हाम्रा देशका विद्यार्थीहरूको लागि कसले सपना देखिदिने? कसले सपना देखाउन सिकाउने? कसले ती सपना पूरा पनि हुनसक्छ भनेर भरोसा दिलाउने? कसले ती सपनालाई साकार पार्न सकिन्छ र त्यसको लागि यी यस्ता कुरा गर्नुपर्छ, त्यस्तो मेहनत गर्नुपर्छ भनेर मार्गदर्शन गरिदिने? यो गर्यो भने तिम्रो सपना पूरा हुन्छ, त्यो गर्यो भने हुन सक्दैन लगायतका कुरा कहिले कसले इमान्दारिताका साथ भनिदिने?
हाम्रा कलिला विद्यार्थीहरू धेरैलाई मैले के सपना देख्ने भन्ने नै थाहा छैन। कसरी देख्ने भन्ने पनि थाहै छैन। कसले देखाइदिने भनेर सोध्न जान ठाउँ पनि बनाइदिएका छैनौँ। न शिक्षकहरूले सपना आफ्नो लागि देखेका छन् न त आफ्ना विद्यार्थीहरूका लागि।
विचरा शिक्षकहरूले पनि कसरी सपना देखाउन् अरूलाई जबकी उनीहरू आफैलाई थाहा छैन आफ्ना लागि के सपना देख्ने भनेर। खासमा कसैले पनि सिकाएनन् र नसिकाएको हुँदा, हामी पनि ती बेलाका स्कुल र शिक्षकले पढाएका उत्पादन हौं, जो अब मार्केटमा गैसक्यौँ। र हामीलाई प्याकेजिङ गरे ती बेलाका शिक्षा र शिक्षकहरूले।
अब भन्नुस् हामी स्कुलमा पढाउन जाँदा कस्तो सोच, विचार, आचरण, ज्ञान, सिकाइ, अनुभव, सपना, अवसर र लगन लिएर जान्छौ? हामीलाई जसरी पढाइयो, सिकाइयो, थौर बहुत त त्यस्तै जसरी हामीलाई व्यवहार गरियो, पढाइयो, त्यही लिएर त हामी जान्छौँ हाम्रो कार्यालयहरूमा।
भन्न खोजेको एउटा ट्यांकीमा फोहोर पानी भरेको छ भने, पछि हाम्रा धारासम्म आउँदा कस्तो पानी आउला? अवश्य फोहोर पानी नै आउनेछ। तर ती फोहोर पानी केही सफा पनि आउन सक्छ। अब कसरी भन्नुहुन्छ भने, ती ट्यांकीमा फोहोर पानी भरी नै हालियो भने पनि हाम्रा धारासम्ममा आउँदा हामीले प्रशोधन गरेर, छानेर प्रयोग गर्न सक्छौँ। अर्थात् ती बेलाका जे जस्तो शिक्षा, सिकाइ, व्यवहार जुनसुकै शिक्षकले गरे र हामीमा ती बेलाका छाप जे-जस्तो पर्यो अब त्यसलाई हामीले शुद्धीकरण गरेर अहिले हामीले पढाउन गएका स्कुल, कलेज, विश्व विद्यालय गयौं भने केही हदसम्म सुध्रिएला।
नत्र त जे भरियो ट्यांकीमा, पछि प्रशोधन नगरे त आउने त त्यस्तै नै हो हाम्रा धारामा। ती धाराको पाइप कहाँ-कहाँ जोडर पुर्याइएका छन्, ती सबै ठाउँमा उही फोहोर पानी पुग्नेछ र प्रयोग गरेमा हामी बिरामी पर्नेछौं। त्यस्तै हुन गएको छ अहिले हरेक क्षेत्रमा। किनकी ती बेलाका जो शिक्षकले हाम्रो मनमस्तिष्कमा जे कुराको प्रभाव पारे त्यसले गर्दा हामी त्यो बेलाका विद्यार्थी अब विभिन्न क्षेत्र, पेसामा छौँ। यदि ती शिक्षकले हाम्रो दिमागमा दुर्गन्ध भरेका थिए भने ती दुर्गन्धलाई नहटाउने हो भने अब हामीबाट सेवा लिनेले पनि दुर्गन्ध नै पाउनेछन्, दुःख पाउने छन्। त्यस्तै भइराखेको देख्न सकिन्छ अधिकांश हाम्रा स्कुलहरूमा, जुन नराम्रो हो।
अब हामीलाई देशभरिका कुन शिक्षकले के-कसरी पढाए, सिकाए, सपना देखाए, पिटे, माया गरे, गाली गरे, प्रोत्साहन गरे, हतोत्साहित बनाए, त्यसको छाप हामीमा परेको हुँदा अबका हामी शिक्षकहरूले आफूलाई प्रशोधन गरेर मात्र स्कुल, कलेजमा जनुको अर्को विकल्प नरहला।
हाम्रा विद्यार्थीहरू एक से एक छन्। सबमा अनेकन प्रतिभाहरू छन्। तर ती प्रतिभालाई चिन्ने र चिनाइदिने काम शिक्षकले गरिदिनु पर्छ। शिक्षकले पनि आफू निहितको प्रतिभालाई चिन्नु पर्नेछ ताकि आफू बरालिन नपरोस्। यदि आफू बरालिएछ भने हामीले हाम्रा विद्यार्थीहरूलाई नबरालिनबाट कसरी बचाउन सक्छौ?
म त बारम्बार भन्छु मेरा विद्यार्थीहरूलाई र म निकट मेरा सहकर्मीहरूलाई कि, सुरुमा आफूलाई चिन्नुस् तपाईं कस्तो खाले मान्छे हो? के कुरा गर्न मनपर्छ? के कुराले तपाईंलाई रिस उठ्छ? के कुरा सिक्नुछ? के कुरा सुधार्नु छ? आफूलाई दक्ष कसरी बनाउने? म किन पढाउँदै छु? म सधैं किन विद्यालय गइराखेको छु? के मैले पढाएका मेरा विद्यार्थीहरूले बुझिरहेका छन्? के म आफ्नै शिक्षण पेसाबाट खुसी छु?
मैले कसरी मेरा विद्यार्थीहरूको जीवनलाई सहज बनाउन सक्छु? मैले कसरी मेरा विद्यार्थीहरूमा भएका प्रतिभालाई चिनेर, उसलाई सही मार्ग देखाउन सक्छु? उसले कसरी अवसर पाउन सक्छ? मैले पढाएपछि मेरा विद्यार्थीहरूको जीवन कस्तो हुनेछ? आफू र आफ्ना विद्यार्थीले एकअर्काको लागि कसरी अवसरहरू सिर्जना गर्न सक्छौ? कसैलाई अप्ठ्यारो परेको छ भने त्यसको लागि सहजै जाने ठाउँ, सहयोग लिने ठाउँको विकास कसरी बनाउन सकिन्छ होला लगायतका अन्य आफैले घोत्लिएर आफैले आफैलाई प्रश्न नसोधें र उत्तर पनि आफैबाट वा कसैलाई थाहा छ, उसलाई तपाईंले भरोसा गर्नुहुन्छ भने ती व्यक्ति हुन सक्छन्। अथवा किताब, भिडिओ, पत्रपत्रिकाको लेखलगायत अन्य माध्यमबाट नखोजेसम्म न तपाईं (शिक्षक)लाई केही मिल्नेछ, न त तपाईंले सरोकार राख्ने आफ्ना विद्यार्थीहरूलाई नै मिल्नेछ।
सपना कसले देख्छ? जसले सपना हेर्ने प्रयास गर्छ, कोसिस गर्छ। त्यसको लागि हर तरहले दिन रात, आधी हुरी, तातो चिसोको मतलब नराख्नेले र आफ्ना सपनाप्रति बफादार हुनेले ती सपनालाई साकार पनि गरेका उदाहरणहरू हाम्रा वरिपरि एकाध देख्न सकिन्छ।
सपना देख्नको लागि पढ्नुपर्छ। विभिन्न विषयका किताबसँग संगत गर्नुपर्छ। समाजमा रहेका अनेकन व्यक्तित्वहरूसँग भलाकुसारी गर्नुपर्छ। राम्रो लागेका कुराहरू तुरुन्तै प्रयोगमा ल्याउनुपर्छ। समाज बुझ्नुपर्छ। सहर, गाउँ, टोल, गल्ली चाहर्नु पर्छ। देश अनि विदेश सकेसम्म चाँडै बुझेको राम्रो। अनेकन विधाका अनेकन राष्ट्रका चलचित्रहरू हेर्नुपर्छ। गीतहरू सुन्नुपर्छ। विभिन्न चित्रकारका चित्रहरूको अवलोकन गरेर बुझ्ने प्रयास गर्नु पर्दछ। प्रश्न गर्नुपर्छ।
ठाउँ-ठाउँका थोपा-थोपा पानीसँग आफूलाई अवगत गराउनु पर्दछ। सूर्यको किरणले न्यानोपनको साथै त्यसको रापले पोल्दा पोलिएको, पसिना चुहिएको अनुभवको आवश्यकता पर्न सक्छ। हावाहुरी, चट्याङ् पर्दाको सिकाइलाई आत्मसात गर्नु पर्दछ। वनजङ्गल, खुला तराईको जमिन, गगनचुम्बी महंगा सामानले बनेको भवनदेखि माटो, काठले, जस्ताले छाएको घरको न्यानोपन र न्यास्रोपन, खुसी, उमङ्ग बुझ्नुपर्छ।
कुनै गल्लीमा हाफ कट्टु र फाटेको गञ्जीमा कुनै बालकले डण्डिबियो खेल्दादेखि वर्ल्डकप, ओलम्पिकमा खेलिने जिमन्यास्टिक, टेक्वान्डो, फुटबल, क्रिकेटको हारजित र आशा निराशाको भाव बुझेको हुनुपर्छ।
सेकेण्ड सेकेण्डमा मान्छे मर्नुबाट बाँच्नु र सबै ठिकै जस्तो लाग्ने मान्छे अचानक मर्नुको भाव बुझेको, त्यसैगरी आफूलाई मनपर्ने मान्छे चाहे ती हाम्रा बुवा, आमा, दाइ, दिदी, आफन्त या जो कोही होस्, तिनीहरूको प्रतीक्षा र आगमन हुँदाको मुटुभरिको हर्ष उल्लास अथवा उहाँहरू सँगको बिछोडको पीडा र छटपटी पनको आभास भएका। आफूले चाहेको कुराको लागि निकै कोसिस गरिराखेको तर नपाइरहेको, त्यसैगरी हिम्मत र लागिपर्दा हार मान्दै गर्दा चाहेका कुरा प्राप्त हुँदाको छुट्टै खाले अनुभूति बुझेका, भोगेका व्यक्तिहरूले सपना देख्न सक्छन् अथवा सपना देखाउन सक्छन् र त्यसको लागि हरदम कोसिस गर्दछन्।
हो, त्यस्तो शिक्षक चाहिएको छ हाम्रा विद्यार्थीहरूलाई। हाम्रा समाजलाई। हाम्रा टोललाई। हाम्रा गाउँ, सहर, हिमाल, पहाड, तराई, खोला नालालाई। हाम्रो राष्ट्रलाई। हरेक विद्यालय र क्याम्पसलाई। त्यस्तो शिक्षक बन्नको लागि कसले आँट गर्ने? त्यस्तो शिक्षक न त लोकसेवाको परीक्षा, शिक्षा आयोगको परीक्षा पास गरेर सिकिन्छ न त कसैको भनसुन गरेर। त्यस्तो भावना आउने भनेको त आफैबाट हो।
म केही गर्छु? म मेरा विद्यार्थीहरूको जीवनलाई सहज बनाउन उन्मुख हुन्छु। उनीहरू मेरै सन्तान हुन्। मेरै भाइबहिनी हुन् र आफ्ना सन्तान या भनौँ नजिकैको चिने, जानेको फेल हुँदा वा अवसरबाट वञ्चित हुँदा जस्तो खाले पीडा महसुस हुन्छ। हो, त्यस्तै देशका विद्यार्थीहरूलाई मर्का पर्दा आफूलाई चोट परोस्, चिन्ता लागोस्। हो, त्यस्तो शिक्षक चाहिएको छ र त्यस्तो शिक्षाले नै हो कायापलट ल्याउने।
हाम्रा विद्यार्थीहरूले सपना हेर्न सिक्ने र ती सपनालाई विपनामा उतार्ने र तिनीहरूबाट आउने अनेकौं पुस्तहरूमा हस्तान्तरण हुँदा, भविष्य धेरै हदसम्म हाम्रा लागि, अरूका लागि सपना पूरा भएका र भइरहेका सन्दर्भबाट अगाडि बढिरहेको, मेहनत भैराखेको अवस्था हुनसक्ने छन्।
मैले सिन्धुपाल्चोकमा पढाइरहँदा मेरा विद्यार्थीहरूलाई विभिन्न अवसर दिलाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो। उनीहरूलाई ठूल्ठूलो सपना देखाउन पाए हुन्थ्यो भन्ने लाग्ने ताकि उनीहरूले पछि ठूलै कुरा आँटून्, मेहनत गरून्, हार नमनोस्, सपना पूरा हुनेछ भनेर विश्वास गरोस् भनेर मनमनै सोच्दै गर्दा अचानक एकदिन इन्स्टाग्राममा एकजना विदेशीले मैले गरेका कामहरू थाहा पाएर मलाई सहयोग गर्छु भनेर मेसेज पठाए। मैले तुरुन्तै हुन्छ भनेँ।
ल के गर्ने भनेर भन अनि म सहयोग गर्नेछु भने ति विदेशी साथीले। तुरुन्तका तुरुन्तै मैले करियर एक्सपोजर ट्रिपको प्लान बनाएँ र मेरा योजना सुनाएँ। ऊ एमदमै खुसी भयो र फन्डिङ गर्न तयार भयो। त्यसपछि मैले दिनरात नभनि काठमाडौँमा रहेका ५० वटा संस्था जस्तै- नर्भिक हस्पिटल, मण्डला थिएटर, क्युएफएक्स फिल्म हल, महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र, टर्किस एयरलाइन्स, एयर होस्टज ट्रेनिङ सेन्टर, मिडिया हाउस, नेपाल पुलिस एकेडेमी, फिल्म मेकिङ कलेज, फ्यासन कलेज, नेपाल क्रिकट टिम सँगको भेटघाट, फ्रान्सको राजदूत सँगको एम्बेसीमा भेटघाट, लक्ष्मी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मिस नेपालसँग भेटघाट, ५ तारे होटेल अलफ्ट र कान्तिपुर पब्लिकेसन लगायतका ५० ठाउँमा भिजिट गराउनको लागि अनुमति लिएँ।
थोरैले अनुमति दिएनन् तर प्रायःले सहयोग गरे। मैले त्यहीअनुसार मेरा विद्यार्थीहरूलाई भनेँ। उनीहरूलाई त्यही बेला कक्षामा मैले यो आइडिया सुनाउँदा उनीहरू ती ठाउँको कल्पना गर्न थालिसकेका थिए। अन्ततः सन् २०१९ र २०२०मा मैले ३०० जाना विद्यार्थीलाई हरेक पटक ५० जनाको टोली बनाएर ५ दिनको लागि भ्रमणमा ल्याएको थिएँ। उनीहरूले भ्रमण मात्र गरेनन् कि बरू ती क्षेत्रका व्यक्तिहरूसँग भलाकुसारी गरे।
कुराकानी करियरसँग सम्बन्धित हुन्थ्यो- यी क्षेत्रमा आउन के गर्नु पर्दछ? के पढ्नु पर्दछ? कस्तो कस्तो बानीको विकास गर्नुपर्छ लगायतका प्रश्नहरू गरेर ज्ञान र मार्गदर्शन आर्जन गरे। यो क्यारियर एक्स्पोजर ट्रिप एक्दमै सफल भयो।
मैले टिचर एक्स्पोजर ट्रिप पनि आयोजना गरेको थिए हाम्रा सिन्धुपाल्चोकका शिक्षकहरूका लागि। उहाँहरूलाई काठमाडौंमा रहेका राम्रा सरकारी स्कुल र प्राइभेट स्कुलहरूको भ्रमण गराएँ र त्यहाँका शिक्षक, प्रसाशनसँग अन्तरक्रिया गर्न लगाएँ। अन्य शिक्षा सम्बन्धी सेसनहरू आयोजन गरेँ ताकि हाम्रा शिक्षकहरूले अरु ठाउँमा भैराखेको राम्रो कुराहरू सिकून्, देखून् र फर्केर आफ्नो स्कुल र कक्षाकोठामा लागु गरुन्।
सपना देखाउनको लागि पनि त सुरुमा आफैले सपना हेर्न सक्नुपर्छ। ती सपनासँग आफ्ना भावना गाँसेको हुनुपर्छ र अपनत्व अपनाउनु पर्छ। अनि मात्र सपना देखाइरहँदा हाम्रा विद्यार्थीहरूले ती सपनाप्रति विश्वास, भरोसा, आशा गर्न सकुन्।
मलाई एउटा कुराले साह्रै मन पोलेर आउँछ। मेरा कतिपय विद्यार्थी जसलाई मैले सिन्धुपाल्चोकमा पढाएको थिएँ, उनीहरूले उमेर नपुग्दै विवाह गरेका र अधिकांश त्यो पनि छात्राहरू खाडी मुलुक, कोरिया, जापान गइरहेको र जान कोसिस गरिरहेको थाहा पाउँदा मन निराश भएर आउँछ। मलाई उनीहरू विदेश गएकोसँग खासै चिन्ता त परेन तर घरको अवस्था र गरिबीले गर्दा विदेशिनु पर्दा साह्रै नरमाइलो लाग्छ।
अधिकांश जाने विद्यार्थीहरूलाई किन जान खोज्दैछु भनेर सोध्दा आर्थिक अवस्थाको कारण भन्न त भन्छन् तर त्यो बाहेक किन गइरहेको भन्ने प्रश्नको उत्तर कोहीसँग हुँदैन।
केही दिन अगाडि मैले पढाएको एकजना छात्राले फोन गर्दा उनले कोरियन भाषा सिकिरहेको बताइन्। भर्खरै १२ को परीक्षा दिएर बसेकी उनी अरूले विदेशको सपना र त्यहाँ कमाइ हुन्छ भन्ने कुरा सुनाइरहँदा आफू पनि जान योजना बुन्दैछिन्।
के काम गर्न जान लागेको? के तिमी खुसी छौ त भन्दा उनी निराश भइन्। एकछिनको मौनतापछि भनिन्- 'सर, कसैले पनि मलाई केही भनेनन्। कसैले त्यसरी मोटिभेट पनि गरेनन्। आफूले जे जति प्रयास गर्दा पनि टड्कारो आइपर्दा र अरूले पनि लाइदिँदा मन त्यसै मर्दों रहेछ। झन् घरको अवस्था देख्दा त दिक्दारी लागेर आउछ, अनि भन्नुस् त सर म के गरुँ?'
हरेक शिक्षकले रणनीति अपनाएर, आफूले आफ्ना लागि सपना देख्न सक्नुपर्यो र आफूले देखिसकेपछि आफ्ना विद्यार्थीहरूलाई पनि सपना देखाउन सके मात्र जिन्दगी हामी सबैको लागि सजिलो, भरपर्दो, यतै बस्न मनलाग्ने, योग्य ठाउँ हुने थियो। नत्र भने हाम्रा विद्यार्थीका लागि सपना कसले देखिदिने?
(लेखक टिच फर नेपालको अलुम्नाई र हाल रूपान्तरणमुखी सिकाइ सहजकर्ताको रुपमा कार्यरत छन्।)