यात्रा अनुसारको अनुभवहरू फरकफरक हुन्छन्। अनुभवहरू स्वाभाविक हुन्छन् अथवा अस्वाभाविक हुन्छन्। यात्राको सुरूआतदेखि अन्त्यसम्मको हरेक पानाले एउटा नयाँ अनुभव गराउँछ।
हुन त जीवन नै एउटा अनिश्चित यात्रा हो।
हामीले यसलाई पार गर्न सानासाना टुक्रामा अनुभव गरेको मात्र हो।
हरेक यात्राको एउटा निश्चित उद्देश्य हुन्छ। कहिलेकाहीँ लाग्छ- मानिसले उद्देश्यबिहीन यात्रा गरिरहेको छ। तर त्यो साँचो होइन। उद्देश्यबिहीन यात्राको पनि उद्देश्य हुन्छ। त्यो चाहे निर्धारित होस् वा अनिर्धारित।
मानिसहरूले मुख्यतया पर्व अथवा सार्वजनिक बिदाको समयलाई आफ्नो यात्राको तालिका बनाएका हुन्छन्।
नेपालको सन्दर्भमा दसैंतिहारको समयमा धेरै मानिसहरू एक्लै वा सामूहिक भ्रमणमा जान्छन्। पछिल्ला केही वर्षदेखि नेपालीहरू आन्तरिक र बाह्य पर्यटकका रूपमा विभिन्न स्थान र देशहरूमा जाने चलन बाक्लो भएको छ।
दसैंतिहार नेपालीहरूको, अझ हिन्दु नेपालीहरूको महत्वपूर्ण पर्व हो। विदेशिएकाहरू घर फर्कने समय हो। सहरियाहरू गाउँ फर्किने वर्ष हो। घुमन्तेहरूका लागि पनि पर्वै हो। कर्मचारीहरूका लागि बिदाको पर्व हो। दसैं भत्ता र सत्ताहरूको पर्व पनि हो।
अर्थात् सबै नेपालीहरू कतै न कतै यात्रा गर्ने समय हो दसैंतिहार।
यस वर्षको दसैं अलि चाँडो सुरूआत भयो। असोज १० गते अर्थात् अंग्रेजी पात्रो अनुसार सेप्टेम्बर २६ बाट नै।
असोज १० गते घटस्थापना थियो। दसैंका लागि यात्रा गर्न सबै जना तयारी गरिरहेका थिए होलान्। मैले पनि घटस्थापनाको भोलिपल्ट वा भनौ दसैंको दोस्रो दिनमा बिहानै यात्राको तयारी गरेँ।
मेरो यात्रा दसैं बिदा मनाउने भन्दा अलि फरक थियो। मेरो अध्ययनका लागि म चीनको राजधानी बेइजिङ जाँदै थिए। मेरो अध्ययनको अन्तिम वर्ष भएकाले मलाई मेरो विश्वविद्यालय पुग्नु थियो। पढाइ सुरूआत भएको पहिलो वर्षदेखि नै कोरोनाको महामारीका कारण रोकिएको मेरो विश्वविद्यालयको यात्रा बल्लबल्ल खुलेको थियो।
मैले मेरो शोधपत्रको तयारी र प्रध्यापकको सहयोगका लागि पनि मलाई जति सक्यो छिटो विश्वविद्यालय पुग्नु थियो।
घरमा भित्रिसकेको दसैंभन्दा मलाई मेरो अध्ययन प्यारो थियो। एक दिन भए पनि दसैं घरमा मनाइयो। असोज ११ गते बिहानै ६:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर लागेँ। करिब ७ बजे विमानस्थलको अध्यागमन कक्षमा प्रवेश गरेँ। त्यहाँ पहिले नै ३०-४० जना मानिसहरू जहाजको बोर्डिङका लागि लाइनमा बसेका थिए।
हिमालयन एयरलाइन्सका दुईवटा मात्र काउन्टर खुला थिए। म लाइनमा बस्नेबितिक्कै अर्को काउन्टर पनि खुल्यो। काउन्टर खुल्नेबित्तिकै हामी पछाडि भएकाहरूलाई अर्को लाइनमा जान भनियो। नयाँ काउन्टरको लाइनमा म दोस्रो नम्बरमा परेँ।
विमानस्थल पुगेको ५ मिनेटभित्र नै मेरो बोर्डिङको काम सकियो। अध्यागमनमा पनि खाली रहेछ। त्यहाँ पनि एकैछिनमा काम सकियो। सुरक्षा जाँच सकियो। यात्रु प्रतीक्षालयमा बसेर केही साथीहरू र केही आफन्तीहरूलाई फोन गरेर दसैंको शुभकामना दिएँ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रायः सधैं भरिभराउ नै हुन्छ। नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल भएकाले होला, यहाँ विदेशबाट आउने र जानेहरू उत्तिकै हुन्छन्। हाल भैरहवा र पोखरा विमानस्थल पनि अन्तर्राष्ट्रिय उडान गरिरहेका र गर्ने क्रममा छन्। तर त्यसले यो विमानस्थलको बाटो कम गरेको छैन।
अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी लबी मलाई मन पर्दैन। त्यो पनि वैदेशिक रोजगारीमा जानेहरूको लाइन भएको आगमन कक्ष विशेषगरी मन पर्दैन। त्यहाँको चित्कार र पीडा सायदै कसैलाई मनपर्ला। सरकार र सरकारका पदाधिकारीहरूलाई मनपर्ला कि!
झन्डै ३२ महिनापछि खुलेको चीन र नेपालको हवाइमार्गमा सीमित यात्रु थिए। म पनि करिब ३३ महिना पछि मात्र चीन फर्किँदै थिए। ३ घन्टाको उडानपछि मित्र राष्ट्र चीनको एक ऐतिहासिक प्रान्त युनानको राजधानी कुनमिङमा हामी पुग्यौं।
जहाज अवतरण भएको १ घन्टासम्म हामीलाई जहाजभित्रै राखियो। अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र महामारी प्रतिरोध कार्यका लागि त्यहाँका अधिकारीहरू अति संवेदनशील थिए। हामीले प्रान्तको नियम र केन्द्रीय सरकारको नियमानुसार ७ दिनको अनिवार्य र ३ दिनको समुदायको स्वीकृतिले घरमै केन्द्रित गर्नुपर्ने थियो। सोही बमोजिम प्रान्तीय सरकारले निर्माण गरेको केन्द्रिकृत स्थानमा लगियो।
कुनमिङ अन्तर्राष्ट्रिय विमानस्थलदेखि करिब १५६ किलोमिटर टाढा रहेको युआनमोरेन वर्ल्ड पार्क लिजर सेन्टर सन् २०१३ देखि निर्माण भएर सञ्चालनमा आएको रहेछ। प्राचीन महत्व बोकेको यो स्थान साँच्चै रमाइलो र सुन्दर छ। पूरै पहाडलाई नै एउटा पार्कको रूपमा विकास गर्न लागिएको यो स्थान अझै पूर्ण भने भइसकेको छैन। प्राचीन गुफा, सिसाको तरणी, प्राकृतिक उपचार प्रणाली, सुविधा सम्पन्न होटल तथा भोजनालयदेखि विविध खेलहरूको समेत सुविधा छ।
यो सुविधासम्पन्न रिसोर्ट भनौं या पार्कमा बस्न पाउनु नि गज्जबकै अनुभव हुन्थ्यो। मलाई छुट्टाइएको होटलको कोठामा दुइटा पलङ थियो। दुइटा सोफा, सानो एउटा फ्रिज, एसी, लुगा धुने मेसिन, कुर्सी, टेलिफोन, ५५ इन्चको ठूलो टिभी र एउटा दराज लगायतका सबै सुविधा थिए।
कोठाभित्र छिर्नेबित्तिकै सबभन्दा पहिले बार्दलीबाट बाहिरको वातावरण नियालेँ। झ्यालको पर्दाबाट हेर्नेबित्तिकै ठीक तल रेल-वे स्टेसन र बत्तीहरूले सजिएको सुन्दर बाटो अनि खोलापारिको सुन्दर गगनचुम्बी भवनहरूको बाक्लो बस्ती देखिन्थ्यो।
हरेक बिहानको सूर्योदय र बेलुकाको सुन्दर बत्तोदयको तस्बिरले मेरो मन आनन्दित हुन्थ्यो। मेरो दिनको सुरूआत र अन्त्य यसै बार्दलीको हेराइबाट हुन्थ्यो।
होटलको कोठामा मानिसलाई दैनिक जीवनमा चाहिने सबै कुरा थिए। कति सुविधा प्रयोग गर्न पाइन्थ्यो, कति पाइन्नथ्यो, त्यो फरक हो।
मानव जाति यति अहंकारी र आत्ममुखी हुन्छ, त्यो स्वभावबाट म पनि कहाँ भाग्न सक्थेँ र!
दस दिनसम्म कोठाबाट बाहिर निस्कन मनाही थियो। दैनिक स्वास्थ्यकर्मीहरू आएर पिसिआर र शरीरको तापक्रम नापेर जान्थे। सबै मैले भनेकै नहोला तर सम्भव भएसम्मको खाना मेरो चाहनाअनुसारको थियो। सबै कुराहरू एउटा सूचना पठाएको भरमा उनीहरूले आफ्नो समयतालिका अनुसार कोठामै ल्याइदिन्थे।
तर मलाई यो सुविधा पाच्य थिएन। म मानिस हुँ। मलाई स्वतन्त्रता चाहिन्छ। मेरै इच्छाले सायद म महिनौं एक्लै कोठामा बस्न सक्छु। तर अरूको निर्देशनअनुसार, अहँ, म सक्दिनँ।
चीन सरकारले आफ्नो जनताहरूको सुरक्षाका लागि अति संवेदनशील भएर काम गरेको छ। यति ठूलो संरचना एउटा सूचनाको भरमा सबै कार्यगत हुन्छन्। उनीहरूको आफ्नै परिवेश छ। उनीहरूले विछट्टैको विकास र समृद्धि हासिल गरेका छन्। ठूलाठूला पहाड छेडेर पूर्वाधारको निर्माण गरेका छन्।
देशको आर्थिक विकासले विश्वलाई चकित बनाएको छ। सन् २०२२ सम्ममा पुग्दा अमेरिकाको अर्थतन्त्रको करिब ८० प्रतिशत पुग्नेछ। हाल उनीहरूको जीवनस्तर माथि उठेको छ। प्रतिव्यक्ति आम्दानी १२ हजार अमेरिकी डलरभन्दा बढी पुगेको छ। कुल अर्थतन्त्र १८ ट्रिलियन पुग्दैछ। सामान्य रूपमा हेर्दा चीन साँच्चै अद्भूत विकासको नमूना भएको छ।
म हरेक दिन प्रायः चीनको विकास र समृद्धिको एउटा डकुमेन्ट्री हेर्थे। प्रत्येक नदीहरूको कथा, सभ्यताको कथा र सन् १९८१ पछिको चीनको आर्थिक रूपान्तरण र विकासको कथा हेर्थेँ। गरिबी निवारणको प्रयास, नीलो विश्व, भू-उपग्रह र आर्टिफिसियल इन्टेलिजेन्समा चीनले प्राप्त गरेको सफलतालाई गहिरो गरी सोच्थेँ।
हाम्रो देशको विकास र समृद्धिको कल्पना गर्थेँ। हाम्रा पहाडहरूको उपयोगको बारेमा सोच्थेँ। पानी र जंगलको उपयोगको कल्पना गर्थेँ। अनि सम्झिन्थेँ- निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल, काठमाडौं सहरको अनुहार अनि हाम्रो सरकारको कार्यशैली र स्वैच्छाचारिता।
मेरो कोठाको बार्दलीबाट पहाडको क्षितिजमा डाँडैभरि हावाका पंखाहरू घुमिरहेका देखिन्थे। मेरा आँखाले भ्याएसम्मका क्षितिजमा ती पंखाहरू थिए। अनि मैले कतै सुनेको मनाङ र मुस्ताङको कथा सम्झिन्थेँ।
प्रत्येक दिन बिहान मलाई प्रायः रेलको ध्वनिले ब्युँझाउँथ्यो। रेल-वे स्टेसनको ठीक २०० मिटरअगाडि ठूलो पहाडलाई प्वाल बनाएर बाटो निस्किन्थ्यो। उठ्नेबित्तिकै बार्दलीमा जान्थेँ र हेर्थेँ। मेरा आँखाअगाडि दैनिक दर्जनौं पटक त्यो प्वालबाट रेलका डिब्बाहरू निस्किन्थे र छिर्थे। अनि म सम्झिन्थेँ- नागढुंगा सिस्ने सुरुङको अवस्था।
यो सुन्दर पार्कमा दस दिन बिताइयो। यस पार्कमा भएका कयौं सुन्दर र मनमोहक सुविधाहरूको उपयोग गर्न पाइएन। एउटा कुनै कुनामा थियो 'You are here for quarantine, not for holiday' अर्थात् तिमी यहाँ क्वारेन्टाइनका लागि आएका हौ, बिदा मनाउन होइन।
यो वाक्यांश नै काफी थियो हाम्रो यहाँको बसाइ। पार्कमा पानीसँग खेल्ने, प्राकृतिक प्रकारको कृत्रिम गुफामा रमाउने, खुला आकाशमा रमाउने अवस्था भएन। तर यहाँको बसाइ जीवनको एउटा अतुलनीय क्षण हुनेछ।
यो दस दिनको बसाइले नेपालको विकास र समृद्धिको अभ्यासलाई गहिरो गरी सोच्ने अवसर पनि मिल्यो। मैले गरेको मेरो देशको विकासको कल्पना सायद कुनै दिन पूरा हुनेछ!