दसैं, तिहार, छठ जस्ता ठूला पर्वका समयमा सरकारी निकायहरूले बजार अनुगमनलाई तीव्रता दिन्छन्।
संविधानको धारा ४४ मा उपभोत्ताको हकलाई मौलिक हकका रूपमा समावेश गरिएको छ। उक्त धारामा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ भनी उल्लेख छ। साथै गुणस्तरहीन वस्तु तथा सेवावाट क्षति पुगेको व्यक्तिलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने सुनिश्चितता पनि गरिएको छ।
'स्थानीय बजार व्यवस्थापन' स्थानीय तहको एकल अधिकार सूचीमा समावेश गरिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोत्ता संरक्षण विभागले मिति २०७९ असार १५ गते पठाएको पत्रमा मलाई निरीक्षण अधिकृत तोकेको थियो।
उपभोक्ता हकसम्बन्धी ऐन, २०७५ र नियमावली २०७६ मा भएको व्यवस्था बमोजिम बजार अनुगमनलाई प्रभावकारी बनाउने सोच बनाएको थिएँ।
बजार अनुगमनलाई महाअभियानका रूपमा सञ्चालन गर्न रामेछाप, खाँडादेवी गाउँपालिकाको अध्यक्ष ज्ञान कुमार श्रेष्ठ, उपाध्यक्ष रमा घिसिङ, प्रहरी निरीक्षक तेज प्रसाद कडेल, राजस्व शाखा प्रमुख विनिता घिसिङका साथसाथै उद्योग व्यवसायी ध्यान बहादुर तामाङको पनि राम्रो साथ प्राप्त भएको थियो।
अनुगमनलाई अनुगमनका रूपमा मात्र लिने सोच थिएन। बजार अनुगमन गर्दैगर्दा बिक्रेतालाई उपभोक्ताको हकबारे जानकारी दिनु थियो। बिक्रेताले स्थानीय कानुनअनुसार व्यवसाय दर्ता गरे/नगरेको, नवीकरण गरे|/नगरेको, मूल्यसूची राखे/नराखेको, बिल/बिजक दिने गरे/नगरेको लगायत विषय पनि हेर्नु थियो। व्यवसाय दर्ता तथा नवीकरण नगरेका व्यवसायीलाई कानुन बमोजिम व्यवसाय दर्ता गर्न अनुरोध गर्नु थियो।
बजार अनुगमन गर्दा गोपनियता आवश्यक हुन्छ। गोपनियता बिनाको बजार अनुगमन जनताको आँखामा छारो हाल्ने तथा कर्मचारीले पनि झारा टार्ने प्रवृत्तिको हुन्थ्यो। हामीले यस कुरालाई गम्भीरतापूर्वक मनन गरेका थियौं।
'बजार अनुगमन गर्न जाँदा हामी कहाँ जाँदै छौं' भन्नेबारे हामीबाहेक अरूलाई थाहा हुँदैन थियो।
दसैंको चौथीको दिन, बिहान करिब ११ बजेतिर हामी खाँडादेवी गाउँपालिकाको पुरानो व्यापारिक केन्द्र वडा नम्बर ५ मा अवस्थित फुल्पा बजारको अनुगमन गर्ने भनेर निस्कियौं। फुल्पा बजार पालिकाबाट करिब आधा घन्टामा पुग्न सकिन्थ्यो। स्थानीय तह निर्माण भएपछि फुल्पा बजार सुक्दै गएको त्यहाँका स्थानीयको अनुभव थियो।
फुल्पा बजार प्रवेश गर्नबित्तिकै एउटा पसलमा छिर्यौं। पसलमा एक जना महिला थिइन्। पसल सानो थियो तर निकै फोहोर थियो। पसल पालिकामा दर्ता गरेको थिएन। दर्ता गर्न हामीले अनुरोध गर्यौं। मूल्यसूची पनि राख्नुपर्छ भन्यौं।
तर उनले राम्रोसँग बुझिनन्। हामीले बुझाउने प्रयास गर्यौं। उनले बुझेजस्तो गरिन्।
पसलभित्र रहेका सामानको म्याद गुज्रिएको छ कि छैन भनेर हामी जाँच गर्न थाल्यौं। पसलमा केही बिस्कुट, केही चाउचाउ, केही पेय पदार्थ थिए- म्याद सकिएका।
बच्चालाई मनपर्ने समानको म्याद गुज्रिँदा, त्यस्तै सामान बच्चाहरूले प्रयोग गर्दा यसले भोलिका भविष्यका रूपमा रहेका बालबालिकालाई असर गर्ने निश्चित थियो। म्याद सकिएका समान हामीले जफत गरी गाडीभित्र राख्यौं।
फुल्पामै रहेको अर्काे किराना पसलमा छिर्यौं। ६०/६५ वर्षकी आमा पसलमा हुनु हुन्थ्यो, निकै मजाको। छोरा स्वास्थ्य क्षेत्रमा कार्यरत भएकाले पनि होला, पसललाई चिटिक्क पार्नुभएको थियो। चन्चली श्रेष्ठ रहेछ उहाँको नाम। पसलभित्र रहेका सामान जाँच गर्दा सहयोग गर्नुभयो।
'छोराबुहारी आउँदा डेट हेर्थे, म त बुढी मान्छे हेर्न जान्दिनँ। नानीहरूले हेरिदिनु न' भन्नुभयो।
छोराबुहारी घरमा आउँदा सामानहरूको म्याद सकिए/नसकिएको हेर्ने भएकाले होला अपवादबाहेक म्याद सकिएको सामान भेटिएन।
चन्चली आमाको पसलसँग अर्काे पसल पनि जोडिएको थियो। तर उक्त पसल बन्द थियो। बजार अनुगमन हुन्छ भन्ने सुइँको पाएपछि शंकास्पद कारोबार गर्ने केही व्यापारीले पसल नै बन्द गरेर हिँड्ने प्रवृत्ति देखिन्छ। त्यस्तो प्रवृत्ति न्यूनीकरण गर्न जरूरी हुन्छ।
पसल पालिकामै काम गर्ने स्वास्थ्य शाखा प्रमुख ओम सरको रहेछ। दुवै जना जागिरे भएकाले बिहान बेलुका मात्र पसल खोल्नु हुँदोरहेछ। बजार अनुगमन गर्दा जातजाति, भाषाभाषी, लिंग, शारीरिक अवस्था, वैचारिक आस्था लगायतका आधारमा कसैलाई पनि विभेद गर्नु हुँदैन भन्ने मान्यता छ। कसैलाई काखा र कसैलाई पाखा गरेर हुने अनुगमनले सकारात्मक प्रभावभन्दा पनि विवाद सिर्जना गर्ने सम्भावना बढी हुन्छ। हामी त्यस कुरामा निकै नै सजग थियौं। सर्वसाधारणको मात्र नभएर पालिकामा काम गर्ने व्यक्तिको पसल पनि हेर्नुपर्छ भनेर ओम सरलाई कार्यालयबाट पसल खोल्न फुल्पा बजारमै बोलायौं।
ओम सरलाई कुर्दै गर्दा फुल्पाको पुरानोमध्येको अर्काे एक किराना पसलमा छिर्यौं। पसलमा बुढी आमै हुनु हुन्थ्यो। सामान भर्खर झार्नुभएको थियो। सामान मिलाएर राख्नै भ्याउनुभएको थिएन। हामीले हामी आउनुको कारणबारे उहाँलाई जानकारी गरायौं। हामी हाम्रो कामतिर लाग्यौं। दालमोठ, बिस्कुट लगायत केही सामानको म्याद गुज्रिसकेको रहेछ। लेखपढ नगरेकी आमाले पत्तै पाउनु भएन। हामीले उहाँलाई जानकारी दियौं।
'थाहा पाइनँ' भन्दै मुस्कुराउनु भयो।
पाँच हजारभन्दा बढीका म्याद सकिएका सामानहरू हाम्रो गाडीमा थिए। आमाको पसलबाट जफत गरिएका म्याद गुज्रिएका सामानलाई विपिन गुरुले गाडीमा राख्दै थिए।
गाडीमा रहेका म्याद सकिएका सामानलाई एक जना अधवैंशे पुरुष चासोका साथ पटकपटक हेरिरहेका थिए।
हामी गाडीमा चढ्दै गर्दा 'यो सामान के गर्ने हो ?' भनेर उनले सोधे।
कानुन बमोजिम म्याद सकिएका सामान मुचुल्का उठाएर नष्ट गर्नुपर्थ्यो। हामीले त्यही कुरा भन्यौं।
'डेट सकिएको सामान मलाई दिनु न, नष्ट गर्नुभन्दा। म खान्छु नि। केही हुँदैन मलाई त, पचाउन सक्छु,' ती अधवैंशे पुरुषले गम्भीर मुद्रामै भने।
उनको कुराले हाँस्नु न रूनु बनायो।
दसैं-तिहारको बीचमा कतिपय व्यवसायीहरू म्याद सकिएका सामान बेच्ने मनसायमा हुन्छन्। स्वास्थ्यमा असर पार्ने त्यस्तो नियतलाई नियन्त्रण गर्न हामी बजार अनुगमनमा थियौं। तर स्थानीय नागरिक त्यस्तै म्याद सकिएका सामानका माग गर्छन्। सित्तैमा पाए, अलकत्रा पनि पचाउने भनाइ याद आइराख्यो।
हामी परनिर्भर बन्दै गएको बजार अनुगमनबाट स्पष्टसँग भयो। गाउँका कुनाकुनामा विभिन्न पेय पदार्थ पुगेका छन्। हाम्रै गाउँघरमा पाइने दूध, दही, महीलाई तिनै म्याद गुज्रिएका पेय पदार्थले विस्थापित गर्दै लगेका छन्।
गाउँघरमा पाइने मकै, भटमास, कोदो, फापर जस्ता पोषिला खाद्य पदार्थको प्रयोग नगरी 'डेट एक्स्पायर' भइसकेका दालमोठ, चाउचाउ, बिस्कुट खान हामी अभ्यस्त भइसकेका छौं।
म्याद सकिएको सामान माग गर्ने व्यक्तिलाई हामीले सम्झाउनु थियो। म्याद गुज्रिएको सामानले के कस्तो असर पार्छ भनेर सम्झाइबुझाइ गर्यौं। स्वास्थ्यमा पार्न सक्ने असरबारे जानकारी दियौं। उनले सायद सबै कुरा बुझे क्यारे, लजाउँदै आफ्नो घरभित्र लुसुक्क छिरे।
हामी भने त्यहाँको सबै काम सकेर उद्देश्य अनुरुप खाँडादेवी गाउँपालिकाको वडा नम्बर ४, माडी मुहानतर्फ हुइँकियौं।