विमानस्थलका कर्मचारीले भने, ‘तपाईँको सामान दुई केजी बढी छ। यहाँको नियमअनुसार एक केजीको अमेरिकी डलर एक हजार पर्छ। दुई केजीको दुई हजार डलर भयो। केही मिलाएर दिनुहोस्।’
***
एक साइडबाट ओपेरा हाउस कमलको फूल जस्तो देखिन्छ भने अर्को तर्फ डार्लिङ हार्बर वृज आफ्नै तालमा समुद्रमाथि पल्टिएझैँ लाग्छ। यस्तो दृश्यले मनभित्र ऊर्जा मिल्छ र मन फुरूङ्ग बनाइदिन्छ।
***
हाम्रा बच्चाहरू अध्ययनका निम्ति ठूलो धनराशी खर्च गरेर अस्ट्रेलिया आउँछन्। सुरूका दिनमा उनीहरूले प्रति घण्टा ८/१० डलर भन्दा बढी पाउँदैनन्। धेरै वर्षको अनुभव सँगालेपछि मात्र घण्टाको ३०/४० डलर पाउँछन्। त्यतिन्जेल उनीहरू आफ्नो देश फर्कने समय भइसक्छ।
जीवन एक सङ्गम त हो नि। कहिले प्रकृतिसँगको सङ्गम, कहिले यात्रा र सहयात्रीसँगको सङ्गम, कहिले आफ्नै मनदेखि मनसम्मको सङ्गम।
भेटिनु र छुट्टिनु नै त जीवनको अनवरत् यात्रा रहेछ। यो पटकको यात्रा सन् २०२२ जुलाई १० मा तेस्रो पटक अस्ट्रेलिया जाने साइत जुराइएको थियो। जुलाई १० को दिन बिहानै उठेर सबै काम सकेपछि अष्ट्रेलिया लैजाने सामानको तौल गर्न थालेँ।
मैले नातिनीका निम्ति केही 'डल' खेलौना किनेकी थिएँ। डलभित्र फाइबर हुने भएकाले त्यसलाई भ्याकुम गरेर त्यसको हावा थोरै कम गरेर झोलामा राखेँ। झोला हलुँगो थियो तर डल धेरै भएकाले त्यसको आकार ठूलो देखिन्थ्यो।
काठमाडौंमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र छिरेपछि आवश्यक प्रक्रिया पुरा गरेर बोर्डिङ पास गर्ने स्थानसम्म पुगेँ। मेरो झोलाको आकार ठूलो देखेर सामान स्क्यानर स्क्रिनमा राख्ने कर्मचारीले सोधे, ‘यो सबै सामान तपाईँ एक्लैको हो कि अरूको पनि छ?’
‘एक्लैको हो’, मैले भेनें, ‘खेलौना राखेको भएर ठूलो देखिए पनि तौल तीस केजी जति नै होला!’
म इकोनोमी लाइनमा थिएँ। उनले ‘तपाईंको सामान धेरै छ तपाईँ यता आउनुस् भनेर बिजनेस क्लासको लाइनमा बोलाए। बिजनेस क्लासको लाइनमा एक जना मात्र विदेशी थिए, अनि म खुरूक्क गएर त्यहाँ उभिएँ।
उनले सामान तौल गरे, ३२ के जी भएछ। दुई के. जी. बढी देखियो। पहिलोपटक जाँदा ह्यान्डक्यारी सुटकेशको तौल लिइएको थिएन यो पटक सुटकेशको पनि तौल भयो। सुट्केश साढे सात केजी रहेछ। मैले घरमा डिजिटल ह्यान्डक्यारी वाला तौलले तौलिएको थिएँ। त्यसैले पनि साह्रै धेरै हुन पाएन। अनि उनले ‘यो सुटकेस पनि लगेजमै राखिदिउँ?’ भनेर सोधे।
‘होइन यसमा डकुमेन्टस् छ हातमै लिन्छु,’ मैले भनेँ।
तिनले मलाई ‘तपाईँको सामान बढी भयो। तपाईँ ऊ त्यो परको कफी सपमा गएर बस्नुहोस्,’ भने। म केही नबोली उनले अह्राए बमोजिम कफी पसल गएर बसेँ। केही बेरपछि उनी आएर ‘तपाईँको सामान दुई केजी बढी छ। यहाँको नियमअनुसार एक केजीको अमेरिकी डलर एक सय पर्छ। दुई केजीको दुई सय डलर पर्न गयो केही मिलाएर दिनुहोस्। सामान पठाइदियौं,’ भने।
मैले केही प्रतिक्रिया दिइनँ किनकि सामान निकालेर फिर्ता दिन त्यहाँ कोही आफन्त थिएनन्। निकालेर त्यहाँ फाल्नुभन्दा भनेर नबोली पन्ध्र सय रूपैयाँ दिएँ। उनले मानेनन्।
‘तपाईँको सामान बढी भएर पनि पठाएँ यति पैसा क–कसले लिनू? त्यहाँ हुनु भएका दाइ र दिदी (अरू कर्मचारी) लाई पनि दिनुपर्छ,’ भन्न थाले।
‘मसँग त नेपाली पैसा धेरै छैन किन चाहिएला र भनेर ल्याइनँ यो पाँच सय छ यो सँग दुई हजार भयो लिनुस्’ भनेँ।
‘यतिले त कहाँ हुन्छ तपाईँले अप्ठ्यारो पार्नुभयो’, उनले मानेनन्।
मैले नेपाली पैसा थोरै मात्र बोकेको थिएँ। अनि मैले फेरि पाँच सय थपिदिएँ, पच्चीस सय भयो। उनले मान्दै मानेनन्।
पच्चीस सय दिँदा पनि उनले नमानेपछि मैले भने, ‘म त्यहाँ बढी भएका सामान फाल्दिन्छु पच्चीस सय भन्दा बढी मसँग पैसा छैन।
भन्न त मैले बढी सामान फाल्दिन्छु भनेँ तर डलहरू नातिनीका निम्ति प्रेम र उत्साहले किनेकी थिएँ। निकालेर फाल्न पनि मनखत लागिरहेथ्यो।
मैले अर्को सय रूपैयाँ थपिदिँदै भने, ‘म सँग अरू पैसा छैन।’
बल्ल उनी छब्बीस सय रूपैयाँ लिएर आफ्नो कामतिर लागे।
अहो!, कर्मचारीहरू कति घुसखोरी!
म चाहिँ मनमा अनेक तर्कना खेलाउँदै प्रतीक्षालय कक्षतिर उक्लिएँ। प्रतीक्षालय कक्ष पुग्नुअघि पनि टिकट त ह्यान्डक्यारीको जाँच हुने नै भयो। ह्यान्डक्यारीमा केही पुस्तक र कपडा राखेकी थिएँ। ब्याग स्क्यानर मेसिनमा राखेँ। स्क्यान भइसकेपछि जाँचकले मेरो ब्याग खोतलेर पुस्तकका एकएक पाना गरि जाँच गरे। ड्युटीमा खटिएका प्रहरीले पुस्तकको एक एक पन्ना जाँच गरेको देख्दा माओवादी आन्दोलनको सम्झना भयो।
जाँचकले सोधिन्, ‘यत्रो पुस्तक किन बोक्नुभएको?’
‘फुर्सदका बेलामा यसो पढ्नुपर्ला। कहिलेकाही लेख्ने गर्छु। त्यसैले बोकेकी हुँ।’
अनि उनले सोधिन्, ‘तपाईँ लेखक हो?
‘यसरी सम्पूर्ण जाँच सकेर म प्रतिक्षालय कक्षमा पुगेँ। केहिबेरको पर्खाईपछि विमान तोकिएको समयमै उड्यो।
यात्रा एक्लै भनौं या नभनौं...जीवनका घुम्तीहरूमा सयौं भेटिन्छन् र छुट्टिन्छन्। मेरो यात्रामा पनि विमान भित्र सहयात्री बनेका सयौं थिए तर मन भने एक्लो थियो।
विमानले बिस्तारै उचाई लिँदै गयो। विमानमा आफ्नो सिट अघिल्तिर सानो टिभीको स्क्रिन राखिएको हुन्छ। सबैले आफ्नो इच्छाअनुसार टिभी हेर्छन् म भने प्रायः डकुमेन्ट्री हेर्न मन पराउँछु।
ट्रान्जिटसहित १९ घन्टाको यात्रा पछि म सिड्नी आइपुगेँ। जहाज समयमै अवतरण भएकाले समयमै छोरी ज्वाईँसँग भेट भयो।
दुई वर्षअघि मेलवर्न आएको थिएँ। यो पटक सिड्नीमा छु। सिड्नी शहरमा कोलाहल छ। सफा र शान्त भएर होला मलाई मेलवर्न निक्कै सुन्दर र शान्त लागेको थियो। सिड्नीमा भने धेरै कोलाहल, सिड्नी शहरको मूख्य केन्द्र 'सिटी' पुग्दा भने गगनचुम्बी महल र चिल्ला सडक देखिन्छन्। सिटीदेखि थोरै बाहिर भने सडकहरू भत्किएका र मेलवर्न भन्दा कम सफाई (तर हाम्रो देशको तुलनामा धेरै सफाई) देखेँ। कोलाहल र भीडले गर्दा मलाई दिल्ली बसाईको सम्झना भयो।
सिड्नीमा जता पनि नेपाली र भारतीय प्रशस्त भेटिने। कताकता त म आफ्नै देशमै छु झैँ लाग्ने।
अस्ट्रेलिया समुद्रको छेउले छोएको देश, समुद्र नघुमी त मन किन मान्थ्यो र! एक बिहान छोरीज्वाइँ र नातिनी भएर हामी समुद्र किनारमा पुग्यौं। ‘अस्टिनमर’ समुद्र सिड्नी शहरदेखि कारमा दुई घन्टामा पुग्यौं। अस्ट्रेलियाको न्युसाउथ वेल्सको दक्षिणी भेगमा वलोङगोङ गाउँ नजिक रहेको समुद्र भीडदेखि निकै शान्त थियो। समुद्रले आफ्ना छालहरूमा संगीत भरेको परैबाट सुनिन्थ्यो।
समुद्रमा पुग्नुअघि यात्रामा स–साना पहाड, बाटोमा भेटिने झरना, जंगल र स–साना टिनले छाएका एकनासका घर तर अति सुन्दर, नेपाल भित्रकै सुन्दर ठाउँ पुगे झैँ महशुस भैरह्यो।
हामी पुग्दा दिउँसोको दुई बजेको थियो। जाडो महिनाको घाम कोल्टे पर्न लागिसकेको भएर होला, हावा चल्दै थियो। छोरी र नातिनी किनारामै बसे। म भने सागरसँग जिस्किन पुगेँ। सागर आफ्नो सुमधुर धूनसँगै लहरहरू लिएर हुत्तिदै आउँदै र फर्कदा तृप्त भएर केही शान्त भएझै गर्दै फर्कदै गरेको देख्दा साह्रै आनन्दित हुन पुगेँ।
प्रकृतिको रचना कति अब्बल छ, बयान गर्नै नसकिने। परपर जति पर हेरे पनि निलो रंगमा पानीकै पहाड, पानीकै उचाई उक्लिएर आकाश छोएझैँ देखेँ। अलिक पर सागर चट्टानसँग ठोकिँदै माथिमाथि सिसाका टुक्राहरू टुक्रिए झैं पानीका छाल टुक्रिएर खस्दा निकै सुन्दर देखियो। मलाई त्यो सिसाका टुक्रा देखिए झैं पानीको बुँदहरूलाई तस्बिरको पर्दा बनाउन मन लाग्यो र केही तस्बिर खिचेँ र भिडियो पनि बनाएँ।
किनारका चट्टान माथि समुद्रका छालहरूले समुद्री बुकि फूल र स–साना शंखेकिरा थुप्रै ल्याउँदो रहेछ, निक्कै बेर हेरिरहेँ।
त्यहीँ नजिकमा खाजा खाएर त्यो दिन साँझपख हामी घरमा फर्कियौं।
हाम्रो अर्को दिनको गन्तव्य ‘ओपेरा हाउस’ बन्यो। हाम्रो नेपालमा तिहारको झिलिमिली झैँ तिहारका किम्बदन्तीहरू जे सुकै रहे पनि तिहारलाई उज्यालोका पर्वका रुपमा मनाइन्छ।
अस्ट्रेलियामा पनि बत्तीहरूको पर्वका रूपमा ‘विविड सिड्नी’ मनाउने चलन रहेछ। यो चलन सन् २००९ बाट शुरु भएको रहेछ। ओपेरा हाउस सरसर्ती हेर्दा कमलको फूल जस्तो आकारको देखिएता पनि त्यो ‘कौडा’ शंखे किराको खोल आकारको छ।
बत्तीहरूको पर्व चलिरहेकाले ओपेरा हाउसको भित्ताभरी र डार्लिङ्ग हार्वर वृज र वरपर समेतमा प्रोजेक्टबाट बत्तिहरू विभिन्न बुट्टामा बालिएको थियो। यो वर्ष मे २७ देखि १८ जुनसम्म यो पर्व चल्यो। हामी साँझ सात बजे ओपेरा हाउस पुगेका थियौं। त्यहाँबाट घर फर्कंदा रातको दश बजिसकेको थियो।
मलाई ओपेरा हाउसको धित मरेकै थिएन, अर्को पटक फेरि दिउँसोको समयमा पुगेँ। ओपेरा हाउस समुद्रको एकछेउ ओगटेर बनाइएको छ जुन समुद्री सतहदेखि ६७ मिटर माथि छ। यो उचाई भनेको बाइस तले भवनको उचाई बराबर हुन्छ भनेर लेखिएको छ।
त्यसको आँगन छेउ हुँदै सिड्नीको व्यापारिक शहर गगनचुम्बी महलहरू छन्। समुद्रलाई छोएर उभिएको ओपेरा हाउसको आँगनमा विभिन्न देशका स्वादमा बनाइने खाजा घर समेत छन्। छोरी र म भएर इटालियन स्वादको खाजा खाएर समुद्री सानो जहाज (ferry) मा चढ्यौं। छोरी फेरि (जहाज) भित्र नै बसिन मलाई भने बाहिर समुद्रको दृष्य हेर्ने तिर्सना लाग्यो। म बाहिर कौसी जस्तोमा राखिएका स–साना बेन्चमा गएर बसेँ।
म बसेको ठाउँमा दुइटी विदेशी पनि बसे। धेरैजसो त फेरीको माथिल्लो भाग (छत) मा गएर बसे। मलाई भने एकान्तमा बस्न मन लाग्यो। फेरी चल्न सुरु भए पछि ढोका बन्द गरिँदो रहेछ। म बाहिर बसेको थिएँ। सानो रेलिङ्ग मात्र बारिएको जहाजको छेउमा बसेर समुद्रलाई नियाल्नु कम आनन्द थिएन। उसै परे हत्केलाले पानी उबाउन सकिने गरि नजिकै देखिने समुद्रको आनन्द त छँदै थियो।
सानो जहाज द्रूत गतिमा दौडँदा समुद्रको पानीका मसिना छिटाहरू मुहारमा परे, म निकै रोमान्चित बनेँ। अहो ! समुद्रमा द्रूतगतिमा कुदेको सानो जहाजको आनन्द कति हो कति!
एक साइडबाट ओपेरा हाउस कमलको फूल जस्तो देखियो भने अर्को तर्फ डार्लिङ्ग हार्बर वृज आफ्नै तालमा समुद्र माथि पल्टिए झैँ लाग्यो। यो सुन्दर दृष्यले मन फुरूङ्ग बनाइदिन्छ।
‘फेरी’ चढेर हामी पारिपट्टि रहेको ‘म्यानली’ समुद्र किनारमा पुग्यौं। सानो बजार छेउमा रहेको म्यानली समुद्र मान्छेहरूको भीडमा रमाइरहेको थियो। समुद्रको खुसीमा हामीले पनि थोरै खुसी बाँड्यौं। किनारमा मान्छेहरूको आवतजावत धेरै हुने भएर होला त्यहाँ सेता चरा प्रशस्त देखेँ। मानिस नजिक आएर खानेकुराहरू खान बानी परेका रहेछन्। एक दुई वटा चरा देखेर खानेकुरा दियो भने उतिखेरै थुप्रै चराहरू जम्मा हुन्छन्। त्यहाँको नियमअनुसार चराचुरुङ्गीलाई त्यसरी खानेकुरा दिन अनुमति छैन।
केहिबेर म्यानली समुद्रमा रमाएर हामी फेरि सोही सानो पानी जहाज चढेर फर्कियौं। फर्कदा भने म फेरीको माथिल्लो तहमा गएर बसेँ। खुल्ला रूपले समुद्रको निश्चलता नियाल्दै।
सिड्नी सहरमा पुग्दा नियास्रो लाग्दैन। प्रशस्त नेपाली, भारतीय चाइनिज र फिलिपिनी देखिन्छन्। रैथानेहरू कम नै देखिन्छन्। मैले बाटोमा हिँड्दा ठुल–ठूला महल बनिरहेको सामुन्ने सडकमा ट्राफिक कन्ट्रोलरको काम गरिरहेकी करिब ३० वर्षकी स्थानीय युवतीलाई भेटेँ। उसो त शहरमा यातायातलाई ट्राफिक लाइटले कन्ट्रोल गरिरहेको हुन्छ। ठाँउ ठाँउमा कति स्पिडमा गाडी गुडाउने भनेर लेखिएको हुन्छ र त्यहीँ अनुसार चलाउनुपर्छ। बाटोमा क्यामेरा जडान भएकोले कतै कुनै गल्ती गरिहाले भने क्यामेराले तुरून्तै फोटो खिचिहाल्छ र त्यसको जरिवानाको निम्ति घरमै चिट आइपुग्छ। त्यति सुरक्षित हुँदाहुँदै पनि महल बन्दै गरेको ठाउँमा ट्राफिक राखिने रहेछ। ट्राफिक सेवा दिँदै गरेकी उनी निकै सुन्दर थिइन्। म नातिनी बोकेर हिँड्दै थिएँ। उनले मुसुक्क हाँसेर सोधिन्, ‘तिम्रो बच्चा हो?’
हाँसे।
उनको काम देखेर मैले सोधेँ, ‘तपाईं यहींको रैथाने हो?
उनले ‘हो’ भनिन्।
मैले फेरि सोधेँ, ‘एक घण्टा काम गरेको कति पाउनुहुन्छ?’
‘प्रति घण्टा यस्तै ८०/८५ डलर कमाउँछु।’ दिनको आठ घन्टा मात्रै काम गर्दा पनि दैनिक सात सय हाराहारी कमाउने रहेछन्।
अस्ट्रेलियाको नियमअनुसार ट्राफिक प्रहरीको काम गर्न स्थानीय नै हुनुपर्छ। उनीहरूको आम्दानी निकै राम्रो हुँदोरहेछ।
हाम्रा बच्चाहरू अध्ययनका निम्ति ठूलो धनराशी खर्च गरेर अष्ट्रेलिया आउँछन्। सुरूका दिनमा उनीहरूले प्रतिघण्टा ८/१० डलर भन्दा बढी पाउँदैनन्। धेरै वर्षको अनुभव सँगालेपछि मात्र घण्टाको ४०/५० डलर पाउँछन्। त्यतिन्जेल हाम्रा बच्चाहरू आफ्नो देश फर्कने समय भैसक्छ।
सरकारले स्थानीयलाई दिएको सुविधा देख्दा हाम्रो देशमा कहिले होला आफ्नो नागरिकलाई यसरी महत्व दिने भन्ने लागिरह्यो।
उनीसँग छोटो मिठो कुरा गरेर म आफ्नो बाटो लागेँ। उनी आफ्नो काममा।
जीवनको यात्रामा धेरै देख्नु र भोग्नु त छँदैछ। यहाँ म बिहान या साँझ दिनको एक घन्टा हिँड्ने गर्छु। हिँड्दा पनि यहाँ मान्छेहरू घडीको रफ्तारमा काममा कुदेको देख्दा कहिलेकाहीँ नमिठो पनि लाग्छ। तर यस्तै कुदाकुदले त यहाँको राष्ट्र सक्षम भएको छ।
कानमा लगाएको एअरफोनबाट आफ्नै संगीत सुन्दै मुटुमा आफ्नै देश सजाउँदै हिँड्छु म।