मुगु-सुर्खेत र नेपालगन्ज ओहोरदोहोर दर्जनौं पटक गरियो। तीमध्ये अधिकांश यात्रा हवाईजहाजबाट भए।
हवाईजहाजमा यात्रा गर्नु रहर र विलासिता नभई बाध्यता हो।
२०६५ सालको सुरूतिर म पहिलो पटक काठमाडौं जाँदा ४ दिन हिँडेर मुगुबाट बाजुरा हुँदै अछाम पुगेर साँफेबगरबाट बस चढेर कैलाली, बाँके हुँदै काठमाडौं पुगेको थिएँ। त्यसपछि घर आउँदा-जाँदा बाजुराको काेल्टी विमानस्थल र मुगुको ताल्चा विमानस्थल भएर धेरैजसो हवाईजहाजबाटै यात्रा गरियो।
सडक बाटाेकाे असुविधाका कारण मुगुका जनताले जहाज चढ्नु र आवश्यक सामग्री जहाजबाटै ढुवानी गर्नुपर्थ्याे।
ऊ बेला मुगुमा जहाज र हेलिकप्टरकाे टिकट र ढुवानी हुने नुन र चामलको राजनीति हुन्थ्यो।
अहिले सडक बाटाे पुगेको छ तर जीवनको बाजी थापेर बसमा यात्रा गर्नुपर्ने अवस्था छ।
मुगुका जनताले वर्षौंदेखि भोग्दै आएको यातायातको समस्या अहिले पनि भोगिरहनु परेको छ।
गत भदौको अन्तिम हप्ता म नेपालगन्जबाट मुगु पुग्नु थियो।
नेपालगन्ज एयरपोर्टमा एउटा निजी एयरलाइन्सको स्थानीय एजेन्ट ट्राभल्सका कर्मचारीलाई भाडा थमाएको पाँच दिन बितिसक्दा पनि जहाज आज उड्छ भोलि उड्छ भन्दै उडान हुन सकेन।
यो पालि मौसम प्रतिकूल नै थियो। तर योभन्दा पहिले टिकटको जिम्मा लगेका ट्राभल्सका कर्मचारीले मलाई धेरै पटक जानी जानी दु:ख दिएका थिए।
यात्रुको चाप भएको बेला भाडाभन्दा बढी पैसा दिनेलाई अगाडि उडाउने र यात्रु कम भएको बेला उडान रद्द गरेर यात्रुलाई दु:ख दिने एयरलाइन्स र एजेन्टकाे ठग्ने र दु:ख दिने पुरानै तरिका हो।
नेपालगन्जबाट कर्णालीका हिमाली जिल्लामा उडान गर्ने निजी एयरलाइन्सहरूको उडान गर्ने निश्चित तालिका नै हुँदैन। जता बढी फाइदा हुन्छ त्यतै चार्टर फ्लाइट गर्छन्। जसले गर्दा यात्रुको यात्रा नै अनिश्चित हुन्छ।
पाँच दिन कुर्दा पनि फ्लाइट हुन नसकेपछि मैले गाडीमा जाने निर्णय गरें।
मुगु छिटो पुग्नुपर्ने थियो। ठूलो बसमा भन्दा जीपमा छिटो र सुरक्षित हुने ठानेँ। नेपालगन्जबाट जीप नभेटेपछि सुर्खेत गएँ।
सुर्खेतमा मुगु जाने केही साथीहरू मिलेर जीप रिजर्भ गर्यौं।
सोही दिन बेलुका पाँच बजे मुगुतिरकाे यात्रा सुरू गर्यौं।
कर्णाली राजमार्गको बारेमा मलाई सामान्य जानकारी भए पनि यो पटक बाटोको अवस्थाको थप जानकारी प्राप्त गर्ने सोच बनाएँ।
वर्षातकाे समयमा कर्णाली राजमार्गको बाटो कुनै पनि समय जुन ठाँउमा पनि पहिरोले अवरूद्ध हुने सम्भावना हुन्छ।
गत साउनमा बाटोमा चार दिन लगाएर सुर्खेतबाट मुगु पुगेका एक जना हामीसँग यात्रा गरिरहेका थिए।
वर्षातका कारण ठाँउ-ठाँउमा पहिरोले बाटो अवरूद्ध हुँदा धेरै ठाँउमा त आफैं स्थानीय औजार प्रयोग गरेर बाटो खुलाउँदै मुगु पुगेको उनी भन्दै थिए।
सुर्खेतको बाङ्गेसिमलदेखि बड्डीचौरसम्म पूर्ण रूपमा पिच गरिएको पक्की सडक छ। बड्डीचौरमा मीठो स्थानीय केरा खाएर उकालोका घुम्ती पार गरिसकेपछि सुर्खेतको कालेखोला पुग्यौं। जहाँ २०७१ मंसिर २० गते कालीकोटबाट कैलाली जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १८ जनाको मृत्युु भएको थियो।
दुर्घटनामा रोजगारीको लागि भारत जाँदै गरेका बाजुरा गोत्री गाउँका मात्र १६ जनाको मृत्यु भएको थियो।
साँझ ७ बजे दैलेखको तल्लो डङ्गेश्वर पुग्यौं। कर्णाली राजमार्गमा राती गाडी चलाउन निषेध गरिएको छ। त्यहाँ हामीलाई प्रहरीले रोक्न खोजेको थियो। हाम्रो अनुरोधपछि केही अगाडिसम्म जाने अनुमति पायौं। राती ९ बजे पालतडा पुग्यौं।
पिच उप्किएर खाल्डाखुल्डी भएको सडकमा गाडीले उचाल्ने थचार्ने गर्नाले हामी थाकेका थियौं। त्यो रात पालतडामै बस्यौं।
अर्को दिन बिहान पाँच बजे यात्रा सुरू गर्यौं। पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने दैलेख सडक खण्डमा अघि बढ्दै जाँदा मध्य पहाडी लोकमार्ग अन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशलाई जाेड्ने दुई सय मिटर लामो गाडी गुड्ने राकम कर्णाली पुलको सुन्दर दृष्य देखिन्थ्यो।
सिँचाइ कुलोजस्तो साँघुरो सडकमा यात्रा गरिरहँदा नजिकै फराकिलो र शान्त भएर बग्ने कर्णाली नदीमा जल पर्यटनको प्रशस्त सम्भावना देखिन्थ्यो।
यात्रा गर्दा दुर्घटनाको बारेमा सोच्नु र सम्झनु राम्रो मानिँदैन तर म भने दुर्घटना भएका स्थानहरूको अवलोकन गर्दै र आफू सयर गाडी दुर्घटना भइहाले कसरी बच्न सकिन्छ भनेर सोचिरहेको थिएँ।
खिड्किजिउला नजिकैको नैनेल भन्ने स्थान आयो। जहाँ २०७४ जेठ ३१ गते कालीकोटबाट महेन्द्रनगर जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको थियो।
राकम र खिड्किजिउलाकाे फराकिलो भू-भाग खुम्चिँदै जाँदा किट्टुकाे भिर आउँछ। जुन भिरमा २०६६ चैत ५ गते कालिकोटबाट सुर्खेत जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ४२ जनाको मृत्युु भएको थियो।
किट्टु भिरबाट केही दूरी पार गएपछि कालीकोट सुरू हुन्छ। कालीकोटको जितेसम्म चट्टानी भिरमा साँघुरो सडक छ।
दैलेख खण्डमा कर्णाली नदीको किनारै किनार अघि बढ्ने कर्णाली राजमार्ग कालीकोटको जिते पुगेपछि कर्णालीलाई छाेडेर तिला नदीको किनार हुँदै अघि बढ्छ। बाँकेको जमुनाहदेखि सुर्खेत, दैलेख, कालीकोट, बाजुरा, हुम्ला हुँदै चीनसँगको सीमाना हिल्सा जाेड्ने ६८२ किमी लामो कर्णाली करिडाेर सुर्खेतदेखि जितेसम्म कर्णाली राजमार्गसँग एउटै भएर जान्छ।
जितेबाट कर्णाली करिडोरको बाटो कालीकोट, बाजुरा हुँदै हुम्लातिर जान्छ। जितेदेखि हुम्लाको सल्लिसल्ला सम्मको ट्र्याक मात्र खोलिएको कच्ची बाटोमा बर्सेनि दर्जनौं दुर्घटना हुन्छन्।
कर्णाली समृद्धिका आधार मानिएका यी दुई राजमार्गको निर्माण र स्तरोन्नतिमा राज्यको उदासिनताले गर्दा बर्सेनि दर्जनौं निर्दोष व्यक्तिहरूले ज्यान गुमाउनु परेको छ।
हामी जितेबाट अघि बढ्दै सेरिघाटको पुल तरेर उकालोका घुम्तीहरू पार गरी कालीकोटको सदरमुकाम मान्म हुँदै पिली पुग्यौं।
पिलीमा एउटा यात्रुबाहक माइक्रोबस बिग्रेर बाटो छेक्दा एक घण्टा रोकिनु पर्यो। रोकिएको समयको सदुपयोग गर्दै हामीले २०६२ साउन २३ गते पिलीमा रहेको तत्कालीन शाही नेपाली सेनाको क्याम्पमाथि माओवादीले आक्रमण गर्दा ठूलो मानवीय क्षति भएको घटनास्थलको अवलोकन गर्यौं।
माओवादी जनमुक्ति सेनामा भर्ती भएका मेरा स्कुले कक्षा साथी निराजन कार्कीको पनि पिली आक्रमणमा शहादत भएको थियो।
हामीसँग यात्रा गरिरहेका माओवादी केन्द्र मुगुका नेता बिर्ख बहादुर थापा पनि थिए। उनी पिली आक्रमण गर्दा प्रत्यक्ष लडाइँमा सामेल भएका रहेछन्।
उनले घटनाको अनुभव र विवरण सुनाए।
सडक निर्माणको लागि राखिएको सेनाले धेरै माओवादी कार्यकर्ताहरूको हत्या गरेकोले माओवादीले पिली सैनिक क्याम्पमाथि आक्रमण गर्नु परेको उनले बताए।
ऊ बेला सेनाले पिलीदेखि नाग्मसम्मको कठिन भूगोल र चट्टान छिचोल्दै सडकको ट्र्याक खोलेको थियो।
अनकन्टार भिरको साँघुरो सडकमा गुडिरहेको गाडीको झ्यालबाट तल तिला नदीमा हेर्दा आङ सिरिङ हुन्थ्यो।
कर्णाली राजमार्गको लामो अनुभव भएका चलाकले निस्फिक्री आफ्नै रफ्तारमा गाडी हाँकिरहेका थिए।
डरलाग्दो र अत्यासलाग्दो भिरको बाटो हुँदै हामी बित्तामाेड पुग्यौं। बित्तामाेडमा २०६९ भाद्र २५ गते कालीकोटबाट जुम्ला जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको थियो। त्यहाँ भिरालो ठाउँमा डरलाग्दो माेड छ। दुर्घटना भएको बस सोही ठाउँबाट झण्डै ५०० मिटर तल तिला नदीमा खसेको रहेछ।
कर्णाली राजमार्ग अन्तर्गत सबभन्दा कठिन र विकट कालीकोटको भूगोल पार गर्दै नाग्म पुगेर खाना खायौं। मार्सी चामलको भात र तिला नदीका माछाको स्वादले कर्णाली पुगेको अनुभूति भयो।
२०६३ सालको अन्तिमतिर संचालनमा आएको सुर्खेतदेखि जुम्लासम्मको २३२ किमी लामो कर्णाली राजमार्गको नाग्म-जुम्ला सडक खण्डबाट छुट्टिएर हामी सिंजा हुँदै जाने ९३ किमी लामो नाग्म - गमगढीकाे बाटोमा अघि बढ्यौं।
नाग्मबाट छट्टिँदै गर्दा २०७१ चैत २ गते जुम्लाको रारालिहीमा जुम्ला बजारबाट कालीकोटतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको याद आयो।
हिमा नदीको तिरैतिर गुडिरहेको गाडीको झ्यालबाट देखिएका सिंजा भ्यालीका सुन्दर दृश्यले बाटोको थकान मेटायाे।
बीचमा सलल बगेको हिमा नदी, वारिपारि समथर खेतका फाँटमा मार्सी धानका बाला झुलेका थिए।
पाक्ने तयारी हुँदै गरेका धानका बाला र बाटोको तलमाथि बगैंचामा लटरम्म फलेका स्याउको सुगन्ध मगमगाउँथ्याे।
सिंजा भ्याली नेपाली भाषा संस्कृतिको जननी हो। खस साम्राज्य हुँदै बाइसे चौबिसे राज्यकालसम्म सिंजा सामरिक र आर्थिक शक्तिको केन्द्र थियो।
सिंजा भ्यालीपछि जियाको भिर, रारा राष्ट्रिय निकुञ्ज भित्र पर्ने बुलबुले लेक हुँदै मुगुको सिमानामा प्रवेश गर्यौं।
सातमाेडका घुम्ती हुँदै बेलुका सात बजे पिनाटपने खोला पुग्यौं।
पिनाटपने खोलामा २०७८ असोज २६ गते नेपालगन्ज र सुर्खेतबाट दसैंकाे लागि घर फर्किंदै गरेका अधिकांश विद्यार्थीले खचाखच भरिएको बस दुर्घटना हुँदा ३३ जना मुगालीको ज्यान गएको थियो।
मुगुलाई शोकमा डुबाएर राष्ट्रलाई नै स्तब्ध बनाएको उक्त दुर्घटना सम्झँदा मुगाली जनतामा पीडाभन्दा बढी राज्यसत्ता र त्यसका संचालकप्रति आक्रोश पैदा हुन्छ।
नाग्म - गमगढी सडक खण्ड २०६९ पुस १ बाट संचालनमा आए पनि यस सडक खण्डको स्तरोन्नति हुन सकिरहेको छैन।
ट्र्याक खोलिएका कच्ची सडक वर्षौं बितिसक्दा पनि स्तरोन्नति नगरेर अलपत्र अवस्थामा हुनु राज्यको उदासिनता हो। राज्य आफ्नो कर्तव्यबाट विमुख हुनु हो। दुर्गम तथा पिछडिएको क्षेत्रका जनतालाई बेवास्ता गर्नु हो।
कर्णाली राजमार्गमा दुर्घटना हुनुको प्रमुख कारण साँघुरो र कच्ची सडक हो। साथै चालकले ट्राफिक नियमको पालना नगर्नु, थोत्रा गाडी संचालन गर्नु, गाडीमा क्षमता भन्दा बढी यात्रु बोक्नु पनि हो।
कर्णाली राजमार्गमा आवश्यकता भन्दा बढी ठाउँमा ट्राफिक चेक हुन्छ। चेक गर्दा नियमको पालना गराउनुभन्दा पनि अप्ठ्यारो बाटोमा जतिखेर पनि दुर्घटना हुन सक्ने संभावनालाई मध्यनजर गरेर यात्रुको रेकर्ड राख्ने काम मात्र गरेको पाइयो।
यात्रा सुरू गरेको २७ घण्टापछि करिब २९५ किमी दूरी पार गरेर राती ९ बजे गमगढी पुग्यौं। यात्राको क्रममा दर्जनौं मृत्युलाई जितेर गन्तव्यमा पुगेको अनुभूति भयो।
सुविधायुक्त सडक यातायातको विकास नभएसम्म अन्य विकासका सम्भावना पनि अवरूद्ध हुन्छन्। सुर्खेतदेखि मुगु हुँदै चीनको सीमाना नाक्चेलाग्नासम्म दुई लेनको पक्की सडक बाटो नबन्दासम्म मुगु जिल्लाको समग्र विकासका सम्भावनाको ढोका खुल्दैन।
मुगुमा पर्यटन, कृषि, जडिबुटी, जलविद्युत, खानी लगायत अन्य सामाजिक र आर्थिक क्षेत्रको विकास गर्न सहज सडक यातायातको सुविधा अनिवार्य सर्त हो।