आज फेरि एक जना हजुर आमाले सोध्नुभयो ‘तपाईंको बुवा हुनुन्छ?’
म एकछिन केही बोल्न सकिनँ।
सायद यो जीवनकै सबभन्दा गाह्रो प्रश्न जसको उत्तर दिँदा मेरो मुटु नै भारी भएर आउँछ।
मैले आमालाई जवाफ दिएँ ‘हुनुहुन्न, मेरो ममी, दिदी-दादामात्र हुनुहुन्छ।’
आमाले अरू कुराहरू पनि सोध्नु हुन्छ कि भनेर मैले हत्तपत्त अरू कुरा गर्न थालेँ।
यो हैन कि म मेरो बुवालाई सम्झन चाहन्नँ या उहाँको कुरा गर्न चाहन्नँ।
खुलेर कोहीसँग भन्न खोज्दा मुखबाट शब्दभन्दा आँखाबाट पानी छिटो रसाउँछ त्यही भएर होला जति नि कुराहरू छन् सबै मनमै छन्।
के गर्ने कोही सजिलै आफ्नो मनको कुरा व्यक्त गर्न सक्छन्, कोही भने मजस्तै नै हुन्छन्।
साँच्चि भन्नु पर्दा बुवाको माया र महत्त्व आफू ठूलो हुँदै गएपछि बुझ्दै जाने रहेछ।
म १४ वर्षको हुँदा मेरो बुवा क्यान्सरको कारण बित्नुभयो।
मलाई अझै पनि याद छ त्यो दिन म एक जना दिदीको घर बस्ने गरी जान्छु भन्दा मेरो बिरामी बुवाले खोइ किन हो आज नजानु भन्नुभयो।
राति २ बजेतिर मेरो ममीले मलाई उठाउनुभयो। पल्लो घरको आमाहरू आइसक्नु भएको थियो।
म बुवाको नजिक गएर बसें र एकैछिनमा केही भन्न र सुन्न नपाई उहाँले अन्तिम सास फेर्नु भयो। त्यो सुनसान रातमा सबै कराउँदै रूँन थाले, म नि रूँन थालें।
आँसु सकिएर आवाजमात्र आउन थाल्यो मेरो। तर बुवा फर्केर आउनुभएन। त्यस समयमा मलाई बुवा नहुनु र अब कहिले नआउने गरी जानु भयो भन्ने सबै भावना बुझ्न कठिन थियो।
हुन पनि कसरी बुझ्थें! मेरो बुवा म सानै हुँदा विदेश जानु भएको त्यही भएर होला उहाँसँग एकदमै थोरैमात्र यादहरू छन् मेरो। अहिले ती यादहरू सम्झन खोज्छु तर किन हो बुवाको अनुहार धमिलोमात्र सम्झन्छु।
भनिन्छ नि जुन चिज आफूसँग हुन्छ त्यसको महत्व हामी कम गर्छौं तर जब त्यो चिज आफूसँग हुँदैन नि तबमात्र त्यसको महत्त्व हामीलाई थाहा हुन्छ।
मलाई सोध्नु बुवाको महत्व कति हुन्छ भनेर। त्यो अन्तिम समयमा हात समाउन नसक्नु, अङ्गालो हालेर रूँन नसक्नु, आज पनि त्यो खाने टेबलमा सबै भेला हुँदा नि खाली खाली लाग्नु, आफ्नो आमा एक्लो भएको देख्नु, आफू कमाउन थालेसी बुवालाई एउटा सर्ट किन्न नपाउनु, आफ्नो प्रगतिमा बुवाको फुलेको छाती र हँसिलो अनुहार हेर्न नपाउनु। यस्ता धेरै नै कुराहरू छन् जुन अहिले यहाँ व्याख्या गरेर पनि सकिन्न र अझै कति भोग्न बाँकी नै छ।
ठूलो ठूलो लक्ष्य लिएर हिँडेको हामीलाई यी कुरा साना साना लाग्न सक्छ तर यही साना कुराहरूले नि हामीलाई खुसी र सन्तुष्टि दिइरहेको हुन्छ। त्यो हामी उमेरसँगै बिस्तारै बुझ्दै जाने रहेछौं।
खैर! कति कुराहरू अधुरै रह्यो। आज बुवाको मुख हेर्ने दिन तर कस्तो अभागी म, मैले कुनै वर्ष नि मनाउन पाइनँ। वर्षमा एक दिन होला मलाई फेसबुक चलाउन मन लाग्दैन र त्यो आजकै दिन हो।
आजकै दिन होला कहिले फेसबुकमा पोस्ट नहाल्नेले नि आफ्नो बुवासँगको फोटो हालिरहेका हुन्छन्।
आफ्नो चाहिँ एउटा फोटो नि सँगै नभएको सम्झँदा झनै मन खल्लो भएर आउँछ। कति जनाले त फेसबुकमा पोस्ट गरेर मात्र मनाउनु होला। अचेल त फेसबुकमा पोस्ट गरेसी फोन नि गर्नुपर्दैन, भेट्नु नि पर्दैन।
कसैले भने यही दिनमात्र आफ्नो बुवालाई फोन गर्नु होला। अचेलको जमाना नै डिजिटलको छ। कतै यसपालिको कुशे औंसी नि फेसबुकको पोस्टमा मात्र सीमित त छैन ?
आशा छ चाहे जुनै माध्यमबाट होस तपाईंको माया र स्नेह तपाईंहरूको बुवासम्म चाहिँ पुगोस्।
हरेक बुवालाई जो निस्वार्थ भएर आफ्नो छोराछोरीको खुसी र सपनालाई नै सधैं अगाडि राखेर आफ्नो परिवारको मेरुदण्डको रूपमा खडा हुने सबै बुवाहरूलाई सम्झन चाहें।