उत्तरमा धौलाश्रीको मुस्कान। त्यसको आँगनमा रिमा गाउँ। पश्चिममा राखु, दक्षिणमा भनभटे र लोप्रे गाउँ। अनि पूर्वमा पुनहिल। बीचमा हाम्रो कालफडाँरा। सुन्दर अनि शान्त गाउँ।
पहिलापहिला हाम्रो गाउँमा काफलका रुख धेरै थिए ! काफल पनि थरीथरीका हुन्छन्। हाम्रोमा बियाँ नभएका काफल फल्थ्यो। करबाकेली थानदेखि महभिर क्षेत्रसम्म काफलै काफल हुन्थ्यो। त्यहि कारण पितापुर्खाले गाउँको नाउँ नै ‘काफलडाँरा’ राखेका। अपभ्रंस हुँदै जाँदा ‘काफलडाँडा’ भन्न थालियो।
पुन भाषाको ‘डाँरा’ शब्दको अर्थ ‘डाँडा’ हो। वास्तवमा आफ्नो चिज प्यारो हुन्छ। मिठो हुन्छ। मौलिक हुन्छ। त्यसैले हामीले आफ्नै नाउँ, आफ्नै भूमि र आफ्नै पनमा गौरव गर्नुपर्छ।
जति नै बञ्जर भए पनि मान्छेलाई जन्मथलो प्यारो लाग्छ। मेरो जन्मथलो काफडाँरा (२३०० मिटर) त प्रकृतिको सुन्दर उपहार नै हो। त्यसैले जीवनको पछिल्लो कालखण्डमा बेलायत बसाईं सरे पनि मन यतै अल्झेको छ।
अचेल वर्षका ५ महिना म नेपालमै बस्छु। जबजब गाउँमा हुन्छु तबतब बेग्लै ऊर्जा मिल्छ। गाउँलेहरूको निश्चल मुस्कान र आत्मीयतामा चुर्लुम्म डुब्छु।
प्रकृति र संस्कृतिको दोभान काफलडाँरा। हामी यसलाई नुमना पर्यटनग्राम बनाउँदैछौं।
हाम्रो गाउँ फेरिँदैछ। गाउँसम्मै सडक सञ्जाल जोडिएको छ। अचेल सदरमुकाम बेनीबजारबाट जीपमा गाउँ पुग्न सक्छौं। घरघरै खानेपानीका धारा छन्। बिजुली सुविधा छ। इन्टरनेट चल्छ। आधारभूत विद्यालय र हेल्थपोष्ट पनि छ।
म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ मा पर्दछ हाम्रो काफलडाँरा। घरहरू छरिएका छन्। ढुङ्गा र माटोबाट बनेका घरहरू। गाउँमा पुन समुदायको बाहुल्य छ। दलितका केही घर पनि छन्।
आँखामा बाल्यकालका तस्विरहरू झलझली आइरहन्छन्। हामी सानो छँदा तत्कालीन राम्चे गाविसको वडा नं ८, काफलडाँरामा ४० कुरिया घर थिए। आजका दिनमा सय घर जति छन्। तल महभिरमा मात्र ४० घरमा बसोबास छ।
हाम्रो गाउँमा बाहुनका केही घर पनि थिए। मैले जान्दासम्म पनि ५ घर थिए, मरना भन्ने ठाउँमा। उनीहरू त्यहाँबाट अन्यत्रै सरिसके।
कुरा काफलडाँराको मात्र होइन, सिंगो देशकै हो कि सुविधाको खोजिमा बसाइँसराइँ हुने क्रम पनि तिव्र छ। हाम्रो भेकका गाउँलेहरू बेनीबजार, पोखरा, काठमाडौं, चितवन, नवलपुर, बेलायतलगायत धेरैतिर बसाईं सरिसके।
पहिला गाउँमा बाटो थिएन। बिजुली, धारा, हेल्थपोष्ट केही थिएन। खोलामा पुगेर पानी ल्याउनु पथ्र्यो। बर्खामा नजिकै पानीको मुल फुट्थ्यो। हिउँदमा त कसैकसैलाई एक ग्रागी पानी ल्याउन दुई–तीन घण्टा समय लाग्थ्यो। निकै टाढा धाउनु पथ्र्यो।
गाउँमा सुविधा पुग्दैछ तर गाउँ रित्तो हुँदैछ। खेतबारी बाँझा बन्दैछन्। मलाई यसैमा दुःख लाग्छ। अब हामीले गाउँघरमै सम्भावनाको खोजि गर्नु पर्छ। कृषि, पर्यटन, जडीबुटी र फलफुल खेतीमा जोड दिनु पर्छ।
हिजो खेतीपाती, पशुपालन र भर्तिको आम्दानीले गाउँ धानिएको थियो। खेतीपाती त आज पनि हुन्छ तर थोरै। वैदेशिक रोजगारी जिविकाको प्रमुख माध्यम बनेको छ।
हाम्रो गाउँमा गाई, भैंसी, बाख्रा, भेडा र कुखुरा पालन गरिन्छ। लेकमा मकै, कोदो जौ, आलु फलाइन्छ भने तलतल कोदो, मकै, जुनेलो र तरकारी। एउटा राम्रो कुरा पहिला भन्दा अलिकति आधुनिक तरिकाले भनौं कि फरक तरिकाले खेतीपाती गर्ने चलन छ।
तिनताका बर्खामा माथि बस्ने र हिउँदमा गोठ झार्ने चलन थियो। हामी काफलडाँराका बासिन्दा कोहि झुम्रेखर्क, कोहि महभिर त कोहि मरनामा झथ्र्यों। मंसिर, पुस र माघमा गाईडिँगासहित गोठ सारिन्थ्यो।
बर्खामा तलतल गएर बाली लगाइन्थ्यो। महभिरमा धान खेती पनि हुन्थ्यो। हेर्दाहेर्दै झुमे्रेखर्कमा मान्छे बस्न छाडे। त्यहाँको जमिन जंगल बनेको छ। झुम्रेखर्क नजिकै स्कुल थिएन, त्यसैले त्यहाँ मान्छे बसेनन्। महभिरमा भने विद्यालय छ। त्यहाँ स्थायी रुपमै बसोबास गरिन्छ।
काफलडाँराबाट झुम्रेखर्क झर्न गाउँलेलाई १ घण्टा र भारीसहित उकालो चढ्न २ घण्टा लाग्थ्यो। महभिर चाहिँ अझै नजिक पर्छ।
त्यहीँ झुम्रेखर्कमा वि.सं. २०१२ मंसिर ६ गतेका दिन म जन्मिएँ। नेपाली नागरिकताको प्रमाणपत्रमा चाहिँ मेरो जन्म मिति मंसिर १४ गते लेखिएको छ। दुई दाइहरू तिजबहादुर र दिलबहादुर मुन्तिर म जन्मिएको। म भन्दा मुनि एक भाइ र दुई बहिनीहरू नरमाया र बिममाया जन्मे। मेरो भाइ सानैमा वित्यो तैपनि गाउँलेहरू मलाई कान्छो’ नभनेर ‘साहिँलो’ नै भन्छन्।
हिउँदमा माथि जाडो हुन्थ्यो र नजिकै घाँस पनि पाइन्नथ्यो। त्यसैले परिवारसहित तल झर्ने थिति चलेको थियो। बर्खामा चाहिँ खेतीपाती गर्ने समय मात्र त्यहाँ बसिन्थ्यो। तलतल जग्गा नहुनेहरू पनि कोही महभिरमा जान्थे त कोही झुम्रे खर्कमा आउँथे।
धेरै ठूलो सपना थिएन हामीसँग। गाईभैंसी र बाख्राको संख्या धेरै होस्। अन्न राम्रो फलोस्। र, उमेर पुगेका छोराछोरीहरू मिलेसम्म बेलायती सेनामा नत्र भारतीय सेनामा भर्ति हुन पाउन् भन्ने हुन्थ्यो।
खासमा हामी रिमा गाउँबाट ६ पुस्ता अघि काफलडाँरामा आएका रहेछौं। बराजुहरू आएका रे। मेरो बुबाकोे अंश करबाकेली क्षेत्रमा परेछ। पछि उहाँले धारापानीमा जग्गा किन्नु भयो। त्यहिँ घर पनि बनाउनु भयो।
भारतीय सेनाबाट पेन्सनमा आए पछि बुबा गाउँमै बस्नु भयो। सामाजिक काम र खेतीकिसानीमा रम्नु भयो। त्यो समय लाहुरेहरू गाउँमै बस्थे। सहर झर्दैनथे। पोखरा झर्ने चलन पनि सुरु भैसकेको थिएन। औलमा औंलो लाग्थ्यो। त्यसैले तराई पनि झर्दैनथे।
जब राजा महेन्द्रले वि.सं. २०१८ मा चितवनमा सेनाका भुपुहरूलाई बसाए तब बल्ल मान्छेहरू तराई झर्न थाले। लाहुरको कमाई घरजग्गामा लगानी हुन थाल्यो।
साथीहरू शंका गर्छन्, ‘के बसाइँ सरेका गाउँलेहरू अब जन्मथलोमा फर्केलान् र ?’
‘पक्कै फर्कन्छन्’, मैले भन्ने गरेको छु, ‘अब सहरमा जग्गा किनेर घर बनाउन सकिँदैन। फेरी गाउँमा आधारभूत विकास भैसक्यो। केही समयपछि फर्कनेक्रम सुरु हुनेछ।’
हाम्रो गाउँमा दुइटा कुराको कमी छ–राम्रो स्कुल र अस्पतालको। अस्पताल त सदरमुकाम बेनीबजारमा पनि गतिलो छैन, ठुलै समस्या आइपरेमा पोखरा धाउनु पर्ने बाध्यता छ। अर्को कुरा, हाम्रो गाउँको आधारभूत विद्यालयमा कक्षा ८ सम्म पढाई हुन्छ। पर्तिर नांगी गाउँमा भने कक्षा १२ सम्म पढ्ने सुविधा छ।
गाउँमा विकासका पूर्वाधार पु¥याउने जिम्मा सरकारको हो। त्यसका लागि झक्झक्याउने दायित्व हाम्रो। हामीले निरन्तर हातेमालो गरिरहनु पर्छ। मलाई लाग्छ, हामीले काफलडाँरामा सुन फलाउन सक्छौं। त्यसैले संस्कृति संरक्षणसँगै पर्यटन विकास गर्न हामीले कुलदेवता करबाकेलीको थान, संग्रहालय र ईको ट्रेक बनाएका छौं।
त्यसै बनेको होइन, संस्कृत भाषाको यो श्लोक ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’। मेरो काफलडाँरा, मेरो स्वर्ग ! धौलाश्रीको मुस्कान, शितल हावा र आँगनमै नाच्ने चराचर !
अतुलनीय छ काफलडाँरा!
(समाजसेवी चामबहादुर पुनको प्रकाशोन्मुख पुस्तक ‘करबाकेलीका सेवक’को एक अंश।)