२०७८ साल, चैत्र १६ गतेको सेपिलो साँझ। काका हजुरबुवाको लास पशुपति आर्यघाटमा तेर्सिएको थियो। हजुरबाभन्दा अगाडि दुई अरु लास ब्रह्मनालमा सुत्ने पालो कुरिरहेका थिए।
करिब साढे ५ बजेको थियो। सिमसिमे झरीले लासहरू ढाडिएको थियो। म, मेरो बुवा, काकाहजुरबाका दुई छोरा (मेरा ठूलोबा र काका) मात्र थियौँ हामी पुरुष भन्नलाई अनि साथमा ठूलीआमा, दुई फुपू र हजुरबालाई स्याहारसुसार गर्ने नर्स हुनुहुन्थ्यो।
माथि घाटे वैद्यकाबाट तल घाटसम्म लास झार्न हामीलाई हम्मे हम्मे पर्यो। म सानो कदको थोरै बल भएको ठिटो। मेरो बा, ठूलोबा, काका तीन जनै बल सुकिसकेका ६० नाघेका, रोगी भनेर पदक ग्रहण गरिसकेका।
करिब दुई घण्टाको प्रतीक्षापछि काका हजुरबुवाको लास ब्रह्मनालमा लाने बेला आयो। अब फेरि ठूलो हिम्मत गर्नु थियो। संघर्षमा होमिनु थियो, समाजले बनाएको छोरो हुनुथियो। दुई घण्टा बीचमा आफन्तलाई सम्पर्क गर्ने क्रम चलिरह्यो।
फोनमा ठूलीआमा र दुई फुपू के, कसरी, कतिखेर, कहाँ र कहिले, कता यी यावत प्रश्रको अलमलबाट जुध्दै हुनुहुन्थ्यो। हामी एकले अर्कोलाई हेर्दै, सेपिलो साँझको आकाश नियाल्दै क्रियाकर्मको मेसो मिलाउन तिर लाग्दै थियौँ।
विस्तारै केही आफन्तका अनुहार देखा पर्न थाल्यो। हाम्रा इस्टमित्र, आफन्त भन्नेहरू ठूलै संख्यामा हुनुहुन्छ। धेरै काठमाडौँ मै बसोबास गर्ने हुनुहुन्छ। बेलाबेला सुखदुःखको समयमा उहाँहरूलाई भेट भइरहन्छ।
पानीले ढाडिएर होला लास भारी महसुस भयो। ओराल्न त सजिलै हुन्थ्यो तर बासका ४ कुनामा म, मेरो बा, ठूलोबा र काका हुँदा पनि हामीलाई काका हजुरबाले जित्नु भएको थियो। ९४ वर्षसम्म हिँड्दै गरेका काका हजुरबाको तागतका अगाडि हामी छोरानातीको केही लागेन। झरीले चिप्लो पारेको ब्रह्मनालको खुड्किलोमा अडिनु हाम्रा लागि सानो चुनौती थिएन।
मेरो बा, ठूलोबा, काका पनि बुढो हुनुभएछ भन्ने महसुस मैले त्यहीबेला गरेँ। भोको पेट, अतासिएको मन, उराठ परिवेश, तागत बिनाको शरीरले लास ब्रह्मनालसम्म कसरी पुर्यायौं पत्तै भएन।
आफन्तहरू आउने क्रम चलिरहेको थियो। लासलाई जल खुवाउने, लुगा फुकालिदिने काम गरिँदै थियो। त्यो परिवेशले एउटा बलियो पाखुरे मान्छे खोजेको थियो, म नियाल्दै थिएँ। स्तब्ध त्यो समयमा मान्छे किटेर बोलाउन सक्ने हिम्मत कसैले गरेन। दुई जना दाइहरू आइपुग्नु भयो।
नाताले १३ दिने दाजुभाइको संज्ञा दिने गरिन्छ उहाँहरूलाई। आएका आफन्तजन सबै मेरा ठूलोबा, बाका उमेरको र कोही अझै उमेर नाघेका हुन्हुन्थ्यो। तरुनो र ठिटोमा म एक्लो थिएँ। दुई दाजुको आगमनपछि मेरो बुवा माथि उक्लनु भयो। तागत सकिएर होला बुवा ओत लाग्नु भएको। चार हात थपिए पनि हजुरबा पानीको सहारा लिएर हाम्रो तागतलाई जित्दै हुनुहुन्थ्यो।
विधि सकिएपछि लास माथि उकाल्न पर्ने भयो। मैले बाँसको खट मिलाएँ। दाइले खट एक खुड्किलो तल झार, लास राख्न सजिलो हुन्छ भन्नुभयो। मैले खट तल झारेँ। लास समय नाघ्दै गएपछि लास भारी हुन्छ भन्ने सुनेको थिएँ, म त्यो अनुभव गर्दै थिएँ।
आफन्त र नाताको अर्को संख्या हजुरबाको दिदीबहिनी खलक आउने क्रम चल्यो। बुढा भानिजहरूको सहारा बनेर पाखुरे २/३ भान्जाहरू आएका थिए। पढेका, लेखेका सम्पन्न भएकाहरू मध्ये पर्ने समूह थियो त्यो।
म गलिसकेको थिएँ, थाकेको थिएँ। मेरो आँखाले सम्बन्ध र नाता देख्न छाडेको थियो। त्यो लासलाई एउटा मानवको खाँचो थियो, मानवताको खाँचो थियो। बाँसको खटमा लास राखेपछि हामीलाई १ नम्बर घाटमा जानु थियो। म खटको एउटा कुनामा थिएँ। अरुहरू अर्को कुनातिर थिए, एकजना दाजु बीचमा थिए।
दाइले 'उचाल, छिटो उचाल' भनेर आवाज दिएको प्रस्ट सुनिन्थ्यो। ठूलोबा, काका, दाइ आ-आफ्नो काँध भारी बनाउन तयार हुनुहुन्थ्यो। मलाई धेरै गाह्रो भयो। मेरा आँखा र शरीरले त्यो भार उठाइदिने सहारा खोजेको थियो। मेरो इसाराले मलाई गाह्रो भएको महसुस अरुले गरेका थिए।
मैले येसो पछाडि फर्केर हेरेँ। एक जना भान्दाइका पाखुरे छोरा मेरा पछाडि थिए। मैले सहाराको हेराइ हेर्दा उनले मेरो आँखाको अनुरोध हेरे। तर उनी फनक्क पछाडि फर्किए र मनमनै सक्दिनँ भन्ने उत्तरले २/४ कदम अगाडि बढे। वरपर का सबैले २/४ पाइला पछाडि सारे। म स्तब्ध भएँ, आश्चार्यमा परेँ। सायद मैले मानवताभन्दा माथिको अफन्तवादको परिभाषा पाएको थिएँ।
मैले जसोतसो गरेर लास जमिनबाट उठाएँ। बीचमा हुनु भएको दाइले मेरो पीडा महसुस गर्नु भएछ र मेरो ठाउँमा आएर, 'ल छोड त, अगाडि लाभा छरेर हिँड' भन्नुभयो।
मैले त्यहीअनुसार गरेँ। मैले त्यसपछि कोही आफन्तको अनुहार नियालिनँ, को आए को गए मलाई पत्तो भएन। त्यो घटनाले मलाई झन् एकोहोरो बनायो। आफन्तको नाता र त्यसको महत्व के हो भन्ने प्रश्नको उत्तर खोजी गर्न झन् उत्साहित गरायो।
आफन्त कसलाई भन्ने? के नाताले आफन्त भइन्छ? कस्तो सम्बन्ध र त्यागले आफन्त पाइन्छ? के खुसीमा मात्र आफन्त चाहिने हो? दुःखमा आफन्तले कस्तो भूमिका खेल्नुपर्छ वा आफन्त भनेका दसैँको टीका थाप्नलाई मात्र आवश्यक हो?
कुरा गर्न, रमाउन, बोलाएर खुवाउन, काम अराउने, पर्व मनाउना मात्र आफन्त चाहिने हो कि?
म आफन्तको परिभाषा खोज्दै छु। बिरामी हुँदा सान्त्वना दिने आफन्त हुन् कि बिरामी हुँदा फलफूलका पोको बोकेर आउने आफन्त हुन्? पर्वमा टीका लगाएर दक्षिणा दिने आफन्त हुन् कि पाएको दक्षिणा धेरैथोरै भयो भन्ने आफन्त हुन्? मुखले लोक गाउने आफन्त हुन् कि आवश्यक पर्दा पाइला पछाडि सार्ने आफन्त हुन्?
मैले सोचेँ- आफन्तको साटो अघिको घटनामा यदि मैले बटुवालाई सहयोग मागेको भए सायद पाउँथेँ कि!
पछि मैले सो घटनाको उत्तर ठूलोबा, काका हाम्रो परिवारमा खोजेँ। उहाँहरूले सजिलै उत्तर दिनुभयो- 'सायद भानिजका परिवार भएर मामाको लास नछोएका होलान्।'
ओहो! म झन् आश्चर्यमा परेँ। यो कस्तो नियम? यो त मानवताभन्दा माथिको नियम रहेछ। भान्जाभान्जीको पाउ नढोगी धर्म कमाइँदैन भन्ने मामाहरूका लागि त्यो निकै गहिरो उत्तर थियो। चेलीबेटीका परिवारलाई टन्न खुवाएर स्वर्गमा बास पाइन्छ भन्ने विश्वासको उत्तर मेरो हजुरबाले पाएका हुन् त?
हाम्रो रीतिरिवाज, चालचलनले आफन्तहरूलाई चाहिनेभन्दा बढी प्राथमिकता दिएको हो कि? के स्तब्ध उत्तर पाउनकै लागि आफन्त चाहिने हो? कि हाम्रो रीतिले आफन्तको भूमिका नछुटाइदिएको हो? कि मेरा मात्र आफन्त यस्ता हुन्? यी अनेक प्रश्न मेरो मानसपटलमा छन्।
म अन्योलमा छु, अब म मानव बनौँ कि आफन्त बनौँ? अब के कुरालाई प्राथमिकतामा राखुँ, आफन्तवाद कि मानवतावाद?