उनी सिभिल अस्पतालमा छट्पटाइरहेकी थिइन्। राधा सिनेमा घरमा छट्पटाइरहेकी थिइन्। उनी सेतो रक्तकोषको खोजीमा थिइन्। राधा शो समय मिलेन र दर्शकसम्म पुगेन भनेर छट्पटाइरहेकी थिइन्।
मेरो भूमिका थियो। जहाँबाट भए पनि सेतोरक्तकोष खोजेर रगत छादिरहेकी उनलाई बचाउने कोसिश गर्नु।
सोही अनुसार म ब्लड बैंकबाट रगत बोकेर सिभिल अस्पताल आँउदै थिएँ। उनको ज्यान बचाउन ५ पोइन्ट सेतो रक्तकोष चाहिएको थियो। म फोनमा कुरा गर्दै व्लड बैंक जाँदै रगत संकलन गरेर सिभिल अस्पताल धाइरहेकी थिएँ। रगत पाउन सहज थिएन। व्लड ग्रुप भेटिए पनि पिआरपी अर्थात फिल्टर गरेर सेतो रक्तकोष बनाउन समय लाग्थ्यो। उनी आइसियुमा छटपटाइरहेकी थिइन्। उनको ज्यान जसरी पनि बचाउनु थियो।
यता राधालाई पनि सेन्सर पास भए दिन देखिको हल अकुपेन्सी देखाउनुपर्ने मनमा छट्पटी चलिरहेको थियो। कहाँ पोष्टर पुग्यो? कति बेला शो हटाउँछ? प्राइम टाइम कहाँ छ भनेर हेर्ने अर्को तनाव। जसरी भए पनि आफ्नै पैसाले टिकट किनेर सबै सिट सोल्ड आउट देखाउनु अर्को तनाव थियो।
यता सिभिलमा डाक्टरहरू भन्दै थिए, ‘महिलाको होइन। पुरूषको सेतो रक्तकोष चाहिन्छ। पुरूषको सेतो रक्तकोषले चाडो शरीरमा काम गर्छ।’
उनलाई डेंगी भएको थियो। काठमाडौंमा रहेको फोहोरको कथा त पटकपटक बल्झिरहन्छ तर यो फोहोर कुहिएर लिच्चडमा बस्ने डेंगी महामारीका रूपमा कतिबेला कसलाई थला पार्छ थाहा हुँदैन। डेंगीको महामारी पटक-पटक आउँछ। यस पटक पनि आयो। कसैलाइ छोएर जान्छ। कसैलाई मृत्युको मुखमा पुर्याइदिन्छ।
यस पटक उनलाई पनि आइसियुसम्मै पुर्याइदियो। आइसियुमा बसेको पाँचौं दिनमा ५ पोइन्ट सेतो रक्ताकोष चढाइसकेपछि उनलाई होस् आयो।
उसमा एक किसिमको आँट आयो। आफू बाच्छु भन्नेमा उनी ढुक्क भइन्। म उनलाई बचाउन सफल भएँ।
तर यता हाम्री राधालाई सिनेमा घरमा टिक्न दिएएन्। हामी फेल भयौं। काठमाडौंको फोहोरबाट फैलिएको डेंगीको कारण राधालाई सिभिल अस्पतालको आइसियुबाट बचाउन सफल भयौं। यस्तै सिनेमा घरमा टिक्न नदिएर थला परेकी राधालाई हामीले घरकै आइसियुमा राख्यौं।
यो वास्तविक घटना हो। ‘द सेक्रेट अफ राधा’ चलचित्रको।
दर्शकहरूको माझमा नपुग्दै चलचित्र राधा मृत्युको मुखमा धकेलिएकी हुन्। राधालाई थाहा पनि थिएन उनी यस पटक नराम्रोसँग डेंगीको टोकाइबाट थला पर्छु भनेर। तर जसोतसो राधालाई मृत्युको मुखबाट जोगायौं। नत्र काठमाडौंका डेंगी (वितरक, हलवाला र केही युट्यवुर) ले उसलाई नराम्रोसँग सक्थे।
राधा आज आइसियूमा पुग्नुमा यी डेंगीहरूको ठूलो हात छ। हामीले सोचेका पनि थिएनौं राधालाई जन्माउनुभन्दा ठूलो पीडा अझै यसलाई नेपाली दर्शकमाझ पुर्याउनुमा हुनेछ भनेर।
सन् २०२१ तिर हाम्रो सुटिङ शुरू भयो। कोरोना कहर चलिरहेको थियो। जम्बो टिम मकवानपुरको पालुङमा एक महिना बसेर सुटिङ सकायौं। काठमाडौंमा गरेको एडिटिङ पछि राधालाई अझै राम्री बनाउन फ्रान्स र बार्सिलोना जाने तयारी भयो। राधा गइन् र फरक स्वरूप लिएर आइन्। राधा निकै राम्री भइसकेकी थिइन्।
त्यतिबेलासम्म राधालाई जन्म दिने निर्देशक सुवर्ण थापाको फिल्म आर्ट हुन्छ। न गीत, न फाइट भन्ने गाइगुइ चलिसकेको थियो।
तर पहिलो पटक नेपाली फिल्मका दिग्गज र मानिएका कलाकारलाई फूलको एउटै सुन्दर मालामा गाँस्नु निकै चुनौतिका साथै खुसी पनि थियो।
त्यसपछि राधाको ‘पाउमा पाउजु छैन बरी लै...’ गीत तीजलाई मध्यनजर राख्दै बनाइयो। जुन आइडिया निर्देशककै थियो। राधा फिल्मको पोष्ट प्रोडक्सन शुरू भएदेखिनै हामीले तीजलाई केन्द्रबिन्दुमा राखेर काम गरिएका थियौं।
गीतले राम्रो चर्चा पायो। गीत र फिल्मको ट्रेलरले नेपालको कला संस्कृतिलाई छोएको भन्दै चीनस्थित दूतावासले ‘वेइजिङ फिल्म फेष्टिभल’ मा राधालाई छान्यो। राधा निकै खुसी थिइन्। राधाको चर्चा अझ चुलियो।
राधालाई हामीले भनेझैं मासमा, शहर बजार र गाँउ गाँउमा प्रचार–प्रसार गर्न पाएनौं। तर विभिन्न सञ्चार माध्यमले राम्रो स्थान दिए। जसमा हामी निकै आभारी थियौं।
जब राधा दर्शकमाझ आउने तयारी गर्दै थिइन्। हामीलाई सार्वजनिक गर्ने मिति पाउन हम्मेहम्मे पर्यो। भदौ २४ मा बल्लतल्ल पायौं। भदौ १० मा दुई वटा नेपाली चलचित्र थिए। दुई मध्ये एउटा चलचित्र अगाडि सरेपछि हामी भदौ १० मा सर्यौं।
हामीलाई पनि तीजको अवसरमा राधालाई दर्शक माझ ल्याउने समय जुर्दा ‘ढुंगा खोज्दा देउता मिले जस्तै’ भयो।
चलचित्र रिलिजको मिति नजिकिँदै गर्दा कहिले राधाको रिलिज मिति सर्छ भनेर हल्ला सुन्थ्यौं कहिले ‘राधा आर्ट मुभी हो’ भनेर हल्ला सुन्थ्यौं। मलाइ लाग्थ्यो-फिल्म भनेकै एक किसिमको आर्ट हो, बिना आर्ट फिल्म कसरी सम्भव हुन्छ?
राधालाई सिनेमा घरमा भित्र्याउने मिति भदौ १० गते आयो। एकातिर निकै डर लागिरहेको थियो अर्कोतिर खुसी पनि उत्तिकै थियो।
रिलिजकै दिन एकाबिहानै नाम मात्र’ को टिमका एक जनाको फोन आयो। ‘ए...सुवर्ण थापा कहाँ छ?,’ बिहान बिहानै थर्काउँदै फोन गरेपछि म अक्क न बक्क भएँ। फिल्म रिलिजको दिन धम्काएर फोन आयो। म अस्पतालमा थिएँ।
‘मेरो नाम सिंगल पर्दामा किन नराखेको,’ मलाई पनि मुख छाड्दै भन्यो। उसले ठाडो भाषामा विभिन्न कुराहरू बोलिरह्यो।
‘फिल्म देखाउने कि तिम्रो नाम ठूलो बनाएर देखाउने? तिमी को हौं र त्यसरी देखाउनलाई?’ मैले यति जवाफ दिएर फोन राखेँ।
टिममा हुँदा पनि गाँजा खाएर धाक देखाउनुबाहेक अरू खासै काम गरेको मैले देखेकी थिइनँ।
राधालाइ दर्शक माझ ल्याउने दिनभरि उसले पटक पटक फोन गरेर तनाव दिइरह्यो।
कहिले पेपर हेर भन्छ। कहिले के भन्छ। जब पेपर हेरेँ जसको माध्यमबाट ऊ आएको थियो। उसको नाम राख्न पनि आवश्यक थिएन। कानुनी रूपमा वकिलसँग सल्लाह गरेपछि ‘सम्बन्धित मान्छेलाई ल्याएर आउनू, म कुरा गुर्छ’ भनेपछि फोन गर्न छोड्यो।
हामी फिल्म रिलिजमा प्रोपोगाण्डा गर्ने मनसायमा थिएनौं। एकाबिहानैको तनावले फिल्मको पहिलो दिन प्रभावकारी रूपले अगाडि बढ्न सकेनौं।
तनावकै बिचमा अर्का चलचित्रका प्रोड्युसर महेन्द्रजीको फोन आयो। ‘हामी पत्रकार सम्मेलन गर्दैछौं तपाईहरू पनि आउनुस्।’ न योजना, न पूर्व जानकारी कहाँ कुद्नू। ‘भैगो’ भन्यौं।
हामी कलाकारलाई कुर्दै, कुन-कुन सिनेमा घरमा पुग्ने भनेर योजना बनाएर बस्यौं।
‘अहिलेसम्म काम गरेको अनुभवमा यस्तो कहिले देखिनँ, हलमा अकुपेन्सी देखाऊ के। पैसा हालेर हल भरौं। यस्तै हो गर्ने।तपाईँहरू किन कुरा बुझ्नु हुँदैन,’ वितरकहरू झर्कँदैथ्ये।
पहिलो दिन देशभरमा ४५ शो पाएको राधालाई एकाएक दोस्रो दिन शनिबार ३५ शोमा झारियो। हामीलाई थाहा थिएन। राधालाई दर्शकमाँझमा हुर्कनु अघिनै मार्ने प्रपञ्च रचिदैछ भनेर।
फिल्म सेन्सर पास भएदेखि ‘हल बुक गर्नुहोस्, टिकटहरू काट्नुस्’ भन्ने तनाव आइरहेको थियो। मेरा लागि यी झमेला सबै चकित पार्ने खालका थिए।
दर्शकले नकाटे पनि निर्माता टिमले हल अक्कुपाई देखाउनुपर्ने दैनिकी हाम्रा लागि निकै चुनौती थियो। हामी सक्दैन थियौं, तर अरू चलचित्र निर्माता वा सम्बन्धीत व्यक्तिका लागि यसो गर्नु नौलो थिएन होला।
राधाको पोष्टरको टाँसेको छ छैन भनेर चेक गर्दा काठमाडौं बाहिरका हलमा पोष्टरसमेत पुगेको रहेनछ। सबैले पोष्टर समेत नभएको खबर पठाइरहेका थिए। हलमा राधा हेर्न गएका दर्शक लाइगरतिर गइरहेको समेत फोन आइरहेको थियो।
एकातर्फ पोष्टर नपुगेको, अर्कोतर्फ प्राइमटाइम काटेर राधाका पखेटा काट्दै गरेका दृष्यले मन भतभती पोलिरहेको थियो।
यस्तै १३ गते साँझ राधा हेर्न आएका नविन सुब्बा, स्वस्तिमा खड्का, निश्चल बस्नेत, केकी अधिकारी, नैनसिंह महरलगायतले फिल्मका बारेमा दिएको प्रतिक्रिया लुकाइयो। त्यसपछि मलाइ थप शंका लाग्यो। ‘केही मिडिया पनि राधाका लागि डेंगी भएका रहेछन्।’
राधालाई जतिले हेरे ९७ प्रतिशत राम्रो प्रतिकिया आइरहेको थियो। चलचित्र पत्रकार संघका अध्यक्षलाई भ्याइनभ्याइ थियो। उनी पनि परेसान देखिन्थ्ये ।
हुरूरर्र एउटा हुल ल्याउने, छिनमै बिलाउने।
फिल्मको प्रचारप्रसारका लागि भनेर विज्ञापनवापत हामीले १ लाख ५० हजार रकम खर्च गर्न सक्यौ। अध्यक्षका अनुसार यो खर्च एकदमै न्यून हो रे। विज्ञापनमा हामीले धेरै रकम खर्च गर्न नसकेका कारण उनले हामीलाई सहयोग गरीरहेका थिए । अरूले त १० लाखसम्म विज्ञापनमै खर्च गरेका हुन्छन् रे। हामीलाई पनि उनको सल्लाह ठीकै लाग्यो।
म सोच्थेँ- पत्रकारको काम नै लेख्ने हो। पैसा किन दिने?
तर मेरो दृष्टिकोण भन्दा धेरै नै फरक थियो वातावरण। व्यवसायिक पत्रकारको उपस्थिति फरक थियो। एक, दुई वटा युट्युवरबाहेक अरू यूट्युवर अचम्मित पार्ने खालका थिए।
‘नभएका कुरा बढाएर टाइटल दिने, पैसा पाएमा तत्काल अपडेट हुने, पैसा नपाए रिभ्यू हराउने’ यस्ता अनेकन हर्कत आइरहेका थिए।
राधाको चौथौ दिन हामीले कल्पना नगरेको शो टाइम पायौं। अनि सोच्यौं। राधालाई बचाउनुपर्छ। नत्र राधालाई डेंगीले सिध्याउँछन्। हामीले भदौ १४ गते तिजको दिनका लागि प्राइम शो अनुरोध गर्दा पनि नपाएपछि राधालाई मर्नु भन्दा आइसियूमा राख्ने योजना बनायौं।
नेपाली चलचित्रलाई शुक्रबार रिलिज भएपछि कमसेकम तीन दिनसम्म प्राइमटाइम प्रायः हलमा दिएर पनि नचलेमा दर्शकले नरूचाएको हुन्छ। हामीले डिसिएनलाई नै हाम्रो फिल्म बिस्तारै हाइट लिन्छ भनेर प्याकेजमै शुल्क बुझाएका थियौं। तर भने अनुसार अनुरोध गर्दा पनि पाएनौं।
कतिलाइ लाग्दो हो, पाँचौ दिनमा आएर किन बोल्यौंरु के हो पारा? किन फिल्म हलबाट निकालियो?
तर हाँसेर हामी भन्छौं, ‘हामीले प्रोपोगाण्डा गर्न, नभएको कुराको प्रमोशन गर्न, पैसा खर्च गर्न र झुटो प्रचार गर्न सकेनौं। त्यसैले दर्शकसँग माफी माग्दै हाम्री राधालाई आसियुमा राख्यौं। मर्न दिदैनौं।’
हामीसँग चलचित्र प्रदर्शन भएपछि नहेरेका दर्शकको गाली र ताली पचाउने क्षमता भएको छ। किन भने डेंगीबाट बचाएर हामी चाँडै तपाईँहरू माँझ पुनः स्वस्थ्य राधालाई लिएर आउनेछौं।