संस्कृतमा एउटा श्लोक छ-
उपाध्यायान् दशाचार्य आचार्याणां शतं पिता।
सहस्रं तु पितृन् माता गौरवेणातिरिच्यते।।
अर्थात् दश जना उपाध्यायभन्दा बढी एकजना आचार्य, सय जना आचार्यभन्दा बढी एउटा बाबु र हजार बाबुभन्दा बढी एउटी आमा बाल विकासका लागि महत्वपूर्ण हुन्छिन्। आमाबाबुको काम सन्तानलाई जन्म दिने मात्र होइन, त्यसपछिको कर्मको मर्म अनुरुपको धर्म पनि सिकाउन सक्ने ल्याकत राख्नु पर्दछ। जसको प्रभाव सन्ततिले तर्ने अनेकौं जँघारमा शक्ति बनेर आवोस्।
चिन्ता, चिन्तन र चैतन्यलाई चिन्ने राजमार्ग नै त बनाउन नसकिएला तर रेखा चाहिं अवश्य कोरिदिनुपर्छ। मान्छे चिनाइदिनुस्। मानवता र दानवता देखाइदिनुहोस्। सत्यको मन्दिरमा पूजा गर्न प्रेरित गर्नुहोस् न कि फगत प्रशंसाका पुलिन्दा सहितको भेटीले पुज्न मात्र।
एउटा बालकको चौतर्फी विकासमा अभिभावकको विशेषत आमाबुबाको भूमिका कस्तो हुनुपर्छ? हामी कस्ता अभिभावक हौं? भगुवा कि अगुवा? कति सँच्चा कति कच्चा? स्मार्ट अभिभावक कसरी बन्ने? जस्ता विषयमा आउनुहोस् अब विमर्श गरौं।
पहिलो प्रसंग: बाबुआमा र छोराछोरी बीचको संवाद।
संवाद नम्बर १
छोरा: 'बाबा, बाबा! म दौडमा फर्स्ट भएँ। यी हेर्नोस् त ट्रफी!'
बाबा: पढ्नु गुन्नु क्यै छैन। पढाइमा फर्स्ट भए पो!'
संवाद नम्बर २
छोरा: 'आमा, आमा! म क्लासमा फर्स्ट भएँ। यी हेर्नोस् त पुरस्कार!'
आमा: 'यस्तो लुरे छस्। खेलकदमा फर्स्ट भएँ पो!'
संवाद नम्बर ३
'आज मैले गीतमा सबैलाई जिते नि!'
'गीत गाएर के हुन्छ? खान पाइन्छ? पढाइमा ध्यान दिने गर्।'
संवाद नम्बर ४
'आज मैले गज्जब भाषण गरें नि? सरहरूले पनि ताली बजाउनुभयो।'
'भाषण गरेर के हुन्छ? जाँचमा नम्बर पाइन्छ?'
संवाद नम्बर ५
'मम्मी, मम्मी! मैले सफाइमा पुरस्कार पाएँ। यी हेर्नोस् त!'
'पढ्नु गुन्नु क्यै छैन्, नक्कल पार्न त जानेकी छेस् नि। कसरी घर गरेर खालिस्?'
यी माथिका संवाद भारतीय लेखक गिजुभाइद्वारा लिखित र नेपाली भाषाशास्त्री शरच्चन्द्र वस्तीद्धारा अनुवादित 'हामी आमाबाबु' पुस्तकको पृष्ठ १३ को उपलब्धिको अपमान शीर्षकबाट लिइएको हो।
यी र यस्ता संवाद हामी अभिभावकका लागि त सामान्य नै लाग्छन्। हामी दैनिक रुपमा यस्ता कुराकानी गरिरहेका हुन्छौं तर हाम्रा स-साना बालबालिकाहरूको मनमस्तिष्कमा जहिल्यै पीडा दिने काँडो बनेर बसेको हुन्छ। त्यति कुरा पनि हामीले हेक्का राखेका छैनौं वा जानीजानी पनि त्यस्ता शब्दहरूबाट पर्ने नकारात्मक सन्देशको समीक्षा गरेका छैनौं।
केटाकेटीको उत्साह, उत्सुकता उत्प्रेरणालाई अपमान गर्छौं। अवमूल्यन गर्छौं। बालबालिका केही नयाँ काम गर्न खोज्छन्। त्यो उनीहरूको स्वभाव नै हो। हामी तँलाई आउँदैन, उम्रिँदैकी तीन पात भन्दै कुँज्याउछौं। यो नै सबैभन्दा ठूलो कालकोट विष बनिरहेको छ।
हामी कहाँ चुकेका छौं त? हेरौं।
उदाहरण: विद्यालयमा आफ्ना छोराछोरीले प्राप्त गरेको परीक्षाको अकंले नै उसको भाग्य र भविष्यको फैसला गर्छ भन्ने भ्रम छ। परीक्षामा ९८ प्रतिशत अकं ल्याउँदा किन १०० प्रतिशत आएन भन्नेमा बार्गेनिङ गर्छौं। आफ्नो बच्चालाई ज्ञानी होस् भन्यौं, सिद्धान्त सिकायौं तर सीप सिकाएनौं। संस्कार सिकाएनौं। व्यवहार सिकाएनौं। आचरण सिकाएनौं। महत्व घोक्न लगायौं तर मूल्यमान्यता सिकाएनौं। निर्णय सिकायौं तर नैतिकताको मर्म सिकाउन बिसिन्छौं।
यसै सन्दर्भमा प्रसिद्ध शिक्षाशास्त्री टी रेमन्टले भनेका छन्, 'आफ्नो बच्चालाई आफूले सिकेको ज्ञान मात्र दिन नखोज। ऊ तिमीभन्दा फरक समयमा जन्मिएको छ।' तसर्थ तीन घण्टे परीक्षाको आधारमा बालबालिकाले प्राप्त गरेको पास फेलको पुर्जाले उसको व्यक्तित्व किमार्थ पूर्ण हुँदैन भन्ने कुराको ज्ञान प्रत्येक अभिभावकमा हुन जरुरी छ।
उदाहरणका लागि एउटा बालकलाई बोटबिरुवामा किन पानी चाहिन्छ भनेर परीक्षामा सोधियो भने एक अनुच्छेद लेख्न सक्छन् तर आफ्नै घरमा रहेको गमलाको फूल पानीको अभावले सुकिरहेको हुन्छ। आखिर किन? उत्तर सहजै आउँछ। हामीले ज्ञान मात्र दियौं तर उसको वास्तविक जीवनसँग तालमेल गराउन असमर्थ रह्यौं। हुन त यो विषयमा अभिभावक मात्र जिम्मेवार छन् त? जरुर छैनन्। यहाँ परीक्षा प्रणालीको दोष छ। नीतिको अभाव होला। जीवनोपयोगी पाठ्यक्रम छैन होला।
शिक्षालय पनि त्यत्तिकै जिम्मेवार छन्। शिक्षकको पनि भूमिका महत्वपूर्ण होला। यसका पछाडि वृहत्त पक्षहरू होलान्। तर यी सबैं बालबालिकाको लागि शिक्षा प्राप्त गर्ने दोस्रा माध्यम हुन्। प्रधान भूमिका त आमाबाबुकै हुन्छ। बालबालिकाको शिक्षाको सुरुआत कोक्रोबाट सुरु भई चितामा अन्त्य हुन्छ भनेझैं बालकको गर्भधारणदेखिको वातावरण सिर्जना गर्नेसम्मको अहम् भूमिका अभिभावककै काँधमा रहेको छ।
तसर्थ अभिभावकले सोच बदलौं, आफ्ना छोराछोरीको संस्कार आफै बदलिन्छ। अवसर दिउँ, अवरोध होइन। सानैदेखि आत्मबल बढाऔं। दण्डलाई जिम्मेवारीले प्रतिस्थापन गरौं।
(लेखक बर्जु गाउँपालिका शिक्षा शाखामा कार्यरत छन्।)