दसैं हिन्दु नेपालीहरूको ठूलो चाड हो। वार्षिक क्यालेन्डरमा सबभन्दा लामो पर्व। दुःखकष्ट बिर्सेर सुख र शान्तिको सास फेर्ने समय। एकअर्का सँग खुसी साटासाट गर्ने र मान्यजानबाट टीका ग्रहण गरी मनाउने परम्परा।
मेरो बाल्यकालमा सबैभन्दा रमाइलो चाड नै दसैं थियो। दसैं शब्द सुन्नासाथ मनमा एक किसिमको ऊर्जा पैदा हुन्थ्यो। दसैंले त्यति बेलादेखि नै मेरा लागि विशेष महत्त्व राख्दै आएको छ। कहिलेकाहीँ त परीक्षामा मनपर्ने चाडपर्वका बारेमा निबन्ध सोध्दा मैले दसैंका बारेमा कैयौं पाना भरिने गरेर लेखेको सम्झिन्छु। अझ कहिलेकाहीँ त लेख्दालेख्दै कसले कति दक्षिणा दिए भनेर समेत लेख्न भ्याउँथे।
पहिला गाउँका सबैजसो घरआँगनमा, खुला चौरहरूमा पिङ राखेपछि दसैं आएको संकेत हुन्थ्यो। नयाँ लुगा लगाउने, मिठा खाने कुरा खाने, रमाइलो गर्ने, पिङ खेल्ने। सोच्छु कति रमाइलो थियो त्यति बेलाको दसैं।
मलाई याद छ दसैं आउन एक महिना बाँकी हुँदादेखि नै बुबालाई घरमा पिङ हाल्दिन भनेको।
जवाफमा बुबाले दसैं आउन अझै एक महिना छ भन्नुभयो।
त्यसो भन्दा औंला भाँच्दै दिन गन्थेँ म।
दसैं आइसकेपछि बाबाले दुई वटा कापो भएको खाँबा ल्याएर पिङ हालिदिनु हुन्थ्यो। त्यही पिङमा म वर्षभरिलाई पुग्ने गरेर मच्चिन्थेँ। अझै त्यति बेला गाउँ भरिका सबै युवाहरू मिलेर खुला स्थानमा ठूलो लिंगे पिङ हाल्ने चलन थियो। यो पिङले गाउँमा छुट्टै रौनक भित्रिन्थ्यो।
अरू गाउँको तुलानामा मेरो गाउँको पिङ अलि ठूलो भएकाले अरू गाउँबाट पनि पिङ खेल्ने आउँथे। त्यति बेला म आफू सानै भए पनि मलाई त्यो पिङ हालेको हेरेर छुट्टै आनन्द लाग्थ्यो। पिङ हालिसकेपछि कुखुराको भाले काटेर भोग पनि दिन गरिन्थ्यो।
त्यहाँ पिङ खेल्न केटाकेटी, तन्नेरी मात्र होइन, बुढाबुढी समेत झुम्मिएका हुन्थे। म आफू पनि त्यहाँ पिङ खेल्न कैयौं बेर कुर्नुपरेको सम्झिन्छु।
तर आज तीन वर्ष भइसकेछ गाउँमा पिङ नहालेको पनि। आज गाउँमा एउटा पनि पिङ नहुँदा आफू पनि चुकेको महसुस हुन्छ। हुन त आज गाउँका युवा जनशक्ति विदेश पलायन हुनु, सबैको काममा व्यस्तता हुनु, बाहिरी संस्कृतिको प्रभाव गाउँघरमा पर्नु, आधुनिकीकरण, सहरीकरण र आज गाउँमा भएका युवापुस्ता पिङप्रति चासो नहुनु जस्तो कारणले जटिलता उत्पन्न भएको छ।
पिङ किन खेलिन्छ, थाहा छैन। तर वर्षमा एक दिन खेल्नुपर्छ भन्ने फेरि सबैलाई थाहा छ। दसैंका दिन एक पटक भए पनि धर्ती छोड्नुपर्छ भन्ने मान्यताले पिङ खेलिन्छ। आज कैयौं युवाहरू दसैंमा जुवा, तास र मदिरा सेवन गरेर आफ्नै तालमा चाडपर्व मनाएको देख्छु। यो देखेर नै म आफैं रमाइलो लिने गर्छु।
दसैंमा नयाँ लुगा लगाउने चलन भएकाले मैले पनि बुबालाई नयाँ लुगा किनिदिन कैयौं दिनसम्म पिरोलेको सम्झिन्छु। बाबाले हार खाएर मलाई नयाँ लुगा किन्न लिएर जानु हुन्थ्यो। मैले बाबालाई शिरदेखि पैतालासम्म पुग्ने गरी लुगा किन्न लगाउँथे।
लुगा किनिसकेपछि बुबाले 'अब तँलाई अर्को दसैं नभई लुगा किन्दिन्नँ' भन्दा म मुस्कुराउँदै बाबातिर नै हेर्थेँ।
किनेका लुगा सबै साथीभाइलाई देखाउँदै हिँड्थेँ। तर आज फेरि दसैं आइराख्दा अहिले यस्तो कुराले महत्त्व राखेको भेट्दिनँ।
म दसैं आउदा घरमा आमाले टाढादेखि रातो माटो र कमेरो ल्याएर धन्सार लिपेको सम्झिन्छु।
चंगाको लट्टा किन्न बाबाको पर्सबाट ५० रूपैयाँ चोरेको कुरा आजसम्म नि दिमागमा ताजै छ। चंगा बनाइसकेपछि साथीभाइहरूसँग कसको चंगा माथि पुग्ने भनेर प्रतिस्पर्धा गरेको सम्झिन्छु। आज यी सबै पुराना कुरा सम्झेर अहिले दसैं पनि रमाइलो महसुस हुन्छ।
दसैंको पहिलो दिन घटस्थापनामा घरमा जमरा राख्नु हुन्थ्यो। दसैंको सातौं दिन फूलपातीमा हातहतियारको पूजा गरी देवीको आराधना हुन्थ्यो। त्यही दिन घरमा भएको खसी, बोकाको बलि दिइन्थ्यो। यो हेर्न म बिहानै उठेर बस्थेँ। त्यति यो देख्दा मनमा छुट्टै उमंग हुन्थ्यो। आज सोच्छु, सबै कुरा पहिलेको जस्तै भए पनि मनमा त्यो उमंग छैन।
विजया दशमीको दिन विशेष भएकाले म बिहानै उठेर, नुहाएर किनेको नयाँ लुगा लगाएर तयार हुन्थेँ। टीकाको साइत १०, ११ बजे भए पनि म बिहान ७ नबज्दै तयार भएर बस्थेँ। टीकाको साइत नजिकिँदै हामी सबै परिवारका सदस्य एकै ठाउँमा जम्मा भएर क्रमशः ठूलोबाट टीका लगाउँदै आउनु हुन्थ्यो। परिवारभित्र टीका लगाइसकेपछि म गाउँभरि डुल्थेँ।
टीका लगाउदा गाउँको कसैले पैसा दिँदा मन फुरुंग हुन्थ्यो। गाउँभरि टीका लगाइसकेपछि म धेरै पैसा पाइन्छ भनेर मामाघरतिर लाग्थेँ। मामाघर जान ३ घन्टा उकालो चढ्नुपर्थ्यो। आज २० वटा सिँढी उक्लिँदैमा थाक्ने म त्यो बेला निर्धक्क साथ उक्लिन्थेँ। यति हिँड्दा पनि थकाइ महसुस हुँदैन थियो। थाहा छैन त्यस्तो जोस कताबाट उत्पन्न हुन्थ्यो।
मामाघरमा टीका लगाएर कमाएको पैसा छुटाछुट्टै खल्तीमा राख्थेँ। सयको नोट एउटा खल्तीमा, पचासको नोट अर्को खल्तीमा र बाँकी साना नोट अर्कै खल्तीमा।
तर आज आफ्नै मामाघरमा टीका लगाउन नगएको पाँच वर्ष बढी भइसकेछ। आज फेरि दसैं आउँदा बाल्यकालको जस्तो खुसी किन छैन म? आफूभित्रै कारणहरू खोज्दै छु।
भनिन्छ समय गतिशील छ, समय कसैको अधीन र वशमा हुँदैन!