सुतेर ब्युँझने बित्तिकै मेरो पहिलो काम मोबाइलको वाईफाई अन गर्ने हो अनि सररर मोबाइलको स्क्रिनलाई माथितिर धकेल्नी, त्यसपछि म्यासेन्जर एप क्लिक गरेर कसले के लेखेर पठाएका छन् भनेर हेर्ने।
कतिलाई रिप्लाई गर्छु, कतिलाई लाइकको रियाक्ट र कुनैको सीनमात्रै गरेर छाड्ने। अस्ति भर्खर जनैपूर्णिमा तथा रक्षाबन्धनको दिन नेपालबाट एकजना गाउँले दाजुले म्यासेन्जरमा ‘ब्रो कल मि!’भनेर लेखेका रहेछन्।
मैले कल ब्याक गरेँ, दुवैतिरका हालखबर पश्चात् उनले भने, ‘म नि त्यतै आउने विचार गरेको छु, यताको चाँजोपाँजो मिलाएर हिन्छु त्यहाँ आएपछि तिमी छौ क्यारे, ढुक्क छु है।’
‘ओहो किन त्यस्तो निर्णय गर्नु भो त हजुरले, नेपालमा राम्रो गर्नु भएको छ। परिवार सँगै हुनुहुन्छ। समाजमा राम्रै छ हजुरको उपस्थिति!’
भनेर नभ्याउँदै उनले थपे ‘पहिला कुखुरा पालनबाट राम्रो थियो अहिलेको महङ्गीले कुखुराबाट पार लाग्न सकिने भएन ६/७ वर्ष अघि कुखुरा पाल्न सुरू गर्दा ५० के.जी बोराको प्लेट दानालाई २४०० पर्थ्यो। कुखुरा जिउँदो प्रति केजी २५० मूल्यको हुन्थ्यो। अहिले उही दाना २४०० बाट ३८०० पुग्यो यता कुखुराको भाउ १८० सम्ममा पनि बेच्नु पर्याे, तरकारी खेती गर्याे भाउ जाँदैन लागत बढी रहन्छ। गाँउघरमा केही विकासका लागि कतै राजनीतिक दलसँग हारगुहार गरेर वा पालिकामा गएर केही गरौं भन्यो जनताले साथ दिँदैनन्। अझ कमिसन खानको लागि खुब लागेको छ भन्छन् यहाँ कसैगरी पनि प्रगति र जस पाइँदैन। त्यसैले बाध्य भएर यो निर्णय गरेको हुँ भाइ।’
‘अनि कसले पठाउँछ त दाइ ..?’ मैले सोधेँ।
‘तिमीले चिन्छौ पल्लो गाँउको फलानो!’उनले भने।
‘अनि केही ग्यारेन्टी छ र ??’ मैले सोधिहालें।
उनले भने, ‘ग्यारेन्टी त केहीको छैन तर फलानाको छोरो फलानाको दाइ, भाइ पुगेर पनि काममा लागिसके। राम्रै त होला राम्रै
सोचौं.. भन्दै आज टोलको बैठक छ ल म अब जान्छु पछि कुरा गरौंला!’ भन्दै फोन काटे।
अर्काे दुई दिनपछि फेरि अंकल पर्नेको एउटा म्यासेज थियो ‘देवु के छ खबर तिमीसँग गम्भीर सल्लाह लिनुपर्ने थियो र तिमीबाट सहयोगको आशा पनि गरेको छु, तिमीलाई कतिबेला समय हुन्छ कुरा गरौं न है।’ म्यासेज पढेर एकछिन पछि म्यासेन्जरमा कल गरें। पहिलो रिङमा नै फोन फोन उठाउनु भयो।
दुवैतिरका हालखबर सोधपुछपश्चात् उहाँले भन्नुभयो ‘देवु हाम्रो केटो पनि अवैध भएर त्यतै जान्छु भनेर हैरान गरेको छ आफूसित पैसाको सुक्को र सम्पत्ति बाउले दिएको ४ कठ्ठा बारीबाहेक केही छैन, ऋणधन गरेर त पठाउनिहोला मान्दै मान्दैन के कसो हुन्छ केही उपाय लगाइदिनु!’
यति भनेर उहाँले कुरा रोक्नु भयो। म रनभुल्लमा परेँ र भनें ‘न आत्तिनुहोस्। म उसैगरी आएका साथीहरूसँग बुझ्छु अनि खबर गरौंला’ भनेर फोन राखें।
नौ महिनाको समय खर्चेर अमेरिका आएका मेरो साथीको भिनाजु। उहाँसँग मेरो भलाकुसारी हुन्छ बेला बखत, उहाँलाई फोन हानें।
‘के हो पारा भिना माइतीलाई फोनसोन छैन त ?’
‘हाँस्दै के छ खबर भन्न नपाउँदै मैले सोधिहालेँ ।
‘भिना श्री कस्तो हुन्छ ‘तल्लो बाटो’बाट अमेरिका आउँदा गाउँघरका र इस्टमित्र दाजुभाइले तँ छस् त्यहाँ हामीलाई सजिलो हुन्छ। हामी पनि त्यतै आउने सोच बनाएका छम्!’ भनेर हैरान पारिसके मलाई तल्लो बाटोको कुरा केही थाहा छैन यसो सल्लाह दिनुस् त’ भनेर म रोकिएँ।
उहाँले बाटाका दु:खका कुरा सुनाउन सुरू गर्नुभयो।
‘हेर साला बाबु! बाटाका दु:ख त गरी र खपिसाध्य छैनन्। एकादेशका कहानी भयो, यहाँ आइपुग्नु भनेको दोस्रो जन्म पनि मान्छे नै भएर जन्मेसरि हो,कैदीलाई अड्डासार गरेजस्तो, कहिले यता कहिले उता इन्धन बोक्ने ट्याङ्की, समुन्द्रमा माछा मार्ने ट्यांकी, ट्रक कन्टेनर, पानीसम्म खान नपाएको हप्तौसम्मको भोको पेट, जंगलको बाटो अझ त्यसैमाथि गुण्डाहरूले पैसा निकाल भन्दै कन्चटमा पेस्तोल ताकेको अनि लगाएका एक सरो कपडा पनि खोल्न पठाएर लगेको, कतिपय ठाउँमा तिर्खा लागेपछि पानी नपाउँदा आफ्नै पिसाब पिउँजस्तो लाग्थ्यो। पनामाको जंगलमा कति जनाको मजस्तै सपना बोकेर हिँडेका कोहीलाई सर्पले र बिच्छीले टोकेर मरेका, कति धेरै भोको भएर बेहोस भएर कहिल्यै नउठ्ने गरी ढलेका लासहरूलाई पन्छाउदै हिँडियो।
उहाँले एकै सासमा थप्दै जानुभयो ‘कतिपय खोलाहरूमा बचाऊ, बचाऊ गरेर बग्दै गरेका म जस्तैलाई राम राम भन्नबाहेक केही गर्न सकिएन।
महिलाहरूले त झन् सतित्व समेत दाउमा लगाउनुपर्ने हुन्छ। यी कुरा भोग्दै गर्दा देशमा केही जसरी नि गर्नैपर्ने रहेछ बेकार आइयो जस्तो लाग्यो। अझ अमेरिका पुग्ने त कहिले हो कहिले मेरो सल्लाह मान्ने भए त म कसैलाई नि अवैध आऊ भन्दिनँ। त्यही पनि एकपटक कुरा बुझ्ने भए मलाई पठाएको एजेन्ट (दलाल) को र अर्काे एक जनाको नाम नम्मर पठाइदिन्छु उतै उनीहरूलाई आफैं कुरा गर्न लगाउन। अहिले म काममा जानेबेला भो।’
निकै दु:ख कष्ट बताउँदै फोन राख्नुभो।
मैले अर्काे साथीलाई फोन गरें र माथिका यावत कुरा बताएपश्चात् उसले ‘यो दुखारी ठाउँमा नआउन भन यार तिमीले देखी/भोगी रहँदैछौ। अरूलाई कसरी आऊ भन्ने म त कसैलाई नि आऊ भन्दिनँ। त्यत्रो ४०/५० लाख दलाललाई अनि ज्यानको बाजी राखेर कसरी आऊ भन्ने! त्यति पैसा लगानी गरे त नेपालमै केही गर्न सकिन्छ नि नआउन भन!’ भन्यो।
ओख्खो ! दुवै जनाका कुरा सुनेपछि र नेपालतिरको अवस्था बुझ्दा त एक घर विराएर अवैध अमेरिका हिँड्नेको भिड र एजेन्ट (दलाल) पनि उत्तिकै रहेछन्।
कुनैले पासपोर्ट दिएर घरदेखि हिँड्न तरखर कुन, कोही दुबई पुगेको पाँच महिना पुगिसक्यो रे, कुनै स्पेनमा छन् रे केही पनामाको जंगल ६ दिन हिँडेर कोस्टारिकामा बिसाएका छन्। कोही घर बाबुआमासँग सल्लाह गर्दै छन्।
आजका दिनमा नेपालीहरू वैध अवैध तरिकाले विश्वका विभिन्न मुलुक पुगेका छन्।
घरको आर्थिक अवस्था अलि सुदृढ भएकाहरू नेपालमै विभिन्न आयोगको सूचना प्रकाशित मिति कुरेर बसिरहेका छन् या त उच्च र उच्चस्तरीय शिक्षाका लागि भन्दै युरोप वा अमेरिकाको यात्रा रोज्ने कम छैनन् नेपालमा अहिले।
घरको तथा पैतृक सम्पत्ति वा आर्थिक अवस्था कमजोर हुनेहरू मन्दिरमा भेटी चढाए जसरी दलालहरूलाई पैसा बुझाएर घर परिवारको निम्ति खाडी मुलुकमा आफ्नो जवानी र पसिना बगाउन पुगेका छन्।
ती मरूभूमिमा ‘मरुँ’ कि ‘नमरुँ’ भन्दै बाँचिरहेका छन्। पैसाको लागि पसिना र समयसँग लड्दालड्दै त्यहाँ तिनको जवानी पग्लिन्छ भने घरमा रूँदारूँदा तिनका आमा, बाबा अनि श्रीमतीको सिरानी पग्लिन्छ।
जो मध्यम वर्गीय परिवार छ उसको अहिलेको वैदेशिक यात्रा भनेको वैध वा अवैध अमेरिका नै छ। अवैध ढंगबाट छिरे पनि कुनै गल्ती नगरेसम्म त्यहाँबाट ‘डिपोट’ हुनुपर्दैन। त्यसैले केही हदसम्म सुरक्षित पनि छ अमेरिका। सायद पिआर पाइसके त झन् परिवारै ल्याउन पाइने महत्वाकांक्षाको त कुरै नगरौं।
अवैध ढंगबाट अमेरिका छिर्न पनि सजिलो छैन। तिनका पीडालाई समेटेर कृष्ण धरावासीले ‘तल्लो बाटो’ भन्ने पुस्तक नै लेखेका रहेछन्। मलाई त्यो पूरा पढ्ने अवसर मिलेको छैन। केही हाइलाइट्सहरू सामाजिक सञ्जालहरूमा पढ्दा र केही मेरा साथीहरूले तल्लै बाटो आउँदा खेप्नुपरेको दु:खको कुरा सुन्दा कति पटक भावुक पनि बनें।
एक महिनाभित्रमा नै अमेरिका छिरेका एक जना गाउँले भाइलाई सोधेँ- कसरी आयौ भाइ यति चाँडै?
उसले भन्यो- दाजु सबैभन्दा ठूलो पैसा र आफ्नो लक पनि रहेछ।
'कसरी?' मैले सोधें।
'अहिले अमेरिका आउने अवैध बाटो पनि दुइटा छन्। ५५/६० लाख दिने हो भने चाँडै र अलि सुरक्षित प्लेन/ प्लेन नै ल्याउँछ र ४०/४५ लाखमा बीच बीचमा जंगल र नदीमा हिँड्नु, पौडिनु, डुङ्गा चढ्नु पर्ने हुन्छ। अनि ज्यानको जोखिम हुन्छ दाइ' उसले भन्यो।
'एजेन्ट राम्रो पर्ने र उसले मागेको बेला जति पनि पैसा दिनसक्यो त्यति चाँडै पनि हुने रहेछ र आफ्नो किस्मतले पनि साथ दिनपर्ने रहेछ' उसले त्यति भनेपछि अर्को राम्रै चिनजानको एक जना साथीलाई पनि सोधें- फलानो त एक महिनामै आयो त तपाईंलाई किन समय लाग्यो?
'मेरो किस्मत पनि त्यस्तै भो अनि अरूको कारण, फेरि दोस्रो लकडाउन सुरूभो अन्य देशहरूमा धेरै कारणले मलाई ढिला भो। अझ अरू त म भन्दा ५/६ महिनाअघि आएर दुबई बसेकासँग छ महिना दुबईमा बसियो। उनीहरू त दुबईमा नै १ वर्ष बसे, ५०/६० जनाको ग्रुप हुन्थ्यो उनीहरूमध्ये कुनै एक जनाको पनि पैसा एजेन्टले पाएन भने सबैलाई होल्ड गरेर राख्ने रहेछ। पछि थाहा भो ती दिनका कुरा गरिसाध्य छैन सपनाको देश मानेर आउँदा आफ्नो त हो हो परिवारको समेत ज्यान जोखिममा राखिएको हुन्छ। यी सबै कुराको अनुभव समेटेर लेख्ने हो भने त एउटा किताब बन्छ साथी' उनले भने।
एसियन तथा अन्य देशहरूबाट अमेरिका अवैध ढंगबाट छिर्दा छिटोमा १ महिनादेखि झण्डै २ वर्षसम्म समय लागेर आएका पनि छन्। कतिको ज्यान पनि गएको छ।
तर हाम्रो देशका कथित नेताहरू यो पीडालाई बुझ्दैनन्। उता हाम्रा नेपाली दाजुभाइका मनमा डढेलो सल्केको छ। ‘देशमा बसौं– यिनकै तुच्छ राजनीतिको गोटी हुनुपर्ने। विदेश जाउँ– धरधरी रूनुपर्ने।’
अब म ती अंकल, दाजु र अमेरिकाको यात्रा तय गरेकालाई र मलाई दिनहुँ फोनमा सल्लाह लिनेलाई के भनेर रोकौं उत्तर छैन।