मझेरीको अँध्यारो कुनामा आमाले छरेका जमरासँगै टुसाउँथ्यो दसैंको खुसी।
दसैका लागि सरसामानको जोहो गर्न भन्दै फुरुंग मन अनि जतन गरेको धन आस्कोटको खल्तीमा पोको पारेर बा बजार पस्दा हलहलाउँथ्यो दसैंको रौनक।
१५ दिनको स्कुले बिदा, फुक्काफाल जिन्दगी।
चंगा त के उड्थ्यो र आकाशमा, यो मन उड्थ्यो खुसीले माथि माथि।
सबेरै उठेर गाउँका एक हुल मानिस, घर पोत्न रातो माटो र कमेरो लिन भन्दै तातिएर हिँड्थे।
गएकाहरू माटोको भारी बोकेर फर्किँदा दसैं बोकेर ल्याएजस्तो लाग्थ्यो।
दिदीहरूले रमाउँदै सेतो कमेरो र रातो माटोले घर लिपेर चिटिक्क पार्दा, यो मनमा हर्षका हजारौं रङ पोतिए जस्तै लाग्थ्यो।
पिँढीमा सधैं बज्ने रैथाने रेडियोले 'नमुछे आमा दहीमा टीका नछरे जमरा' भन्ने गीत बजाउँदा सारा सन्तान काखैमा, स्वामी साथैमा भएकी मेरी आमा पनि खोइ किन हो बर्सेनि अनायसै गहभरि आँसु ल्याउँथिन्। सायद आमालाई आफ्ना मुग्लानी दाजुभाइको झल्को लाउँदो हो क्यार!
मलाई आमाको रूवाइबारे त्यति ज्ञान नभए पनि आमासँगै अँध्यारो मुख लगाएर नतमस्तक भएर सुनिरहन्थेँ। त्यो क्षणिक उदासीनताभित्र पनि यो मेरो बचपने मनले सधैं दसैं नै भेट्टाउँथ्यो।
डबल क्यासेट लाग्ने लामो टेपरेकर्ड घन्काउँदै झोलाभरि रहर, आशा र उमंग बोकेर मुग्लानीहरू फर्किँदा कम्ता विशेष लाग्दैन थियो दसैंको आगमन। गाउँघरको यादमा मुर्छित हुँदै रोजिरोटीका लागि सहरलाई कृत्रिम प्यार गरेका सहरियाहरू, मान्छेलाई मेसिन बनाउने सहरको कोलाहल र होहल्लाबाट उछिट्टिएर गाउँमा पाइला राख्दा चुलिँदै जान्थ्यो चहलपहलको हिमाल। हार्दिकताको पहाड।
बाटोघाटो सरसफाइ हुन्थे। खेतभरि लहलह धानका बाला झुल्दा दसैंले दैलोअगाडि आएर अभिवादन गरेजस्तो लाग्थ्यो। घरहरू बेहुली जस्तै चिटिक्क हुन्थे। चौरमा मच्चिन्ने लिंगे पिङसँगै भुइँ छोड्थे खुसीहरूले पनि।
खसी खोज्ने चटारो, काटकुट र भागबन्डा शरद ॠतुको मौसम र खोलाको पौडी, कहाँ शरीर मात्रै पौडिन्थे र पौडिन्थे गाउँघरको यादमा मुर्छित मनहरू पनि।
'लाहुरेका दुःख र संघर्षका अनुभूति', 'सहरियाको हतारो र दौडधुपका कथा अनि गाउँघरका परिवेश', एकै गन्तव्यमा मिसिएपछि त्यही त्रिवेणीमा डुबुल्की मार्थ्यो दसैंले। वर्षौंदेखि टाढिएकाहरू, बाध्यताले विदेशिएकाहरू, सहरतिर भविष्य खोज्ने चक्करमा भासिएकाहरू, एउटै परिवेशमा जमघट भएर मान्यजनबाट टीका ग्रहण गर्दा मेरो चञ्चले मन बचपने ज्यान पनि बाले दसैंलाई भनेर किनिदिएको फुर्के जामा लगाएर फुरूक्क पर्थ्यो।
टीका लगाउँदा बाले 'ठूली भएस्, डाक्टर भएस्' भन्दै आशीर्वाद दिनुहुन्थ्यो। डाक्टर हुने सौख नै नभएको यो मनमा म त डाक्टर नै बन्नुपर्छ भन्दै अबोध सपनाले डेरा जमाउँथ्यो। त्यही 'डाक्टर भएस्' भन्ने आशीर्वाद बच्चैदेखि मनस्पटलमा कैद भएर होला, पछिसम्म पनि कसैले ठूलो भएर के बन्ने भन्दा हतारिँदै म त डाक्टर बन्ने भनिन्थ्यो। जब कि सपनाहरू के हुन्, कस्ता हुन्छन्, कसरी पूरा गर्ने, मेरो चाहना के हो भन्नेबारे केही अवगत नै थिएन।
उमेर बढ्दै जाँदा जिन्दगीले फरक मोड लियो। छुट्टै बाटो रोजियो। 'डाक्टर भएस्' भन्ने आशीर्वाद आशीर्वादमै सीमित रह्यो। तर अझै पनि गुञ्जायमान हुन्छन् ती उपदेश र आशीर्वादहरू।
गोजी भरिन्थे दक्षिणाले, मन भरिन्थ्यो आशीर्वादले अनि पेट भरिन्थ्यो सेलरोटीले। त्यो एक दिनको दसैं नबितोस्, दिनदिनै दसैं आइरहोस् जस्तो लाग्थ्यो। दसैंको टीका, जमरा र सेलरोटीसँगै हार्दिकता साटेर मान्यजनका आशीर्वाद पोको पार्दै लाहुरे लाहुर फर्किन्थे। सहरियाहरू सहर फर्किन्थे।
अनि सकिन्थ्यो दसैं।
तर त्यो दसैं आउँदा आउने उमंग सम्झेर वर्षैभरि मन तरंगित हुन्थ्यो। वास्तवमै त्यो दसैं पो दसैं जस्तो थियो।
दसैं अहिले पनि आयो तर आएन त्यो खुसी, त्यो उल्लास, त्यो हर्ष, त्यो चहलपहल। न मुग्लानीहरू गाउँ पस्दा उमंग छायो, न सहरियाहरू फर्किँदा रौनक छायो। आफ्नो आफ्नो दुनियाँ र पारिवारिक माहोलमा रूमलिएर हो कि कुन्नी, चिसिँदै गए ती गाउँलेका जमघट, हार्दिकता र दुःखसुखका भलाकुसारीहरू।
सिँगारिएका घरहरू देखेर पनि मनले खुसीका अनेक बुट्टा भर्न सकेन। केवल औपचारिकता निर्वाह गर्न मात्रै दसैं आएजस्तो लाग्छ। कहाँ गए गए ती बचपनका सखी। कोही घरबारे भए, कोही प्रवासी भए।
अहिले आफ्नै घरमा आफू पाहुना बनेर आउँदा रित्तो महसुस हुन्छ। खल्लो महसुस हुन्छ। के नपुगेजस्तो लाग्छ सबै कुरा पुग्दापुग्दै पनि।
अनेकन अभावका बीचमा पनि प्रसन्न मन लिएर मानिने त्यो दसैं बेग्लै थियो। अहिले सबै कुरामा सम्पन्न हुँदा पनि मन प्रसन्न छैन।
वर्षैपिच्छे दसैं फर्केर आयो तर कहिल्यै फर्केर आएनन् ती बालापनका जस्ता दसैंमय खुसीहरू। हाँसिरहेका चेहराभित्र पनि कहीँ कतै दुःख सल्बलाएजस्तो लाग्छ। हरेकको अनुहारमा हेर्दा केही न केहीको बोझले थिचेजस्तो लाग्छ।
उमेर बढ्दै जाँदा रहर घट्दै जाने यो कस्तो प्रवृत्ति हो बुझ्नै सकिएन!
रमाइलो नभएको हो कि, रमाउन नजानिएको हो, मेसै पाउन सकिएन।
अहिले न 'ठूली भएस्' भन्दै आशीर्वाद दिने बा रहे न त्यो बचपन रह्यो।
न दसैंले खुसी ल्यायो न मन रमाउन सक्यो।
नामको मात्रै दसैं आयो, आएन त्यो दसैंजस्तो दसैं।