विसं २०२२ सालमा अर्घाखाँचीको पाणिनी गाउँपालिका ५ मैदानमा जन्मिनु भएका मेरा बाबा सानैदेखि इमान्दार, मेहनती र लगनशील हुनुहुन्थ्यो। पारिवारिक समस्या, कमजोर आर्थिक अवस्थाका कारण मेरो बाबाले धेरै पढ्न नपाए पनि पढाइमा भने अब्बल नै हुनुहुन्थ्यो।
मेरा बाबाले हामी आठै जना सन्तानको लागि धेरै दुःखकष्ट गर्नुभयो। गणितले हिसाब गर्न नसक्ने, विज्ञानले सम्बन्ध छुटाउन नसक्ने, शब्दले व्याख्या गर्ने नसक्ने भावनाको नाम नै बाबा हो जसको अगाडि हामी सबैको श्रद्धाले शिर निहुराउने गर्छौं। बाबाको बारेमा जति नै वर्णन गरे पनि कमै हुन्छ। यसलाई कहिल्यै पूरा गर्न सकिँदैन।
कति कठिन समय थियो त्यो समय जुन बेला बाबाले हाम्रा लागि भोकतिर्खा नभनी दिनरात मेहनत गर्नुभयो। हामी यसै जन्मिएका हैनौं, यसै हुर्के बढेका पनि हैनौं। यसमा बाबाको ठूलो दुःख कष्ट लुकेको छ। आफ्ना हरेक इच्छा र चाहनालाई पन्छाएर हाम्रा लागि आफ्नो रगत पसिना बगाउनु भयो, समाजको यातना सहनु भयो। त्यसमाथि आमा मानसिक रोगी, घर र भैरहवा गर्नुपर्ने त्यो बाध्यता। धनी र सुविधा सम्पन्न परिवारलाई त कति गाह्रो हुन्छ, हामी त सामान्य परिवारका मान्छे।
कृषिबाहेक अरु कुनै विकल्प थिएन। यस्तो दर्दनाक अवस्थामा पनि बाबाले सबैलाई स्कुल पढ्न पठाउनु भएकै थियो। तर विडम्बना, हामीले बाबालाई चाँडै गुमायौं। बाबा बिनाको घर अब घरजस्तो रहेन। मबाहेक अरु सन्तानले त बाबाको माया अनुभव गरे तर म सानै उमेरमा काठमाडौं आएको भएर बाबाको माया संगै बसी अनुभव गर्न पाइनँ। बाबाको काखमा बसेर लुटपुटिन पाइनँ।
बाबा, मलाई तपाईंको अभाव हरेक पाइला पाइलामा खड्किरहन्छ। तपाईंको बोली मात्र सुन्न पाएँ भने पनि मलाई संसार जितेजस्तै हुने थियो। बाबा, तपाईंकी यो छोरी आफ्नो नाम भन्न पनि डराउँथी तर हेर्नुस्, आज म ठूला-ठूला कार्यक्रममा आफ्ना कुरा ढुक्कसँग राख्न सक्ने भएकी छु।
सानै उमेरमा परिवारसँग टाढा भएर बस्नुको पीडा, एसइईपछि एक्लै डेरा लिएर बस्नुको पीडा, त्यसमाथि काठमाडौंको महंगी। अहिले सम्झिँदा नि जीउ नै छाँगाबाट झरेझैं लाग्छ। बाबा, म कयौं रात भोकै सुतेकी छु। आमाले 'खाना खायौं नानी?' भन्दा फोन काटेर झम्टेर रोएकी छु। सोच्थेँ, बाबा भएको भए मेरा यी दिन आउँथे होला र?
'फलानोकी छोरी त बिग्रेकी छ, एक्लै डेरा लिएर बसेकी छ, के नै गर्छे र?' भन्नेहरूलाई आज म यो ठाउँमा नआएको भए के जावाफ दिन्थेँ होला बाबा? चाडपर्व आउँछ रुवाएरै जान्छ। हजुरलाई नै सम्झन्छु अनि बुढी हजुरआमा सम्झन्छु। उहाँले कसरी आफ्नो मन सम्हालेर बस्नु भएको होला, आफ्नै आँखा अगाडि छोराको बिदाइ गर्नुपर्दा!
मुटु भक्कानिएर आउँछ, के गरुँ? कसो गरुँ? हामीलाई टुहुरो बनाएर किन जानुभयो? अझ चाडपर्व आउँदा त हजुरको यादले निकै सताउँछ। योपालि त बुढी आमाले पनि छोडेर जानुभयो। तपाईंको न्यास्रो मेटाउने उहाँ हुनुहुन्थ्यो तर उहाँ नै रहनु भएन।
बाबा, मेरा साथीहरूलाई देख्छु। बाबाको काखमा लुटपुटिएर कति हर्षित भएका हुन्छन्। अनि मलाई हेर्छु। लाग्छ संसारकै अभागी छोरी त मै रहेछु। बाल्यकालमा पैसा थिएन, बाबा साथमा हुनुहुन्थ्यो। हामीलाई चाहिने सबै सामान ल्याइदिनु हुन्थ्यो। अहिले अलिअलि भए नि पैसा छ, बाबा हुनुहुन्न। पैसाले बितेका बाबा फर्केर आउने भए हामी किन यो वियोग सहेर बाच्ने थियौँ र?
बाँचुन्जेल तपाईंको अभावले हर पल, हर क्षण सताइरहन्छ। जति ठूली हुँदैछु, त्यति नै किन मलाई तपाईंको सम्झना आउँछ? बाबा, अहिले म आफ्नै खुट्टामा उभिएकी छु। अरुलाई एक छाक खानकै लागि हात फैलाउन परेको छैन। तर पनि मैले आफ्ना आवश्यकता पूरा गर्न सक्दिनँ तर तपाईंले कसरी हामी आठ सन्तानलाई हुर्काउनु, पढाउनु भयो? असल र सक्षम व्यक्ति बनाउनु भयो?
हाम्रो परिवारमा सहनै नसक्ने गरी भगवानले दिएको पीडा व्यथा। ८६ वर्षीय वृद्ध आमाले ४८ वर्षको छोरा गुमाएको त्यो कालो दिन। हामी आठ सन्तानले बुवा गुमाएको त्यो कालो दिन। बुवा हजुर हामीबाट टाढा भएको छ वर्ष बितिसक्दा पनि अझै कतैबाट आएर छोरी भन्नुहुन्छ कि जस्तो लाग्छ।
हजुरको अभावमा बिताएका यी दिनहरू सहनै नसक्ने पीडादायी रहेका छन्। सन्तानको लागि सधैं दुःखकष्ट सहेर दिनरात पसिनाका खोला बगाएर ठूला बनाउनु भयो, तिनै सन्तान ठूला भए। सन्तानबाट सुख प्रात गर्ने बेलामा हामीबाट टाढा हुनुभयो।
विद्यालयले वार्षिक उत्सव तथा अभिवावक दिवस मनाइरहँदाको त्यो खुसीको पलमा मैले हजुरलाई गुमाउन पुगेँ। सयौं अभिवावकको त्यो भिडमा रमाउँदै सो कार्यक्रम संचालन गरिरहँदा मैले मेरो अभिवावकलाई गुमाएको त्यो दिन सम्झँदा मन अमिलो भएर आउँछ।
बाबा, हजुरको अभाव सधैं खड्किरह्यो। थाहा छैन हजुरले भनेझैं समाजको लागि असल र उदाहरणीय छोरी भएर चिनिन सक्छु या सक्दिनँ तर हजुरजस्तै असल व्यक्ति भने अवश्य बन्ने प्रयास गर्नेछु।
हार्दिक श्रद्धासुमन बाबा।