'राम्रोसँग बस है, म छिट्टै आउँछु' भनेर हिँडेका रमिता (नाम परिवर्तन) का श्रीमान् २० वर्ष बितिसक्दा पनि फर्केका छैनन्। उनी श्रीमान आउने दिनको पर्खाइमा बसेकी छन्।
'ए सरकार! मेरो श्रीमानको छिट्टै कहिले हो? रातिमा निदायो भने श्रीमान् आएको थाहा पाउदिनँ कि भनि रातभरि जागै बस्ने म अहिले त नसुत्ने बानी भएको छ,' उनीसँगको भेटमा भनिन्।
रमिताका लागि दिन र रात एकै भएको छ। रुकुमको दुर्गम गाउँमा बस्ने उनको बिहे गरेको ७ वर्षमै ४ वटा बच्चा जन्मिए। घरको अर्थिक अवस्था कमजोर थियो। ती बच्चा, वृद्ध बाआमा र सुत्केरी श्रीमतीको दैनिक छाक टार्न भारत कमाउन हिँडेका उनका श्रीमान फर्केलान् नफर्केलान् पत्तो छैन।
'जाने बेलामा छोराछोरी र आमाबाको ख्याल राख म छिट्टै आउँछु भनेका थिए। छोराछोरीलाई नयाँ कपडा ल्यादिन्छु भनि हिँडेका मेरा श्रीमानलाई कसले होला अहिलेसम्म पनि आउन दिएको छैन,' उनले आफ्नो दुःख पोखिन्।
सम्झना (नाम परिवर्तन)ले २०५६ सालमा मन पराएर आमाबुवाको अनुमति बिना बिहे गरिन्। त्यतिबेला उनी १८ वर्षकी थिइन्। देशमा द्वन्द्वकाल चलिरहेको थियो। बिहेपछिको केही दिन उनको रमाइलोमा नै बित्यो। बिहेको २ महिनापछि भने उनका लागि रमाइलो र खुसी कहिले आएन। द्वन्द्वले उनको खुसी खोसेर लग्यो।
आर्थिक अवस्था कमजोर भएको परिवारमा दैनिक ज्याला मजदुरी गर्नुपर्ने बाध्यता थियो। इँटाभट्टा हिँडेको समयमा उनको श्रीमानलाई राज्य पक्षबाट बेपत्ता पारियो। त्यसपछि श्रीमानलाई कहिले फर्काइएन। दुई महिनाको बसाइमा पेटमा आएको बच्चा विस्तारै बढ्दै गयो र जन्मियो पनि।
'अरुका बच्चाले बाबाभन्दा मेरो छोराले पनि बाबा चाहियो भन्दै रुने गर्दथ्यो। छोराले मेरो बाबा कहाँ छ, भन्नु नभए म खाना नै खान्न भनेका धेरै घटना छन्। एकदिन हैन, हरेक दिन रोएर बस्नु पर्ने। एकातिर छोरालाई दैनिक साँझबिहानको छाक कसरी टार्ने भन्ने थियो भने अर्कोतिर श्रीमानको याद। श्रीमानलाई पखिर्दै गर्दा २० वर्ष बित्यो, न मैले श्रीमान पाएँ न त मेरो छोराले बाबा पायो,' उनले भनिन्।
शर्मिला (नाम परिवर्तन) को १५ वर्षको उमेरमै मागी विवाह भयो। विवाह गरेको ६ महिनापछि उनका श्रीमान गाउँको एकजना बिरामी हुँदा उपचार गर्नका लागि अस्पताल लिएर गएका थिए। उनीसँगै गाउँका अरु ४ जनालाई तिमीहरू आतंककारी हौ भन्दै बेपत्ता बनाइयो। बेपत्ता पारेपछि कुनै न कुनै दिन त श्रीमानलाई छोड्लान भन्ने आशमा बाँचेकी शर्मिला अहिलेसम्म पनि कुरेर बसेकी छन्।
माथि उल्लेख गरिएका घटना प्रतिनिधि पात्रको रुपमा मात्र हुन यसरी द्वन्द्वको समयमा बेपत्ता पारिएका परिवारहरूको पीडा दर्दनाक छ। हुन त द्वन्द्वको समयमा भएका जघन्य अपराध, मृतकका श्रीमती, यौन हिंसादेखि थुप्रै खालका पीडा खेपेका महिलाहरूको संख्या त्यतिकै छ। तर बेपत्ता पारिएका परिवारको व्यक्ति फर्केर आउने झिनो आशा सधैं रहने गरेको छ।
१६ वर्षको उमेरमा छोरालाई जन्म दिई श्रीमानको पर्खाइमा बसेकाहरूलाई न्याय भनेको कुन चराको नाम हो जस्तै लाग्छ। देशमा शान्ति सम्झौता भयो तर उनीहरूको मनमा कहिले शान्ति आएन।
शसस्त्र द्वन्द्वले हजारौंको सिउँदो पुछियो, सयौं यौन हिंसाको शिकार बने, सयौं बेपत्ता पारिए, सोझोसाझा जनताका बालबच्चा टुहुरा भए। ती दिनले धेरैलाई आज पनि अशक्त भएर आधा जिन्दगी बिताउनु परिरहेको छ। उनीहरूका लागि न्याय कुनै चराको नामजस्तै छ। श्रीमान आउने झिनो आशा बोकेर जीवन बिताउन विवश महिलाका लागि न कुनै सहयोग भयो न त कसैले दुखेको घाउमा मलम लगाउन आए। व्यवस्था परिवर्तन भयो तर बेपत्ता परिवारको मन परिवर्तन भएन।
देशमा ढिला गरी गठन भएको बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले राजनीतिक असहयोग भन्दै आफ्नो गतिलो भूमिका खेल्न नसक्दा पीडित झनै पीडामा बस्नु परेको हो। यतिबेला संघीय सरकारले ऐन संसोधन एकल तरिकाले गर्न थालेको भन्दै दुवै तर्फका पीडितहरूले असहमती जनाइरहेका छन्। जसका स्वार्थ जेजस्ता भए पनि वास्तविक पीडितका घाउ पुर्नका लागि छिटोभन्दा छिटो पहल गर्नुपर्ने देखिन्छ।
(लेखक ओरेक रुकुमको जिल्ला संयोजक हुन्।)