शुभकामनासहित हार्दिक नमन!