आज बिहान करिब साढे ११ बजे मेरो मोबाइलमा नेपाल सरकारले पठाएको एक सन्देश आयो। उक्त सन्देशमा 'बालमैत्री समाजको आधार, जिम्मेवार परिवार उत्तरदायी सरकार' लेखिएको थियो। यही सन्देशले बल्ल मलाई स्मरण भयो कि आज त बाल दिवस हो।
हरेक वर्ष सेप्टेम्बर १४ मा मनाइने बाल दिवसले के साँच्चीकै बालबालिकाको हक अधिकार सुनिश्चित भएको छ त? यस्तै यस्तै कुराहरू मनमा खेलाउँदै म कार्यालयतर्फ निस्किएँ। समयमा नै कार्यलय जान घरबाट निस्किए पनि बाटोमा हुने जामले गर्दा सधैंको सास्ती उस्तै त हो। चक्रपथको जाममा निकै बेर बस्नु पर्यो।
यसै क्रममा मलाई पछाडिबाट कसैले बोलाएपछि म झसंग भएँ। यसो पछाडि फर्किएर हेरेको मात्र के थिएँ, एउटा बालक 'दिदी, एउटा कलम किन्दिनु न...' भन्दै अनुरोध गरिरहेको थियो।
करिब ८/९ वर्षको जस्तो देखिने उक्त बालकको अनुहारको भाव नियालिरहँदा मलाई बिहान आएको नेपाल सरकारको सन्देश याद आयो। अनि त्यो बालकको अनुहार फेरि नियालेँ जसले मलाई एकाएक निकै भावुक बनायो। मैले उसको एउटा कलम पनि किनिदिएँ। सायद ऊ कलम बिक्री भएकोमा केही खुसी भयो होला भन्ने लाग्यो।
ऊ मेरो अगाडि जाममा बसेका मानिसहरूसँग पनि कलम बेच्दै थियो। त्यसैबेला मैले हतारहतारमा उसको केही तस्वीरहरू पनि लिन भ्याएँ।
राष्ट्रव्यापी रुपमा बाल दिवस मनाइरहँदा सरकारले बिहान मलगायत लाखौं नेपालीलाई पठाएको सन्देश र चक्रपथमा कलम बेच्दै गरिरहेको त्यो बालकको अनुहार सम्झँदा हाम्रो देशको संविधानले दिएको बाल अधिकारको दस्ताबेज सम्झायो। बिहान आएको 'बालमैत्री समाजको आधार, जिम्मेवार परिवार उत्तरदायी सरकार' भन्ने यस वर्षको नाराले गिज्याइरहेको झैं लाग्यो।
आजको यो घटनाले हाम्रो भनाइ र व्यवहारिकतामा कति भिन्नता छ भन्ने सोच्न बाध्य बनायो। आज बाल दिवस हो भनेर त्यो बालकलाई थाहा छ कि छैन होला भन्ने मनमा कुरा खेलिरह्यो।
मनमा अनेकन तर्कनाहरू खेलाउँदै म कार्यलय पुगें। नियमित कामलाई एकैछिन थाती राखी मनमा उठेका भावलाई व्यक्त गर्ने जमर्को गरेँ। नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसाथ गर्दै हरेक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने लगायतका कुराको प्रत्याभूति गरेता पनि आजसम्म पनि बालबालिका सडकमा मागेर हिँडेको देखिदै आएको छ। अझै पनि बालबालिकाहरू शिक्षाबाट बन्चित रहँदै आएको देख्न सकिन्छ।
हरेक वर्ष मनाइने बाल दिवस र नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसाथ गर्दै आएको कुरा र सडकमा आज देखिएको दृश्यले नेपालको संविधानलाई नै व्यंग गरिरहेको छ।
लेख्दा लेख्दै समाचारको लागि स्टुडियो जाने समय भएछ। म स्टुडियोमा छिरेर समाचाचर वाचन गर्न थालेँ। पहिलो समाचार थियो, बाल दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाको शुभकामना मन्तव्य बारे।
बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्त्वपूर्ण छ। बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि हरेक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुरी रहेको कुरा प्रधानमन्त्रीले बताउनु भएको थियो।
प्रधानमन्त्रीको बाल दिवस सम्बन्धी समाचार पढिरहँदा उही बालकले कलम बेचिरहेको दृश्य र त्यही बिहान नेपाल सरकारले पठाएको सन्देश मेरो मानसपाटलबाट बाहिर निस्कन सकिरहेको थिएन।
नेपालमा प्रत्येक वर्षको भदौ २९ गते राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिन्छ। सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धीलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिई औपचारिक रुपमा राष्ट्रिय बाल दिवसको रुपमा मनाउन सुरु गरिएको हो। २०२२ सालदेखि भदौ ४ गते मनाउन सुरु गरिएको बाल दिवस २०६३ सालपछि भने भदौ २९ गते मनाउन थालिएको हो।