पहिलो दिन, नयाँ अनुभव, नौलो ठाउँ अनि भिन्न अनुहारका मानिसहरू। साना बालबालिकाहरू हाँसेर उफ्रिदै गरेको आवाज विद्यालयको मूल गेटदेखि नै गुन्जिरहेको थियो। लाग्यो, तिनै आवाजहरूको मिश्रणबाट निस्किरहेको बुलन्द आवाजहरूले मेरो स्वागत गरिरहेको छ।
मलाई थोरै असहजता, अप्ठ्यारो र लाज लागेको महसुस भयो। धन्न मेरा पाइलाहरू भने रोकिएका थिएनन्। म विस्तारै विद्यालयको खेल मैदान हुँदै अफिसको ढोकातिर अगाडि बढ्दै थिएँ।
ओहो! चारैतिरबाट किताबले भरिएको टेबल, बीचको टेबलमा सानो नेपालको झण्डा, विश्वको नक्सा अनि प्रत्येक सोफामा शिक्षकको उपस्थिति। त्यो वातावरणलाई नियाल्न नपाउँदै खुट्टा अलि भारी भएको महसुस गरेँ। हातहरू चिसिँदै गए, लाग्यो मेरो मुटुको चाल खुट्टाको चालभन्दा पनि बढी चलिरहेको छ।
विस्तारै सबैलाई नमस्कार भन्दै आफ्नो परिचय गरेँ। लगभग १० मिनेटपछि मात्र मेरो मुटु स्थिर भएको जस्तो लाग्यो। मलाई बाहिर उफ्रिदै नयाँ मिस भनिएको आवाजहरूलाई हेर्न मन थियो। उनीहरूसँग गएर कतिखेर बोलूँ भएको थियो। थाहा छैन त्यो अफिस भित्रको अप्ठ्यारो परिस्थितिले सिर्जना गरेको भावना थियो या के थियो।
कक्षा ९, पहिलो दिनको पहिलो कक्षा। 'गुड मर्निङ मिस' यो वाक्य सुन्दा म झस्किएँ। अरु नै दुनियाँबाट फुत्त निस्केर आएको जस्तो भान भयो। सानैदेखि आफूले अरुलाई भन्दै आएको वाक्य आज आफ्नै लागि कसैले भनिदिँदा गर्वले छाती फुलेझैँ लाग्यो।
त्यहीबेला आफूले आफैंलाई पनि सोधेँ, यो सम्मानको लायक म हुँला त? यो जवाफको उत्तर मैले मनन गर्न नपाउँदै अनायसै मेरो मुखबाट निस्कियो- 'नमस्कार मेरो नाम मनिषा गुरुङ।'
'मिस अलि ठूलो स्वरले बोल्नु न!' 'मिस नै यति सानो हुनुहुन्छ, स्वर कसरी ठूलो आउँछ? चुपो लागेर सुन् न, है मिस?' देखि लिएर 'नयाँ मिस म ठूलो भएर हिरो बन्ने नि, एउटा डाइलग सुनाउँ' सम्म, 'मिस हामी गीत गाउँदै नाँच्छौं भिडिओ बनाइदिनु न ल' देखि लिएर 'हामीलाई छोडेर नजानु न मिस' सम्मका स-साना शब्दहरूको गह्रौं भावना र त्योभित्र भएको अपार मायाले मेरो जीवनका घडीहरूमा अपनत्वका घन्टीहरू टिङ टिङ बजिइरहेको थियो, जसको केवल म मात्र स्रोता थिएँ।
भनिन्छ जीवन अनुभवहरूको भण्डार हो। तिनै भोगाइहरूको संगालोमा केही सिक्छु र सिकाउँछु भन्ने उद्देश्यका साथ म आफ्नो गन्तव्यतिर लागेँ। गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ६, श्री देवी जलकुमारी माविमा मैले आफ्नो लगभग एक महिना बिताएँ।
जब पढाउँछु भनेर कक्षाभित्र छिरिन्छ तब जिम्मेवारी थपिएको महसुस हुने रहेछ। जसरी आमाबुबाले आफ्नो बालबालिकालाई गलत बाटो लिएको बेला गाली गर्नुहुन्छ, त्यसैगरी शिक्षकले पनि त्यहीँ जिम्मेवारीको भूमिका निर्वाह गर्दागर्दै हामीले कहिलेकाहीँ शिक्षकको गाली खान्छौँ। त्यो समयमा हामी मलाई यो शिक्षकले गाली गर्नु भो, पिट्नु भो भन्छौं तर ती सब कुराहरू अभिभावकको कर्तव्य पूरा गर्दागर्दै, विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि कुबाटोमा जान नदिन रोक्दा रोक्दै भएको हुन्छ।
त्यसैले पनि म हिजोसम्म शिक्षकलाई जति सम्मान गर्थेँ, आजको दिनसम्म आइपुग्दा त्यसको सय गुणा शिक्षक प्रतिको श्रद्धा बढेको छ। कि परेर जानिन्छ कि पढेर जानिन्छ भन्थे हो रहेछ, शिक्षकलाई किन सम्मानित पेसा भनिन्छ आज परेर जानियो।
विद्यालयको अन्तिम दिन म दुःख र हर्षको सम्मिश्रणमा झुलिरहेकी थिएँ। हर्ष यो कुराले थियो कि एक महिनाको अवधिमा नै मैले धेरै माया गर्ने मान्छेहरू पाएँ। मेरो लागि उनीहरूको आँखाबाट आँसु खसिरहेको थियो र दुःखी यो कारणले थिए कि छोड्नुपर्ने थियो साना नानी बाबुहरूको मिठो साथ, खाजा खाने समयभरि कुरा गरेर बिताउने, उफ्रिने, खेल्ने, गीत गाउने, नाँच्ने, कथा भन्ने र चुटकिला भन्दाको हाँसोको पात्रहरूमा उनीहरूसँगै हाँस्न पाउने समय, स्कुल जाँदा विद्यालयको गेटसम्म लिन आउने साना नानीबाबुहरूको हातलाई छुट्टाउनु पर्ने थियो।
मेरो लागि भनेर उनीहरूले थुप्रै चित्रहरू कोरेका रहेछन्। अन्तिम दिनमा उनीहरूले दिएको चिठी र चित्रहरू एक झोला भएको थियो। भन्न त उनीहरूले 'मिस, मेरो तर्फबाट चिठी' भनेर दिएका थिए तर मेरो लागि त्यो एउटा सफलताको उपहार थियो।
विद्यालयबाट फर्किने बित्तिकै मैले ती सबै चिठी र चित्रहरू हेरेँ। धेरै चिठी र चित्रहरूको बीचमा एउटा ५ रुपैयाँको नोट थियो। त्यसमा लेखिएको थियो मनिषा टिचर र अर्को पट्टि लेखिएको थियो पुजा गुरुङ। हुन त त्यो एउटा कागजको नोट थियो तर त्यो हेर्दा मेरो आँखाहरू रसाएको थियो। आजसम्म हजार रुपियाँ कसैले दिँदा म त्यति खुसी कहिल्यै भएकी थिइनँ जति त्यो चिठी भित्रको ५ रुपैयाँले भएको थियो।
एउटा चकलेट भए पनि आफ्नो क्षमताले कमाएको उपहारलाई म मनैदेखि सम्मान गर्छु तर ६ कक्षाका विद्यार्थीहरू जसलाई पैसा भेट्नेबित्तिकै कतिखेर पसल जाउँ र मिठो कुराहरू किनेर खानु भन्ने स्वभावका हुन्छन्, अझ उनीहरूले त भनेको समयमा पैसा पनि पाउँदैनन्। त्यसैले पनि होला त्यो मेरो जीवनको कमाइ हो जस्तो लाग्छ जुन मेरो लागि अमूल्य छ।
‘कम्युनिटी आवर्स’ कार्यक्रम जसले केवल म बाँचेको आयुमा अनुभव मात्र बटुलेको छैन, भोगाइ र सङ्घर्षको परिभाषा थोरै भए पनि बुझाएको छ। सहरिया भन्ने विद्यार्थीहरू 'हामी' हामीलाई बिहान उठाइदिनु पर्ने हुन्छ, घरको दैलोदेखि विद्यालयको गेटसम्म गाडीमा जान्छौं, पढ्छौ फेरि घण्टौं जाममा बसेर थकित भयो भन्दै घर पुग्छौँ।
भन्न नपाउँदै हातहातमा चाहेको कुरा सबै पाइन्छ, आमाबुबासँग रिसाइदिँदा मागेको सबै कुराहरू भेटिन्छ तर ती गाउँका सरकारी स्कुलमा पढ्ने बालबालिकाहरू सबेरै उठेर घाँसदाउरा गर्न जान्छन्। अनि मात्र खाना खाएर फेरि हतारहतार गर्दै एक घण्टाको बाटो हिँडेर विद्यालय पुग्छन्।
खोइ सुविधा भएन भन्ने गुनासो उनीहरूको बोलीमा कहिले महसुस गर्न पाएन। स्कुलबाट फर्केर पुस्तक राख्न नपाउँदै न खाजा न भुजा, मेलापातमा दौडिन पर्ने बालबालिकाहरूमा थकान भयो भन्ने बोलीमा कहिल्यै सुनिएन।
एउटा कापी र कलम किन्न खाजा खाने पैसा बचाउनु, त्यो सानो बालकको आँखामा भोको पेटको प्रतिबिम्ब देखाए झैँ कहिल्यै लागेन किनकि सायद उनीहरू परिचित थिए आफ्नो आमाको फुटेको हात र पाइतालाको केस्राहरूसँग। सायद उनीहरू बुझ्दा हुन् बाबुको घाँसको भारी र शरीरभरि कपडा निथ्रुक्क भिज्ने पसिनाहरूलाई। त्यसैले पोखिन दिएका थिएनन् अभावका भावहरू आफ्ना आँखाहरूमा।
यी कुराहरू देखेर म सोच्न बाध्य भएँ, वास्तवमै संघर्ष भनेको के हो त? पिज्जा खान नपाएर रुनु या आधापेट खाएर आफ्नो आवश्यकता किन्नु? घन्टौंसम्म जाममा बसेर दिक्क हुँदै विद्यालय जानु या १/२ घन्टा लगाएर पसिनाले निदार भिजाउँदै विद्यालय दौडिनु?
वास्तवमै भोगाइ के हो त? चट्ट मिलेको लुगा लगाएर विद्यालय जानु या त खुट्टामा चप्पल र हातमा किताब बोकेर पानीमा रोज्दै स्कुल पुग्नु? अनि अभाव के हो त? सेवा सुविधा भए तापनि नभएझैं गरेर आफ्ना प्रतिभालाई बाहिर निकाल्नु या अनेकौं प्रतिभा हुँदाहुँदै पनि प्रस्तुत गर्ने शैली र स्थानको कमीले थुनाएर उकुसमुकुस गरेर मनभित्र नै मार्नु?
दुःखपूर्ण जीवन हुँदाहुँदै पनि गाउँको विद्यार्थीहरू व्यवहारिक हिसाबले सहरमा पढ्नेभन्दा धेरै फरक छन्। उनीहरूसँग न स्वार्थपन छ, न कसैको लागि डाहा, न रिसराग, न त मै ठूलो, धनी, जान्ने खालको सोच नै। यहाँको हरेक गल्लीमा अरूको सफलतामा जल्ने प्रवृत्ति तर गाउँका बालबालिकाहरूमा यो सोच अलिकति पनि थिएन।
उनीहरूमा भएको आत्मसन्तुष्टि र सहन गर्न सक्ने खुबी देख्दा मलाई डाहा लाग्थ्यो। उनीहरूकोमा भएको जस्तै सकरात्मक दृष्टिकोण चोर्न मन लाग्थ्यो र सायद केही हदसम्म मैले चोरेँ पनि।
हाम्रो देशको भविष्य कति मजबुत हुन्थ्यो होला दुर्गम स्थानमा पनि काठमाडौंको जस्तै विकास पुगे तर उनीहरू भित्र भएको आफ्नोपनलाई, स्वच्छ मनलाई परिवर्तन नगरीकन गुणस्तर शिक्षा प्राप्त गराउन सके? सादा जीवनमा नै गुणस्तरीय शिक्षा दिन पाए नेपालको भविष्य एउटा जाज्वल्यमान ताराजस्तै चम्किन्थ्यो होला।
नेपाल सरकारले कक्षा ८ सम्मका विद्यार्थीहरूलाई निःशुल्क किताब वितरण गरिरहेको छ। तर विद्यालय लागु भएको तीन/चार महिनासम्म पनि उनीहरूले पाठ्यपुस्तक पाउन सकिरहेको छैनन्। अब गल्ती कसको भन्ने? व्यस्तताको भारीले थिचिएका अभिभावकलाई आवाज उठाउँ भन्ने? ढिलासुस्तीमै चित्त बुझाएर गुपचुप बसेका शिक्षकहरूलाई आवाज उठाउँ भन्ने? या त सम्बन्धित निकायका ब्यक्तिहरूलाई जसलाई नेपालको विकट ठाउँमा कति विद्यालय छन्, त्यहाँ कति विद्यार्थी पढ्छन्, समयमा पाठ्यपुस्तक पुग्यो पुगेन भन्ने बारेको अत्तोपत्तो छैन।
जबसम्म दुर्गम विकट गाउँका विद्यार्थीहरूले राम्रो शिक्षा पाउन सक्दैनन् तबसम्म नेपालको भविष्य सुधार हुन असम्भव नै छ।
एकछिन विचार गरौँ न, सहरमा पढेका विद्यार्थीहरू विदेश जाने आजभोलि नियम नै बनिसकेको छ अनि भविष्यमा नेपालमा बस्ने को? देशको मेरुदण्ड बन्ने को त? त्यही सरकारी विद्यालयमा पढेको विकट ठाउँका विद्यार्थीहरू, उनीहरूलाई त्यति सजिलो कहाँ हुन्छ र एक त उनीहरूसँग पर्याप्त शिक्षा हुँदैन र दोस्रो ठूला पदका विशेष व्यक्तिहरू हुँदैन।
उनीहरूको लागि आवाज उठाउने पनि हुँदैनन्। निकायहरू कुर्सी र सत्ताको मोहले गाजिएका छन्। सहरमा बस्ने आमनागरिकलाई त मतलबको विषय नै भएन अनि बाँकी रह्यो त्यो दुर्गम गाउँका मानिसहरू जसको घाँस दाउरा, मेलापात, पर्म, पैचो, गाईवस्तु, भन्दाभन्दै जीवन बित्छ।
अचम्मित त म त्यतिखेर भएँ जब कक्षा ४ का विद्यार्थीहरू पनि नाँच्न र गाउनमा यति माहिर थिए कि एकछिन त मलाई लाग्यो कि वर्षौंदेखि अभ्यास गर्दै आएका बालबालिकालाई हेर्दैछु। एकछिन मनन गर्न बाध्य भएँ, हामीले जति सुख सुविधा पाएको भए उनीहरू कुन स्थान समात्न सफल हुन्थ्यो होला? सिक्ने र जान्ने कौतुहलताको भण्डारले थिचिएका छन् तर अवसर दिने कसले? त्यो वातावरण निर्माण गरिदिने कसले?
मेरो मन त्यतिखेर टुट्यो जब कक्षा ४/५ का बालबालिकाहरूमा भएको त्यो उत्सुकता कक्षा १० को विद्यार्थीहरूमा थिएन। 'जसोतसो १० पास गरेर खाडीतिर जाने मिस' भन्दा म एकछिन् अकमक्किएँ। सपना त होलान् उनीहरूको पनि तर सायद सम्झौता गर्दै थिए उनीहरू आफ्नो परिस्थितिहरूसँग।
अब दोष कसलाई दिने यहाँ? विकट ठाउँको सरकारी विद्यालयलाई नदेखेझैं गर्ने सरकार? प्रथम, द्वितीय र तृतीयबाहेक अरु त विद्यार्थी नै होइन भन्ने मानसिकता बोकेको शिक्षक? युगौंदेखि सुधार हुन नसकेको नेपालको शैक्षिक प्रणाली? छोराछोरी स्कुल गएका छन्, पढिहाल्छन् नि भन्ने भ्रममा बाचेको अभिभावक? या त आफ्नो सपना र परिस्थितिलाई सम्झौता गर्दै एउटा हातमा किताब र थाप्लोमा नाम्लो बोक्दै गरेको विद्यार्थी?
प्रश्नहरू धेरै छन, एक महिना बितिसक्दा पनि मेरो कमजोरी हो या के हो म जवाफविहीन फर्केकी छु। मनमा मैले केही त सिकाएँ विद्यार्थीहरूको मन जित्न सफल भए भन्ने आत्मसन्तुष्टि र दिमागभरि प्रश्नहरूको भण्डारहरूलाई कहाँ गएर रित्याउने भन्ने अर्धसन्तुष्ट मन र दोधारे मस्तिष्क लिएर म त्यहाँबाट बिदा भएकी छु। धेरै कोसिस गरेँ प्रश्नहरू सुल्झाउन तर म असफल भएँ। यी प्रश्नहरूको उत्तरको खोजीमा म अझै पनि भौतारिरहेकी छु, यत्र तत्र सर्वत्र।