बाटोमा हिँडिरहेका एक हुल महिलाहरूको समूह देखेर म झस्किएँ। झ्यालबाट बाहिरको दृश्य हेरेर टोलाइरहेकी थिएँ। चारैतिर हरियाली देखिन्थ्यो। महिलाहरू रातो सारीमा सजिएर तछाडमछाड गर्दै हिँडिरहेका थिए।
महिलाहरूको बीचबाट कसैले बोल्यो, 'यसपालिको दर खाने कार्यक्रम त धेरै लामो भयो है! गाह्रो पो पर्दो रहेछ नि, बरु गाउँघरमा पहिला एक दिन खाने दरको नै धेरै मज्जा आउथ्यो।'
त्यहीबाट सहजै बुझ्न सकिन्थ्यो बाहिर जतिसुकै रमाएजस्तो देखिए पनि भित्र-भित्र त सबै आफ्नै रन्थनमा हराइरहेका थिए। यो एक महिना पहिलादेखि खाइने दर र मनाइने तीजले धेरै महिला दिदीबहिनीलाई अप्ठ्यारोमा पारिरहेको थियो। तँभन्दा म के कम भन्दै एकअर्काको देखासिकी गर्दागर्दै के हुँदै छ उनीहरूलाई नै थाहा थिएन। एकछिन घोरिएर बसिरहेँ, सोचिरहेँ। सोच्दासोच्दै अतीतमा हराउन पुगेछु।
सम्झिएँ आजभन्दा १५ वर्ष पहिले हामीले मनाउने त्यो तीज! ती चाडपर्व जसको आगमनसँगै मन हर्ष र खुसीले प्रफुल्ल भएर आउँथ्यो। बिहानभरि एक भारी घाँस काटेर हतार-हतार गर्दै एक घन्टाको बाटो हिँडेर बिद्यालय पुग्ने गर्थ्यौं। दिन भरिको पढाइ सकेर साथीभाइ रमाउँदै घर फर्कन्थ्यौं। खाजा खाएर फेरि सिजन अनुसारको काम गर्नु पर्थ्यो। अनि बल्ल बेलुकाको खानपिन सकेर पुस्तक समाउन पुग्थ्यौं।
घरको पालीमा टुकीको धिप धिप उज्यालोमा पढाइलेखाइ हुन्थ्यो। बेलाबेलामा आउने हावाको झोकाले बत्ती निभाइदिन्थ्यो। पालीमा बसेर पारिको गाउँमा गुम गुम मादलको तालसँगै बजेका तीजका गीतहरू सुन्दा मन त्यसै प्रफुल्लित भएर आउथ्यो। एकछिन गीत सुन्थेँ अनि फेरि पढाइ सुरु गर्थें। गाउँघरमा त्यति बेला चाडपर्वको निकै महत्त्व थियो। हुन त अहिले पनि चाडपर्वको महत्त्व त नभएको होइन तर पहिला र अहिलेमा धेरै परिवर्तन आइसकेको छ।
उति बेला साउन महिनाको सुरुदेखि तीजका गीत गाउन सुरु गर्थे। दिनभर आफ्ना काम सकाएर बेलुका दिदी बहिनी जम्मा भएर तीजका गीत गाउने चलन थियो। तीजका गीतमा दिदी बहिनीका दुःख पीडा, सासू बुहारीका दु:ख र पीडाहरू समावेश गरिएको हुन्थ्यो। अहिले पनि मलाई याद छ मेरा दिदीहरूले गाउने गीत...
हरियो फाट्मा धान खायो सुगाले
पढ्न पनि दिनु भएन आमा बुबाले।
वर्षदिनको तीजमा बाबा लिन आउनु भो
पठाएनन् घरकाले रित्तै जानु भो।
यस्तै यस्तै प्रकारका हुन्थे गीतहरू। त्यतिबेला खास गरी तीजको गीतमा आफ्नै भाका, मौलिकता दिदीबहिनीले आफूले भोगेका पीडा दुःखलाई गीतको माध्यमबाट व्यक्त गर्ने चलन थियो। तीज एउटा सामाजिक पर्व थियो। दर खाने दिन एक दिन मात्रै हुन्थ्यो, तीजको अघिल्लो दिन। यो एक दिनको यति महत्त्व थियो त्यस बेलाको म यहाँ शब्दमा बयान गर्न सक्दिनँ। त्यही एक दिन दर खानको लागि बिहे गरेर घर गएका र घरदेखि टाढा भएका महिला दिदीबहिनीहरू जम्मा भएर रमाइलो गर्दै तीजलाई एक सामाजिक पर्वको रूपमा मनाउने चलन थियो।
माइतीघरमा आमाले पकाएको दर खाएर वर्ष भरिका दुःख बिर्सिएर रमाइलो गर्ने चलन थियो। हाम्रो घरमा पनि तीन जना दिदीहरू र दुई जना दाजुभाइ हुनुन्थ्यो। म सबैकी कान्छी थिएँ अनि प्यारी पनि। सबै दिदीहरू जम्मा हुँदा कति रमाइलो हुन्थ्यो, त्यसको कुनै सीमा छैन। घर घर नभएर स्वर्गको एक टुक्राजस्तो लाग्थ्यो। दिदीबहिनी जम्मा भएर एक दिन खाएको त्यो दरले अर्को वर्षको दर खाने दिनसम्म प्रतीक्षा गर्न सहज गराउथ्यो।
खास त्यो एक दिन दर खाने र अर्को दिन तीज नाचगान गर्ने यी महत्त्वपूर्ण दिन थिए। तीजको दिन नयाँ कपडा लगाएर नजिकै मेला हेर्न जान्थ्यौं। कति रमाइलो, कति खुसी, कति आनन्द मानौँ कोही दुखी छैन। त्यो रमझम, त्यो भेटघाट, त्यो मिलनले घरपरिवार बुवाआमा, दिदीबहिनी बीचमा मिलन गराउथ्यो। सबैका दुःख पीर यसै बिर्साइदिन्थ्यो। कहिलेकाहीँ त सपनाजस्तो लाग्छ पहिलाका ती दिन सम्झिएर।
हो अहिले पनि एक महिना पहिलेदेखि नै तीजको रमझमले चारैतिर सहर बजार रनक्क तताएको छ। भन्छन् नि 'देखी गर्नु, देखासिकी नगर्नु' भनेर। तीज आउनु त कहाँ हो कहाँ, एक महिना पहिलेदेखि नै दर खाने र पार्टी प्यालेसमा मनाइने सहरको तीजले कतै हाम्रो संस्कृति, परम्परा र मौलिकतालाई नै बिर्साउन खोजेको त हैन! यस्तै यस्तै कुराहरू मनमा खेलिरहन्छन्।
सडकमा हुलका हुल महिलाहरू रातो सारी र गहनामा सजिएर एक महिना पहिलादेखि नै दर खाने कार्यक्रममा अग्रसर भएका छन्। कोभन्दा को कम भन्ने प्रतिस्पर्धा गर्दै होटल र पार्टी प्यालेसमा खाइने दर र डिस्कोमा नाच्दै मनाइने तीजले कतै हाम्रो त्यो दर खाने एक विशेष दिन र तीजको पवित्र दिनलाई ओझेलमा त पारिरहेको छैन?
बाहिर जतिसुकै हाँसीखुसी र रमाएजस्तो देखिए पनि भित्रभित्रै कैयौं दिदीबहिनीहरूलाई असर त पारेकै छ। उसले यस्ता गहना र कपडा लगाई, यस्तो दर खुवाई, उसले भन्दा मैले अझ राम्रो गर्नुपर्छ भन्दै घरको आर्थिक अवस्था बिर्सिएर कसरी हुन्छ आफू ठूलो बन्न लागि परेका छन्। भोलि त्यसको असर जेसुकै होस् कसैलाई वास्ता छैन। एकअर्का बीच प्रतिस्पर्धा, तडकभडक देखवा सबैलाई यसैले पिरोलिरहेको छ।
तीज मनाउने बहानामा आफ्नो मौलिकपन, संस्कृति र परम्परालाई बिर्सिएर उत्ताउला र भड्किला नाचगान देखाउनेहरू यसले तपाईं हामीलाई केही समयको लागि मनोरञ्जन दिए पनि वास्तवमा हाम्रो सामाजिक पर्व तीजको खिल्ली उडाइरहेको छ। के यही हो त हाम्रो मौलिकपन?
आफ्नो भेषभुषा आफ्ना चाडपर्व संस्कृतिलाई बिर्सिएर डिस्को र पार्टीप्यालेसमा मनाउने तीजले पक्कै पनि गाउँघरमा त्यो खुला ठाउँमा जम्मा भएर आफूले भोगेका दुःखसुख साटासाट गर्दै मनाउने र रमाउने तीजलाई कदापि पनि ओझेलमा पार्न सक्दैन र पार्न पनि दिनु हुँदैन। हाम्रा चाडपर्व, संस्कृति र परम्परा भनेका हाम्रा पहिचान र सम्पत्ति हुन्। आफ्नो पहिचान र सम्पत्तिलाई बचाइराख्नु के तपाईं हामी सबैको कर्तव्य होइन र?