कागजी फूलको गुच्छाले बजार सजिँदा त्यो मखमली र सयपत्री ढकमक्क फुलेको बारीको डिल मेरो सम्झनामा आइरहन्छन्।
अचेल गाउँघरमा नि लिपपोतको सट्टा रङरोगन नै हुन्छ। दसैंले पाइला लम्काएर हो कि भौतिक विकास भएकाले हो छिटो आइपुग्ने भएको छ। एकदिन बजार गएर किनमेल गरे आइपुगी हाल्यो दैलोमा दसैं।
त्यति पहिलेको मान्छे त हैन तर त्यो बखतको दसैंजस्तो अहिलेको पटक्कै छैन। बिस्तारै सुस्केरा हालेर आउथ्यो दसैं असिनापसिना भएर सोहार्द लागेपछि घैया धान उसिन्नी, निफन्नी मिलमा जाने क्रम चल्थ्यो।
हरेक सदस्यको भागमा कामको बाँडफाँट हुने थियो। बाबा तेल पेल्न, मम्मी चिउरा कुट्न पाहुना टार्ने चाँजोपाजो, केरा घ्याम्पोमा हाल्नी जिम्मा हजुरआमाको। म र दिदी माटो र पानी ओसारेर थुपार्थ्यौं।
साथीभाइ मिली बाबियो काट्न लिङ्गे पिङ बाट्न पर्थ्यो। महिनौ नै लगाएर दसैं भित्र्याउँथ्यौं।
आजको जस्तो छिटो छरितो थिएन तर खुसी र उमंग त्यसैमा थियो।
हरेक वर्षझैं त्यस वर्ष पनि दसैं आइरहेको थियो, गाउँ पूरै तामझाममा थियो। मेरो पनि आँगनमा दसैं आइपुगेको थियो तर बिडम्बना त्यो दसैं मझेरी नटेकी आँगनबाटै हाल बुझेर बेहाल गराएर फरक्क फर्क्यो।
खुसी लिएर आइछु भन्दै झुक्याएर पीडाको भारी भिरायो।
आमाले र मम्मीले त्यो भारी बाँडेर बोक्दा पनि उठ्न सक्नुभएन। मैले तान्नी, भाइ-बहिनीले घचेट्दा बल्ल बल्ल पाइला सार्न सक्नु भएको थियो।
जमरा र रातो टीकाले होइन, रोदन र फिक्काले त्यो दसैं गयो। त्यहीबेला मलाई महसुस भयो बाबाले ल्याइदिएको नयाँ लुगा मम्मी र आमालाई नदेखाउँदा, मासु भात खाएर, पिङ खेल्न नजाँदा पनि दसैं जाँदो रहेछ।
दसैंको त्यो दशा आज सम्झिँदा पनि मन भारी भएर आउँछ। लेखौं कि नलेखौं दोधारमा छु अझै।
***
घरमा खसी काट्न राखिएको थियो। बाध्यता यस्तो आइपर्यो कि बाँस काट्नु पर्यो। घर छ्याप्न रातो माटो कमेरो पहेंलो माटो खोजी खोजी थुपारेको थियौं हरियो गोबरबाहेक अरू केही प्रयोग भएन त्यो दसैंभरी।
नयाँ लुगा र मिलिक मिलिक बत्ती बल्नी घडीको प्रतीक्षामा रहेको मलाई दु:खद खबर मिल्यो, त्यसदिनबाट नै प्रतीक्षाको फल मीठो हुन्छ भनेर विश्वास नै उड्यो।
मम्मीले सम्झाउनुभयो, ‘काम गर्नुपर्छ तर फलको आसबिना बस्नुपर्छ।’
प्रतीक्षा लामै गरेको थिएँ। दिनमा पाँच पटक जति त्यो भित्ते पात्रो हेरें। अरू वर्ष भन्दा त्यस वर्ष दसैंलाई चाखलाग्दो तरिकाले लिएको थिएँ।
मलाई आजसम्म पश्चाताप छ। घडी होइन, समय माग्नुपर्ने थियो।
मैले न आफू घडी लगाउँछु न त घरमा भित्ते घडी नै प्रयोग गर्न दिन्छु खोइ किन यस्तो छाप पर्यो कुन्नी! त्यो दसैंभन्दा अगाडि पनि थुप्रै दसैं मनाएको थिएँ। मेरो स्मृतिमा आउन गाह्रो मान्छन्। २०६७ सालको त्यो कालो दसैं मेरो मानसपटलमा घुमिरहन्छ। त्यसपछिको दसैं आजसम्म कैले दसैं हुन सकेको छैन।
एउटा दसैं मनाउन नपाउँदा पनि गाउँभरिका दाजुभाइहरू दसैं न बसै भयो यसपालि त मासु भात खाने बेला नुन बार्नुपर्यो भन्दै गुनासो पोख्थे।
नुनसँगै रहर, इच्छा र सपनाको सीमामाथि बार लगाउँदै थियो हाम्रो परिवार। हामीलाई अब कुनै चाड पनि चाड हुँदैन, त्यो गुनासो कसलाई पस्किन पाउनु र!
नयाँ लुगा त सबैलाई आयो तर त्यो लुगा कस्तो लुगा बन्यो लगाउँदा ज्यानै गल्यो। एकले अर्कोलाई हेरेर आँसुको वर्षात बर्सियो। आखिर सबै नयाँ लुगाले खुसी दिँदैन रहेछ।
आफ्नो लागि खुसी लिएर आउँदा मात्र चाड रमाइलो हुन्छ जब आफूले खुसी लग्नुपर्ने बेला हुन्छ तब त्यो चाड फसाद बन्न पुग्दो रहेछ।
अहिलेसम्म आइपुदा कौतुहलता भइराको होला आखिर त्यो दसैंमा भयो चाहिँ के? त्यही भयो जे नहुनु थियो। घर ठाडो नै थियो, दरिलो खम्बा थिएन।
हरेक सदस्यको आ-आफ्नो संघर्षको यात्रा सुरू भयो। किनभने संघर्ष गरेर घर चलाइरहेको मान्छेलाई दैवले स्वर्ग चलाउन लग्यो।
दसैं मनाइदिनी मान्छेलाई दसैंको बेला लगेर भगवानले अन्याय गरेदेखि मलाई न्याय दिलाउने न्यायाधीशमाथि हाँसो लाग्छ।
दैवले त अन्याय गर्नुहुन्छ मान्छेले के छोड्लान्! मान्छे नै भगवान सरह हुन्छ भन्ने भनाइ कस्को होला सायद त्यो मानिस पनि अहिले पश्चाताप गरिरा होला।
आज पनि नयाँ लुगा र घडी बोकेर आउँछु भन्ने बाचा गरेर गएको बाबाको बाटो टाकुरोतिर हेर्छु।
भित्तामा फूलमाला लगाएर झुन्डिएको त्यो फोटोलाई हेर्छु। घरी टाकुरो, घरी यो फोटो आँखा टट्टाउनञ्जेल हेरिरहन्छु।
पूरा नगर्नेले बाचा नगर्नु भन्दै गाली गर्छु। अझै कत्ति वटा दसैं यसरी मनाउने होला।
जिन्दगीभर भारी भएर बस्नु उचित नलागेर आज हजुरहरूसामु अन्तरमनको भावना खोलें। वर्षौं वर्षदेखि कुम्लो बनाएर गुम्साएर राखेको वेदनाको पोकालाई खोलेँ।
माफ गर्नुहोला मैले भावुक बनाएँ। बिचराजस्तो लाग्यो होला अरूको बिचरा बनेर जीवन कटाउन निकै कठिन छ।
तीन अक्षरको बिचराको खाँचो कहिले परेन जब हौसला, प्रेरणा, सहयोगको जरूरी पर्यो तब अवगत भो तीन अक्षरमा नि दम छ।
ओसिएको केही भावको बिस्कुन आर्टिकलको बिछ्याउनामा हालें।
आशा छ खङ्ग्रंङ नसुके पनि अख्रिने छन् अन्तिमसम्म पढ्नु भो अब तीन अक्षरको सुझाव तीन अक्षरको टिप्पणीमा लेखेर जानु होला।
धन्यवाद!