सधैं दसैंमा बा खलकमा टीका लगाएपछि मावली खलकमा टीका लगाउन जान्थ्यौं।
त्यो वर्ष टाढाको आफन्त बितेकाले जुठो परेको थियो। आमाबाले टीका लगाउनु भएन। केटाकेटीले टीका लगाउन छुट भएकाले दिदीबहिनीहरूसँग मामाघर गएँ।
हजुरबा-आमा कतै टीका लगाउन जानुभएकाले घरमा हुनु हुन्थेन। एक जना मामा मात्र हुनु हुन्थ्यो। मामाले राडीमा लहरै राखेर हामी ५ जना केटाकेटीलाई टीका लगाइदिनुभयो।
भर्खर एसएलसी पास गरेर क्याम्पस पढ्न थाल्नुभएको मामाले सकेसम्म मिलाएर आशीर्वाद दिनुभयो। तर हामीलाई आशीर्वादभन्दा पनि दक्षिणाको चिन्ता थियो।
मामाले सबैको टाउकामा जमरा घुसारेपछि दक्षिणा पाइने पक्का थियो। मामाले टीका लगाएको हात पुछपाछ गर्नुभयो। अब कति दक्षिणा पाइन्छ भनेर मामाको हातमा हेर्यौं।
मामाले त दक्षिणा दिनुको साटो हातमा एउटा पहेँलो केरा राखिदिएर भन्नुभयो, 'पोहोर पराल बोक्न गएको साढे सात रूपैयाँ मैले भिनाजुसँग लिन बाँकी छ। त्यहि पैसा मागेर ५ जना भाञ्जाभाञ्जीले बाँडेर लिनू।'
हजुरबा घरमा नभएकाले दक्षिणा कम पाइन्छ भनेर मन खिन्न भइरहेको थियो। त्यसमाथि मामाको उधारो दक्षिणाले मन अमिलो भयो। रून मात्र सकिएन। दसैंमा २/४ रूपैयाँ कमाउने सपना तुहिएकाले पिलपिल गर्दै घर आयौं।
बाल्यकालमा दसैंले केटाकेटीलाई उत्साहित बनाउनुमा मिठो खाना, राम्रो नाना र दक्षिणाको मुख्य भूमिका हुन्थ्यो। मालभोग केरा, च्युरा, मासु, सेलरोटी र अचार दसैंका मुख्य परिकार हुन्थे। हरेक वर्ष दोहोरिने यस्ता परिकारले केटाकेटीलाई खासै फरक पार्थेन। नयाँ नानाको रूपमा अकासे रङको सर्ट र निलो पाइन्ट पाइन्थ्यो। जसले दसैंको नयाँ कपडा र स्कुलको ड्रेस दुवैको काम गर्थ्यो।
त्यसैले खास महत्व त दक्षिणाको हुन्थ्यो।
घरमा दुई रूपैयाँसम्म पाइन्थ्यो। आफ्नै मामा नभएकाले मामाघरको आम्दानी प्राप्त हुन्थेन। आमाको साइँलो बाको घर नै हाम्रो मावल थियो। त्यहाँ टीका लगाउदा १/२ रूपैयाँ आउने सम्भावना रहन्थ्यो। टीका लगाउन त गाउँका प्रायः जसोको घर गइन्थ्यो। तर त्यहाँ केटीहरूलाई एक सुका मोहरसम्म दिए पनि केटाहरूलाई दक्षिणा दिन हुँदैन भन्थे।
टीका लगाइदिने कुनै दयालु परेछन् भने केटाहरूले पनि १० पैसासम्म पाउने सौभाग्य पाउँथे। त्यसैले मावल नभएका केटाहरूले जति घर चाहेर पनि ५ रूपैयाँ पुर्याउन मुस्किल हुन्थ्यो।
दसैंमा जम्मा गरेको दक्षिणा स्कुल खुलेपछि फुर्मास गर्न पाइने भएकाले दसैंमा सकेसम्म धेरै दक्षिणा जम्मा गर्ने ध्याउन्नमा हामी केटाकेटीहरू हुन्थ्यौं। धेरै घरमा टीका लगाउँदा धेरै दक्षिणा पाइने सम्भावना हुने भएकाले बाआमासँग बोलचाल हुने सबैको घरमा, गाउँका गन्यमान्यको घरमा, आफन्तको पनि आफन्तको घरमा टीका लगाउन पुगिन्थ्यो।
कान्छोबाको ससुराली नाता पर्नेको घर नजिकै थियो। उनीहरूमध्ये एक जनासँग ठूलोबाको मितेरी नाता समेत थियो। कान्छी आमालाई बहिनी भन्ने भएकाले उनका छोराछोरीलाई भाञ्जाभाञ्जी भन्थे। त्यो नाताले हामीहरू पनि भाञ्जाभाञ्जी नै भयौं। एकसाल कान्छो बाका छोराछोरी पार्वती दिदी, नारन दाइ, मैंया र कृष्णसँग मेरा बहिनीहरू र म पनि उनीहरूको मामा पर्नेको घरमा टीका थाप्न गयौं।
टीका लगाइदिएर बहिनीहरूलाई १०/१० पैसा दिएपछि घरमूलीले भने, 'यिनीहरू त कन्या भएकाले दक्षिणा दिएँ, तिमीहरु त छोरा हौ क्यारे, छोरालाई पैसा दिन भएन।'
फेरि मन अमिलो भयो। ५/१० पैसा दक्षिणा पाउने सपना तुहियो। कन्सिरी तात्यो। मैले त दक्षिणा पाइनँ नै, उनले भाञ्जा भन्ने नारन दाइले समेत छोरा भएकाले दक्षिणा पाएनन्। त्यसपछिका वर्षहरूमा दसैंंमा उनका घरतिर फर्केर पनि हेरिएन।
केही आफन्त पर्ने र केही गाउँले पण्डित र पाका मान्छेहरू भएको घरमा बाआमा टीका थाप्न जानु हुन्थ्यो, आशीर्वाद लिन भनेर। हामी केटाकेटीहरू पनि पछि लागेर जान्थ्यौं। बाआमासँग जाँदा बहिनीहरू सँगै मैले पनि एक सुकासम्म हात पार्थेँ।
दिपनगरदेखि शान्तिनगरसम्म कसले केटाहरूलाई दक्षिणा दिन्छन्, कसले ५/१० पैसा वा सुका मोहर दिन्छन्, कसले दक्षिणा दिँदैनन् भन्ने हामीलाई पत्तो हुन्थ्यो। मनमा बनाएको त्यही सूचीअनुसार अर्को वर्षको दसैंमा टीका लगाउन जान्थ्यौं। दिपनगरमा खनाल र घिमिरे खलक, ज्योतिनगरमा लोकनाथ पण्डित, छिमेकी कुरुन्चेली साइँलोबा/ आमा, नेपानेबाहरू, बलामेबा नाता नपरे पनि केटाहरूलाई टीका लगाएर दक्षिणा दिनेमा पर्थे। ठूली आमाको नाता पर्ने ढकालमामा, पुड्के भण्डारी, कटहरे पण्डितले पनि केटाहरूलाई दक्षिणा दिन्थे। त्यसैले उनीहरू हामी केटाकेटीलाई निकै मनपर्थे।
कहिलेकाँही हातमा आउने लागेको दक्षिणा पनि फुस्किथ्यो र पूरै दसैंं खल्लो बन्थ्यो।
एकपटक दसैंमा एक जना टाढाको आफन्त पर्नेको घरमा टीका लगाउन गएँ। उनका छोराले बम्बईमा राम्रै काम पाएकाले उनले अघिल्लो वर्षदेखि दक्षिणामा उदारता देखाउन थालेका थिए। उनले केटाकेटीलाई पनि एक-दुई रूपैयाँका कट्कटिया नयाँ नोट दिन्थे। पुग्दा टीका थाप्नेको लाइन थियो।
उनले टीका लगाइदिँदै नयाँ नोट दिइरहेका थिए। नाति पर्ने भएकाले मैले पनि नयाँ नोट पाउने निश्चित थियो। मेरो पालो आउनै लाग्दा एक जना मान्छे हस्याङफस्याङ गर्दै आएर हजुरबाको कानमा फुस्फुसायो। उनले आत्तिँदै धारामा गएर निधारको टीका पखाले। हामी केटाकेटीले केही बुझ्न सकेका थिएनौं।
परिवारमा आपसमा खासखुस चल्यो अनि सुँक्क सुँक्क रून पनि थाले।
पछि थाहा भयो– हिजै उनका आफन्त मरेका रहेछन्।
मान्छेले खबर लिएर आउँदा दसैंको दिनमा बल्ल आइपुगे। त्यहाँ टीका लगाउने कार्यक्रम अन्त्य भयो। मुखैमा आएको आहारा फुस्किएझैं भयो।
माइली आमाका सोल्टी थिए एक जना। हामी सानोबा भन्थ्यौं। उनी वर्षमा आधाभन्दा बढी समय कतै हराउँथे र आधा समय मात्र घरमा झुल्किन्थे। दसैंको दिन कताबाट हाम्रो घरमा टुप्लुक्क आए। बाआमाको हातबाट टीका थापे।
मेरा बहिनीलाई पनि टीका लगाएर एक-एक रूपैयाँको डबल दिए। मलाई पनि टीका लगाइदिएर गोजी छामछुम गरे। पैसा रहेनछ।
त्यसपछि उनले भने, 'मसँग पैसा सकिएछ, मसँग घर हिँड, उतै दिउँला।'
एक रूपैयाँको सवाल थियो। म पछि लागेँ। घर पुग्दा सानिमा पनि रहिछन्। उनले पनि टीका लगाइदिइन्।
सानोबाले एक रूपैयाँको ढ्याक हातमा राखिदिए।
सानिमाले 'छोरालाई पनि कसैले दक्षिणा दिन्छ?' भन्दै त्यो ढ्याक मेरो हातबाट फ्यात्त खोसेर लगिन्। सानोबाले जति भने पनि उनले फिर्ता दिइनन्। बरू केटाकेटीको बानी बिगार्ने भन्दै सानोबालाई गाली गरिन्। म रुन्चे अनुहार बनाएर अँध्यारोमा घर फर्केँ।
जति कोशिस गरे पनि दसैंमा १० रूपैयाँ दक्षिणा पुर्याउन सकिएन।
एकसाल भने सोचेजस्तो भयो। त्यो साल दसैंमा टीका लगाउन भारतबाट सानिमा र सानोबा पनि मामाघर आएका रहेछन्। हजुरबाले टीका लगाइदिएपछि उनीहरूले पनि टीका लगाइदिए। सानोबाले भारू ५ र सानिमाले भारू २ दिए। त्यति बेला भारतीय एक रूपैयाँको नेपाली १६५ वा १६८ पैसा यस्तै कति हुन्थ्यो। घरमा पाएको दुई रूपैयाँ, मावलमा पाएको २ रूपैयाँसहित थप करिब १२ रूपैयाँ पाएको थिएँ। पहिलोपटक दसैंमा टीका लगाएर १५ रूपैयाँभन्दा बढी रकम जम्मा गर्न पाउदा गजक्क फुलेको थिएँ म।
फुरूंग हुदै घर आएँ। सदाको दसैंंजस्तै आँगनमा लिंगेपिङ बनाएका थियौं। घर आउनेबित्तिकै मच्चीमच्ची पिङ खेलेँ।
दिदीबहिनीहरू जम्मा भएपछि दक्षिणाको कुरो उठ्यो। म पनि गजक्क पर्दै पैसा देखाउन खल्तीमा हात हालेँ।
ला...पैसा त छैन!
म असिनपसिन भएँ। यताउति खस्यो कि भनेर खोजेँ। मावलबाट आउँदा खस्यो कि भनेर दगुर्दैदगुर्दै मावलसम्म पुगेर फर्केँ। पिङको वरिपरि, आँगन, भान्साकोठा, सुत्ने ठाउँ जताततै खोजेँ।
अहँ, कहीँ भेटिएन।
बसेर रूनु सिवाय मैले गर्न सक्ने अर्को उपाय थिएन। म रोए पनि पैसा आउने कुरै थिएन।
जिन्दगीमा पाएको सबैभन्दा धेरै दक्षिणा र मैले मेरो भन्न पाउने सबैभन्दा ठूलो रकम हराएको थियो।
त्यसपछि बाल्यकालमा दसैंमा टीकापछि कहिल्यै दक्षिणाको आश लागेन। हजुरबाको निधनपछि मावलमा टीका लगाउन जाने क्रम टुट्यो। बा खलक र छिमेकीबाहेक अन्यत्र दसैंमा टीका लगाइनँ।
यसको सिधा अर्थ हो, बाल्यकालभरि मैले दसैंमा दक्षिणा पाइनँ।