घरमा हजुरबुवाले सोह्र श्राद्ध गर्दा पूजा भनेर रमाउने गरिन्थ्यो। सानैदेखि मैले हजुरबुबा हजुरआमाले पितृको श्राद्ध गरेको देखेकी, त्यसको पछाडि कारण के थियो मलाई थाहा थिएन। तर आज आफ्नै घरमा आफ्नै हजुरबुबाको सोह्र श्राद्ध भन्दा मनले कति पनि यो सत्य स्वीकार गर्न सकिरहेको छैन। अरु बेलाको मैले सोचेको पूजा र आजको श्राद्ध बीचको भिन्नता महसुस गर्न गाह्रो छ।
पुस महिनाको चिसो तुसारो। बिहान सबेरै उठेर घरको सबै काम सकेर अफिस जाने तयारीमा थिएँ। अचानक दाइको फोनको घन्टीले झस्कायो। कहिल्यै पनि दाइको फोन आउँदा म त्यसरी झस्किएको थिइनँ। समाचार सुनेपछि खै के भयो ती सब कुरा म शब्दमा व्यक्त गर्न सक्दिनँ जुन कुरा म सम्झिँदा पनि आत्तिन्थेँ, छटपटी हुन्थ्यो। त्यही कुरा सुनेँ- हजुरबुबा रहनुभएन।
दुई दिन अगाडि मात्र हजुरबुबालाई भेटेकी थिएँ। 'नानी, धेरै नबस्। म सधैं यस्तै, तिम्रो सरकारी जागीर होइन? जाऊ,' भन्नुभयो। जब म काठमाडौं फर्किएँ, हजुरबुबा पनि गल्दै जानुभयो। सधैं म फर्कने बेलामा 'नानी, तिमी अर्कोपल्ट आउँदा म हुँदिनँ' भन्नुहुन्थ्यो। हजुरबुबा, त्यो दिन हजुरले साँच्चै बोल्नुभएछ। म गएँ, हजुर रहुनुभएन।
बेहोसीमै एयरपोर्ट पुगेँ। पुसको जाडो, त्यसमाथि चितवनको तुसारोमा फ्लाइट। एक मानसपलटमा हजुरबुबाको तस्बिर घुमिरह्यो। हजुरबाले गरेका हरेक कुराहरू एकपछि अर्को गर्दै मलाई झकझकाइरह्यो। चितवन पुगेँ। सधैं घरको खाटमा हाँसेर बस्ने मेरो हजुरबुबा भुइँमा लडिरहनु भएको थियो। नातिनी पुग्दा ताली बजाउने मेरो हजुरबुवाले मलाई हात हल्लाएर बिदा माग्नुभयो।
हजुरबा! त्यसबखत मलाई के बित्यो सायद म शब्दमा वर्णन गर्न सक्दिनँ। याद छ, मेरो कन्यादान गरेर हजुर घर फर्कनुभयो। 'नानी, म तिमीलाई अन्माएको हेर्न सक्दिनँ' भनेर रातो घुम्टोमा सजिएर आफ्नो नयाँ जीवनको सुरुआत गर्न लागेकी मलाई बिदाइ गर्ने हजुरबुवालाई मैले पहेँलो कपडामा अचेत अवस्थामा हरियो बाँसमा बाँधेर बिदा गर्नुपर्यो।
हजुरबा, मैले त्यो सब सहनै सकिनँ। मलाई सयौं जन्तीसँग पठाउन सक्नु भएन तर मैले हजुरलाई हजारौं मलामीको साथमा पठाउनुपर्यो, त्यो पनि एक्लै। हजुर जहाँ हुनुहुन्छ, सन्तुष्ट हुनुहुन्छ होला। हजुरले दिएको संस्कारलाई भुलेकी छैन।
हजुरबाको बिदाइ सँगसँगै हजुरआमाको बस्त्रले मलाई झन् पीडा थपिदियो। सधैं रातो रंगमा सजिने संसारकै सबैभन्दा सुन्दर मेरी हजुरआमाको सिउँदो पखालियो, चुरा फुटाइयो। त्यो हृद्यविदारक घटना मैले सहन सक्ने थिएन। जसोतसो मनलाई बाँधें, संसार यस्तै रहेछ भन्ने लाग्यो।
हजुरबुबा बित्दा पनि के रोएको भन्नेहरू पनि थिए। बुढो भएको मान्छे बित्छन् भन्ने पनि थिए तर मेरो हजुरबुवा मेरो सबैथोक हुनुहुन्थ्यो। हजुरबुबासँग मैले बिताएका पलहरू ती बोल्नेहरूलाई के थाहा! आज जब म घर पुग्छु, मेरा नयनहरूले हजुरबुबालाई चारैतिर खोजिरहन्छन्।
खाटमा बसेर सेता दाँत देखाएर हाँस्नुहुन्थ्यो। दमले धेरै गलाएको थियो। दिसा पिसाब सम्हाल्न उहाँलाई गाह्रो हुन्थ्यो। तर पनि हजुरबुबाको नजिक बस्न कहिल्यै घिन लागेन। छिमेकीले 'हजुरबा! तपाईंका नाति-नातिनाहरू तपाईंको वरिपरि बस्छन्, कति घिन मान्दैनन्?' भनेर सोध्थे। हजुरबा हाँसेर 'अहँ! मेरा नातिनातिना त मैले पाएको बरदान हो' भन्नुहुन्थ्यो।
हजुरबा आज हजुरको अभाव हर प्रहर महसुस गरेकी छु। मेरो ठूली छोरीले त हजुरबुबा देख्न पाइन् तर सानी छोरीको पालामा हजुरको अभावले धेरै सताइरह्यो। खाना खाएर निस्कँदा 'केसँग खायौ?' भनेर सोध्नुहुन्थ्यो। तर आज जे खाए नि के खायौ भनेर सोध्ने हजुरको अभाव खड्किन्छ। हजुरबाको पूजापाठ, जपतप र शङ्ख घण्टाको धुन सुन्न मेरा यी कानहरू तयार हुन्थे, सक्रिय हुन्थे तर आज सब शून्य शून्य भएको छ।
आज हरेक रात आकाशतिर फर्किएर भक्कानिहुन्छु। कतैबाट हजुरबाले हेरेजस्तो भान हुन्छ, कतै बोलाएजस्तो लाग्छ, कतै टोलाएर बस्दा 'नानी किन टोलाएकी?' भन्ने लाग्छ तर त्यो सब भ्रम रहेछ।
हजुरबुबा, हजुरलाई जेरी मन पर्थ्यो। हरेक चोटि पसल जाँदा मेरो मन भारी भएर आउँछ। दौरा सुरुवाल लगाएको हरेक मानिसमा म हजुरको प्रतिबिम्ब पाउँछु। मन्दिरमा बस्ने पुजारीहरूमा हजुरको छाया पाउँछु। आज म मेरा नानीहरू पनि मेरो र हजुरबुबा-हजुरआमाबीच भएको आत्मीयता जस्तै उनीहरूको आत्मीयता नि आफ्नो हजुरबुबा-हजुरआमासँग रहोस् भन्ने सोच्छु। म जसरी हजुरको अभावमा खड्किरहेकी छु, त्यो अभाव मेरा छोरीहरूले कहिल्यै भोग्न नपरोस्।
हजुरबुबा, जिन्दगीमा सबैको जाने बाटो त त्यही हो। मृत्यु निश्चित छ। सायद हाम्रो भेट होला तर अर्को जुनीमा पनि म हजुरकै नातिनी भएर जन्मिन पाउँ।