'ओइ सुन् न, आज जाउँ न कतै फ्रेस हुन। कस्तो टेन्सन भइराछ,' मैले सफलतालाई फोन गरेर भनेँ।
'कता जानु र? नजानी क्या,' उसले जवाफ फर्काई।
'ह्या हिँड न कतै बसेर गफ गरौँ, मन हलुंगो हुन्छ कि,' मैले मनको पीर बिसाउने आशमा भनेँ।
'मलाई त कतै जाने मन छैन, पछि जाउँला कतै घुम्न,' उसको निराशपूर्ण जवाफ पाएँ।
मैले पनि कहर गर्न उचित ठानिनँ। 'ए ल त्यसो भए' भनेँ।
'ल पछि जाउँला कतै रमाइलो गर्न,' भन्दै उसले फोन काटी।
मन अति नै विचलित थियो त्यो दिन। मनका कुरा कसैलाई सुनाउन पाए पनि कति हलुङ्गो हुन्थ्यो होला भन्ने सोचेर मैले बेस्टफ्रेन्ड मान्ने सानैदेखिको साथी सफलतालाई फोन गरेकी थिएँ। तर उसलाई मन थिएन सायद मेरो कुरा सुन्न। मैले पनि कहर गर्न उचित ठानिनँ। अनायासै मनमा छटपटी थियो।
घरपरिवारको कसैलाई सुनाउन आँट पनि आएन। सायद अहिलेसम्म परिवारका सदस्यलाई भन्दा साथीलाई मनको नजिक राखेर होला। मनको पीरले आफैलाई खाँदै थियो। डाँको छोडी रुन मन थियो तर घरमा रुने वातावरण पनि त थिएन। उता कोठामा बस्नुभएको बाबालाई हेरेँ अनि मनमनै सोचेँ, उहाँसँग बसेर रुन पाए नि हुन्थ्यो। तर आँट आएन। उहाँलाई पनि कति दुःख दिनु भन्ने लाग्यो। अहिलेसम्म परिवारका कुनै सदस्यलाई मनका कुरा भनेकी पनि थिइनँ।
आफ्नो कोठाभित्र गएँ। अनि कानमा इयरफोन लगाएर गीत बजाएँ। उही अहिले प्रचलित गीत 'एक्लोपन'। त्यसका शब्दहरूले झनै मन भक्कानियो। त्यही गीतमा जस्तै एक्लो महसुस गर्दै थिएँ म पनि। उमेरसँगै बढेका जिम्मेवारी सम्हाल्न सकिनँ भन्ने चिन्ता थियो मनमा- 'अब त २१ वर्ष लाग्न लागेँ तर केही गर्न सकिएन। खोइ के दिएँ र परिवारलाई?'
आफूलाई नियालेर ऐनामा हेरेँ- 'परिवारलाई त परको कुरा आफूलाई पनि खुसी राख्न सकिनँ। न आफू खुसी छु न त मदेखि अरु कोही खुसी छन्। अब के गर्ने, कसरी पैसा कमाउने?'
यस्तै कुरा खेल्दै थिए मनमा। ऐनामा आफूलाई देखेर आँखाबाट आँसु खसे। मैले रोक्न सकिनँ, सायद चाहिनँ।
उमेरसँगै बढेका जिम्मेवारी, पैसा कमाउन नसक्दाको पीडा अनि त्यसमाथि पढाइको टेन्सन मन त आत्तिन्छ नै। आफ्नै उमेरका साथीहरूले के-के गरिसके। बरु पढाइ छोडेर विदेश जाउँ कि जस्तो नि लाग्यो। फेरि यत्रो खर्च गरेर पढिरहेकी छु, बीचमा कसरी छोड्नु? अब दुई वर्ष जसोतसो पढ्छु अनि विदेश नै जान्छु। अनि त ठिक होला नि सबै।
आफूले आफैलाई सान्त्वना दिएँ। मनभित्र दौडिरहेका कुराले झनै छटपटी बढ्यो। त्यो ५ मिनेटको समयमा जीवनका हरेक सम्भावनालाई केलाउन भ्याएँ। अनि एक्कासी मन साथीतिर पुग्यो। उसले पनि आज एक्लै बनाई। फोनमै भए पनि के भयो भनेर भनेको भए हुने थिएन र? मेरा कुरा सुन्ने मन थिएन सायद उसलाई।
फेरि विगतका दिनहरू याद आए। हुन त अहिलेसम्म आफ्ना परिस्थिति एक्लै त सामना गरेकी छु। केका लागि साथीको आश गर्नु मैले? आफैलाई प्रश्न गरेँ। जब आफूलाई समस्या पर्थ्यो आफूलाई एक्लै पाएकी थिएँ। मैले मरिहत्ते गर्ने साथीहरूलाई आजकाल मेरो सुन्ने समय थिएन। तर यसमा उनीहरूको पनि गल्ती होइन। उमेर र समयअनुसार सबै परिवर्तन हुन्छन् नै। तर म त्यही अड्किएकी थिएँ।
आफ्ना हरेक पाइलामा साथी खोज्थेँ। ट्वाइलेट जान होस् वा क्यानटिन जान, साथी चाहिन्थ्यो। साथी कलेज नजाँदा म नि जाँदिन थिएँ। एक्लै खान लाज लागेर कति पटक भोकै बसेकी थिएँ। सुख होस् वा दुःख साथी सम्झिन्थेँ। तर अब यो गल्ती गर्दिनँ। साथी भनेको सुख साट्न हुन्, दुःख त एक्लै सामना गर्नुपर्छ जस्तो लाग्छ।
साथी हुनु राम्रो हो, चाहिन्छ पनि तर हरेक मोडमा साथी र साथ खोज्नु केवल मूर्खता हो। यसले आफैलाई कमजोर बनाउँछ। त्यसैले सुख होस् वा दुःख एक्लै सामना गर्ने सामर्थ्य हामी सबैमा हुनुपर्छ।