मेरो जन्म २०५२ सालमा रामेछापको फुलासी गाविस वडा नम्बर ३ चिन्डेमा भयो। एक साधारण घरमा जन्मिएकी थिएँ। हजुरबुवाको एक्लो छोरा अर्थात् मेरो बुवा घरको बिँडो खेपेर रातदिन दुःख गरी घरको गुजारा टार्नुहुन्थ्यो।
घरको पाँचौं सन्तान, कान्छी छोरीको रुपमा मेरो जन्म भएको थियो। घरको अवस्था दयनीय नै थियो। बुवा रातदिन कृषिमा कडा मेहनत गर्नुहुन्थ्यो। कहिलेकाहीँ तास खेलेर भएको केही पैसा र जेथाहरूलाई रित्याउने नशा उहाँमा परिसकेको रहेछ। जेनतेन दुःख गरेर पाँच सन्तानलाई हुर्काउने र आङ ढाक्ने एकसरो कपडा किनिदिने यो मेरी आमाको मजबुरी थियो भनौं या दायित्व।
दिनहरू बित्दै गए। दुई छाक खानको लागि केही सहज बन्दै गएको थियो। गरिब परिवारमा हुर्किएर मलाई कति दसैं यादमा रहेनन् र छैनन् पनि! रमाउने, खाने, खेल्ने, हाँस्ने, सपिङ गर्ने यी कुराहरू त धेरै पछि थाहा भयो मलाई।
दिनहरू ढल्किँदै गए। गरिबी जहाँको त्यहीँ थियो, हामी हुर्किदै गयौं, खर्च बढ्दै गयो, आम्दानी हुने बाटोहरू केही थिएनन्। मलाई केही वर्षहरूमा बुवाले दसैंमा घाँगर किनिदिएको याद त छ तर त्यो घाँगरसँगको खुसी मेरो मानसपटलमा अहिले धेरै छैन। घरमा पैसा अभाव धेरै थियो। केही अन्न र फलफूल बेचेर खर्च टारिरनु पर्ने आमाबुबाको बाध्यता थियो।
स्कुलमा महिनाको ३० रुपैयाँ फी बुझाउन नसकेर मेरो दाइ र दिदीलाई नजिकको विद्यालयले परीक्षाको अघिल्लो दिन निकालिदिएको थियो। साँच्चै त्यो अभाव र संकट केबल मेरो परिवारलाई मात्र थियो जस्तो अनुभूति हुन्थ्यो। घरमा पैसा नहुँदा पनि बुवाले २०६० सालमा एक लाख रुपैयाँमा करिब २० रोपनी पाखोबारी किन्ने निर्णय गर्नुभएछ र तुरुन्तै पास गर्नुभयो।
घरमा पैसा थिएन। भएका बाख्रा, भैंसी, अन्नपात केही मात्रामा त बुझाउनुभयो तर यति धेरै पैसा कहाँ हुनु? घर झनै तहसनहस भैसकेको थियो। यो सबै समस्याहरूलाई समाधान गर्न एकजना मित बासँग मिलेर काम गर्नुभयो। धेरै ऋणको तनावले बुवा निकै लामो समयसम्म घर फर्किनु भएन। त्यसपछि घरमा झन धेरै समस्या सृजना भयो।
एकातिर देशमा भैरहेको आन्दोलन, अर्कातिर न फोन आउँछ बुवाको न चिठी! करिब डेढ वर्ष यही तनाबले पनि दसैं कस्तो भयो, कसरी आयो र कसरी गयो ठम्याउन सकिएन। जब बुवा आउनुभयो अनि विस्तारै खुसीहरू त पलाउन थाल्यो तर अवस्था अझै दयनीय नै थियो। यही कारण जेठो दाइले १० कक्षाको टेस्ट परीक्षा दिएर एसएलसी नै नदिई घर छाडेर सहर छिर्नुभएको थियो।
काठमाडौं आउनुभएको करिब ३ महिनापछि सशस्त्र प्रहरी बल हल्चोकमा भर्ना खुलेपछि सैन्य पदको लागि आवेदन दिनुयो र सोही टिमको छनोटमा परी तालिमको लागि नवलपरासी जिल्लामा खटाइएको थियो। द्वन्द्वकालको समयमा दाइको जागिरबाट पासिङ आउट भएर काठमाडौं आएपछिको पहिलो दसैं अर्थात् २०६२ सालको दसैंमा दाइले जेठी दिदी र माइली दिदीलाई कुर्था सुरुवाल अनि मलाई भेस्ट-कट्टु ल्याइदिनु भएको थियो।
घाँगर र सुरुवाल लगाएर हुर्किएकी म पहिलोपटक भेस्ट-कट्टु लगाउने अवसर पाएको थिएँ। मैले मेरो त्यो लुगा लगाएर गाउँभरि फन्को मारेको थिएँ। दिमागमा अझै ताजै छ काकीहरूले भन्नुभएको, 'ओहो! एसपालिको दसैंमा कान्छीलाई भेस्ट कट्टु ल्याइदिएछ त जेठाले, लौ कस्तो सुहाएको छ सानी मान्छेलाई!'
हो, त्यो वर्ष मलाई साँच्चीकै दसैं आएको थियो। मेरो मन रमाएको थियो, खुसी भएकी थिएँ म। मनमनै अनेकौं सोच्दै, रमाउँदै, नाच्दै, उफ्रिँदै हिँडेकी थिएँ। साँच्चीकै त्यो समय, त्यो परिस्थिति अनि त्यो परिवेश कति आनन्दित थियो। न मनमा पीर, न कसैप्रति केही गुनासो, न काँधमा जिम्मेवारी, न वर्तमानको पीडा, न भविष्यको चिन्ता। मात्र दसैं लागेको थियो।
मेरो मनमा मात्र पिङ खेल्ने, केरा खाने, मासु खाने अनि लुगा लगाएर फुर्किदै हिँड्ने। यति शोखमा मैले त्यो मात्र दसैं मनाएँ जुन मेरो जीवनको सबैभन्दा स्मरणीय र खुसीमय दसैं बनेको थियो। यसपछि मेरो जिन्दगीमा कहिल्यै दसैं आएन, आएको छैन र लाग्छ कहिल्यै आउँदैन जस्तो!
समयको परिवर्तनसँगै आज हरेक खुसीहरू लुटिएका छन्। इच्छा र चाहानामाथि कसैको गिद्दे नजर गढिएर बसेको छ। सानोमा हाम्रो परिवारको दसैं, तिहार वा अन्य चाडपर्वहरू कहिल्यै खुसी लिएर आउन सकेन। जब ठूलो भयौं अब त मनमा अनेकौं पीडा र सोचाइहरू थपिए। जिम्मेवारी, दायित्व र समस्याहरू थपिँदै गए। यसपछि त झनै कहिले आउँछ र हामीलाई दसैं?