हिजो निकै नै हस्याङफस्याङ गर्दै आर्यघाट पुगेँ। मलाई एकदम सहयोग गर्ने, हाम्रै क्याम्पसका पूर्व सिनियर नरेश दाजुको बा बित्नुभाथ्यो। फेसबुकबाटै पत्तो पाएर म पुगेको थिएँ।
पशुपतिको आर्यघाटमा मानिसहरू औंलामा गन्न मिल्ने थिए।
'छोरा आएन अझै?' भन्दै मानिसहरू कानेखुसी गर्दै थिए।
दागबत्ती अरूले नै दियो तर पनि दाजु आउने अत्तोपत्तो थिएन। सायद दुई दिन अघि हुनपर्छ दाजु भाउजुको दीक्षान्त भएको उपलक्ष्यमा खिचिएको हँसिलो फोटो फेसबुकको वालमा देखेको थिएँ।
प्रख्यात युनिभर्सिटीको आँगनमा उभिएर सायद दाजु भन्दै थिए,आफ्ना चिनजान वा शुभ चिन्तकहरूलाई कि 'देख्यौ मैले पिएचडी सकें' तर बाबुको शव पूरै जलिसक्दा पनि दाजु आइपुग्नुभएन। उहाँ कहाँ ती जलिसकेर धुँवा भएका पिताका लागि छोरा मात्र थिए र?, एक्लो पुलपुलाएर पालेको मुटुको टुक्रा थिए।
'सबै कामकाज गर्नु गराउनु भनी जगतको नाममा पैसा पठाको छ रे, खै कुन्नी के के मिलेन आउन भ्याइन भन्दै थियो रे अमेरिकाबाट' कसैले फेरि खासखुस गरेको सुनेँ। जगत दाइ गाउँका छिमेकी रैछन् जसले नरेश दाजुका बाआमाको रेखदेख गरिदिएका थिए।
विस्तारै भिड पातलिँदै गयो आर्यघाटको।
आखिर आफैंले जन्माएको छोरो त आएन भनेपछि अरूलाई पनि लाग्या होला- हाम्लाई केको टन्टो? कतिखेर आगो निभ्ला र घर जान पाइएला भन्दै समयका सेकेण्ड, सेकेण्ड गन्दै बसेका जस्ता देखिन्थे मान्छेहरू।
जगत दाइ त्यही नजिकै थिए,यसो उसो गर्न मानिसहरूलाई अह्राइरहेका थिए।
मैले नरेश दाजुको आमा कता हुनुहुन्छ भनेर सोधें- 'आमा पनि हस्पिटलमा नै हुनुहुन्छ, एक महिना भयो। के भयो भयो, बा आमालाई एकैचोटि ब्यथाले च्याप्यो। मैले त केही पत्तो पाउनै सक्या छैन।' निराश हुँदै जगत दाइ बोले।
म त आकाशबाट खसेजस्तै भएँ। भेट्दा र फेसबुकका गतिविधि हेर्दा मलाई नरेश दाजु धेरै स्मार्ट लाग्थ्यो। तर यी यावत गतिविधिमा अमेरिका भएका दाजुको शून्य उपस्थिति देख्दा म त झसंग भएँ।
दाजुले हासिल गरेको पिएचडी पनि फिक्का फिक्का लाग्यो। अनि दाजु भाउजुको त्यो मुस्कान बनावटी लाग्यो। फेसबुकमा पनि त्यही दिन बिहानै नरेश दाजुले बुवाका नाममा एक दुई हरफ लेखेका थिए श्रद्धाञ्जली दिँदै।
'बा आज म तिमीभन्दा धेरै टाढा छु। मैले चाहेर पनि अब तिम्रो मुस्कान हेर्न सक्ने छैन। किनकि तिमीले मलाई मात्र होइन आफ्नो प्यारो नाति र प्यारी बुहारीलाई पनि छोडेर गएका छौ। मभित्र धेरै अघि देखि नयाँ विचार कसरी ग्रहण गर्ने र पुराना आदर्शहरूमा कसरी बाँच्ने भन्ने बीच संघर्ष हुँदाहुँदै पनि यो अमेरिकाको जस्तो विदेशी भूमिमा प्रतिष्ठित जीवन धानिरहेछु।
समाजशास्त्र विषयमा विश्वविद्यालय टप गरेर सबैको नजरमा प्रख्यात हुन सकेको छु। यो सबैको श्रेय तिमीलाई नै जान्छ बा। तिमी आफूले मजदूरी गरेको पैसाले मलाई अमेरिका नपठाको भए,सायद यी सब कुराहरू सपनामा मात्र सार्थक हुन्थे होलान्।
तिम्रो त्याग तपस्याका अघि मेरो योग्यता केही पनि हैन बा। तिम्रो उपस्थितिले मात्र मेरो कीर्तिमान झिलिमिली भएर बल्छ। तर तिमीले आज संसार छोडेर गएको खबर पाउँदा म विवेक शून्य भएर बसिरहेछु। अन्तिम क्षणमा पनि मैले तिमीलाई आफ्नो काखमा राखेर समुद्र यात्राका अनगिन्ती कथाहरू भन्न पाइनँ।
बा मलाई अझै याद छ, सानो बेलामा धर्म पुस्तकहरू र पुर्खाका साहित्यहरू तिमी आफ्नो काखमा राखेर मलाई सुनाउथ्यौ। ती कुराहरू सुन्दा आफूलाई ऋषिपुत्र भन्दा कम ठान्दिनथें मैले। तर मेरो छोरालाई आज त्यो दिव्य ज्ञान दिने पिता म अझै भइसकेको छैन। बा आमा मात्र यस्ता प्राणी हुन् जो छोराछोरीको खुसीको लागि कहिल्यै डाहा गर्दैनन्। बरू आफ्नै मासु हड्डी लुछ्तै चुँड्दै भए पनि अघि बढेको देख्न चाहन्छन्।
यो मानेमा म अघि बढेको हरेक पाइलामा, बा तिम्रै प्रतिछाया देख्छु। एउटै मात्र सन्तान जन्माएर यसैलाई गतिलो बनाउँछु, यसैले पछि पाल्छ भनेर कति ठूलो सपना थियो होला बा तिम्रो। तर सफलताको शिखर उक्लिँदा उक्लिँदै मैले त आफ्नै जन्मदिने बा आमालाई पनि धेरै नै ‘सानो’ देख्न थालेछु। सायद मेरा बाआमा नै छैनन् भन्ने पनि ठानेछु। आफूलाई नै सर्वोत्तम सर्वश्रेष्ठ ठानेर भुइँ बिर्सिएछु र आकाशमा उडेछु। मलाई कति धेरै पाप लाग्छ होला है बा?
मैले तिम्रो अन्तिम अवस्थामा आएर पानी समेत खुवाउन पाइनँ, सकिनँ। देख्नेलाई कति शब्दहरू लेखेर जाल बुन्न सकेको जस्तो देखिन्छ होला तर तिमी सिकिस्त हुनु र कलेजले दीक्षान्त समारोह राख्नु एकै चोटि पर्यो। आउँछु भन्दाभन्दै आउन सकिनँ। मलाई कतिले गिज्याउँछन् होला है बा। मभित्र पनि कति असन्तुष्टिका काला बादलहरू गडगडाउँछन् होला है बा।
म के भनेर मुख देखाऊँ अरूलाई। मेरो हाँसो लुटेर लगिएको यो अवस्थामा कसैलाई उपदेश विक्री गर्न वा अहम् देखाउन ममा कुनै फूर्ति छैन।
'बा के तिम्ले मलाई माफी दिनौ र? बागबजारका गल्लीहरूमा हिँड्दा सानोमा मैले एउटा पसलबाट चकलेट चोर्दा त तिम्ले मलाई घर पुगेसी माफी दिएका थियौ भने अहिले त मैले केही पनि चोरेको छैन र म अहिले ठूलो र परिपक्व पनि भइसकेको छु। छन् होला मभित्र अस्पष्ट आकाशहरू जहाँ मैले आफ्नो विगतका इमेजहरू देख्न सकिनँ तर यो विवशतता भित्र्याउनुको एक कारण त तिमी पनि हौ नि बा।
के तिम्लाई थाहा थिएन र? छोरा अमेरिका पुगेपछि फर्किएर आउँदैन। हाम्रो माया मार्छ भनेर। तै पनि किन पठायौ बा, आफ्नो सञ्चय कोषको पैसा निकाली निकाली। अनि आस गर्न थाल्यौ कि अब त छोरा आउला कि भन्दै! बा यो सहर यस्तै रहेछ। म कसरी बुझाउन सक्थें र?
एउटा हाँगामा टेकेर फलको झुप्पो टिप्न लाउँदा अर्को माथिल्लो हाँगोमा पनि टेकूँ टेकूँ लाग्ने। अर्को झुप्पोको स्वाद पनि लिगूँ लिगूँ लाग्ने। यो बनावट नै यस्तै छ बा। छुट्कारा नै पाउन सकिँदैन वा मन लाग्दैन। यो मोहनीको रंगले मलाई पनि अल्झायो बा। त्यसैले त मैले फुर्सत पाइनँ। कति असहज भयो होला बा तिम्लाई अन्तिम अवस्थामा। घरको भर्याङ उक्लिँदा त सास फुल्थ्यो बा तिम्रो अन्तिममा यो सास कै रोगले लग्यो।
हरेक असजिला र गह्रुँगा अन्तिम सासहरूमा छोरा आउला कि आउला कि भन्दै गनिबस्यौ होला बा। तर म मोरोले तिमी भित्रको असली रंग भेटाउन सकिनँ बा।
मलाई माफ गरिदेऊ।'
नरेश दाजुको फेसबुकका पोस्ट मैले जगत दाइलाई सुनाएपछि जगत दाइले खासै प्रतिक्रिया जनाएनन्।
हामी आर्यघाटको कार्य सिद्दाएर आमा भर्ना भएको अस्पताल जाँदै थियौं। बस भरी ती दाइले लामो कहानी सुनाए।
नरेश दाजु विदेश गएपछि सबै स्याहार सुसार जगत दाइले नै गरेका रैछन्। त्यही भएर पनि आमा बा नै भन्दा रैछन्।
'म अलि गरिब परिवारको मान्छे। गाउँमा हाम्रो घर पनि सँगै जोडिएको छ। बा आमा सहित सब परिवार नरेश सानो हुँदा नै काठमाडौं झरे। म त उतै गाउँमा बस्थेँ। नरेशका बाको सरकारी जागिर त्यसमाथि पुर्ख्यौली सम्पत्तिले काठमाडौंमा राम्रो बसोबास थियो। नरेश भाइलाई पनि कुनै अपुग नहुने गरी पढाए प्लस टु सम्म। जे भन्यो त्यही पुर्याउथे।
म कहिलेकाहीँ काठमाडौं आउँदा देख्थेँ। यति स्नेह र प्रेम त कसैले आफ्नो छोरालाई पनि दिएको छैन होला भन्ने लाग्थ्यो। एक्लो सन्तान सबै चिज पुर्याइदिएकै थिए।
प्लस टुपछि ब्याचलर पनि महँगो कलेजमा नै पढ्यो नरेशले तर ब्याचलरपछि नरेश नेपाल बस्नै चाहेन। जे सोचेका थिएनन् बा आमाले त्यस्तै भइदियो छोरो।
तर पनि सानो मन र ठूलो नाक बनाएर छोरालाई अमेरिका पठाउन राजी भए बा आमा।
पठाएको दुई तीन वर्ष जतिबेलासम्म घरबाट पैसा चाहिन्थ्यो त्यति बेलासम्म त खोजी गर्यो नरेशले तर पछि उतैको नागरिकता पाएपछि मतलब गर्न छोड्यो।
एक दुई चोटि अति नै गरेपछि दुई तीन महिना अमेरिका नै बसेर पनि आएका हुन् बाआमा नरेशसँग। तर त्यो नवीन नगरीमा आफ्ना अनुभवहरू नामेट पारेर बाआमा धेरै बस्न सकेनन् र फर्किए। बिस्तारै रोगले बाआमाको शरीर गल्न थाल्यो। टेक्ने लौरो र समाउने हाँगो नै नभेटेपछि राति पनि निद्राले सताउन थालेछ बाआमालाई। अनि चार पाँच महिना त मैले गाउँमै राखेर पालेँ।
तर आफ्नै छोरा त पराइ भएर गयो अरूको छोरालाई केको दुःख दिने जस्तो भान परेर बाआमा फेरि काठमाडौं फर्किनुभयो। कुन्नि कति बेला कुन सुर आएर काठमाडौंको घर जग्गा बेचेर बा-आमा वृद्धाश्रममा बस्न थाल्नु भएछ मैले पनि पछि काठमाडौं आउँदामात्र थाहा पाएँ।
बेचेको पैसा केही त्यही वृद्धाश्रमलाई दान दिनुभएछ भने केही मलाई दिनुभयो। मैले पर्दैन पर्दैन भन्दा पनि 'तँ नै त होस् नि हाम्रो छोरो भन्दै हातमा थमाउनुभो।' मैले किन बेच्नु भाको त घर भन्दा?
'बाबु त्यो घरमा छोराको साह्रै याद आयो। कौसीमा बस्दा नि त्यसैलाई कोसीमा राखेर भात खुवाएको याद आउँछ, भर्याङ उक्लिँदा पनि त्यसैलाई बुइँ चढाएर भर्याङ उक्लिएको याद आउँछ। फोटोहरू नि भित्तैभरि थिए,यादलाई चिथोर्ने मात्र। थन्काएर राखूँ,आएका पाहुनाले किन नटाँसेको भनेर अनेकौं प्रश्न सोध्ने डर। त्यही भएर घर नै बेचिदिएपछि त सामान सबै पोको पार्न पाइयो। त्यसमाथि बाबु, दुई जना बुढाबूढीलाई मन बहलाउने ठाउँ पनि भएन। यहाँ त साथीसंगी छन्, दुःख सुखका बात गर्छन्। त्यो घरमा बस्दा त छोराछोरी नै नभएको टुहुरो महसुस भयो बाबु। बरू यहाँ आएपछि मस्तको निद्रा लागेको छ।'भन्नुभयो।
कहिलेकाहीँ बोल्न मन लागे यतैबाट बाआमाले नेटमा कल गर्दा रहेछन् नरेशलाई। नत्र उताबाट कल आउने त कुरै हुँदो रहेनछ।'
जगत दाइका कुरा सुनेर म कताकता हराइरहेको थिएँ। एक्कासि टिचिङ अस्पताल आएपछि हामी उत्रियौं।
हतार हतार आइसियूमा गएर आमालाई भेट्यौं। आमाको होस हवास थिएन। बिरामी कुर्नेहरू पनि कोही थिएनन्। जगत दाइकी भाउजु एक्लै घरि औषधि लिन, घरि डाक्टर बोलाउन दौडिराख्नु भाथ्यो।
नरेश दाइका बाले त संसारबाट बिदा लिइसक्नु भाथ्यो। अन्तिम अवस्थामा रहेकी आमाको लामो आयुका लागि म कुनै काल्पनिक शक्तिको प्रतीक्षामा थिएँ।
त्यसै अवस्थामा खल्तीको मोबाइल झिकेँ र नरेश दाजुलाई म्यासेज गरेँ, 'दाजु नमस्कार, आफू भित्रको अनगिन्ती विचित्र क्रियाहरूमा कतै आफूले अब त विवेक पत्ता लाउनुपर्छ जस्तो लाग्छ भने तुरून्तै महिना दिनको छुट्टी लिएर काठमाडौं आउनुहोला।
म धेरै व्याख्या गर्न त सक्दिनँ तर तपाईंको उपस्थितिले केही न केही चमत्कार लहराउनेछ आमाको अनुहारमा। बाको स्वर्गवासले केही क्षति आफूमा भएको ठान्नुहुन्छ भने त्यो क्षति परिपूर्ति गर्न समेत तपाईंको खाँचो छ। हरेक असंगतिहरूमा घुम्दाघुम्दै अन्तिम अवस्थामा पनि सृष्टिकर्ताले आफ्नो सृष्टिको खदिलो रूप देख्न पाएनन् भने त्यो सृष्टिको के महत्व? सन्तान भएर जन्मिनुको के अस्तित्व?'
मेसेज सिन भएको थियो तर नरेश दाजुले अहिलेसम्म रिप्लाइ दिएका छैनन्। रिप्लाइ पहिला आउँछ कि रिप्लाइभन्दा पहिला नरेश दाजु काठमाडौं आउँछन्,त्यो भने हेर्न बाँकी छ।