प्राय: गाउँघरतिरका साथीभाइले फेसबुकमा म्यासेज/फोन गरेर अनि यहीँ चिनेका साथीभाइहरू भेटिए भने- घर कहिले जाने? भनेर सोध्न थालेको दुई हप्तादेखि हो।
केही दिन अगाडि एक साँझ बेलुकीमा आमाले पनि फोन गरेर सोध्नु भएको थियो, ‘घर कहिले आउने होस् दसैं पनि आउन अब धेरै दिन छैन। खेतभरी धान लहलहै भएका छन्, काट्न त्यसै छ। तँलाई खुब मनपर्ने भोगटे पाकेर रातै भएको छ। तेरा बाले घरमा दसैंमा खसी कट्ने कि के गर्ने दोधारमा हुनुहुन्छ। कान्छो आउने नआउने अत्तोपत्तो छैन’ भन्दै बर्बराउनु हुन्छ। घर कमेरोले लिप्न छ, छिमेकमा सबको घर लिपिसके। सबैको माझमा भएको हाम्रो घर कस्तो कुरूप भएको छ।’ आमाको कुरा सुन्दासुन्दै गहभरी आँसु भरिए।
मलिन स्वर निकाल्दै भने, ‘आमा कलेजको काम छ। त्यो सकेर सकेसम्म चाँडै आउँछु नि है।’
आमाले फोन राखेपश्चात् भित्तामा झुन्डिएको भित्तेपात्रो हेर्छु।
ओहो अब त धेरै दिन बाँकी रहेनछ। घर जाने टिकट लिन अब बसपार्क जानुपर्छ भन्ने सोच आउँछ।
म बस्ने ठाउँ नजिकै सालिक छ। सालिकदेखि दाहिनेतिर रहेको २ तले घरको तल्लो भागमा साँघुरो कोलियाको बायाँपट्टि रहेको साघुँरो कोठा छ जहाँ म अडिएको छु र मेरो सपनाको संसार अडिएको छ।
घर जाने बसको टिकट लिन भनेर आफू बस्ने डेरा अघिल्तिर रहेको रोडको पश्चिम पट्टिको बसस्टपमा उभिएको छु।
अरूबेला भरिभराउ हुने बसस्टप खालीखाली छ। अब यो सहर केहीदिनमा खालीखाली हुनेछ, गाउँ भरिनेछ, गाउँतिरका पाखापखेरा, पहाडहरूले रमाइलो महसुस गर्नेछन्। यो सहर भने एक्लिँदै छ।
प्रत्येक वर्ष यसै समयमा सहर १ महिना एक्लिन्छ भने गाउँ ११ महिना एक्लिन्छ।
मसहित जम्माजम्मी २-४ जना यात्रुमात्र उभिएका छन्। ५० मिटरको दूरीमा भिडभन्दा एक्लै कालो लामो केस, चौडा अनुहार, अन्दाजी करिब करिब ५ फिट जति हाइट भएकी युवती मोबाइलमा आफ्ना औंला दौडाउँदै आँखा बस आउने बाटोतिर घुमाउँछे। म भने घडी हेर्दै घरिघरि बस आउने बाटोतिर आँखा दौडाइरहेको छु।
लामो समयको पर्खाइपछि बस आइपुग्छ। बस साविकभन्दा अलि कम भरिभराउ छ।
बस म उभिएको बस स्टप नजिकै आएर रोकिन्छ। बस चढ्छु। मेरा पछि अरूअरू पनि बस चढ्छन्।
बसभित्र रहेको महिला सिटमा एक जना महिला सानो दूधे बालक समातेर बसिरहेकी थिइन् भने वृद्ध सिटमा २ वृद्धवृद्धा बसिरहेका थिए।
उनीहरू श्रीमान श्रीमती होलान् भन्ने अड्कल काटें किनभने वृद्ध बाले वृद्धआमाको कुममा चिउँडो गाडेका थिए। बा अलि अशक्त, बिरामी, भर्खर भर्खर गाउँबाट औषधोपचार गर्नकै लागि आए जस्ता देखिन्थे।
दाहिने तर्फको अपांग सिटमा भिन्न क्षमता भएका (दृष्टिविहीन) २ जना बसिरहेका थिए। म बसमा बसेका यात्रुहरू सबैलाई नियाल्दै पछिल्तिर खाली रहेको सिटमा गएर बस्छु।
युवती उभिएको ठाउँमा बस रोकिन्छ, युवती बस चढ्छे, महिला सिटमा नबसेर मलाई हेर्दै पछाडितिर आउँछे, उसलाई देख्दा मेरा आँखा लजाएर झुक्छन्।
(म यस्तै छु एकटकले कसैले हेरिरह्यो भने हेरिरहन सक्दिनँ)
ऊ नजिकै आएर सोध्छे, ‘सुन्नुस् त यो सिट खाली हो?’
‘खाली नै हो।’ उतिर नहेरी बोल्छु।
‘म झ्यालतिर बस्छु है?’ ऊ सोध्छे!
स्वीकारोक्तिमा टाउको हल्लाउँछु।
मेरै खुट्टा कुल्चदै झ्यालतिर आउँछे र बस्छे।
जुत्ता फोहोर गराइदिएकोमा झिजो लाग्छ।
‘तपाईं कहाँसम्म जानुपर्ने?’ सिटमा बसेको केही क्षणमा नै ऊ सोध्छे।
सोझै उत्तर दिन्छु ‘बसपार्क’।
बस बिस्तारै एकएक गर्दै भरिँदै थियो, गाडीभित्र खुट्टा टेक्ने ठाउँसम्म थियो। सहचालकले यात्रुलाई पछाडि जान आग्रह गर्नुपर्ने अवस्था थिएन। सहचालक पनि ढोका छेउको सिटमा बसेको थियो। चोकचोकबाट फाट्टफुट्ट मान्छे चढिरहेका थिए।
केहीछिनको मौनतापछि उसले नै मौनता चिर्दै सोधी, ‘तपाईंको घर चाहिँ कता?’
मैले भनें, ‘कर्णाली प्रदेश!’ जाजरकोट।
उसले यति औपचारिकताका साथ प्रश्न गरिसकेपछि, मैले पनि केही प्रश्न सोध्नुपर्ने थियो। के सोधौं के भन्ने दोधारैदोधारमा थिएँ।
बसको झ्यालबाट बिहानीको चिसो हावा आइरहेको थियो।
सिधै उसको अनुहारमा पोखिएको चिसो हावाको प्रभावले आफ्नो अनुहारमा उछिट्टिएर आएका कपालका धर्सा मिलाइरहेकी थिई।
उसको स्पर्श भएर आएको बिहानीपखको चिसो हावाले गर्दा मेरो आङमा काँडा उब्जिरहेको थियो।
उसको अनुहारतिर हेर्छु र हेर्दाहेर्दै सोधें, ‘तपाईंको घर चाहिँ कता?’
‘मेरो घर चाहिँ बागमती प्रदेश चितवन’ उसले भनी।
फेरि एकछिन मौनता छाउँछ।
मौनतालाई चिर्दै फेरि ऊ बोल्छे ‘यता के गर्नुहुन्छ,पढ्नु हुन्छ कि जागिर?’
‘पढ्छु।’
अब फेरि प्रश्न गर्ने मेरो पालो हो भन्ने लागेर सोधें, ‘तपाईं कता जाँदै हुनु हुन्छ?’
म टिकट लिन बसपार्क जाने। हेर्नुन् इसेवाबाट टिकट बुक गर्न खोजेको मिल्दै मिलेन। ऊ अलि बढी खुल्न खोजी।
म सोच्न थालें आइटी पढ्दै गरेको मैले इसेवा किन प्रयोग गरिनँ। मनमा ग्लानी भइरह्यो। उसले कुन फ्याकल्टी पढ्नुहुन्छ भनेर नसोधोस् भन्ने कामना गरिरहें। आफैंलाई लाज लागेर आयो। उसले सोध्न पनि सोधिन। जे भयो ठिकै भयो।
‘ए हामी जान लागेको गन्तव्य एउटै रैछ त’ मैले मुस्कुराउँदै भनें।
उसले आफ्नो अनुहारमा साविकभन्दा बढी चमक ल्याउँदै भनी- तपाईं कता हुँदै जानुहुन्छ, कलंकी या त रत्नपार्क हुँदै?’
‘म रत्नपार्क हुँदै। अनि तपाईं नि?’
‘कलंकी हुँदै!’ उसले कलंकी जाने बाटोतिर हात सोझ्याई।
‘बाटो फरक तर गन्तव्य एउटै रहेछ है।’ ऊ ङिच्च हाँसी।
यही बीचमा सहचालक भाडा माग्न आइपुग्छ।
बल्खुमा ऊ आफ्नो भाडा दिएर ओर्लिन्छे।
‘ल उतै भेटौंला है’ ऊ फेरि बोल्छे!
ऊ ओर्ले सँगै सिट छेउमै उभिएकी महिला बस्न आइपुग्छिन्।
बस कालिमाटी पुग्नै लाग्दा घरबाट आमाको फोन आयो।
‘अ कान्छा बसको टिकट लगिस?’
‘बल्ल त जाँदैछु। टिकट लिन!’
‘अस्ति धने आउँदा बल्ल बल्ल टिकट पाएँ, यो चाडपर्वमा त टिकट नै पाइनँ मुश्किल छ भन्थ्यो। टिकट त पाइन्छ होला नि है?’ निराश भाव निकाल्दै फेरि आमा बोल्न थाल्नु भयो, ‘जस्तो बसको टिकट पाइन्छ त्यस्तै बसमा आइज बाबै आइज! सहर गएकाहरू सबै घर आइसके! घर आएकाहरूले सानो खुसी पनि लिएर आएका छन् आफ्ना बाआमाका लागि! टाढा भएको आफ्नो सन्तान धेरै समयपछि आउँदा यसै खुसी भइँदो रहेछ। हाम्रो खुसी भनेको तँ होस तेरो आउने अत्तोपत्तो छैन।’
‘तँ आउने/नआउने दोधारमा छौं! तँ आउने पत्तो भएपछि धेरै योजना बन्थे होला! दिदीलाई के भन्नु उसलाई मेलापात, गाईवस्तुमै ठिक्क छ, तेरा बालाई के भन्नु उन्लाई बाटोबाटो चोक चोक घुम्न ठिक्क, कहिले कस्को छोरो आयो, कहिले कस्को छोरो आयो भन्ने खबर ल्याउनै ठिक्क छ।’ आमाले आफ्ना कुरा टुङ्ग्याउनु हुन्छ।
म बसभित्र सिटमा वरिपरि भएका मान्छेहरूतिर हेर्छु। बसमा होहल्ला बढी नै छ। जसले गर्दा आमा बोलिरहेको आवाज बुझिँदैन र भन्छु, ‘आमा म बसपार्क पुग्छु अनि टिकट काटेपछि फोन गर्छु’।
कालीमाटीमा उस्तै थियो। सडेगलेका तरकारीहरू उसैगरी फालिएका थिए, जसरी पहिला फालिएका हुन्थे, सडेगलेका तरकारी गन्हाइरहेको थियो। परबाट महानगरको बस बाटोमा भएको फोहोर उठाउँदै आउँदै थियो।
विष्णुमतीमा पानी बगिरहेको थियो। त्रिपुरेश्वरमा जनजनका राजा त्रिभुवनबीच सडकमा मौन ठिङ्ग उभिरहेका थिए। त्रिभुवन चोकको आडैमा रहेको दशरथ रंगशालामा खेलाडीहरू अभ्यास गरिरहेका थिए। हुलाक अफिस नजिक भूकम्पबाट ढलेको धरहरा पूर्णरूपमा तयार हुने अवस्थामा थियो।
पल्लो छेउमा रहेको टुँडिखेलमा सेनाहरू परेड खेल्दै थिए। जहाँबाट ठूलो-ठूलो आवाज आइरहेको थियो।
रत्नपार्कबाट बसपार्क जानलाई आरएनएसीबाट अर्को बस चढ्छु।
यहीबीच फेरि घरबाट फोन आउँछ।
फोनमा बा आउनु हुन्छ, ‘कान्छा पुगिस् त बसपार्क?’
‘छैन बा!’
‘जामैजाम छ! तपाईंलाई थाहा छ त बा काठमाडौंमा कति को जाम पर्छ भन्ने कुरा!’
कुरा गर्दागर्दै फोन एक्कासि कट्छ।
बा आँखा कम देख्छु भनेर गाँउकै हस्पिटल जानुभएछ। गाउँकै आँखा अस्पतालका डाक्टरले तपाईंका आँखाको उपचार यहाँ हुँदैन अब आँखाको अपरेसन गर्न काठमाडौं जानु भनेर सुझाएछन्। बा पैसाको जोहो गरेर साँझतिर काठमाडौं आइपुग्नु भएको थियो। म कलंकी लिन जाँदा बा रोडको डिलमा अडेसिएर धर्मैलो धर्मैलो काठमाडौंलाई कम देख्ने आखाँबाट नियाल्दै हुनुहुन्थ्यो।
कोठामा आउँदै गर्दा बाले नारिँदै मलाई भन्नु भएको थ्यो ‘यस्ता ठाउँमा बस्छन्? जता जाँदा पनि जाम नै जाम पर्ने। मलाई त झ्याउ पो लाग्यो कान्छा। म त धेरै दिन बस्न सक्दिनँ होला हौ! उराठलाग्दो ठाउँ।’
एक्कासि बा आएको सम्झिँदै थिएँ।
फेरि बाको फोन आएर म झस्किएँ।
फोन उठाउँछु।
‘बा म पुग्छु र फोन गर्छु’ भन्छु र फोनमा कुरा टुङ्ग्याउँछु।
रत्नपार्कबाट अर्को बस चढेदेखि म झ्यालतिरको सिटमा बसेको छु।
छेउमा एक जना दाइ बसिरहेका छन्। झ्यालबाट चिसो हावा आइरहेछ। आत जिरिङ भएको छ शरीरभरि काँडा उम्रिएका छन्।
झ्याल बन्द गर्छु अनि सिटमै आँखा चिम्लेर निदाउन खोज्छु।
बा, आमा, दिदी, गाउँघर र छिमेकीहरू झलझल्ती याद आइरहेछ।
गाउँका आफ्नै उमेरका केटाहरूको याद आइरहेछ।
दसैंकै उपलक्ष्यमा खसी बाजी हुने फुटबल प्रतियोगिताको झन् खुब याद आइरहेछ। धान काटिरहेको, रूखमा रातै भएर फलेका भोगटे खाएको। नयाँ कपडा किन्नकै लागि भनेर बजार-बजारका पसल-पसल डुलेको। चोकमा बसेर लङ्गुर बुर्जा खेलेको। चोक-चोकमा के-के हो के-के गफ गर्दै समय कटाएको याद आइरहेको छ। म यहाँ पढ्न नआएको भए गाउँघरमै बसेको हुन्थें हुँला।
फुटबल प्रतियोगिता हेर्नकै लागि भनेर टाढा टाढा पुगेको हुन्थें हुँला।
यो मान्छेले त केही पनि काममा सहयोग गर्दैन भनेर आमाको गालि खाएको हुन्थें हुँला। चोकमा बसेर लङ्गुर बुर्जा खेलिरहेको हुन्थें हुँला। केटाहरूसँग हुलाका हुल बाँधेर निस्कन्थें हुँला।
सबै सबै याद आइरहेको छ। अहिले टाढा छु। त्यसैले त होला आफ्नै सुरमा अनेकन कुराहरू याद आइरहेका। मनमा अनेकन तर्कनाहरू खेलाइरहेको।
‘दाइ ए दाइ’ कानमै आवाज गुन्जियो।
‘यो दाइ त सुतेछ’ कानमै आएर कोहीले कराउँछ, उठेर हेर्छु सहचालक रहेछ।
रूमालले निधारमा आएका पसिना पुस्छु। कल्पी रहेका कल्पनाहरूबाट बाहिर निस्किन्छु। यादहरूबाट बाहिर निस्कन्छु।
‘किन बोलाएको?’ सोध्छु।
‘दाइ भाडा पाऊँ न।’
‘कति हो?’ म सोध्छु।
‘आइडी कार्ड भए ३० रुपैयाँ, कार्ड नभए ६०’ उसले भन्छ।
३० रुपैयाँ र आइडी कार्ड उसलाई दिन्छु ।
उसले आइडी कार्डमा एकछिन घोरिएर उल्टाईपुल्टाई गरी हेर्छ र भन्छ, ‘दाइ आइडी कार्ड त पुरानो भैसकेछ? अझ अरू ३० रुपैयाँ दिनु।’
‘भाइ अघि अर्को बसमा चढेर आउँदासम्म त थियो डेट। अघि आउँदा त्यो बसमा भएको सहचालकले डेट भएर त होला केही कुरा गरेन। भाडा जति दिएँ, उति लियो।’
‘ह्या दाइ तपाईं आफैं हेर्नु न’, ऊ च्याठियो।
च्याठिएकै झोंकमा उसले मलाई आइडी कार्ड फिर्ता गर्छ।
म कार्डको पछाडिपट्टि भएको डेट हेर्छु। हो रैछ त डेट त एक्सपाएर भैसकेछ। मलाई लाजानुभूति भयो। लाजले शिर निहुराएँ, ३० रुपैयाँ फेरि दिएँ।
‘यो कार्ड बसमा हिँड्दा अबदेखि नदेखाउनु’ उसले मैले दिएको पैसाको नोट मिलाउँदै भन्यो।
बसपार्कको गेटमै बस रोकियो! म सिधै टिकट काउन्टरतिरै लाग्छु।
लामो लाइन देख्छु परैबाट, टिकट पाइँदैन कि भन्ने लागेर टिकट काउन्टरको नजिक गएर टिकट काटिरहेको मान्छेलाई सोध्छु।
‘दाइ टिकट छ होला नि है?’
भित्रबाट आवाज आयो ‘कता जाने हो?’
‘कर्णाली प्रदेश(जाजरकोट)’ मैले भनें।
भित्रबाट फेरि आवाज आयो ‘छ भाइ तर ह्या हेर्नु न भिड, लाइन लाग्नुहोस्, टिकट बचे छ भने पाउनु हुन्छ। नभए हुँदैन।’
लाइन महिला पुरूषको छुट्टाछुट्टै छ। लाइन महिलाभन्दा पुरूषको लामो छ।
लामो लाइन देख्दा पट्यार लाग्छ। पट्यार लाग्दालाग्दै पनि म पुरूषको लाइन पछिल्तिर गएर लाग्छु।
महिलाको लाइनको बीचमा देख्छु एउटी युवती जो मसँग कीर्तिपुरबाट बल्खुसम्म सँगै आएकी थिई। अनि बल्खुबाट छुट्टिएकी थिई।
ऊ रूमालले पसिना पुछ्दै उभिएकी छ।
उसले हेर्छे कि भन्ने लागेर म उसलाई हेरिरहन्छु।
उसले हेर्छे तर मलाई ध्यान नदिए जस्तो गर्छे।
सायद चिनिन कि उसले अर्को पटक हेरी भने बोलाउँछु भन्ने लाग्छ।
अर्कोपटक लाइन लागेका मान्छेहरूलाई हेर्दाहेर्दै उसले मलाई पनि हेर्छे अनि उस्को र मेरो आँखा जुझ्छन्, ‘हेल्लो’ भनेर हात उठाउँछे।
म पनि ‘हाई’ भन्दै हात उठाउँछु।
महिलाहरूको लाइन छोटो छ पुरूषहरूको तुलनामा, उसको पालो आउँछ, टिकट लिन्छे। ऊ म भएतिर आउँछे।
‘तपाईं त ढिलो पो आउनु भएछ। यहाँ आउने बित्तिकै तपाईं पुग्नुभयो कि भनेर खोजिरहेको थिएँ। तर देख्दै देखिनँ। म लाग्ने लाइनमा त्यता तपाईंको तिर जाने गाडीको टिकट नपाइँदो रैछ, नत्र मैले टिकट काटिदिने सोच बनाएकी थिएँ।’
उसले यति आत्मीयता देखाई कि ऊ र म पहिला नै भेट्टिएका हौं र पहिला नै चिनजान भए जसरी।
उसले म जाने ठाउँ चिने जसरी भनी।
टिकट काटेकी भए पनि उसले मलाई कसरी दिदिँहो। न सम्पर्क नम्बर थ्यो, न केही। कोही त सिकोस् यो केटीबाट मान्छेलाई कसरी फुर्काउने भनेर!
‘हुन्छ अब त म जान्छु भोक पनि लागिसक्या छ।’ ऊसँगै उसकी साथी पनि छे। ऊ भन्दा शान्त देखिन्छे।
‘तपाईंको कहिलेको टिकट भयो?’उसको हातमा भएको टिकटतिर हेर्दै सोध्छु।
‘भोलि साँझको छ’ उसले भनी।
‘ल है बाई हामी लागेको’, उसले साथीको हात तान्छे।
‘अनि सुन्नु न’ ऊ जादाँ जाँदै, ‘तपाईंको नाम भन्नु न’ भन्छे।
मैले मेरो नाम भन्छु।
ऊ खिस्स हाँस्छे र भन्छे- साँझ फेसबुकमा एड गर्छु ल हजुरलाई।
‘ए हुन्छ नि’ भनें तर ऊ हतारहतारै मै निस्की।
मैले भने उसको नाम नै सोध्न बिर्सिएँ।
लामो लाइन लागिरहेको छ। लाइन लागेका सब जना के के सपना देख्दै लाइन लागिरहेका छन्। घर गएर के के गर्ने भन्ने सपना देख्दै लागिरहेका होलान्! म पनि घर जाने सपना देख्दै लाइनमा लागेको छु। लाइन घट्दै छ म अगाडि सर्दैछु।
लाइन लागिरहेको एक घन्टापछि ठूलो स्पिकरमा आवाज आयो, जुन आवाजले लाइन लागेका मसहित सब जना पनि तरंगीत भए।
स्पिकरमा भनिएको थियो, ‘प्रिय यात्रु महानुभावहरू हाललाई बसको टिकट प्याक भएको छ, गाडीहरू सबै प्याक भएका छन्, यात्रुहरूमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं। अब लाइनमा लागेर कष्ट नगरिदिनुहोला। धन्यवाद।
‘यातायत व्यवसायी संघ, नेपाल’
म झसंग भएँ, घरबाट बाको फोन आइरहेको थियो। उठाउन मन लागेन। अरू मान्छेहरू लाइन लागिरहेका थिएँ, म भने काउन्टरतिर लागेँ।
काउन्टरको झ्यालमा भएको सानो प्वाल नजिक मुख लिएर भनेँ, ‘ए दाइ तपाईंहरूले अघि नै भन्न सक्नुभएन, टिकट प्याक भैसक्यो भनेर, यत्रो समयसम्म लाइनमा लगाउने? मान्छेलाई त्यसै दु:ख दिने?’
भित्रबाट कोही बोलेन, केही आवाज निस्किएन। अलि चिह्याएर हेरें भित्र कोही थिएन। निराश हुँदै भिडबाट बाहिर निस्किएँ। भक्कानिएर रूँन मन लाग्यो।
गाउँ जान पाइँदैन कि जस्तो लाग्यो।
गाउँतिरका सबका सब काम कुरा, साथीभाइहरू आँखा अगाडि झल्झल्ती आइरहेका थिए।
दु:खहरू आउँदा एकैपटक तँछाडमछाड गर्दै आउँदा रहेछन्। अघि गाडीमा आउँदा मिति सकिसकेको आइडी कार्ड देखाउँदा झन्डै झगडा परेको, अहिले भने टिकट पाइनँ।
ओहो कस्तो बिडम्बना। नचिनेको ठाउँ कसलाई भन्नू! कोसँग आफ्ना समस्या देखाउनु।
हतासिँदै बसपार्कबाट बाहिर आएर, महानगर यातायत रोकें, स्वयम्भू, कलंकी हुँदै बल्खु ओर्लेर कीर्तिपुरका लागि बस चढेँ, भाडा दिँदा कलेजको आइडी कार्ड देखाइनँ। देखाएँ भने फेरि अर्को लफडा सुरू होला भन्ठानेर।
कोठामा पुग्छु।
भिरिरहेको झोला एक कुनातिर मिल्काउँछु, ज्याकेट र पाइन्ट अर्को कुनामा हुत्याउँछु, भेस्ट अर्को कुनामा मिल्काउन खोज्दा फोहोर पानी राखेको बाटामा पर्छ पानीमा खसेको भेस्ट उठाउने जाँगर चल्दैन।
बिच्छ्याइरहेको ओछ्यानले मैले टिकट नपाउँदा जिस्काएजस्तो लाग्छ, र्याकमा राखिएका किताबहरूले ठिक्क भयो भने जस्तो भान हुन्छ।
ग्यासको चुल्होमा शान्त भएर बसेको कुकरले हाम्लाई यस्सै छाडेर जान्छु भनेको हैनस् जालास भनेजस्तो लाग्छ।
भित्तामा अड्याइएको ऐनामा आफ्नो अनुहार हेर्छु! कुरूप लाग्छ। आफ्नै गालामा आफैं चड्कन बजाइदिन मन लागेर आउँछ।
मनमा हठात् बेग्रेल्ती प्रश्नहरू आउँछन्।
‘ए कान्छा तँलाई घर जान मन थ्यो?’
खुब थियो! यदि तँलाई घर जान मन नै भएको भए टिकट सकिन्छ भन्ने जान्दाजान्दै किन अन्तिम समयमा बसपार्क गइस्?
तँलाई थाहा छ? तँ काठमाडौं आएदेखि कतिपटक घर गइस?
सोच त घरको कान्छो छोरो, लामो समयसम्म पनि घर नआउँदा के के बित्दो हो आमा बाको!
दसैंजस्तो महान् चाडमा घरको एकमात्र छोरो घर नजाँदा के बित्दो हो?
आज बाले कति पटक फोन गर्नुभयो तँलाई?
अनि तैंले बालाई कति पटक फोन गरिस्?
जे भए नि तँ सालेलाई घर जान मन नै थिएन है?
एकाएक मनमा प्रश्न आउन छाड्छन्।
मन भारी भएर आउँछ। कोठाबाट बाहिर निस्कन्छु। छतमा जान्छु। खुला आकाश अझ बढी खुलेको छ। काला बादलहरू कतै छैनन्। राजधानी सुनसान छ! चहलपहल कम्ती हुँदैछ पहिले भन्दा अचेल।
झोंक चल्छ। चुरटे काकाको पसल गएर चुरोट लिएर आउँछु।
कहिल्यै चुरोट नखाने मैले आज चुरोट खाँदैछु। बिस्तारै सल्काउँछु, बल्लबल्ल सल्किन्छ, सुरूमा सल्काउन जान्दिनँ। सल्काउन नजान्दा खोकी लाग्छ। सर्को पर्छ। चुरोट खाइवरि पुन: कोठामा आइपुग्छु।
घरमा फोन गर्छु, एक घन्टी जाँदा बित्तिकै बाले फोन उठाउनु हुन्छ।
‘बा!’
‘ह भन कान्छा! कहिलेको टिकट भयो?’
बाको पहिलो प्रश्नले नै म नि:शब्द हुन्छु।
‘हलो, कान्छा किन बोल्दैनस?’
गहभरी आँसु भरिएछन्। गहभरि भरिएका आँसु पुछ्न खोज्दै भने, ‘बा! बसको टिकट नै पाइनँ!’ टिकट नपाएर म जस्ता सयौं जना फर्किए।
बा बोल्दाबोल्दै आमाले फोन खोसेर भन्न थाल्नुभयो , ‘कान्छा आधा बाटोसम्म भए पनि आइज न, ओली काकाको कान्छो छोरो सहरबाट बाइक लिएर आएको छ। बरू उसलाई पैसा दिएर पठाम्ला हुन्न? आधा बाटोसम्म भए पनि आइज बाबै! आइज!’
फेरि बाले फोन खोस्नुभयो, ‘सुन त त्यो साना गाउँको उत्तमे पनि उतै छ क्यार, कहिलेकाहीँ घर आउँदा, ‘कान्छो काठमाडौं मै रैछ काका म पनि उतै छु कान्छालाई केही गाह्रो पर्यो भने भन्नुभन्थ्यो’ त्योलाई फोन गरेर बुझ त, म तँलाई नम्बर पठाइदिन्छु।
फोन राखेर बाले सेन्ड गरिदिएको नम्बरमा फोन गर्छु।
बल्लबल्ल फोन लाग्छ। तर उठ्दैन। ४-५ पटक हान्दा पनि फोन उठेन।
झट्टै बालाई फोन गर्छु, ‘उत्तम दाइले पनि फोन उठाएन बा!’
‘कान्छा सनम कता छ त अचेल?’ बाले सोध्नुभयो।
‘ती दाइ धनगढीतिर छन् बा’ मैले भनें।
त्यो दिन त्यसै निरासै निरासमा बित्यो।
अर्को दिन एकजना साथीलाई फोन गर्ने निधो गरें, जो साथी पहिले पहिले फोन गर्दा भेट्दा ठूलाठूला कुरा गर्ने गर्थ्यो, आफूले आफूलाई ठूलो मान्थ्यो। आफू मै हुँ भन्थ्यो। आफूले धेरै मान्छे चिनेको छु भनेर गफ दिन्थ्यो।
उसलाई फोन गरें, साथीले फोन उठायो। आफ्नो समस्या राखें।
‘हाहा अरे दोस्त, आफैं त कसरी कसरी आइपुगें, तिमी पनि मजाक नगर्न यार।’
मैले गम्भीरताका साथ कुरा राख्दा उसले मजाक लियो।
केही नभनी फोन राखिदिएँ।
घरमा फोन गरें। फोनमा आमा बोल्नुभयो ‘आमा यसपालि यस्तै भयो, तपाईंहरू केही नमानीकन हर्षोल्लाससँग दसैं मनाउनुहोस्। दिदी छ, बा हुनुहुन्छ, टन्न मासु पकाएर खानुहोस, बसको टिकट पाइएन म आउन नपाउने भए, तिहारमा १ हप्ता अगाडि आइपुग्ने छु’।
आमा केही बोल्नु भएन।
केही समयपछि मात्र आमाको आवाज सुनियो।
‘तँ पनि मासु लिएर खा है, टीका आफैं भए पनि लगाउनु! रित्तो निधार नबस्नु,’ सुख्खा स्वर निकाल्दै फेरि आमाले भन्न थाल्नु भयो, ‘गाउँ कति रमाइलो भएको छ, तँ आएको भए झन् कति रमाइलो हुन्थ्यो, तेरा साथीहरू सबै आएका छन्। गाउँ रसिलो/रमाइलो भएको छ। त्यरा साथीहरू तँलाई खोज्न आएका आयै छन् घराँ। उनीहरूलाई देख्दा तेरो न्यास्रो लाग्दैछ।’
‘छाडिदिनोस् आमा, क्यार्नु तिहार गज्जबसँग हाँसी-खुसी मनाउला नि।’
आमाको फोन एकाएक आफैं कट्यो।
सोचें, यसपालि दसैं यस्तै भयो।