अमेरिकाको न्युयोर्कमा मेरा एक जना मित्र छन्, जो दस वर्षअघि नेपालबाट अमेरिका आए। अनि यतै आप्रवासी आवेदन दिए।
आप्रवासी आवेदन दिएको वर्षौ बितिसक्दा पनि उनको आवेदनमाथि सुनुवाइ भएको छैन र आजसम्म पनि उनी वैध हुन सकेका छैनन्।
सामान्य अर्थमा बुझ्दा अमेरिकी सरकारसमक्ष आप्रवासी निवेदन दिएपछि अमेरिकामा बस्न, वर्क परमिट अप्लाई गर्न, ड्राइभर लाइसेन्स लिन योग्य ठहरिन्छ नै।
तर ऊ अमेरिकामा वैध हुँदैन, यस्ता आप्रवासी निवेदनमात्र दिएकाहरूलाई कागजपत्रविहीन भनिन्छ। उनीहरू अमेरिकाभित्र सबै गर्न, सेवा सुविधा लिन पाउँछन् तर नेपाल जान या अमेरिका छाड्न पाउँदैनन्।
यस्तै कागजपत्रविहीन हुन् ती मेरा साथी। जोसँग गएको हप्ता टेक्सास राज्यको ह्युस्टनमा भेट भयो।
आप्रवासीसम्बन्धी अदालती सुनुवाइको पर्खाइमा बसेका उनले बडो चिन्तित हुँदै भने, ‘नि:सन्तान हुने डर छ यार, न यता वैध हुन सकेको छु, न अमेरिका छाडेर नेपाल फर्कन सक्छु।’
अध्यागमनसम्बन्धी मुद्दा हेर्ने अदालतले आप्रवासी निवेदनको पक्षमा फैसला नगर्दासम्म उनी नेपाल जान पाउँदैनन्।
आप्रवासनसम्बन्धी निवेदनको मुद्दा फिर्ता लिएर नेपाल गए भने फेरि यता अमेरिका फर्कन पाउँदैनन्।
अमेरिका आएपछि सधैंका निम्ति नेपाल फर्कने मन र हिम्मत खासै कसैमा हुँदैन।
उनी एक्लो हैनन्, त्यस्ता हजारौं छन् जो अदालती सुनुवाइको पर्खाइमा बसेर वर्षौं बिताइसके।
‘नि:सन्तान हुने डर किन बे, कामको दबाबले शरीर कमजोर भयो?’ मैले जिस्काउँदै सोधें।
उसले सिरियस हुँदै भन्यो, ‘नजिस्का! चौतीस वर्ष काटिसकेँ, अझै कहिले ग्रीनकार्ड हुने हो? ग्रीनकार्ड भएकै वर्ष बूढी आउने कुरा पनि त भएन।’
उसले समस्या बताउँदै गयो, ‘अरू पाँच वर्ष बूढी आउने अवस्था छैन, म चालीस कटेसी कस्तो सन्तान जन्माउनु?’
उसलाई हिम्मत दिँदै भने, ‘यो वर्ष पनि ग्रीनकार्ड भएन भने नेपाल फर्केस्, कमाउने जति कमाइ सकिस्।’
अमेरिका आएर आप्रवासी निवेदन दिनेहरूको जमात ठूलो छ। एकातिर अदालती प्रक्रिया चल्दै जान्छ, अर्कोतिर मनग्य आम्दानी उस्तै।
यही आम्दानी र ग्रीनकार्डको लोभमा परेकाहरूको आ–आफ्नै कथा छन् अमेरिकामा।
औसत अवधी पाँच वर्षभित्रमा ग्रीनकार्ड भएर परिवारसहित बसेकाहरू समाजमा प्रशस्तै भेटिन्छन् भने दसौं वर्ष कुर्दा पनि अदालती सुनुवाइ नभएकाहरू यत्रतत्र भेट्न सकिन्छ।
तिनै ‘अभागी’हरू मध्यको एउटा थियो यो मेरो साथी। जो अब नि:सन्तान भइने पीरले जल्दै गएको छ।
‘यता आफूलाई नि:सन्तान भइने पीर छ, उता समाजले बल्ल खाइस् भन्छ।’ उसले छिमेकका कुरा निकाल्यो।
उसले छिमेकको कुरा फेरि निकाल्दै भन्यो, ‘उमेरले नेटो काटिसक्यो। न बुढी लैजान्छ, न आफैं फर्कन्छ। सन्तान नचाहिने रैछ कि उतै घरजम गरेको छ कुन्नी! भन्दै छिमेकमा कुरा काट्छन् रे।’
उसको गुनासो ऊप्रति मात्र छ, ‘समाजले त खुट्टा तानिहाल्छ, म उस्तै हुँ। पैसाको निम्ति समाज र परिवार त्याग्न सक्ने।’
ऊजस्तै पीडा भएका दर्जनौं साथी भेटेको छु मैले अमेरिकामा। ऊ नि:सन्तान हुने पीडामा छ। तर कैयौं युवा छन् जो बिहे हुने उमेर गएको पीडामा छन्।
हामी बस्ने अपार्टमेन्टको अलि पल्तिर एउटा अपार्टमेन्टमा चार जना नेपाली भाइहरू बस्छन्। चारै जना अविवाहित।
दुई जना विद्यार्थी भिसामा आएर असाइलम (आप्रवासी निवेदन) दिएका। अनि दुई जना अवैध बाटो हुँदै अमेरिका छिरेका।
उनीहरूसँग भेट हुँदा चारै जनाको एउटै गुनासो हुन्छ ‘बिहे गर्ने उमेर गैसक्यो, ग्रीनकार्ड बन्दैन।’
आप्रवासीसम्बन्धी अदालती प्रक्रिया पनि डिभी लोटरीजस्तै हुन्छ। कसैको वर्षदिन भित्रमा मुद्दा किनारा लाग्छ, कसैको वर्षौंसम्म लम्बिरहन्छ।
मैले डिभी लोटरीजस्तै किन भनेको भने पर्नेलाई पहिलो वर्षमै पर्छ, नपर्नेलाई दर्जनौं पटक भर्दा पनि पर्दैन। यो आप्रवासी निवेदनको अदालती सुनुवाइ पनि एउटा भाग्यको खेलजस्तै रहेछ।
उमेरले तिसौ वसन्त पार गरेका नेपाली युवाहरू अमेरिकी ग्यास स्टेसनहरूमा प्रसस्तै देख्न सकिन्छ। मानौं हजारौको संख्यामा त्यहाँ उनीहरूले आफ्नो श्रम बेचिरहेका हुन्छन्, भोलिको सुनौलो भविष्यको सपना बुन्दै। तर भविष्य अन्धकार हुन्छ।
बिहे गर्ने उमेर ढल्कदै गएको हुन्छ, तर न हातमा ग्रीनकार्ड आइसकेको हुन्छ न त चटक्कै छाडेर नेपाल फर्कन नै सकेका हुन्छन्।
अपवाद बाहेकका धेरै अविवाहित युवाहरूको एउटा समस्या यो पनि हो अमेरिकामा। समयमा नेपाल जान नसक्नु अनि उमेर ढल्कदै गएपछि बिहे गर्ने उमेर पर सर्नु।
ती अपार्टमेन्टमा बस्ने भाइहरू आफ्नो जन्ममिति औंलामा भाच्दै भन्छन्, ‘तीस वर्ष कटियो, अझै कति वर्षपछि ग्रीनकार्ड लिएर नेपाल जाने दाजु? जीवन बर्बाद छ।’
जो डिभी परेर आए, उनीहरूलाई सुरूआती संघर्ष छ तर पछि रमाइलै छ। देख्नेहरूलाई पनि अमेरिका एकदम सजिलो छ। तर जो अवैध तरिकाले अमेरिका आए वा विद्यार्थी भिसामा आए, उनीहरूका निम्ति कठोर छ अमेरिका।
अवैध तरिकाले आउनेहरूका निम्ति पैसा छ तर भविष्य छैन अनि विद्यार्थी भिसामा आउनेहरूका निम्ति भविष्य छ तर पैसा छैन।
सबैका निम्ति मेरो तर्क सान्दर्भिक नहोला, तर धेरैले यो समस्या झेल्दैछन् अमेरिकामा।
आएको दुई वर्षमा ग्रीनकार्ड बनाएर पाँच वर्षभित्र परिवार ल्याउनेहरू मेरो तर्कसँग असहमत होलान् तर वर्षौंदेखि मुद्दाको सुनुवाइ पर्खंदै बस्नेहरू मेरो तर्कसँग विमति राख्न सक्दैनन्।
विद्यार्थी भिसामा आउनेहरूको समस्या पनि आँखैले देखेको छु, उनीहरूका पीडा सुनेको छु।
‘कलेज किन छाडेको? असाइलम नगरेको भए हुन्थ्यो यार भाइ!’ मैले ती विद्यार्थी भिसामा आएर आप्रवासी निवेदन दिएका भाइलाई सोधेको थिएँ।
‘लगातार पढेर भविष्य बनाऊँ त खर्च टार्न नसकिने दाइ। कलेजले दिएको समयमा काम गरेर यतैको खर्च पुग्दैन, घरको ऋण कसरी तिर्नु?,’ उनले विद्यार्थी भिसामा आउँदा लागेको ऋणको कथा पूरै सुनाए।
‘कलेजको पढाइ छाडेर असाइलम गरें अनि फुलटाइम काम गर्न थालें दाइ। अब पैसा छ तर भविष्य छैन’, उनले बाध्यता सुनाए।
‘असाइलमबाट ग्रीनकार्ड भयो भने भविष्य पनि बन्ला तर उमेरले दिन दिनै नेटो काट्दैछ। यै पारा हो भने बिहे पनि हुँदैन भन्ने पीर भैसको दाइ,’ उनले हाँसो मजाक गरे।
अर्को विद्यार्थी भिसामा आएको भाइले हाँस्दै भन्यो, ‘चालीस कट्यो भने त बिहे पनि किन गर्नु र बेकार!’
अमेरिकामा बस्नेहरूका आ–आफ्नै समस्या छन्। हरेकका फरक-फरक। कोही पैसाको निम्ति दौडिरहेका छन् भने कोही कागजपत्रको निम्ति।
तर नेपालमा बस्नेहरू ‘बल्ल खाइस’ भन्न छाडनु हुन्न। आम नेपाली युवाहरूले भोगेको समस्यालाई मैले यो ब्लगमा लेख्ने कोसिस गरें। तर अब नेपालमा बस्नेहरूले कमेन्टमा गएर भन्नुहुन्छ ‘बल्ल खाइस।’
बाको ठूलो व्यवसाय, बाकै गजबको आम्दानी या बाले नेपालकै राम्रा विद्यालयमा पढाउने हैसियत राख्न सक्नुहुन्थ्यो भने हामी परदेश आउनुपर्ने बाध्यता हुन्थेन।
बाकै व्यवसाय हेरिन्थ्यो, बाकै आम्दानीमा रमाइन्थ्यो या राम्रै पढेर देशको लागि केही गरिन्थ्यो।
उपाय केही नलागेपछि न हो मान्छेले लाहुरको झोला कस्ने। अनि लाहुर आएपछि आफ्ना पीडा कतै बोल्यो कि नकारात्मक कमेन्टको ओइरो।
आशा छ सबैको आ–आफ्नै समस्या सम्झेर ‘कठै’ भन्नु हुनेछ तर प्लिज ‘बल्ल खाइस्’ भन्दै नकारात्मक कमेन्ट गरेर परदेशीलाई झम्टनु हुने छैन।
(दिपक घिमिरेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)