वर्षात थामिसकेको थियो। आकाश रोएर वर्षेको झरीले पखालेको प्रकृति सिपालु चित्रकारले मन लगाएर कोरेको सुन्दर तस्बिरजस्तो देखिन्थ्यो। खेतको गह्रामा झुलेको सुनौलो धानको बाला र बारीको डिल-डिलमा सयपत्री र मखमली फूल फुलेर शरद ऋतुको आगमनलाई स्वागत गर्न हुँदै थियो तल्लीन।
शरद ऋतुसँगै नेपालीको घर आँगनमा भित्रिन्छ ठूला-ठूला चाडपर्वहरू। नेपालीहरूको महान पर्व दसैं! बगैंचामा फूल बनेर फुलेको छ दसैं। चौतारीको वर-पिपलको डालीमा पिङ बनेर मच्चिरहेको छ दसैं। पाका बा-आमाको शुभ-आशीर्वाद सँगै निधारभरि रातो टीका र कानमा सिउरेको जमरा परम्परा र संस्कृति बनी बाँचिरहेको छ दसैं।
उमंगको माहोलमा डुब्दै गरेको मेरो एक जना प्रिय मित्रको भिसा आयो भन्ने खबरले खुसीको माहोलमा थोरै पीडा छायो।
पीडा र हर्षलाई थाती राखेर सहर जान निस्कें घरबाट पूर्ण रूपमा जानकारी लिन।
फोनमा भने जस्तै मेनपावर पुगेर बुझ्दा उनको भिसा साँच्चिकै आएको रहेछ भन्ने कुराको थाहा भयो।
मेडिकल गर्यो रिपोर्ट बुझायो। बाँकी दिनुपर्ने रकम भुक्तानी गरे। गाउँ फर्केर भेट्नु पर्ने इष्टमित्रलाई भेटघाट गरेर पुन: फर्के सहर। दसैं राम्रोसँग मनाउन नपाउँदै परदेशको बाटो रोज्न बाध्य बनेको छ ऊ।
मेरो साथीसँग उनको जीवन संगिनी र टुकुटुकु हिँड्न खोज्दै गरेको काखे छोरी आएका छन्।
सानी छोरी जसले बा भनेको के हो थाहा छैन र पनि ती अबोध नानी बालाई बिदाई गर्न आमाको बुइँ चढेर आकी छिन् टाढाको गाउँदेखि।
मरे सँगै, बाँचे सँगै कसम खाकी मेरो साथीको जीवनसाथी भारी मन बोकेर बा-आमा पछिको मनपर्ने मान्छेलाई बिदाई गर्न आकी छिन् ठूलो सहरमा।
आकाशको बाटो हुँदै उड्ने हवाईजहाज टेकअफ हुने समय नजिकिन्छ। एयरपोर्ट नजिकै आफू बसेको गेष्टहाउसबाट चेकआउट हुन्छ।
तीन जना कहिल्यै छुट्टिएर बस्न मन नभएका मान्छेहरू एयरपोर्ट पुग्छन्। छोरी सानी छिन्। उनलाई के थाहा टाढिनु नजिकिनु भन्ने कुरा।
आँसुको भेलसँगै केही वर्षको लागि टाढिन्छ मेरो प्रिय मित्र र उनकी जीवनसाथी!
बाध्यताको विकराल खण्डहर बस्तीको बाटो छिचोल्दै धैर्यताको पहाड बनी लगनको खोला बनेर बग्दै गरेको मेरो प्रिय साथीको जिन्दगी चलेकै थियो भने जस्तो गरेर। ऊ मेरो छिमेकी। ऊ मेरो एउटै आमाको लम्टा चुसेको भाइदाइ जस्तै। उसले जस्तै ब्यथा व्यहोरेर ऊभन्दा म केही महिना अघि नै परदेशी भूमिमा भाग्य खोज्न निस्किसकेको थिएँ।
हामी टाढा भए पनि सधैं नजिक थियौं इन्टरनेटको माध्यमबाट। ऊ र म एउटै मुलुकमा नभए पनि नजिक-नजिककै छिमेकी देशमा थियौं।
उता नेपालमा आफ्नै गाउँको छिमेकीजस्तै! केही समय अघिको कुरा पोख्दैछु।
दिनभरिको कामले लखतरान भएको शरीरलाई आराम दिन कम्पनीले व्यवस्था गरिदिएको ८-१० जना अट्ने सामूहिक कोठाको दुई तले बेडको माथिल्लो तल्लामा सुतिरहेको थिएँ।
एक्कासि बिहानाको अर्लाम बज्नु पूर्व भाइब्रेसनमा सिरानीमा राखेको मेरो मोबाईल फुट्लाझैं गर्दै घुर....घुर... गरी बज्न थाल्यो।
हत्तपत्त मोबाइल हेरें।
कल गरेको रहेछ मेरो बचपनदेखिको उही साथीले।
फोन रिसिभ गरेँ। हलो भन्न नपाउँदै। ऊ बोल्न थाल्यो।
‘ओई साथी घरमा बर्बाद भएछ यार।’
मैले सोधे ‘के भो ?’
केही बोल्दैन। खाली बर्बादै भो मात्रै भन्छ।
म अलि झर्केर रूखो स्वरमा बोलें। ‘भएको चाहिँ के हो त्यो भन नत्र फोन राख’ भनें।
‘युट्युब खोलेर हेर।’ भन्दै एउटा लिंक पठायो म्यासेन्जरमा।
झिसमिसेमै आएको साथीको कल। कलसँगै आएको म्यासेन्जरको लिंक खोलेर हेरें युट्युब। रंगीविरंगी सुन्दर अक्षरले सुसज्जित टाइटल थियो। ‘श्रीमान परदेशमा, श्रीमती नाबालक छोरीसहित हप्तादिनदेखि बेपत्ता!’ भिडिओ खोल्ने बित्तिकै चिनिहालें ती चिरपरिचित अनुहार साथीको बा र आमा भनेर।
म झसंग भएँ।
पूरै भिडिओमा साथीको आमा र बा युट्युबर साथीसँग दु:ख पोख्दै थिए।
‘कसरी बेपत्ता भो तपाईंको बुहारी ?’
‘विवाह भएको कति भयो तपाईंको छोराको ?’
‘मागी विवाह कि भागी विवाह गरेको तपाईंको छोराले ?’
‘कति भयो तपाईंको छोरा विदेश गएको ?’
केरकार शाखाको प्रतिनिधिले जसरी युट्युबर साथीले गर्दै गरेको अनेक थरिका प्रश्नको उत्तर कनिकुथी दिँदै थिए साथीका बा र आमाले।
पूरै भिडिओ हेरेर साथीलाई फोन गरें, ‘तिमीहरूको सम्बन्ध राम्रो थिएन र ?’
‘ठिकै थियो! राम्रै थियो ! खोइ किन हो यस्तो कदम चाली उनले अन्योलमा छु यार म!’ उसले भन्यो।
‘तिम्रो बा र आमाले तिमीलाई खबरै नगरी सिधै युट्युबरलाई बोलाएर भिडिओ बनाएर युट्युबमा भिडिओ हालेको हो ?’
साथीले भन्दै थियो ‘होइन’
‘कसरी कसरी थाहा पाएर उनीहरू आफैं आएर बा आमालाई यसरी भिडिओ बनाएर युट्युबमा हाल्यो भने तपाईंको बुहारी भेटिन्छ। फर्केर घर आउँछ भनेर बनाएको रहेछ!’
युट्युबमा राखेको त्यो भिडिओले रात दुगुणा दिन चार गुणा भ्युज बटुल्न सफल हुँदै थियो।
भ्युजसँगै झरीमा वर्षेको असिनाजस्तै नानाथरी कमेन्टले असिनाले तहसनहस पारेको उम्रँदै गरेको कलिलो बिरूवा जस्तै क्षतविक्षप्त हुँदै थियो मेरो प्रिय साथीको मन। मेरो साथीको भावना। मेरो साथीको सपना। अनेक मान्छेले अनेक थरिका कुरा लेखेका थिए कमेन्टमा।
मेरो प्रिय साथी कति धेरै सपनाको खाका कोरेर विदेशिएको थियो। त्यो आकस्मिक घटेको अकल्पनीय घटनाले झरीले लतारेको रूखजस्तै भएर घर फर्क्यो। अनि बेपत्ता भएको जीवन संगिनीको खोजी गर्न थाल्यो। प्रशासनले जारी गर्नुपर्ने हुलिया युट्युबर साथीले युट्युबमा प्रसारण गरिसकेकोले हुलिया जारी गर्न प्रशासनकोमा गइरहनु परेन।
पछि खोज्दै जाँदा फेला परिन् उनको जीवन संगिनी।
तर माइतीको साथ प्रशासनको रोहवरमा जिम्मा लगाए ती मान्छेलाई जोसँग उनले प्रेमको सम्बन्ध राखिसकेकी थिइन्।
छुटे पहिला एयरपोर्टमा छुटेको जस्तै गरी। त्यो बेलाको छुटाई पुनः भेट्ने सर्तमा भएको थियो। तर यो पटकको छुटाई कहिल्यै नभेट्ने सर्तमा भएको थियो।
साथी एक्लै बाँच्दै छ अझै सानो छोरीको साथ।
खाटा बस्न लागेको बिछोडको घाउलाई युट्युबमा अपलोड गरेको भिडिओले चिथोरी रहन्छ भनेर सुनाउने गर्छ बेला-बेलामा।
बुम र क्यामरा बोकेर भिडिओ खिच्यो युट्युबमा हाल्यो। होला केही फाइदा उनीहरूलाई तर उनीहरूले सानो सम्झेर खिचेर सार्वजनिक गरेको भिडिओले थुप्रै जिन्दगीको सार्वजनिक नहुनु पर्ने कुराहरू सार्वजानिक हुँदैछ। राम्रो हो या नराम्रो छुट्याउन सक्दिनँ म।
आज स्वदेशमै रोजि-रोटीको व्यवस्था सहज भएको भए को जान्थे होला र परदेशमा। बाध्य भएर वैदेशिक रोजगारमा बेचिएका लाखौं युवाको रगत पसिनासँग साटेको रेमिट्यान्सले कुल वार्षिक बजेटको २४-२५% हिस्सा ओगटेको छ।
रेमिट्यान्स त भित्रियो तर रेमिट्यान्स भित्र्याउनेहरूको बिग्रेको सम्बन्धको दोषी को? के त्यो बिग्रेको सम्बन्धलाई प्रिय युट्युबरहरूले युट्युबमा भिडिओ बनाएर हाल्दैमा समस्याको समाधान हुन्छ होला र?