हुन त चाडबाड भन्ने बित्तिकै सबैलाई उत्तिकै उमंग, जोश र हौसला महसुस हुन्छ नै। त्यसैमा केटाकेटी उमेर भनेको झन् बढी उत्साहित हुने उमेरमा हेरिन्छ।
आफ्नो उमेर समूहका छरछिमेकी, साथीभाइ र दौँतरीबीच रमाइला गफ गर्नु, कुनै नयाँ ठाउँ घुम्ने योजना बनाउनु, नयाँ-नयाँ लुगा किन्ने योजना बनाउनु, बजारमा देखेका नयाँ-नयाँ खेलौनाहरू किन्नु आदि कुराहरू पहिलो प्राथमिकतामा पर्छ नै।
जब जब उमेर बढ्दै जान्छ, आफ्नो जिम्मेवारी र कामको बोझले थिचिँदै र समय साँघुरिँदै गरेको महसुस जो कोहीले गरिरहेकै हुन्छन्। त्यसका बाबजुद पनि चाडपर्वमा समय छुट्याएर घुम्न जानु, आफन्त परिवार जम्मा भई रमाइलो गर्नु र परिवारका गन्यमान्य व्यक्तिबाट टीका दक्षिणा ग्रहण गरी आम रुपमा चाडबाडको बिदाइ गरिनु नियमित जस्तै हो।
यो त भयो आमरुपमा बा-आमा या अभिभावक साथ हुनेहरूको कुरा, अब आफ्नो अभिभावक वा बुवाआमा गुमाएका टुहुराहरूको मनोभावना बारे एकछिन सोचौँ त। के बित्छ होला तिनीहरूको जीवनमा चाडबाडका बेला? अनुमान गर्न सकिँदैन, मात्र भोगेकाहरूको मानसपटल बुझ्नु पर्ने हुन्छ र सुन्नु पर्ने हुन्छ। यस्ता प्रशस्त उदाहरण पनि हाम्रै गाउँ, टोल र छरछिमेकमा यत्रतत्र भेटिन्छन्। मात्र हाम्रो भित्री आँखाले देख्न सक्नुपर्छ।
म सानैमा पढाइको लागि दिदी भिनाजुसँग बस्न थालेँ। मेरो भिनाजु पेसाले शिक्षक हुनुहुन्छ। बुवा आमाले पनि आफ्नो छोराको भविष्य सोच्दै पढाइकै लागि भनेर मलाई घरबाट सानो उमेरमै पठाउनु भएको थियो। समय बित्दै गयो, मैले प्राथमिक कक्षा पूरा गरेर आफ्नै गाउँ फर्किएँ। बुवाआमासँग बसेर एसएलसी पास गरेपछि भिनाजुकै सल्लाह बमोजिम उच्च शिक्षाको लागि पहाडदेखि तराई सर्ने निर्णय गरियो।
अहिले पनि मेरो मानसपटलमा ताजा रुपमा छ, त्यस ताका चाडबाडहरूको महत्व र रौनक कतिको हुन्थ्यो भन्ने कुरा जुन यहाँ बयान गरेर साध्य पनि छैन।
घरपरिवारबाट टाढा हुँदा कहिलेकसो मन खिन्न हुन्थ्यो, बिरह र उराठ लाग्थ्यो तर बाध्यता थियो। समय बित्दै गयो, मेरा कैयौं चाडबाड नमनाएर पनि बिते भने हरेक वर्षको बडादसैं र तिहारमा घर जान्थे र परिवारका साथ रमाउँथें पनि।
जति उमेर थपिँदै गयो उति उति अध्यन र रोजगारीको बाध्यताले घरपरिवारबाट मेरो दूरी टाढिँदै गयो। प्रत्यक वर्षमा एकपटक भेट्ने कुरा भने मेरो नियमित प्रकृया नै भयो र चलिरह्यो।
उत्साहित भएर घर जान्थेँ, चाडबाडको समयभरि रमाउँथें र मन खल्लो हुने गरी छुट्टिएर आफ्नो कर्मभूमि फर्किन्थेँ। यो मेरो मात्र कथा नभई सम्पूर्ण कर्म गरिखाने मध्यम वर्गीय परिवारका हरेक सन्तानको कथा थियो।
कुरो २०७५ साल तिरको हो, म चौधरी ग्रुपमा कार्यरत हुँदा मेरो बुवा परमधाम हुनुभयो। जीवनमै नसोचेको बज्रपात मैले खेप्नु पर्यो। आफन्त, साथीभाइ र अग्रजको सान्त्वना, ढाडस र न्यानो अपनत्वले मैले पनि विस्तारै बुवाको बिछोडको पीडालाई प्रकृतिको नियम र संसारको रीत सम्झेर आफूलाई आफ्नो काममा समर्पित गर्नतिर लागेँ।
हिन्दु संस्कारअनुसार गरिने कर्म मैले पनि छोरो भएको नाताले गर्नुथियो र गरियो पनि। मभन्दा जेठो मेरो दाइ भएकोले मलाई अझ त्यति गर्नु परेन जति मैले गर्नु पर्थ्यो। यही सिलसिलामा म निकै कमजोर भएँ र नियमित काममा फर्किन मलाई निकै सकस भयो। मैलै आफ्नो काम छोड्नु पर्यो र पूर्ण बेरोजगारी जीवन व्यतित गरेँ।
सोही समयमा विश्वभरि भयानक महामारीका रुपमा कोरोनाको प्रवेश भयो। यो मेरो मात्र समस्या नभई आम मानिसहरू कष्टकर जीवन जिउन बाध्य भए। त्यो समय यस्तो लाग्थ्यो कि हामी सबै एक अपराधी हौँ जसको सजाय हामी एउटा कारागरमा बिताइरहेका छौँ र सजाय भोगिरहेका छौँ। हामीलाई बाहिरी संसारदेखि टाढा राखियको छ र कसैसँग बोल्न, भेट्न र गफिन शक्त मनाही छ। यदि हामीले यसो गरिहालेमा हामीलाई दण्डित गरिने छ।
समयले हरेक कुरालाई यसरी महत्वपूर्ण बनाइदिन्छ कि त्यो कुराको कसैले न त आकलन गर्न सक्छ न त अनुमान। मात्र भोगाइ नै एउटा सिकाइ हो र सत्य पनि हो।
कोरोना विस्तारै मत्थर हुँदै गयो र आम मानिसजस्तै मेरो पनि समय एउटै थियो। बस् मलाई बेरोजगारबाट रोजगारी तिर जोडिनु अति आवश्यक थियो। करिब दुई वर्षको घर बसाइ अर्थात् बेरोजगारी बसाइ मेरो लागि निकै पट्यार लाग्दो त थियो नै, आर्थिक रुपले पनि म रित्तिँदै गएको थिएँ। म मेरो घर टीकापुरदेखि कर्मको केन्द्रबिन्दु काठमाडौँ तिर लागेँ।
यसै सिलसिलामा म एउटा कम्पनीमा जोडिन पुगेँ। मेरो लामो कार्यअनुभवका कारण मलाई रोजगारीको लागि त्यति समस्या थिएन र विभिन्न कम्पनिबाट अफर पनि आइरहन्थ्यो।
जिन्दगी भनेको सुखदुःखको चक्र हो भन्ने कुरा धेरैबाट सुनेको थिएँ। फेरि मेरो जीवनमा अर्को अकल्पनीय घटना घट्यो। म घरबाट टाढा भए पनि प्रायःजसो फोनमा घरका सदस्य नियमितसँग कुरा गरिरहन्थेँ। सधैँ झैँ त्यो दिन पनि मैले बिहान अफिस जानुअघि कल गरेर आमासँग कुरा गरेको थिएँ र भेट्न म २/३ दिनपछि घर आउने कुरा भएको थियो। यो कुराले आमा खुसी हुनु भएको थियो।
हरेक समय सधैं कहाँ एकनास रहन्छ र? हरेक खबर शुभ हुँदैनन् भन्ने कुरा मेरो जीवनमा पनि एक्कासि परेको बज्रपातले मानसपटलमा कहिले नमेटिने गहिरो छाप छोडेर गयो।
बिहान आमाछोराको करिब १० मिनेटको वार्तालाप नै अन्तिम वार्तालाप हुनपुग्यो र मैले आमाको आवाज कहिले नसुन्ने गरी उहाँ सदाको लागि यो संसारबाट बिदा भएको खबरले मेरो आँखाअगाडि कालो पर्दा छायो। जे नहुनु थियो, त्यही भैदियो। मैले चाहेर पनि र जति पुकार गरे पनि मेरो आमा फर्किनु हुँदैन भन्ने कुरा मनन गर्दै मैले मेरो बाँकी काम सम्हालिएर रीतपूर्वक गर्नु थियो र गरियो पनि।
जति पीडा बुवाले छोडेर जाँदा पनि महसुस भएको थिएन, आमाको अभावमा जिन्दगी शून्य लाग्यो। आशाहरू सबै निराशामा परिणत भए। निन्द्रा, भोक, प्यास, तिर्खा सबै हरायो। मात्र उराठ, उदास र वितृष्णाले घेरिएको जीवन जस्तो महसुस हुन थाल्यो।
समय न हो, जो सर्वशक्तिमान छ, जो धेरै बलवान छ, कसैले चाहेर पनि रोक्न सक्दैन र न कुनै आज्ञा सुन्छ न कुनै बिन्ती। यो त नियमित धारा प्रवाह बेगमा चलिरहने प्रक्रिया हो।
आफूलाई निकै कठिन अवस्थामा महसिस गर्दै म पुनः आफ्नो कर्ममा फर्किने कोसिस त गरेँ तर यति गाह्रो भयो कि मैले कुनै शब्दमा व्यक्त गर्न सक्दिनँ। जिउनु थियो,कर्म गर्नु थियो र बाँकी जीवनको गोरेटो पहिल्याउनुबाहेक मेरो लागि अन्य कुनै विकल्प थिएन।
मैले मात्र आमाबुवा बिनाको जीवन मात्र भोगेको थिइनँ, यो पनि मजस्ता हजारौं लाखौं मध्यम परिवारका हरेक छोराछोरीहरूको कथा थियो।
मेरो वरिपरि अहिले बडा दसैंको रौनक छ, सुन्दर र उत्साहित माहोल छ। तर म भने एउटा घना जंगल बीचको पातहरू झरेर ठिङ्ग उभिएको उजाड रुखजस्तै छु। जसलाई देखेर जंगलका सारा हरिया रुखहरू पनि अशोभनीय महसुस गरिरहेका छन्।
यो बीचमा मलाई थुप्रै पार्टी, महोत्सवबाट निम्तो नआएको होइन तर म केवल त्यही कालो दिन सम्झिन्छु र रंगबिहीन इन्द्रेणीको कल्पना गर्छु। मलाई त्यस्तो माहोल बीचमा जान नपरोस् र कसैले निम्तो नगरिदेओस् लाग्छ।
यो बडा दसैं मात्र होइन, मेरा ४/५ दसैं यसरी नै बितेका कुराले पनि मलाई पिरोली रहन्छ र मेरो छेउछाउ यो दसैं पनि नपरोस् भन्ने लागिरहन्छ। यो चाडले मलाई जस्तै सम्पूर्ण टुहुराहरूलाई पनि यसरी पिरोली रहेको होला भन्ने मनमा खेलिरहन्छ।
खैर केही छैन, सबैको भाग्य एकनास हुँदैन। तपाईंहरू रमाउनुहोस्, समय फेरि आउँदैन आफ्नो र आफन्त बीचको जमघटलाई अविस्मरणीय बनाउनुहोस्। सुख्खा, धमिलो र अमिलो मनबाट यही शुभकामना।