कन्सल्टेन्सी अगाडि एउटा भीड छ। अमेरिका, युरोप, अस्ट्रेलियाबारे बुझ्नेको भीड।
आइइएलटिएस, जिआरई, पिटिई गर्नेको भीड। सौख, रहर अझ यो सामाजिक बन्धनबाट भाग्नेको भीड।
क्षणिक सोचेर मग्न छन् बा आमाहरू छोरा विदेशिएकोमा ऋण काड्न पनि हाँसी- हाँसी धाउँदैछन्। मनमा चल्दो हो छुट्टै सपना, त्यो सुन पार्ने कुखुराको कथाजस्तै।
घण्टा घण्टाको मोल भएको देशले बिर्साउँदो हो बाले घण्टौं मेहनत गर्ने खेत बन्धकी राखेको, छोराको सपना पूरा गर्न पेट बन्धकी राखेको, र त अहिले यहाँ यति बज्यो उता यति बज्यो भन्ने ठूलीआमाको फोनमा, ३ दिनमा एक पटक बज्छ दाजुको फोन।
‘छोरा काम धेरै गर्छ आजकल समय नै हुन्न’ भन्दै गर्दा न्यास्रोमा मलिन बन्छन् ठूलाबाको अनुहार।
प्लस टुका साथी विदेशिए, अंकलको छोरालाई भिसा लागेछ, मामाको छोरी पनि उडिन् अमेरिका, बालाई लाग्दो हो छोरोमात्रै रहने भो, अझै थन्किने भयो कतै गाउँमा।
लाग्दो हो जाओस् विदेश अरूजस्तै। विदेशिएपछि पक्कै केही हुन्छ।
बाका करले म सोच्नमग्न हुन्छु, तर मन मान्दैन विदेशिन। केही गर्छु यही भन्छ, खुसी खोज्छु यही भन्छ।
विदेश भासिएर आफ्नै ठाउँमा विरानो बनेर २–३ वर्षमा पाहुना बनेर त कसरी आउनु भन्छ।
आमाको हातको खाना २–३ वर्ष नखाई त कसरी बस्नु भन्छ।
बाको सँगै भएर आफूले गरेको काम नसुनाई त कसरी काट्नु भन्छ।
बा-आमा बिरामी भएको खबर सुनेरमात्रै त कसरी हेरूँ? भन्छ।
चाडपर्वमा सबै जम्मा हुँदा म एक्लै कसरी बसूँ भन्छ।
१ महिना घर नआउँदा के नपुगे के नभए हुने म। २–३ वर्ष घरको आँगन नटेकी त कसरी बसूँ भन्छ।
आँसु आउँछ सम्झेर, अनि लामो सास फेरेर भन्छु-
‘अहँ विदेश त जाँदै जादिनँ।’
अरू देखेर विदेश जा नभन्नुस् बाबा, महिना महिनामा घर आएर घर उज्यालो बनाउने म वर्षौंभरी घर अँध्यारो पार्न सक्छु, गाउँघर, परिवार, आफन्त सबैको माझ प्रिय तपाईंको छोरा सामाजिकपना बिर्सन सक्छु, आफ्ना आफन्त भनेर मरिहत्ते गर्ने छोरा आफ्ना र आफन्तमै अन्जान बन्न सक्छु।
खसीको मासु घरमा पाक्दा यादमा मात्र आउने बन्न सक्छु, ठूला आवाजमा बोलेर दिक्क पार्ने म घर च्याउँतो बनाउँदै उतै भासिन सक्छु।
पैसाको दौडमा आफ्ना र आफन्त भुल्दै छन् मान्छे।
अस्ट्रेलिया गएको साथीको घर देखेर त लाग्दो हो, छ केही विदेशमा।
त्यही आशमा, घरपरिवारकै ढाडसमा ११ पढ्दैदेखि १ खुट्टा उचालेर बसेका छन् आजकलका केटाकेटी विदेशमा होमिन।
नरेको दिदीको कभर फोटो देखेर, अन्जानको प्रोफाइल पिक्चर देखेर, विदेशिएको डेढ वर्षको पहिलो विकेन्ड टुर देखेर, सँगसँगै देखेर उसका हातका आइफोन १३ र आइफोन घडी, १२ परीक्षा दिँदै गरेको केटो सोच्छ- म त अस्ट्रेलिया।
१४ घण्टा काम गर्छु, घण्टाको २४ डलर, ओटी गर्छु कमाउँछु। डलरलाई नेपालीमा कन्भर्ट गर्छ र भन्छ म त अस्ट्रेलिया!
आमालाई १०२ डिग्री ज्वरो आउँदा, खाना पकाएर दिएको भए, तपाईं सत्नुस् म भाडा धुन्छु भनेको भए सायद त्यो बेलाको आमाको खुसी करोडौं डलर हुन्थे होला।
हामीले पैसाको अंकमा खुसी चिनायौं आफ्ना पुस्तालाई। उनीहरूले खुसीहरू चिन्न अनि बुझ्नै बिर्सिए।
विदेश नजान खोज्ने पनि छन्, यो होडमा नलाग्ने नि छन्, तर समाजको प्रश्न, ‘विदेश नगएको?’
लाग्छ म असक्षम भएर जान सकिनँ। समाजको प्राथमिकता हो र? रोजाइ हो विदेश। समाजले जबसम्म महत्व फरक दिन्छ तबसम्म यो होड रहिरहन्छ।
अतः यो विदेशिने होडमा जोड दिँदादिँदै हामी यस्तो मोडमा पुग्छौं जहाँ सम्पत्तिसँग सफलता जोडिन्छ।
छोराको कर्तव्य महिनाको २० हजार हुन्छ, छोरीको दायित्व १ थान आइफोन हुन्छ, नाति-नातिना खेलाउने बुढ्यौली हातले युट्युब खेलाउन बाध्य हुन्छन्।
समाजमा घुलेर यताउता डुलेर बनाइने बालापन कोठाभित्र बसेर सोसल मिडियामा बनाइन्छ।
पारिवारिक भेटघाट ग्रुपले गर्छ।
नाति काखी च्याप्ने आमाको हातले भिडिओ कलमा हरियो बटनमा चित्त बुझाउँछ।
ताते ताते गराउने बाका औंला, नाति बोक्ने बाका काँध, सम्झनामा बाँधेर आँसुका बाँध, फिस्स मुस्कुराउँछ।
माया, स्नेह सम्झना सब पैसा बन्छ, घर महल बन्छ तर घर घर कहिल्यै बन्दैन लाग्छ आफ्नै घरमा एक्लो पर्छन् बाआमा। छोरा, बुहारी, ज्वाइँ छोरीको नेपाल टुर पर्खेर।
बार्दलीमा बसेर आँखा गेटमा हुन्छ, उमेर ढल्छ दिन दिन, आँखा गेटसम्म ठम्याउन सक्दैन, तर गेटसम्म देख्ने बाका नजर हुँदासम्म आउँदैन छोरो र भन्छ- म सफल छु किनभने म अस्ट्रेलियामा बस्छु!