दसैं आउन करिब करिब महिना दिन बाँकी छ भन्ने बेलादेखि नै मनमा छुट्टै उत्साह हुन्थ्यो।
दसैंअगाडि स्कुलले लिने नियमित त्रैमासिक परीक्षा र बिदा अवधिभर पढाइ-लेखाइबाट विचलित नहुन भनेर केही थान गृहकार्य दिइसकेपछि सुरू हुन्थ्यो महिना दिन लामो दसैं-तिहार बिदा।
बाल्यकालदेखि नै सामूहिक परिवारमा हुर्केको हुनाले पनि मैले जसरी त दसैं सायदै अरू कसैले मनाए होलान् जस्तो लाग्छ। चार बुबाहरू र छ फुपूहरूका सन्तान गरेर करिब २५ जनाभन्दा माथि त नियमित सबैजसो दसैंमा हुन्थ्यौं।
बिदाको दिन सुरू भएदेखि नै फलानो दिन यो दिदी आउने, अर्को दिन फलानो दाइ आउने भन्ने कुराले फुरूंग बनाउँथ्यो। काका, दाइ, दिदी र फूपुले ल्याउने कोसेलीको चाख भन्दा पनि पारिवारिक जमघटले वास्तविक रौनक दिलाउँथ्यो मलाई। वास्तवमै दसैं आएजस्तो हुन्थ्यो।
जन्मथलोबाट केही किलोमिटर टाढा सदरमुकाममा बस्दै आएका हामी अष्टमीका दिन जम्बो टोली लिएर पुर्ख्यौली घर जान्थ्यौं। सानोतिनो जन्तीको समूह जस्तो लाग्ने हाम्रो टोली गाडीमा चढ्दा पनी एकछत्र राज गरिराखेको भान हुन्थ्यो। २०/२५ जना एकैपटक यात्रा गर्दा सहचालकले २/३ जनासँग भाडा उठाउनै बिर्सिने रोचक किस्साहरू पनि टन्नै हुन्थे।
पुर्ख्यौली घर जाने बाटो घरी ठाडो उकालो हुँदै अगाडि बढ्थ्यो, घरी कहाली लाग्दो ओरालो हुँदै। घरी मोदी खोला र कालिगण्डकीको सुस्केरा कानमा गुन्जिथ्यो। घरी धपक्क पाकेका धानका बालाका सुगन्ध नाकमा बज्रिन्थ्यो। प्रत्येक २०/२५ मिनेटको हिँडाइपछि देखिने लठ्ठे पिङ देख्नै नहुने हामीहरूलाई। घेरिएर बसेका नानीबाबुहरूलाई फकाई फुल्याई पिङमा दुई मच्काइ नमच्चेसम्म चित्तै नबुझ्ने।
बाटोका छेउछाउमा लटरम्म फलेका अम्बाका रूखहरूमा झम्टिएर कसले कतिवटा सम्म अम्बा टिप्नसक्ने भन्ने पनि प्रतिस्पर्धा जस्तै हुन्थ्यो। घर पुग्ने बेलाको ठाडो उकालो उक्लिँदै गर्दा भेटिने लटरम्म पाकेका बयरका दाना टिपेर मुखमा हाल्दा दिने सन्तुष्टि र कलकल बगेको पँधेरोको पानीले मेटाउने तिर्खा अन्त कहाँ पाइयोस्।
त्यसमाथि 'ओहो आउनुभएछ है, थकाइ लागेको होला, यस्सो मोही खाएर जानुहोला' भन्ने अलिअलि परिचित तर धेरै अपरिचित गाउँलेहरूका आग्रह मोहीभन्दा मिठा लाग्थे।
घर पुग्दा झिसमिसे साँझ परिसकेको हुन्थ्यो। लगभग घरको आकृति देखिने ठाउँमा पुग्नै लाग्दा गोडामा थकान त बढ्दै हुन्थ्यो। तर त्यो भन्दा बढी बेगसँगै बढ्दै हुन्थ्यो उत्साह, व्यग्रता र उमंग। चार हातखुट्टा टेकेर नाके उकालोलाई परास्त गर्दै घरको दैलोमा पुगेपछि ठूलोबाबाको परिवारले पस्किने विनम्रता र माया मिसिएको मूलको पानीले यात्राको थकान सबै क्षणभरमा मेटिन्थ्यो।
त्यस साँझ खाएका मोटा चामलकै भात, फर्सीको तरकारी र मेवाको अचार सुन्दा जति फिक्का र निरसिलो सुनिए पनि वर्षभरि खाएका भोजनमध्येको उत्कृष्ट एकमा पर्थ्यो।
अघिल्लो रात अबेरसम्म बसेर भूत र प्रेतका डरलाग्दा कथाहरू सुनेर सुतिन्थ्यो। भोलि बिहान हिमालको शिरबाट तेर्सिएर आएका घामका किरणहरूले आँखामा चुम्बन गर्दैगर्दा घरको बार्दलीबाटै मोतीझैं सेता माछापुच्छ्रे शिरको दर्शनसँगै उठ्न पाउनुको अनुभव कुनै साततारे होटलको समुद्री मोहडामा भएको कोठामा ब्युँझिनुभन्दा कम हुँदैनथ्यो।
ब्युँझिन पाउँदा नपाउँदै दरबाररूपी घरका जन्तीरूपी सदस्यहरू कोही चियानास्तामा व्यस्त हुन्थे, कोही तरकारी र अचारको जोहो गर्नमा। कोही घर रंगाएर चिटिच्याट्ट पार्न त कोही पँधेरोबाट पानी ओसार्न। कोही अलि फुर्सदिला र उमेरले पाकाहरू यो मिलेन यसो गर भन्दै सुझाउनैमा व्यस्त।
जो जेमा व्यस्त भए पनि एकले अर्कालाई जिस्काउन, उडाउन र गिज्याउन कोही पछि पर्दैन थिए। तर त्यो फगत पारिवारिक माया थियो, मोह थियो। त्यसैमा पो आनन्द थियो।
बिहानको खाजा सकेलगत्तै युवा र पुरुष जमातहरू जुवामा होमिन सुरू गरिन्थ्यो। आमाहरू रोटी र पकवान पकाउन व्यस्त। अघिल्ला वर्षहरूमा अग्रजहरूसँग डराइडराइ तास खेल्नुपर्ने बाध्यता भए पनि पछिल्ला वर्षहरूमा घरका जेष्ठ सदस्यहरूको त्यसप्रति विकसित हुँदै गएको लचकताले डराइराख्नु पर्ने बाध्यता रहेन।
१२/१५ जना समूह एकैपटक तासमा होमिँदा कसले कोसँग मिलेर कसलाई ठग्दै छ भन्ने पत्तो हुँदैन थियो। जुवाबाट पैसा त कहिल्यै कमाइएन तर दाजुभाइ र दिदीबहिनीको त्यही षड्यन्त्रमा यथेस्ट रमाइलो हुन्थ्यो। त्यही कूटनीतिमा फसिनुमै निकै आनन्द लाग्थ्यो। पैसाले त न सौभाग्य किन्न सकिन्थ्यो न त्यो पल फिर्ता ल्याउन।
दशमीको दिनको रौनक भिन्न हुन्थ्यो। दसैंको दिनको उत्साह नयाँ कपडा, टीका, आशिष, दक्षिणा र फोटोसँग जोडिएको हुन्थ्यो। बडो भिडभाडले गर्दा दस गाउँ डुलेर नुहाउने सौभाग्य पाएपछि सानोतिनो युद्ध जितेजस्तो फुइँ लगाऊँ जस्तो लाग्थ्यो।
ऐना हेर्न लाइन लाग्नुपर्ने। आफूलाई सिँगारिदिन दिदीबहिनीका दया पर्खिनुपर्ने।
वाह! क्या दिन थिए!
जसोतसो तयार भइसकेपछि टीका लगाउने बेला पनि सानोतिनो समारोहभन्दा कम हुँदैन थियो। आफ्नो पालो पो कति बेला आउँछ भन्न पनि औंला भाँची गन्नुपर्ने। टीका लगाउने बेला हुँदै गर्दा आफूले गन्नेमान्ने १२/१५ जनाको हातबाट एकैपटक टीका ग्रहण गर्दा भिडभाडमा बन्धक बनाइएजस्तो लाग्थ्यो। सक्नेले निधारमा, नसक्नेले कानमा अनि त्यो पनि नसक्नेले नाकैमा भए पनि टिका लगाएरै छाड्थे।
टीका लगाएर निस्किँदा चुनाव जितेर अबिरमा रूमलिएका नेताभन्दा कम हुँदैन थियो स्वरूप। कोही टीका सकेर दक्षिणामा 'बार्गेन' गर्दै हुन्थे, कोही मुख चुचो परेर फोटो खिच्न हतारिँदै।
टीका लगाउन बाँकी सदस्यहरूको संख्या बिस्तारै घट्दै जाँदा भने मनमा छुट्टै किसिमको चिसो पसिसकेको हुन्थ्यो। अब केही बेरमै यो समूह बिस्तारै पातलिँदै छ भन्ने कुराले खिन्न बनाइराखेको हुन्थ्यो। अबका केही घन्टामै यो जन्तीरूपी परिवारले विश्राम खोज्दै हुनेछ। कोही मामाघर, कोही ससुराली त कोही माइती घरतिर सामिप्यता खोज्न जाँदै हुनेछन्।
यिनै मनोभावले गिजोल्दै केही तस्बिरहरू कैद गरेपछि छुट्टिने तरखर हुन्थ्यो।
मामाघर जाँदै गर्दा अर्को परिवारमा जोडिन पुगिने तर त्यसका लागि एउटा परिवारबाट छुट्टिनुपर्ने मिश्रित मनोभावले मनमा निरन्तर ढ्यांग्रो पिटिरहेको हुन्थ्यो।
दसैं त अहिले पनि मनाइन्छ। तर दसैं दसैंजस्तो कत्ति पनि लाग्दैन। निधारमा टीका, शिरमा जमरा र ठूलाबडाको आशिष नै दसैंका मापक हुन् भने त दसैं रत्तिभर पनि फरक छैन। तर दसैं भावना हो, दसैं अनुभव हो भने चाचहिँ रत्तिभर पनि उस्तै छैन।
बढ्दो उमेर र बढेका जिम्मेवारीसँगै परिवारका सदस्यहरू कोही सात समुद्रा पारि पुगे, कोही कर्मघर। घर फर्कनु, जमघट हुनु अथक प्रयासपछि पनि असम्भव जस्तै देखिन्छ आजकल। दसैं एउटा सामान्य चाड नै त हो नि भनेर पनि मनले चित्त बुझाउन थालेको छ हिजोआज।
दसैंमा घर फर्किनु त केवल बाबाआमाको मन राख्दिन मात्र हो भन्दा पनि फरक नपर्ला। चाहे उमेरले होस् या जिम्मेवारीले, चाहे परिस्थितिले होस् या बाध्यताले- अहँ, आजकल दसैं कत्ति पनि दसैंजस्तो लाग्दैन!