दसैं आउँदा छुट्टै उमंग हुन्छ। मनमा अनेकन रमाइला छटाहरू फुट्छन्। गाउँघर यतिकै पनि सजिएका हुन्छन्। बारीमा लहलह धान झुलिसकेको छ। मकै पाकिसकेको छ। मखमली फुल्दै छ। सयपत्रीले मलाई अनि भाइटीकालाई कुरिरहेको छ।
किसानलाई खेती भित्र्याउन चटारो छ। हामीलाई यता घर जान हतारो छ। मनमा हजारौं खुसी बोकी परदेशमा गएका नेपाली पनि भित्रँदै छन्।
आमाको सपना, परिवारको सपना र देशको सपनालाई साकार पार्न कैयौं नेपाली दाजुभाइ दिदी-बहिनी दसैंमा पनि घर आउन नपाइ दु:खी होलान् …भन्दै होलान् केही वर्ष पर्ख खुसी लिएर आउनेछु।
हाम्रो महान पर्व दसैंलाई हर्ष उल्लासका साथ मनाइन्छ। पारिवारिक जमघट हुने, दु:ख सुखका कुरा गर्ने, तास खेल्ने, सेलरोटी पकाउने, मीठो-मीठो परिकार पकाउने र खाने गरिन्छ।
नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक देश हो यहाँ जाती अनुसार फरक-फरक धर्म र आ-आफ्नै संस्कृति छ। पारिवारिकस्तर अनुसार आ-आफ्नै तौरतरिकाले दसैं मनाउने गर्दछन्। तर दसैंको खुसी र रमाइलो आ-आफ्नै हुन्छ, तुलना गर्न मिल्दैन। अलिक धनी मानिनेहरूको भने आफ्नै पारा देखिन्छ। टक्क गाडी लिएर आउँछन्। कुरा छाँट्छन्। सबैले अनोठौ मानी सुन्छन्।
अर्का हुन्छन् राजनीतिक गफ छाट्नबाहेक अरू केही नआउने चाहे सानो बच्चा साथमा किन नहोस् कुरा गर्न थालिहाल्छन्। हामीलाई काठमाडौंबाट आएको भन्नै हुँदैन। आफू नै मन्त्री भएको झैं कुरा गर्छन्। जुनसुकै राजनीतिक पार्टीले के के नै साधेकोजस्तो!
बरू नजिकको सरकार स्थानीय सरकारसँग पहुँच बढाउन, सरकारलाई खबरदारी गरून् जसले गर्दा उत्तरदायी र जनमैत्री सरकार बन्न मद्दत पुग्नेछ। आफ्नो विचार र मन मिल्ने पार्टी सरकारमा नभए सहयोग नगर्ने खेदोमात्र खन्ने प्रवृत्तिले नै हामी आफैं हर कुरामा पछाडि परेका छौं।
मेरो दसैं
दसैंको लागि नयाँ-नयाँ कपडा सपिङ गर्ने काम सुरू भइसकेको छ। सानो छँदा दसैंमा नयाँ कपडा लाउन पाउँदा छुट्टै खुसी हुन्थ्यो मन। कपडा लाएर गाउँघर हिँडिन्थ्यो, यसले नयाँ कपडा लाएछ। कसले किनिदियो? भनेर सबैले सोध्ने गर्थे। साथीहरूसँग त झन् सानै फरक हुन्थ्यो। फूर्तिका साथ हिँडिन्थ्यो। तेरोभन्दा त मेरो कति राम्रो तैंले यो लगाको छैनस् मैले लगाएको छु। यस्तै यस्तै……..
किनमेल गर्न टाढाको बाटो हिँडेर बजार गइन्थ्यो। त्यहाँ प्राय: सबै पसलेहरूले चिन्थे दुई चार वटा पसल न हुन्थे। काठमाडौंबाट घर जान अग्रिम टिकट काटिन्थ्यो। मनमा अनेक खुसी लिएर घरमा गइन्थ्यो। भर्खर काठमाडौंबाट गएको केटो सामान किनेर भारी बोकेर लिन लाजै लाउथ्यो। त्यसैले रात पारिन्थ्यो अनि सामान बोकेर हिँडिन्थ्यो। उकालो बाटो जेनतेन घरमा पुगिन्थ्यो।
दसैं आएको एक प्रकारको खुसी भए पनि दसैंको अरू दिन खासै रमाइलो हुँदैन्थ्यो। नजिकैको बजारमा अलिक चहलपहल हुन्थ्यो त्यही गएर दिन बिताइन्थ्यो। नाचगान हुन्थ्यो, यो समूहको नाच, यो क्लबको नाच,मयुर नाच देख्न पाइन्थ्यो।
दसैंको दुई हप्तादेखि विभिन्न कार्यक्रमहरूको त लहरै चल्थ्यो। कहाँ कहाँ भाग लिनु मुस्किलै पर्थ्यो भाग लिएसी स्थान आइहाल्थ्यो। प्राय: हाजिरी जवाफमा भने छुट्याइँदैनथ्यो किनकी यो सोखको विषय थियो।
रामनवमीका दिन बोका काट्थे। मासु मजैले खाइन्थ्यो। विजयादशमीका दिन टीका लाइन्थ्यो। सबैले थोरै थोरै दक्षिणा दिन्थे जम्मा गरेर राखिन्थ्यो। त्यही दिन नाचगान हुन्थ्यो। महिनौंसम्म खानेकुरा सकिँदैनथ्यो। लेकतिर लिएर रमाउँदै खाइन्थ्यो।
तर अहिले
दसैं नजिकै आउन थालिसक्यो तर पनि मलाई गाउँघर जान त्यति धेरै मन छैन। बालापनको झैं रमाइलो छैन।
उहिले सँगै नाच्ने, पिङ खेल्ने साथी कहाँ छ कहाँ? यही चाडवाडमा जमघट हुने हामीहरू त्यही नि भेट हुन सक्दैनौं। सधैं दसैंमा रमाउने बजार न त अहिले म चिन्छु, न त मलाई उसले नै चिन्छ। ठूलाठूला घर भिरमा ठडिएका छन्। गम्म बस्ती छ।
मैले सधैं किनमेल गर्ने पसल सम्झनामा मात्र छ। महंगीले आकाश छोएको छ। तर पनि लाग्छ गरिब कोही छैन। उहीले बजार जाँदा मसँग चप्पल माग्ने साथी अहिले गाडी लिएर जान्छ। गाउँतिर निस्केसी भन्नै एउटै प्रश्नहरू-
‘बिहे कहिले गर्छस् ?, जग्गा कहाँ किनिस् ?, पल्लो घरको शेरेले अमेरिकाबाट यति पठाइसक्यो। रामे जापान गइसक्यो।’
न कि उहाँहरूलाई के थाहा यहाँ दैनिक अमेरिका र जापान जानेको मलाई लाइक र कमेन्टमा बधाई हान्दै ठिक्क छ भन्नी।
अन्तमा
झाराजस्तै भयो दसैं मुस्किलले टीकाको दिन पुग्यो। हतार हतार टिका लायो। सहर फर्क्यो। आफ्नो काममा फर्क्यो, दिनचर्यामा फर्क्यो। तर पनि दसैंको टीकाले मलाई मेरो घरसँग जोड्छ। मेरो आत्मीयता जन्मभूमिसँग जोड्छ।
त्यसैले मेरो लागि दसैं पर्व मात्र होइन प्रत्येक वर्षमा आउने मेरो मातृभूमि सँगको साइनो हो र त मलाई सधैं दसैंमा बोलाइराख्छ।
सबै सबैमा दसैंको शुभकामना।