दसैंमा अब त खासै हर्सोल्लास लाग्दैन जुन पहिले लाग्ने गर्थ्यो। बालापनमा पो आउँदो रहेछ दसैं। अब त वर्षैपिच्छे आफ्ना परिबन्द श्रृंखलाहरूको पहाड बन्दै गइरहेको छ।
दसैंको त्यो उमंग, त्यो खुसी अब कहाँ छ, जहाँ वर्षमा एकपटक किनिदिनुभएको लुगाले ल्याउन सक्थ्यो।
कृषि प्रधान देश, उस्तै ठाउँ र परिवेश थियो। अहिले जस्तो कहाँ थियो, सानो बजार, सानै आम्दानीका स्रोतहरू तर पनि दसैं तिहारको त्यो खुसीहरू जति ठूलो केही रहेनछ।
बालापनका दिन, दसैं आयो, हजुरबुवाले घटस्थापनाको दिन मलाई बेलडाँडाबाट बेलपाती टिप्न पठाउनु हुन्थ्यो।
हामी मरुवाखोलाका बालुवा पनि लिएर घर लिएर जान्थ्यौं, अनि हजुरबुवाले जमरा राख्नु हुन्थ्यो।
जमरा राखेको ठाउँमा छोरी मान्छेले हेर्न हुँदैन भन्नुहुन्थ्यो र जमरा राखेको ठाउँमा हामी जाँदैन थियौं। आजसम्म नि बुझेको छैन खासमा किन त्यसो भन्नुहुन्थ्यो हजुरबुबा त्यो बेला किनकि ती नवरात्रीभरि पुजिने पनि काली भगवती दुर्गा सबै नारी नै थिइन्। अहिले जस्तो प्रश्न गर्न कहाँ सक्ने थियौं तर उत्सुकता त सानैबाटै जन्मिँदो रहेछ।
घटस्थापनापछि गाउँमा धेरै मानिसहरूको चहलपहल बढेको अनुभूति हुन्थ्यो। बाटोकै घर भएर होला मानिसहरू पैदल हिँडेर यात्रादेखि सवारी साधन चलिसकेपछिको फरक अलिक थियो तर पनि दसैं कति हाँसेर आउँथ्यो।
लुगा किन्न ड्याडीले कटारी बजार हामीलाई लगेर एउटा पसलमा छोडिदिए ‘ल के रोज्छौ एक एक जोर रोज्नुु’ भन्दा त्यो भन्दा ठूलो खुसी सहितको संकट केही होइन जस्तो लाग्थ्यो।
अहिले सम्झिँदा बडो अचम्म लाग्छ आखिर विद्यार्थी जीवनको उमेर अनि कति रहरहरू एउटा दसैंको राम्रो लुगामा अट्थे तर त्यही दिनहरूको जस्तो खुसी अहिले कहाँ किन्न सकिँदो रहेछ। घरभरि हामी दिदी, भाइ, बहिनी, हजुरबुवा, हजुरआमा, ड्याडी, ममी, मूल घर, बुढो घर साँच्चै दसैंको साँचो अर्थ त्यो बेला आउँदो रहेछ जब घरभरि मान्छे थिए।
ममीहरूको लुगा धुने, सुकाउने, धान सुकाउने, कुटाउने, मर मसला तयार गर्ने टोली छुट्टै, हजुरबुवा ड्याडीहरूको कामहरू सबै विभाजित थिए तर मन एउटै थियो।
मलाई अहिले पनि याद आउँछ हामी रातो माटो लिन जान्थ्यौं, घरमा लिप्थ्यौं, साना साना हातहरू थिए तर साह्रै दसैंको रौनक आउँथ्यो। तर ममीहरूलाई भ्याइनभ्याई हैरान। अष्टमीको राति हाम्रो घरको कालरात्रीको जाग्राम राख्ने गरिन्थ्यो, जहाँ कालो बोका काटेर गाउँभरिका सबैलाई बोलाएर प्रसादको रूपमा राती नै खुवाउने गरिन्थ्यो।
हामी केटाकेटीहरू यो देखेर कति खुसी हुन्थ्यौं।
भोलिपल्ट दुर्गाको पूजा गर्न सेतो बोका ठिक्क पार्दा म मनमनै रोएको हुन्थें, विचारा ती सानैमा काटिए भनेर!
घरको खसी प्राय: चिनिँदो रहेछ। साह्रै माया लाग्थ्यो र मैले अझैसम्म बोकाको मासु प्रसाद भएन नि कहिल्यै खाइनँ तर सँगसँगै यस्तो बानी बसेछ खसी नकाटी दसैं हुन्न होलाझैं लाग्थ्यो।
खुकुरीहरू र अन्य हतियार जति औजार लाउन लाग्थ्यौं। मानिसलाई हरेक कुराको खुल्दुली जाग्ने स्वाभाविक नै होला। खसी काट्दा घिरौला र कुभिण्डोको किन खुट्टा बनाएर खसी बोका काट्नुभन्दा अगाडि काटेको होला भनेर साह्रै उत्सुकता जाग्थ्यो।
पाहुनापातको लर्को, मासुका अनेक पकवान अनि घर पूरै मासु नै गनाएको झैं हुन्थ्यो। माटोको ती घरमा दसैं कति राताम्य, कति रोमान्चक भएर आउँथे।
हजुरबुवा, ड्याडीहरूको, ममीहरूको त्यो सृष्टि साँच्चै रहरलाग्दा थिए,चाखलाग्दा थिए कति सुनौला दिनहरू जब हामी सँगै थियौं किनकि हरेक कुराहरूमा उत्सुकता लुकेको त्यो बालापन कति पवित्र, कति निश्चल, कति सुमधुर रहेछन्।
अब त दसैं आउनु पूर्वको सोह्र श्राद्ध अनि गुमाएका व्यक्तिहरूको सम्झनाले मनै रूवाउँछ। संसार चलिरहने नै रहेछ यसमा स्वीकार्नबाहेक केही रहेनछ भनेर मन बुझाउँछु।
साँच्चै हजुरबुवा, हजुरआमा बिते सँगै कम हुँदै गएको दसैं हरेक साल आउन त आउँछ तर कस्तो कस्तो नरमाइलो छाउँछ। भिनाजुको त्यो प्रस्थानले त मेरो घरमा कहालीलाग्दो सन्नाटा छाउँछ ,जब दसैं आउँछ ती हरेक सम्झनाले मन रूवाउँछ।
अब त माइती घरमा पीरका पहाडहरू देख्छु, ड्याडी, ममी, दिदीमा चाडपर्वमा भएको केही न केही कमीले यस्तो लाग्छ साँच्चै यो चाडवाड किन आउँछ तर म सोच्छु मलाई सानोमा त्यति खुसी हुन दिने ड्याडीको त्यो कर्तव्यबोध कति महान रहेछ, जुन मैले कुनै दिन ती खुसीका मोल तिर्न सक्दिनँ होला तर अर्को पुस्तामा मेरो यो निरासाको असर पर्न दिनु पनि त छैन। सबथोक भुलेर बाँच्न सिक्नु नै जीवन हो कि सायद,आखिर दोष समयलाई दिऊँ कि यी प्रविधिहरूलाई, संसार एउटा गाउँ भनिन्छ तर यहाँ कति हारालुछ, कति प्रतिशोध, कति प्रतिस्पर्धा, कति भागदौड, जीवन तुफान आँधीजस्तै भएछ। मानिसहरूमा मानवता र सामाजिक चिन्ता मात्र देखाउने आडम्बर झैं हुँदै गइरहेको छ।
सत्यको जीतलाई मनाइने हाम्रो दसैं तिहार एकातिर अर्कोतिर कलियुगको जन्म भइरहेछ, असत्यको जीत भइरहेको छ, झूटको जीत भएको छ, स्वार्थ र सत्ताको तँछाडमछाड मबाट हामी हुँदै सिंगो देश संसार नै लोभ, मोह र स्वार्थमा डुबेको छ। कसैले अरूको लागि सोचेको देखिँदैन, भाइचारा त शब्दहरूमा सीमित छन् ।
दसैंको मुखमा विदेशिएका ती नेपाली दाजुभाइ, दिदीबहिनीहरूका खाडी मुलुक जाने ताँती देख्छु, हामी खुसी छौं, विदेशका मोबाइल आउँछ, विदेशी पैसा आउँछ, तर छातीमा हात राखेर भन्नु अब कहाँ त्यो खुसीयाली दसैं आउँछ?
अब त मेरो छोरा अमेरिका, छोरी अष्ट्रेलिया, भदा जापान, सालो कोरिया बढो फूर्ति, बढो आडम्बर सान छाउँछ तर चाडपर्वको मुखमा प्राय: हरेक नेपालीको मुहारमा उदासिनता छाउँछ। त्यसैले भन्नु अब न मलाई न तपाईंलाई न अरू नेपाली कसैलाई पनि हिजोको त्यो दसैं अब कहाँ आउँछ?
सामाजिक सन्जालका भित्ताहरूमा रंगिएका ती तस्वीर सार्वजनिक भएका ती खुसीहरू खोक्रो सावित हुन्छ।
परदेशीका ती रहरलाई, परदेशी ती जनशक्तिहरूका आफ्नै बाध्यता होलान् नै, घरभन्दा कोसौं टाढा कहाँ सधैं मन रमाउँछ होला र!
देशमा असल नेतृत्व, देशमा सुशासन, विकास र पैरवी गर्ने असल पहरेदार बालेन र हर्कहरूले फेरिन्छ कि तर यथावस्थामै यही राजनीतिक जात्रा र चाकडी चाप्लुसीको मेरो देश समृद्ध मुलुकले झैं शिक्षा, रोजगार दिन सके साँच्चै अनि मात्र दसैं आउँछ, म्यासेजरमा टीका टाँसेर भरिएका आँखालाई सोध्नुस् घर लौरी एक उदासिनता छाउँछ जब दसैं आउँछ।
रेमिट्यान्सले धानिएको मेरो देशमा यसरी नै विदेशिनेको लर्को लाग्ने हो भने न अब त्यो दसैं तिहार आउँछ तर धमिलो मन रसिलो आँखा बनाउँछ।
विदेशीलाई कुरेर बसेका ती श्रीमतीहरूको जवानी फर्केर आउँछ, न हामी आएको त्यो दसैंको बास्ना न अर्को पुस्तालाई आउँछ। आजकाल साह्रै नरमाइलो दसैँ आउँछ, सात समुन्द्र पारिका सबैको याद र मायाले झन् झन् सताउँछ,जब जब दसैं आउँछ।