'लाइफ इज ब्युटीफुल' साह्रै मनपर्नेमध्येको एउटा अंग्रेजी फिल्म। जसमा दोश्रो विश्व युद्धमा होमिएको एउटा बाबुले आफ्नो सानो छोरालाई सम्पूर्ण लडाइँका घटना क्रमहरूलाई 'हाइड एन्ड सिक' (लुकामारी) खेलको रूपमा बुझाउँछन्। आफ्नो छोराको मनोबल उच्च राख्दै चुनौतीसँग लड्ने साहस दिन्छन्।
अन्त्यमा, परिवारका सबैको ज्यान जोगिन्छ।
ठीक त्यसरी नै मैले पनि मेरा ससुरा बुबालाई क्यान्सर भएको रिपोर्ट उहाँबाट 'हाइड' गर्ने सोच बनाएँ। उहाँको आत्मबल नगिरोस् भन्ने मात्रै उद्देश्य थियो।
जब बुवालाई फोक्सोको क्यान्सर भएको रिपोर्ट आयो, मैले रिपोर्ट हेरेँ। अलिकति चोर आँखाले बुबालाई हेरेँ। उहाँ लठ्ठीको सहारामा थरथर काँप्दै डाक्टरको क्याबिनबाहिर मेरै प्रतीक्षामा उभिनुभएको थियो।
म बाहिर निस्किएँ चुपचाप। बुबालाई गाडीमा राखेर अस्पतालबाट सिधै घरतर्फ हुइँकिएँ।
बुबा पछाडिको सिटमा बस्नुभएको थियो। मेरा हातहरू स्टेरिङमा दायाँबायाँ नाचिरहेका थिए।
मन डराएको थियो, कसरी बुबालाई क्यान्सर भएको कुरा सुनाउँ? उहाँको कस्तो प्रतिक्रिया हुन्छ होला?
खै किन हो कुन्नि, केही सोध्नु भएन बुबाले आफ्नो रिपोर्टको बारेमा।
चुपचाप घर पुगिएछ, विपश्यनाको साधक जस्तो।
घर पुगेपछि लामो समयको मौनता चिर्दै मैले झुट बोलेँ, 'बुबा, हजुरलाई टिबी रोग भएको रहेछ। राम्रोसँग औषधि खाएपछि सञ्चो हुन्छ भनेका छन् डाक्टरले।'
बुबा केही बोल्नु भएन। मेरो मन चिसो भयो।
असाध्यै पीडा भएपछि एउटी साथीलाई सुनाएँ। उसले बेपर्वाहसँग भनी, 'आ! ७९ उमेर पुगेको मान्छे, त्यसमा पनि ससुरा बुबा, केको पिर?'
सोचेँ- भोग्नेलाई मात्र थाहा हुँदो रहेछ पीडा कति हुन्छ। जब आशीर्वाद दिने ओठहरू कलेटी परेर ओइलाउँछन्!
बुबा मौन हुनुहुन्थ्यो। मलाई बुबालाई गुमरामा राख्नुभन्दा उहाँलाई लागेको रोगका बारेमा राम्रोसँग परामर्श गर्नुपर्छ जस्तो लाग्यो। त्यसैले उहाँको परामर्शदाता बन्ने उद्देश्यले फोक्सोको क्यान्सरसम्बन्धी गुगलमा भएका लेखहरू खोजेर पढेँ।
मलाई जसरी पनि यो रोगको बारेमा धेरैभन्दा धेरै जानकारी हासिल गर्नु थियो र बुबालाई उहाँको शारीरिक अवस्थाका बारेमा बुझाएर आफ्नो मनको बोझ हलुका पार्नु थियो।
यसैबीच निजी अस्पतालको मात्र भरोसा नगरी सरकारी अस्पताल पनि देखाउने सोचेँ। भोलिपल्ट उहाँलाई भक्तपुर क्यान्सर अस्पताल लगियो। अस्पतालको गेटमै ठूला अक्षरले 'भक्तपुर क्यान्सर अस्पताल' लेखेको बोर्ड रहेछ।
बुबाले त्यो देख्न नपरोस् भनेर बिजुलीको बेगमा हुइँकिँदै भित्र छिर्न खोजेँ म। तर मेरोअगाडि अर्को गाडीले बाटो छेकेकाले मेरो प्रयास सफल भएन।
बुबाले अस्पतालको बोर्ड मजाले पढ्नुभयो मेरो मुखमा पुलुक्क हेर्नुभयो। म एउटा अपराधीझैं मनोभावमा उभिएकी थिएँ।
तर ससुरा बुबा त मलाई हेर्दै मुसुक्क मुस्कुराउनु भयो। उहाँको अनुहारमा मैले कल्पना गरेजस्तो बेचैनी, पीडा र डर कहीँ कतै देखिएन। मैले केही बोल्ने हिम्मत गरिनँ।
कहिलेकाहीँ मौनता पनि निकै शक्तिशाली भाषा हुँदो रहेछ।
बेलुकीपख म अलिअलि गुगलका लेखहरू पढेको भरमा आफूलाई क्यान्सर रोग विशेषज्ञजस्तो ठान्दै बुवालाई 'काउन्सिलिङ' गर्छु भन्ने सोचेर उहाँको कोठामा लुसुक्क छिरेँ।
बिस्तारै बोल्न सुरू गरेँ। प्रतिक्रिया भयानक हुन सक्छ भन्ने कुरामा सचेत थिएँ। त्यसैले बिस्तारै बुबालाई देखिएका रोगहरूबारे खोतल्दै गएँ।
तर उल्टै बुबाले मलाई पो 'काउन्सिलिङ' गर्न थाल्नुभयो।
उहाँले त क्यान्सरलाई पूर्ण रूपमा स्वीकार गरिसक्नुभएको रहेछ।
'पिर नगर् बुहारी, भो हुन्दे, भगवानले जति दिन्छन् त्यति पाइन्छ। बरू तिमीहरू कसैलाई दुःख नदिई स्वाट्ट जान पाए हुन्थ्यो।'
मेरो मुटुभित्र कतै तार हल्लियो। कसरी थाहा भयो होला बुवालाई क्यान्सर भएको कुरा?
सोचमग्न भएँ म। अस्पतालमा पनि कुनै गुनासो गर्नु भएन बुबाले। कसरी सहन गर्नुभयो होला मैले टिबी भएको छ भनेर क्यान्सर अस्पताल पुर्याएको कुरा।
मलाई लाग्छ, कति धेरै कथाहरू होलान् बुवाको मनमा- नसुनिएका कथाहरू। नसुनाइएका कथाहरू। संघर्षका कथाहरू। जीतका कथाहरू। हारका कथाहरू।
सधैं व्यस्त रहने बुहारी म, मैले सुन्नलाई समय दिन नसकेर अधुरै रहेका सुनाउन बाँकी कथाहरू...।
जीवनमा ब्यथाहरू, गुनासाहरू सुनाइरहने मान्छेहरूभन्दा पनि कथाहरू सुनाइरहने मान्छेहरू सुनौंसुनौं लाग्ने खालका हुँदा रहेछन्।
त्यसो त कलाको कुरा हो, कसैले ब्यथाहरू पनि कथाका रूपमा प्रस्तुत गर्न जानेका हुन्छन्।
मन उडेर कहाँकहाँ पुगेछ। अतीतको समयमा बगेछु म त।
अहिलेका केटीहरू स्कर्ट लगाएर स्कुल गइरहेका हुन्छन्। ठीक त्यही उमेरमा म बाक्लो बनारसी साडीमा सजिएर, वैशाख महिनाको त्यो उखरमाउलो गर्मीमा, एक हातमा गह्रुँगो कलश, अर्को हातले पसिना पुछ्दै, अलिकति लज्जा बोध, थोरै डर अनि धेरै उत्साह बोकेर सानी दुलहीका रूपमा ससुरा बुबाको घरमा प्रवेश गरेकी थिएँ।
बुबा साह्रै खुसी देखिनु हुन्थ्यो त्यो दिन।
त्यसपछि जीवनभर सधैं कर्मशील र उत्साहित देखेँ मैले उहाँलाई।
म त सानी, त्यो बेलाकी स्कुले बुहारी, सधैं जाँच मात्रै आइरहने मेरो। सधैं पढी मात्रै रहने, किताबी कीरोजस्तो विद्यार्थी थिएँ। महेन्द्र क्याम्पसनजिकै भरतपुर दाङमा बसाइ थियो। त्यति बेलाको अल्प ज्ञान र केटाकेटी बुद्धि कति गल्तीहरू गरियो होला। कहिल्यै कुनै कुरामा गुनासो गर्नु भएन बुबाले।
साइकलमा झोला बाँधेर, तरकारी, फलफूल, कुराउनी, मिठाइ र अलिकति पैसा दिएर बुबा डेरामा आएको दिन दसैं आउँथ्यो मेरो। ससुरा बुबालाई कोहीकोही मान्छेहरू 'बुहारीको झोला बोक्ने भरिया' पनि भन्थे रे।
त्यस बेलाको दाङको समाज र मानिसहरूको सोच अहिलेजस्तो आधुनिक भइसकेको थिएन सायद। तर भन्नेहरूका कुरा सुन्ने फुर्सद कहिले भएन बुबालाई।
जसले जेसुकै भने पनि 'हो हुन्दे, ठीक छ भो' भन्ने बानी थियो। जस्तो खाना पकाएर दिए पनि कहिल्यै गुनासो नहुने। नुन हाल्नै बिर्सेकी रहिछु भने पनि ठीक छ भन्ने। कसैका बारेमा नकारात्मक टीकाटिप्पणी गरेको वा कसैले कसैको कुरा काटेको सुन्नै नचाहने स्वभाव छ उहाँको।
यति लामो जिन्दगीसँगै बिताइयो। कहिल्यै पनि उहाँका मुखबाट मैले कुनै अप्रिय वचन सुन्नुपरेन। सधैं सहयोग, आशीर्वाद र प्रशंसा मात्र पाएँ। कुनै पनि प्रकारका नकारात्मक टिकाटिप्पणी र गुनासाहरूबाट अलग रहनुभयो उहाँ।
न त क्यान्सरसँगै केही गुनासो रह्यो न जीवनसँग!
कुनै पनि घटनाभन्दा पनि महत्वपूर्ण हुँदो रहेछ त्यसप्रति मान्छेले देखाउने प्रतिक्रिया। सात वटा किमो चढाउँदा पनि आफ्नो दिनचर्या सहज बनाउन सक्दो कोशिस छोड्नु भएन। अब थप किमो चढाउन नमिल्ने बताएका छन् डाक्टरले।
जीवन दर्शनबारे धेरै ठूलो ज्ञान नभए पनि उहाँले आफ्नो कामलाई नै जीवनको आदर्श बनाउनुभयो।
हामी कसैसँग केही गुनासो नगरी सामान्य रूपमा आफ्नै जिन्दगीमा हरेक दिन थप्न बुबाले गरेको कोशिस, सबैप्रति उहाँले देखाएको प्रेमभाव, सकेसम्म सबैलाई सोधपुछ गर्ने, सहयोग गर्ने, अरूले गरून्/नगरून्, सबैलाई आफैंले फोन गर्ने बानी र अत्यन्त सकारात्मक सोच प्रेरणादायी छन्।
त्यो एउटा नम्बर बेलाबेलामा थिचिरहन्छु। खै कताकता डर लागिरहन्छ मनमा। कुनै दिन यस्तो पो आउने हो कि जुन दिन नम्बर उही हुनेछ तर आवाज अरू कसैको!
जीवनको याे कस्तो मोडमा आइपुगेछु म? उपहार दिने हातहरूभन्दा पनि आशीर्वाद दिने ओठहरू प्यारा लाग्छन् अचेल।
रजनीश ओशो भन्छन्, 'डेथ शुड बी अ पिसफुल एसेप्टेन्स।'
तर म चाहन्छु, ससुरा बुबाको 'एसेप्टेन्स टु क्यान्सर एन्ड एभ्रिथिङ' नै 'पिसफुल लाइफ' को आधार बनिरहोस्।
तीन वर्ष बिते। यो वर्ष कतै अन्तिम हुने त होइन भन्दै सशंकित हुँदै ससुरा बुबासँग दसैंको टीका, जमरा र पोल्टाभरी आशीर्वाद थापेको।
कलेटी नपरून् मलाई सधैं आशीर्वाद मात्र दिइरहने ती ओठहरू!
ओझेल नपरून् पटकपटक फोन गर्दै मेरो बाटो हेरिरहने ती आँखाहरू!