कुरा धेरै पुरानो होइन, केही समय अगाडिको हो। उमेरले मभन्दा कान्छो, साइनोले मभन्दा जेठो काका बित्नु भएको थियो। मृत्युले उमेरलाई हेर्दैन रहेछ भनेको हो रहेछ! थाहा थियो, अझ त्यो घटनापछि राम्रोसँग थाहा भयो। भनिन्छ नि जब आफूलाई पर्छ अनि हुन्छ थाहा भनेर।
साइनोले काका र भतिज भए पनि दुई जना एउटै आमाको कोखबाट जन्मेको दाजुभाइ जस्तै थियौँ हामी। जीवन जिउन सहज हुनको लागि बनाएको होला जस्तो लाग्छ अनेकौं सम्बन्धको नामहरू। काका-काकी, मामा-माइजू, साला-भेना आदि आदि। हो, होइन एकिनका साथ भन्न सक्दिनँ। केबल मनमा लागेको कुरा समेटेको मात्रै हो।
हामी दुई काका भतिजले बिताएको पलहरू एकाएक इतिहास भैदिएको छ अलि छिट्टै, समयभन्दा अगावै। ती स्वर्णिम अमिट क्षणहरू अब केबल स्मृतिमा बाँचिरहेने छ म बाँचुन्जेल। भौतिक अनुभवबाट बन्चित भएर मनमा सीमित, तरंगमा सीमित रहने छ अब हाम्रो सम्बन्ध, हाम्रो प्रेम।
काकाको मृत्यु पश्चातको पार्थिक शरीरलाई नजिकबाट हेर्न र छुन हिम्मत गरेँ मैले। यो घटनाभन्दा अगाडि मैले कहिले मृत्यु पछिको मान्छेको शरीर देखेको थिइनँ। हामी तामाङ, हाम्रो संस्कार आफ्नै प्रकारको हुन्छ। मृत्यु भएर के-के गर्नु पर्ने, के-के हुनु पर्ने सारा कुराको अवलोकन नजिकबाट गरेँ।
चटारो हुँदैन दाहसंस्कार गर्न चिहान लैजान। काकाको मृत्युको खबर गाउँभरि फैलियो। गाउँले भेला भए। कोही लामा लिन गए, कोही ल्हाम्देन (कात्रो) लिन बजार गए। कोही आँप, चाप, बाँस, अनेक थरिका वनस्पति खोज्न जंगल खोरिया गए। सबै चाहिने जति सरसामान जुटाए।
अलि नडराउने आठ-दस जना मिलेर काकाको पार्थिक शरीरलाई ठूलो तामाको खड्कुलोमा राखेर नुहाउने काम गरियो। अनि नयाँ लुगा लगाएर पद्मासन अवस्थामा राखियो मुख पूर्वतिर फर्काएर, पित्तम्बर र सेतो कपालले बेरेर घर भित्रको कुनामा सजाइयो। हाम्रो परम्परामा लासलाई सुताएर होइन बसाएर लाने चलन छ। यी सब कुराहरू मैले प्रत्यक्ष हेर्दै थिएँ पहिलो पटक।
विधिवत लामाले आफ्नो नित्यकर्म गरे। घरको तर्फबाट, मावलिको तर्फबाट, थुप्रै साइनोहरूको तर्फबाट पटक पटक एक सय आठ बत्ती बाले। लामाहरूले थपी थपी मोलम आशीर्वादको साथ मृत्यु र मुक्तिको कथाहरू सुनाए। सबै रीत पूरा गरेर लामा अघिअघि मलामीको साथ काकाको पार्थिक शरीरलाई डाँडामा अवस्थित चिहानमा पुर्याइयो। सिन्जाङ्ग (चित्ता) बनाइयो भाइ गुठियार मिलेर।
काकी उमेरकी नै हुनुहुन्छ। काकाको मृत्युको बज्रपातले उहाँ अर्धमुर्छित हुनुभयो। चिहानसम्म जाने सहुलियत भए पनि उहाँ जान सक्नु भएन। उहाँको अनुपस्थितको खाली ठाउँमा थियो सानो फुच्छे भाइ। नौ वर्ष पूरा भएर दसौं वर्षमा प्रवेश गरेको भाइले विधिपूर्वक उनका बा, मेरो काकाको मुखमा दागबत्ती दियो। आगो लगाएको चित्ता चिनी र घिउको सहयोगमा दनदनी बल्न थाल्यो। बलिरहेको आगोसँगै बले उनको रहर, चाहना, इच्छा सबैसबै। त्यो बलिरहेको आगोको मुस्लोसँगै जल्दै गयो मेरो प्रिय काकाको जिन्दगी।
कति धेरै माया गर्नु हुन्थ्यो आफूले आफैलाई! कति सजिएर हिँड्नु हुन्थ्यो! कति जतनले सम्हाल्नु भएको थियो आफूले आफैलाई। जतिसुकै प्रेम गरे पनि एकाद घण्टामा पूरै खरानी बनायो मेरो काकालाई बल्दै गरेको आगोले। उनको मिलेको जीउडाल, छाटिलो कदको शरीरले खरानीको रुपधारण गरेपछि ज्वाइँचेलाले सबै खरानी उठाएर तल बग्दै गरेको खोलामा लगेर सेलाए।
अघिसम्म निर्जीव नै भए पनि सग्लो मेरो काकाको शरीर आगो धुँवा बन्दै हावाको साथमा उडेर टाढा पुगे। बचेको ठोसपदार्थ खरानी खोई कहाँसम्म पुग्ने हो खोलासँगै बगेर!
मात्रै दस वर्ष भएको नाबालक भाइ बाको नाउँमा कपाल मुन्डन गर्यो। चिण्डे टाउको, खिरिलो सुकेको शरीरमा दुई मिटर सेतो कपडा बेरेर बरखीमा राखियो। रीत पूरा गर्न सिकायौँ हामीले। सात दिनमा गर्नुपर्ने ङोआ (श्राद्ध) गरियो। तेह्र दिनमा घेवा (किरिया) गरियो। सबै कार्य सक्कियो। दिन, हप्ता हुँदै महिना अनि वर्ष हुँदैछ। अब बर्खान्तको काम बाँकी छ।
काकाको मृत्युले सोकाकुल भएको परिवार विस्तारै सामान्य अवस्थामा फर्किन थालेको छ। उनी गए नफर्किने गरी शाश्वत सत्यलाई अंगालेर। विस्तारै उनको सम्झनाहरू विपनामा भन्दा बेसी सपनाहरूमा सीमित हुन थाल्यो। उनले आफूलाई भन्दा बढी मनपराएका थुप्रै वस्तुहरू उनीसँगै गएनन्। उनको आफ्नै हातले बनाएको फर्निचरहरू जस्ताको तस्तै छ। उनले चलाउने बसिलो र करौंती उहीँ ठाउँमा छ जहाँ पहिले उनले राख्ने गर्थे।
उनी हुँदा गर्भवती भएको माली गाईले बाच्छी ब्याएको छ। दूध चिया भनेपछि हुरुक्क हुने उनी माली गाईको दूधबाट बनेको चिया खान नपाउँदै बितेर गए। उनले थुप्रै मेहनत गरेर बनाएको भूकम्प पछिको नयाँ घरमा बुनेको नयाँ-नयाँ सपनाहरू सपना नै बनेर गयो। उनले रोपेको थुप्रै आँपको रुखमा फलेको आँप चाख्न पनि नपाएर उनी गए।
उनी गए भनेर आँपले नफल्ने कसम खाएन। आँप फले, पाके, बाँचेकाले खाए। यस्ता याद दिलाउने धेरै कुराहरू छन् तर उनी छैनन्। गए उनी सदाको लागि। संसारको लागि उनी एक्लो मरे। उनको नाबालक छोरा र कलिलो उमेरको अर्धाङ्गिनीको लागि संसारै बितेजस्तो लागेको छ।
गजबको छ मान्छेको जिन्दगी, यात्राजस्तै! कुन कुनामा पुगेर टुंगिने हो थाहा छैन। बाटोमा आउने जाने बटुवाजस्तै। बाटोमा बास बस्ने लजजस्तै रहेछ, दुःख गरेर बनाएको घर। बास बस्यो, उज्योलो भयो हिँड्यो। रेस्टुरेन्टमा सँगै बसेर खाने थुप्रै अन्जान मान्छेहरूजस्तै रहेछ परिवार। खाइसकेपछि आ-आफ्नै बाटो लाग्ने।
नांगो जन्मियो, बाँचुन्जेल ब्राण्डेड सुट-बुट लगायो। बहुमूल्य गरगहनामा सजियो। मरेर गयो। अन्तमा पाएको कात्रोधरी आगोको हुँदो रहेछ। खाली हात आइन्छ, खाली हात नै गइन्छ र पनि किन गर्छ घमण्ड मान्छेले!