कतिपय आदत यस्ता हुन्छन् जुन थाहै नपाई, पत्तै नपाई लागिदिन्छन। चाहे त्यो आदत मान्छेको होस् या चियाको। चिया भनेपछि चार कोस पर भाग्ने मान्छे म अचेल चियाको एक चुस्कीबिना दिन कटाउन सक्दिनँ। पानी बिनाको माछाजस्तो फत्र्याक फत्र्याक नै हुन्छु। बुझ्नु भयो होला कतिसम्मको तलतल छ चियाप्रति। सम्झेर ल्याउँदा कसरी आदत बस्यो थाहा छैन तर कहाँ बस्यो, त्यो एकदम प्रष्टसँग याद छ।
२०७५ साल माघ १० गते, म आफ्नो घर छोडेर दमौलीस्थित नेपाल बैंक लिमिटेड पुगेको दिन मेरो मानसपटलमा मजाले छापिएको छ। घर जो छोडेर जानुथियो, थाहा थिएन कहिलेसम्मको लागि। २५ वर्षको त्यो जल्दोबल्दो उमेर, सरकारी बैंकमा अधिकृतको रूपमा पहिलो नियुक्ति, साथीभाइ, नातागोताको अगाडि छुट्टै शान। यो सब एकातिर अनि घर छोडेर त्यो गर्मीमय दमौलीमा एक्लै परिवारबाट टाढा बस्नु पर्ने बाध्यता अर्कोतिर।
मन साह्रै गह्रुङ्गो हुन्थ्यो। म आफै निश्चित थिइनँ कहिलेसम्म टिक्छु त्यो ठाउँमा भनेर। यो काठमाडौंको खाल्डोमा हुर्केको, बढेको मान्छेलाई काठमाडौं छोडेर बाहिर बस्न साह्रै गाह्रो हुनेरहेछ। थाहा छ धुवाँधुलो, फोहोर, भिडभाड सबै यही छ तर जे जस्तो भए पनि आफू जन्मे, हुर्केको ठाउँ प्यारो नै लाग्नेरहेछ। चरा उडेर जता गए पनि फर्केर आउने त आफ्नै गुँडमा होनि भने जस्तै।
दमौलीको कुरा गर्दा सुरूका दिनमा अफिस र कामलाई खासै रमाइलो मान्न सकिनँ। दिक्क लाग्थ्यो, मन काठमाडौंतिर नै हुन्थ्यो। ग्राहकहरूसँग बोल्न खासै मन लाग्दैनथ्यो। कसैले केही नसोधिदिए हुन्थ्यो लाग्ने। 'होम सिकनेस' सायद त्यसैलाई भनिन्छ होला।
'काठमाडौंबाट आउनुभएको हो म्याडम? बिहे भएको छैन? यता कहाँ बसिराख्नु भएको छ?' जस्ता अनेक प्रश्नहरू सोध्दै नजिक आउने बैंकका साथीहरू टन्नै थिए। सुरुमै झ्याम्मिने बानी छैन मेरो। ३/४ पटक बोलेर अलिक चिनेपछि बल्ल खुल्ने गर्दछु। कतिसम्मको ठिक बानी हो यो थाहा छैन तर कहिलेकाहीँ अरूले अलि घमण्डी पनि भन्दा हुन्।
म सहायक शाखा प्रबन्धक तथा अपरेशन प्रमुख भएर काम गर्थें त्यहाँ। बिहान-बेलुका खजांची सरसँग मिलेर नगद र सुन थन्काउने काम हुन्थ्यो। रामचन्द्र (आरसी) सर धेरै नबोल्ने तर अति नै मिजासिलो व्यक्ति, त्यसबखत उहाँ खजांची हुनुहुन्थ्यो।
'तपाईं कमफर्टेबल त हुनुहुन्छ नि यहाँ?' उहाँको यो प्रश्नबाट सुरु भएको थियो हाम्रो कुराकानी। अफिसमा प्रायः अरूले सोध्ने प्रश्नभन्दा भिन्न थियो उहाँको प्रश्न मेरो लागि। ठिकै छ, कसैले त सोधिदियो म कत्तिको सहज भएर बसिरहेको छु भनेर। पहिलो जागिर, नोट गन्ने ढङ्ग पनि थिएन। उहाँले सबै सिकाउनु हुन्थ्यो। 'म पनि घरबाट टाढा छु तपाईंजस्तै मिस, यस्तै हो करियरको सुरुआतमा अलिकति त संघर्ष गर्नुपर्छ, रमाउनुस्, पीर नगर्नुस् हामी छौं' भन्दै मलाई सधैं सम्झाउनु हुन्थ्यो।
विस्तारै बैंकका सबैसँग नजिकिँदै गएँ। सबैभन्दा नजिक बनाउने माध्यम थियो चिया। ११ बजेपछि आरसी सरले कताबाट चिया मगाइहाल्ने। म पटक्कै चिया नरूचाउने मान्छेलाई खानै पर्छ भनेर चिया खुवाउन लाउँथे। एक हप्ता जति आधा कप चिया पिएर बाँकी कसैले नदेख्नेगरी कुनाको बाथरूममा लगेर फालिदिन्थेँ।
चियाभन्दा पनि बढी चियाको चुस्कीसँगै गरिने गफगाफ र हाँसी, ख्याल, रमाइलो बढी मनपर्न थालेछ। कामसँगै ठट्टा अनि चिया, विस्तारै बैंकको माहोलले छुन थालेछ। जति कप मगाए पनि चिया भन्ने वित्तिकै 'खाउँ-खाउँ' भन्ने साथीहरूको भिडले मलाई पनि विस्तारै चियाप्रेमी बनाइदियो।
१/२ दिन चिया ल्याउने दाइ कतै हराए भने अर्को व्यवस्था गरिहाल्थ्यौं। 'आज चिया मेरो तर्फबाट है' भन्दै चिया खुवाउने समेत भइसकेको थिएँ। हो, त्यही म जसलाई आधा कप चिया पिउन पनि हम्मेहम्मे पर्थ्यो। मलाई मजाले याद छ हाकिम सरले 'एक/एक जना गरी बाहिर जानुहोला' भनेर कडा निर्देशन दिँदासमेत हामी २/२ जना गरी खाजा खान हिँड्थ्यौं। अन्तिममा ४/५ जना झुण्ड बनेर फेरि चिया र खाजा गइहाल्थ्यौं। त्यती नगरे चित्त बुझ्दैन थियो।
साह्रै रमाइलो र ठट्टा गरिराख्ने अनन्त सर र उनका गहकिला अनि ठट्टेउली गफहरू सम्झिँदा अझै पनि हाँसो लाग्छ। 'घर आउनुस् गाईको बाक्लो दूधको चिया खुवाउँछु मिस' भन्नुहुन्थ्यो। घलेगाउँदेखि चितवनसम्मको घुमघाममा समेत चियाले कहिल्यै साथ छोडेन। जति प्यारा थिए साथीहरू, त्यत्तिनै प्यारो चियासँगको सम्बन्ध। थाहा नै नपाई जोडेको साइनो चिया र म। यो साइनो जोडिदिने माध्यम चाहिँ बैंकका साथीहरू।
प्रचण्ड गर्मीमय दमौली, नमेटिने घरको यादलाई भुलाइदिन खोज्ने बैंकका साथीहरू। ती दिन अनि त्यो साथहरू विशेष छन् मेरा लागि। अहिले म काठमाडौं फर्किसकेँ। बैंकको प्रधान कार्यालयमा काम गर्छु। माहोल बदलियो, साथीहरू बदलिए तर चियाको आदत अझैं उस्तै छ। ११ बज्नसाथ शरीरले आफै चियाको माग गरिहाल्छ। यहाँ पनि चिया सङ्गतीहरू टन्नै छन् तर दमौलीको त्यो चियाको रङ्ग र स्वाद भिन्न थियो। अनि त्योसँगै चल्ने गफ विशेष जुन म सायद कहिलै बिर्सिन्नँ।
मन दुखाएरभन्दा पनि मन बुझाएर जिउन सिकेँ, साथ दिने चिया र साथीहरू थिए। झरी होस् या चर्को घाम, चिया मगाम् भन्दै बितेछन् ती सुनौला दिनहरू। अहिले हामी साथीहरू सबै छरपस्ट छौँ तर एकचोटि फेरि भेटेर त्यही चिया, त्यस्तै गफगाफ अनि हल्ला गर्ने ठूलो धोको छ।
एक हप्ताअगाडि उही अनन्त सरले फोन गर्नु भएको थियो 'के गर्दै हुनुहुन्छ मिस?' भनेर। 'चिया पिउँदै छु अनन्त सर' भनेँ। उहाँ हाँस्दै 'दमौलीले दिएको आदत है मिस' भन्दै जिस्काउँदै हुनुहुन्थ्यो। मैले चियाको त्यो कपलाई हेर्दै भनेँ, 'दमौलीले दिएको मिठो आदत।'
त्यो कुराकानीपश्चात चिया पिउँदै नै लेखिएको यो लेख, मेरा सबै चिया साथीहरूका लागि। भेटौँला फेरि, मस्त चियागफ गरौँला। त्यतिन्जेललाई दमौलीका साथीहरूलाई मेरो मिठो सम्झना। चियाको रङ्गजस्तै गाढा रहिरहोस् ती सम्बन्धका रङ्गहरू।