सुयत्त राष्ट्रसंघीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालय (युएनओडिसी) को विश्व लागुऔषध प्रतिवेदन २०२१ अनुसार सन् २०१९ मा विश्वभर २७ करोड ५० लाख लागुऔषध प्रयोगकर्ता रहेका छन्।
कतिपय मानिसहरू जीवन जिउन नजानी नराम्रो लत अर्थात् कुलतको सहायता लिन बाध्य भइदिन्छन्। कुलत खराब आनीबानी हो। जीवनको सुन्दरता तथा महत्वबारे भेउ नपाउनेहरू लापरवाहीपूर्वक वा नबुझेर क्षणिक आनन्दका लागि आफ्नो अमूल्य जीवनलाई लागुऔषधको दुर्व्यसनमा डुबाउँछन्। तर जीवन जिउने कला सबैमा हुँदैन।
जब मानव सभ्यताको सुरूआत भयो, सोही सभ्यतासँगै कुनै न कुनै रूपमा लागुऔषधको प्रयोग हुँदै आए पनि १६ औं शताब्दीको सुरूबाट युरोपियन मुलुकहरूमा 'अफिम' नामक वनस्पतिबाट उत्पादित वस्तुहरू दर्दनाक रूपमा प्रयोग हुन थाल्यो।
अफिम लागु पर्दाथको दुर्व्यसन रोक्न मर्फिन सन् १८०५ मा आयो। यसको केही समयपछि अमेरिकाले गृहयुद्धमा आफ्ना घाइते सैनिकको पीडालाई रोक्नको लागि व्यापक रूपमा प्रयोग पनि भयो तर यो त अफिमभन्दा १० गुणा हानिकारक बनि औषधि विज्ञानमा घातक सिद्ध भयो। त्यसैगरी हिरोइन चाहिँ मर्फिनभन्दा बीसौं गुणा हानिकारक छ।
यो समस्या कुनै स्थान, मुलुक वा क्षेत्र विशेषको समस्या मात्र नभई विश्व मानव समुदायकै सामूहिक समस्याका रूपमा देखिँदै आएको छ। विश्वको धनी वा गरिब राष्ट्र कुनै यो समस्याबाट अछुतो हुन सकेका छैनन्।
नेपालमा लागुऔषध प्रयोगकर्ताको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। नेपालका सहरी क्षेत्र तथा सीमावर्ति क्षेत्रमा यसको व्यापक दुरूपयोग भएको छ। एउटै घरपरिवारका बाबु, आमा, छोराछोरी, बुहारी, भाइ, भान्जा सबै लागुऔषधको कारोबारमा संलग्न छन्।
नेपालमा लागुऔषध २०७६ को सर्वेक्षणअनुसार एक लाख ३० हजार ४२४ जना लागुऔषध प्रयोगकर्ता छन्। जसमध्ये महिला आठ हजार ७७३ (६.७%) र पुरूष एक लाख २१ हजार ६९२ जना (९३.३%) रहेका छन्। यो तथ्यांक हेर्दा प्रयोगकर्ता वार्षिक वृद्धिदर ५.६% रहेको देखिन्छ।
प्रहरीले यिनीहरू सबैलाई लागुऔषध ऐनअनुसार मुद्दा चलाउँछ। अदालतमा गएर धरौटी बुझाएर छुटेर आउँछन् र फेरि यही पेसा गर्न थाल्छन्।
नेपाल प्रहरीको तीन वर्षीय तथ्यांकलाई अध्ययन गर्दा २०७६ देखि २०७९ सम्म त्यसमा १४ हजार ९६१ जना पक्राउ परे र ९ हजार ७६९ मुद्दा दर्ता भएको पाइएको छ। यो अध्ययनबाट के थाहा हुन्छ भने लागुऔषधको कारोबारी र दुर्व्यसनी दिन प्रतिदिन बढ्दै गएका छन्। हाल आएर यो समस्या राष्ट्रलाई ठूलो चुनौतीको विषय भएको छ।
विशेषगरी अत्याधिक आकांक्षा बोक्ने युवायुवतीले लागु पदार्थको नकारात्मक असरबारे बुझ्न आवश्यक छ। सहरी क्षेत्रमा महिलाहरू समेत लागुऔषधको कुलतमा फसेका छन्। यसरी दुर्व्यसनमा फसेका महिलाहरूले सामाजिक रूपमा नै समाजबाट बहिष्कृत हुनु परेको छ।
लागुऔषधको कुलतमा फस्दा समाजमा विभिन्न किसिमका सरुवा रोगहरू जस्तै एचआईभी एड्स संक्रमणलगायत रोग उल्लेखनीय मात्रामा बढेको विभिन्न अध्ययनले स्पष्ट पारेको छ।
यसरी लागुऔषधको लतमा किशोरकिशोरीको बढ्दो संलग्नता, बहुऔषधिको प्रयोगमा वृद्धि, सुईको प्रयोगबाट विभिन्न किसिमका रोग, अपराधीक कृयाकलापमा भएको वृद्धिले समस्यालाई जटिल बनाएको छ।
हाम्रो समाजमा यस्तो पनि छ कि ३२ वर्षीय बाबुसँगै उसको १४ वर्षीय छोरो पनि लागुऔषधको कुलतमा फसिसकेको छ। घरमा बाबुछोरा लागुऔषध सँगै सेवन गर्छन्। हाल आएर बाबुछोरा एउटै सुधार केन्द्रमा बसिराखेका छन्।
मानवीय समस्याको निराकरण समयमा गर्न नसकेको खण्डमा राष्ट्रले उत्पादनशील र सृजनशील युवा शक्ति गुमाउनका साथै अपराधिक क्रियाकलाप पनि बढ्न जाने र उपयुक्त उपाएको खोजी अवलम्बन गर्न सामूहिक शक्तिको निर्माण गर्नु आजको आवश्यकता भएको छ।
लागुऔषधको उत्पादन तथा बदलिँदो स्वरूप र प्रवृत्तिलाई नियन्त्रण गर्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय महासन्धिको भावनाअनुरूप कानुनको निर्माण तथा परिमार्जन गरी कानुन कार्यान्वयनलाई अझ बढी सुदृढ, सक्षम र साधन सम्पन्न तुल्याउन अपरिहार्य भएको छ।
नेपालमा लागुऔषध ऐनको व्यवस्था भएको ४६ वर्ष भयो तैपनि अहिलेसम्म नियमावलीको व्यवस्था भएको छैन। ऐनमा भएको व्यवस्थाअनुसार नेपाल सरकारले विशेष अदालत गठन गर्न नसकेको अवस्था छ। यसरी लागुऔषध सेवनजस्तो अपराधलाई विशेष अदालत गठन गरेर हेर्ने व्यवस्था भएमा छिटो छरितो फैसला हुन सक्ने थियो। साथै विशेषज्ञको ज्ञान भएका न्यायाधीश नियुत्त हुने हुँदा लागुऔषधमा केही मात्रामा भए पनि नियन्त्रण गर्न सकिने थियो।
लागुऔषधको समस्या आज व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै अक्रान्त पारेको छ। यो कुनै एक देशमा मात्र सीमित नभई विश्वकै साझा समस्या रूपमा देखा परेको छ। नेपाल प्रहरीको तथ्यांक हेर्ने हो भने महिला तथा बालबालिकाविरूद्ध हुने घरेलु हिंसा लगायतका विभिन्न अपराधहरूको मूल जड पनि अधिकांश अवस्थामा लागुऔषध नै रहेको देखिन्छ।
लागुऔषधको खेती, उत्पादन, बेचबिखन, ओसारपसार र उपभोगलाई नियन्त्रण गर्न नेपाल सरकार, लागुऔषध ब्युरो, विभिन्न सामाजिक सरकारी तथा गैरसरकारी संघ संस्था सबै आ-आफ्नो क्षेत्रमा निरन्तर लागि रहँदा पनि लागुऔषध दुव्यर्सनको समस्याले समाजमा नराम्रोसँग जरा गाडेको देखिन्छ।
आजभोलि लागुऔषध प्रयोगकर्ता प्रहरीभन्दा सयौं गुणा अगाडि छन्। उनीहरू लागुऔषध किन्न र बेच्नमा कोड भाषाको प्रयोग गर्ने तथा किन्ने बेच्ने मानिस पनि एकआपसमा भेटघाट गर्दैनन्। कुनै एउटा ठाउँको इँटामा, ढुङ्गामा, माटोमा, बिजुलीको पोलमा लागुऔषध राख्ने। त्यसपछि त्यो ठाउँलाई अवलोकन गर्ने। त्यसको केही समयपछि उक्त ठाउँबाट सो लागुऔषध लिएर जाने गरेको पाइन्छ। सो बापतको पैसा ई-सेवा, ई-बैंकिङ र आइएमई गरिदिने गर्छन्। यस्तो तरिकाले पनि लागुऔषधको कारोबार गर्ने गरेको पाइन्छ।
त्यसैगरी खुला सिमानाका कारण पनि लागुऔषधको कारोबार धेरै हुने गरेको छ। भारतको सीमानाबाट लागुऔषध धेरैजसो महिलाहरूले घरायसी सामानहरू ल्याउँदा ल्याउने गरेको पाइन्छ। सीमा पारिका लागुऔषध व्यपारीले उत्त लागुऔषधलाई विभिन्न खाद्य पर्दाथमा प्याकिङ गरेर नेपालमा भित्र्याउने गर्छन्। साथै महिलाहरूले कपालको जुरोमा लुकाएर भए पनि लागुऔषधको ओसारपसार गर्ने गरेको पाइन्छ। यसलाई नियन्त्रण गर्नको लागि राज्यलाई ठूलो चुनौती भएको छ।
लागुऔषधको अवैध ओसारपसारमा संलग्न गिरोहको गतिविधि सीमावति क्षेत्रमा व्यापक रूपमा बढेको छ। स्थानीय स्तरमा उपभोग हुने वा नेपाल हुँदै अन्य मुलुकमा अवैध ओसारपसार हुने हिरोइन स्थलगत र हवाईमार्ग हुँदै नेपालमा भित्रने गरेको पाइन्छ।
अफिमको उत्पादन तथा ओसारपसार मुख्य केन्द्र मानिएको गोल्डेन ट्रायंगल र गोल्डेन क्रेसेन्ट नजिक रहेको नेपालको भौगलिक बनावटका कारणले गर्दा विभिन्न अन्तर्राष्ट्रिय गिरोहले अवैध कारोबारको पारवहनको रूपमा प्रयोग गरिरहेका छन् र भविष्यमा यसको प्रयोग बढी गर्न सक्ने सम्भावना प्रवल देखिन्छ।
राज्यले लागुऔषध नियन्त्रण नीति, २०६३ अनुसार गृह मन्त्रीको अध्यक्षतामा उच्च स्तरीय लागुऔषध नियन्त्रण राष्ट्रिय निर्देशन तथा समन्वय समिति रहने व्यवस्था गरेको छ। त्यसैगरी लागुऔषध नियन्त्रण सम्बन्धी कार्यक्रमको प्रभावकारी रूपमा कार्यान्वयन भए नभएको मूल्यांकन गर्नको लागि गृह मन्त्रालयका सचिवको संयोजकत्वमा लागुऔषध नियन्त्रण कार्यकारी समिति रहने व्यवस्था छ।
नेपालमा लागुऔषध नियन्त्रण गर्नको लागि सरोकारवाला निकाय एकजुट हुन आवश्यक छ। प्रशासनले मात्र यसलाई नियन्त्रण गर्न असम्भव छ। सबै राजनीतिक दलले यसलाई नियन्त्रण गर्नको लागि एउटै मोर्चामा उभिएर समाजमा भएका लागुऔषध कारोबारीलाई बहिष्कार गर्नु पर्ने देखिन्छ।
स्थानीय सरकारले पनि आफ्नो स्थानीय स्तरमा भविष्यमा युवा पुस्ताहरू कुलतमा नफसोस् भनेर विभिन्न खेलकुद मैदान बनाउने, विभिन्न किसिमका खेलकुद कार्यक्रम गर्ने, खेलकुदमा लगानी गर्नुपर्ने आवश्यक देखिन्छ। त्यसका साथसाथै स्थानीय प्रहरी, क्लबहरू, आमा समूह र स्थानीय संचारकर्मी मिलेर विभिन्न किसिमका जनचेतना मूलक कार्यक्रम व्यापक रूपमा गर्न आवश्यक देखिन्छ।
लागुऔषध अपराध मानवीय संवेदनासँग जोडिएको हुनाले यसलाई अर्काको मात्र समस्या हो भनि नपन्छिई यसबाट म र मेरो परिवारलाई समेत असर पार्न सक्छ भन्ने मानसिकता लिएर काम गरे लागुऔषधको उत्पादन, ओसारपसार र दुरुपयोग नियन्त्रण गर्न सकिन्छ।
जीवन सुन्दर अनि अमूल्य छ। यो मानव जीवनको बयान शब्दले अपुग हुन्छ। जसले जीवनलाई सुन्दर तथा कलात्मक तरिकाले जीउन जान्दछ त्यो मानव नै बुद्धिमान कहलिन्छ। समाजमा ऊ अब्बल दर्जाका रुपमा उदाहरण भइरहन्छ। लागु पदार्थको दुर्व्यसनीलाई अपराधीको रूपमा नहेरी यो एक प्रकारको रोग हो उपचार गरे अवश्य निको हुन्छ भने चेतना व्यापक रूपमा जनमानसमा फैलाउनु पर्छ।
यसरी युवाहरू दुर्व्यसनमा फस्दा घरपरिवार समाज र राष्ट्र समेत विकासमा पछाडि पर्छ। लागुपदार्थको साटो स्वस्थ जीवनको बाटो भन्दै हामी सबैले हातमा हात, काँधमा काँध मिलाएर अगाडि बढेमा यसलाई शून्यमा झार्न सक्छौं। तसर्थ लागुऔषध प्रवेश हुनबाट रोक्न सबैले आ-आफ्नो घरमा लागुऔषध प्रवेश हुन नदिने अभियान चालौँ।