खै कहाँबाट सुरू गरौँ, कसरी सुरू गरौँ अनि के भन्दै बिट मारौँ? आफ्नै मान्छेको बारेमा सचित्र उतार गर्ने काम गाह्रो मात्रै होइन रहेछ, साँच्चीकै भिमकाय नै हुँदोरहेछ। असल मान्छे विपत्तिमा चिनिन्छ भन्छन्। हो त्यही बिपत्ति, संकट र संघर्षको बेलामा चिनेको सारथी हौ तिमी।
साइनोले श्रीमान भए पनि तिमी एक हिसाबले असल अभिभावक थियौ र म बाँचुन्जेल अभिभावकको हिस्सामा दर्ज भइरहने छौ। आज यहाँ बसेर त्यो बेला सम्झन्छु जब हामी दुवैजना केटौली पाराका थियौँ। आफू आलोकाँचो भए पनि ठूलो जिम्मेवारी निभाउने दायित्वबोध मेरो अनि तिम्रो काँधमा थुप्रिएको थियो।
बिहे किन गरिन्छ? बिहे कति उमेरमा गर्नुपर्छ? थाहा नपाउने उमेरमै श्रीमती, बुहारी, नन्द, भाउजू, काकी, माइजू अनेकन पहिचानले म विभुषित भइसकेकी थिएँ। अपरिपक्व उमेरमै तिमी पनि दिदी, बहिनी, बुबा आमा, श्रीमतीको दायित्व एक्लै बोक्ने अवस्थामा पुगिसकेको थियौ।
समाज पुरुषप्रधान अहिले पनि छ, अझ दुई दशक अगाडिको समाजको कसरी तर्कना गरौँ? छोरीले खासै पढ्ने अवसर नपाएको तत्कालीन परिवेशमा बुहारी बनेर भित्रिएकी मलाई मेरो मनभित्र पढाइका ज्वारभाटाहरू अंकुराउन समेत छुट थिएन। त्यस्तो अवस्थामा पनि तिमी सतिसाल बनेर मेरो पक्षमा उभियौँ।
हुन त तिम्रो मनमा के कस्ता पीडा प्रस्फुटित भएका थिए? समाजले के भन्छ ? घरपरिवारले के भन्छ? आफन्तले के भन्छन्? सबैलाई स्पष्टीकरण दिने गहन दायित्व बोध गरेरै तिमीले मेरो लागि श्रीमती पढाउँछु भन्ने हुर्मत लियौँ। तिमी यस अर्थमा बुवाभन्दा पनि महान् हौ। किन महान हौ थाहा छ? बुवाले कन्यादानको भारी बिसाए मलाई अन्माएर तर तिमीले बुवाले बिसाएको भारीलाई थाती राखेनौ। तिमी केही गर्न सक्छौ, गर अनि गर्नुपर्छ भन्ने ढाडस दिइरह्यौ।
तिमीलाई कुन अर्थले धन्यवाद भनौँ? मसँग कुनै शब्द छैन। अहिलेको जस्तो छत्तौरे प्रेम, विवाह अनि जिम्मेवारी हुँदो हो त आवेगमा कुनै गलत निर्णय पनि गरिन्थ्यो होला तर आफ्नो इज्जत, संस्कार र जिम्मेवारीमा अडिग भयौँ। हाम्रो यात्रा केटौली पाराबाट परिपक्व हुँदैछ। अहिले त हेर्दाहेर्दै २० वर्षको लक्काजवान भइसक्यो हाम्रो यात्रा। यदि यो यात्रामा तिम्रो उत्साहपूर्वक साथ नपाएको भए मेरा धेरै साथीजस्तै म पनि गाउँमै कुटो कोदालो गरेकी हुन्थेँ, मेलापात, घरधन्दामै जीवन बिताएकी हुन्थेँ।
जे होस् आज यो दिन साँच्चीकै आजभन्दा २० वर्ष अगाडिको त्यो दिनलाई स्मरण गराइदिने विशेष दिनलाई यसरी शब्दमा कैद गर्ने चेष्टा गर्दैछु। मेरो यो लेख अरू कसैलाई पनि प्रेरणा बनोस् र जीवनमा केही गर्ने अठोट आइरहोस् भन्दै मेरो हर सफलतामा साँच्चै नै बधाई र धन्यवादको पात्र प्रमुख त तिमी नै हौ। म मेरो प्रयासले मात्रै होइन, तिम्रो विश्वास र हौसलाले आज यहाँ छु।
त्यसैले त म भन्छु रून नदिनु मात्रै प्रेम कहाँ हो र? रूँदा आँसु पुछिदिँदै 'म छु नि, कमजोर नबन' भन्दिनु पनि निःस्वार्थ माया हो।
यो जुनी त पाएँ पाएँ, यदि अर्को जन्म छ भने पनि फेरि पनि तिम्रै अर्धाङ्गिनी भएर यो धर्तीमा उदाउन पाउँ। मेरो सारा खुसी सुम्पिएर तिम्रो घर उज्यालो बनाउने वाचासहित तिम्रो घरको मझेरी टेकेको आजैको दिनदेखि २० वर्ष लाग्दैछ। तर यो २० वर्ष मलाई खासै लामो लागेन तिम्रो अदम्य साहस र हौसलाको अगाडि।
हुन त जीवनको गोरेटोमा अवरोधहरू नआएका होइनन्। उमेर परिपक्व नहुँदैको बिहे, त्यति बेलाको परिवेश, छोरी बुहारीले खासै पढ्नै हुँदैन भन्ने संस्कारलाई निचोर्दै आज छुट्टै पहिचान बनाइदिएकोमा हजुरलाई धेरै धेरै धन्यवाद मेरो प्रियतम। सायद मन सिउन र दुःख पिउन जानेर नै होला विवाह पछिको जीवनको संघर्षका दिनहरू पनि कति रमाइला भए, ती दुःखका पलहरू पनि कति सहज लागे।
जीवनका हरेक गल्छेडाहरू अनि रमणीय र रोचक सिकाइ पनि सम्झिन्छु। स्टोभको मट्टितेल बचाउनलाई एउटै कुकरभित्र गिलासमा दाल र कुकरमा चामल हालेर पकाउन त्यतिबेला देखिनै सिकेँ। भुटन नै नराखेर तरकारी पकाउँदा पनि कराईको आवाज च्वाँइय आउँदो रहेछ भन्ने कुरा पनि अर्को सिकाइ भयो। अनि हजुरकै थोत्रो साइकलको पछाडि बसेर साँझपख स्वयंभू, कालिमाटी, टंकेश्वरको पुलमा लहरै राखिएका तरकारी (जुन दश रुपैयाँ भागमा छानी छानी पाइन्थ्यो) का स्वाद चाख्न पाएँ।
काठमाडौंको भृकुटीमण्डप (हङकङ बजार) जसलाई सपिङ मल नै बनाएँ। मलाई अहिले पनि के भ्रम छ भनेँ ठूला-ठूला होटल र भाटभटेनीजस्ता सपिङ मलहरू मेरो हैसियतका होइनन्, यिनीहरूलाई हेर्न मात्र मजा लाग्छ किन्न सकिँदैन भन्ने।
त्यसैले म भन्छु जीवन साँच्चै खुसी बनाउन चाहनुहुन्छ भनेँ धेरै सफल र धनी मान्छे कहिले पनि नरोज्नुहोस्। त्यस्ताले सुख त देलान् तर जीवनमा कहिले पनि तपाईं खुसी र आत्मसम्मानसहित बाँच्न सक्नुहुन्छ भन्ने हुँदैन। साथी यस्तो रोज्नुहोस् जो जीवनसाथी मात्रै होइन, जीवनभरको साथी बनोस्। एक असल जीवन साथीले नै हो तपाईंको जीवनलाई गतिशीलता दिने, चलायमान बनाइदिने। भोक र अभावमा बाँच्न सकिन्छ तर हेपाई र दबाबमा बाँच्न एकदमै मुस्किल हुन्छ।
यदि हजुरको सफलतामा भित्रैदेखि खुसी भैदिने आत्मीय साथी छैन भने त्यो सफलताको के अर्थ? हुन त म पनि उति धेरै पूरानो मान्छे होइन तर पनि आजकालका सम्बन्धहरू नजिकबाट नियाल्छु। ती सम्बन्धहरूमा खासै रसिलोपन पाउँदिनँ। कस्तो स्वार्थ प्रेरित सम्बन्धहरू लाग्छन्। अहिलेका यी सम्बन्धहरू कति कच्चा छन्, मैले माया गरेको बदलामा तैँले मेरा माग इच्छा चाहना सबै पूरा गरिदिनु पर्दछ भन्दै औकात र हैसियत हेरेर सम्बन्ध जोड्छन्।
भनेजस्तो सप्राइज, गिफ्ट र महत्वकांक्षा पूरा भएन भने कि त सम्बन्ध नै तोड्छन कि ज्यान नै फाल्दिन्छन्। यस्तो संस्कार सिकेर वा देखावटीपनमा रमाएर गाँसेको सम्बन्धमा समझौता प्रायः शून्य नै हुन्छ। स्वतन्त्रता पाएँ भन्दैमा अति स्वतन्त्र बन्न खोज्नु पनि त आत्मघात नै हो नि, होइन र? वाक स्वतन्त्रता छ, भरपूर अधिकारका हकदार छौँ तर त्यसको सदुपयोग गर्नबाट हामी सचेत भनिएका वर्गहरू नै चुकिरहेका छौँ।
अधिकार र अवसर पाउँदा आफ्नो दायित्व र कर्तव्य पनि कहिल्यै नबिर्सौं। जीवनलाई हरेक कोणबाट सुन्दर र हराभरा बनाउने एक प्रमुख र महत्वपूर्ण पाटो आफ्नो परिवार पनि हो। व्यस्त जीवन तनाव र थकानका बीच दुःख र सुख साट्ने पारिवारिक माहोल हुनु पनि आधा रोग कम हुनु हो।
अहिले आफ्नै जीवनलाई फर्केर हेर्दा लाग्छ धन दौलतको सुख नभए पनि करोडौँ खर्च गरेर पनि नपाउने खुसी र आत्मसम्मान दिनेँ जीवन साथी उपहार पाउने कमै मात्र भाग्यमानीहरू मध्येकी म पनि एक हुँ। मेरो संसार उज्यालो बनाइदिन सहयोगी गर्ने संसारका सुन्दर चिजहरू फूल र जूनजस्तै मेरा दुई सन्तान बोनसको रुपमामा पाएको म उनीहरूकै लाभांशको रुपमा चलिरहेकी छु। जीवन साँच्चीकै सुन्दर लाग्छ आफैलाई। अन्त्यमा फेरि पनि अन्तरमनदेखि भन्दैछु, धन्यवाद डियर जिन्दगी!
(लेखक आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेश, बुटवलको कानुन अधिकृत हुन्।)