बै (हजुरआमा) म जन्मेकै वर्ष बित्नु भयो। हजुरआमाको नाम कतै औपचारिक काममा पनि नचाहिने हुँदा उहाँको नाम बाह्र पास गरुन्जेल थाहा थिएन मलाई। हजुरआमा बारे सुनेका कुरा बाहेक उहाँबारे अरु कुरा केही थाहा छैन।
दाइ काठमाडौं आउनु भो। भाइ सानै थियो। म जेठो नातिजस्तै थिए घरमा। तर हजुरबा, हजुरबा मात्र होइन मेरो नजिक साथी हुनुहुन्थ्यो।
हजुरबाले पाँच व्यवस्था भोग्नु भएछ। पाँच राजा, दुई राष्ट्रपति, बीसभन्दा बढी प्रधानमन्त्री देख्नु भएछ। हजुरबाका जन्मजात गाउँको बहिदार हुनुहुन्थ्यो। तर म सम्झने भएदेखि सामाजिक छलफलमा खासै जानुभएको देखिनँ। सामाजिक काममा भने हजुरबासँग म पनि जान्थेँ। उहाँ खासै हाँस्ने, रिसाउने गर्नु हुन्नथ्यो। गजबको स्वभाव थियो।
हजुरबाले ताउलाखार (मानसरोवर) देखि गंगा तीर्थयात्रा जाँदाका अनेक कथा सुनाउनु हुन्थ्यो। गाईगोरु (बल्द), भैंसी किन्न कालिकोट, दैलेख र अछाम जाँदाका धेरै प्रसंग सुन्न पाइन्थ्यो। ताउलाखार जाँदा बास बस्ने ठाउँ उछिन्नको लागि उकालो हिँडाइमा भोटका मान्छेहरूसँग प्रतिस्पर्धा गरेको प्रसंग रोचक थियो।
बझाङी राजादेखि स्थानीय देउतासँगको सम्बन्ध बारे बताउनु हुन्थ्यो। कम्पनी सरकारको टोलीले भारतमा रेलको लागि काठ लिन आउँदा हाम्रो घरमा बसेको इतिहास भन्नुहुन्थ्यो। चिरानले (कम्पनी सरकारको भारतमा काठ ओसार्न खटिएको टोली) पहिलो पटक रेडियो ल्याएको र त्यो सुन्न र हेर्न गाउँभरिका मान्छे आएको प्रसंग सुनाउनु हुन्थ्यो।
बझाङी राजाले आफ्नो छोरा (सायद ओमजङ्ग सिंह) भारतमा पढ्दा विद्यालयको शुल्क बापत बाजुरा रुगिनको रुख काट्न स्वीकृति दिएका थिए रे। त्यहाँको काठ कर्णालीमा बगाउँदै भारतमा लगेर रेलको लिग बनाउन प्रयोग भएको थियो रे।
एक पटक हजुरबालाई व्यापारको रहर जागेछ। राजापुरबाट सामान लिएर (भरियालाई बोकाएर) कोल्टीमा व्यापार गर्नु भयो तर उदारो दिएरै पसल सकाउनु भएछ। पछि कहिलेकाहीँ उधारो लिनेको नाम हेर्दै मेरा साहुहरूको सूची भन्दै पढेको देखिन्थ्यो।
माओवादी युद्धको बेला म घर नजिकैको विद्यालयमा पढ्थेँ। एक दिन विद्यालय नजिकै माओवादी र सेनाबीच लडाइँ भयो। उता लडाइँ हुँदै गर्दा मलाई लिन हजुरबा विद्यालय नै पुग्नुभयो। यति माया र ख्याल गर्नुहुन्थ्यो।
माओवादी युद्ध अवधिमा हजुरबालाई एउटा डर थियो, माओवादीले घर लुट्छन् कि भन्ने। समाजमा एउटा हल्ला थियो, हाम्रो घरमा धेरै सुनचाँदी र केही थान बन्दुक छन् भन्ने तर युद्ध अवधिमा माओवादीले हाम्रो घरमा खाने, बस्ने धेरै गरे पनि घर लुटेनन्। यो सुखद् कुरा थियो।
अहिले हाम्रो परिवार बस्ने घर सायद त्यो क्षेत्रकै पुरानो घर हो। उक्त घर बनाउन त्यहाँका धेरै मानिसको पसिना बगेको छ। घर छाउने पत्थर (ढुङ्गा) निकाल्न बझाङबाट मान्छे आएका थिए। उक्त घर बनाइसकेपछि हजुरबा कामको सिलसिला अछाम जानुभएछ। मंगलसेनको दरबार देखेपछि हजुरबालाई घर चाँडो बनाएकोमा पछुतो भयो रे। पछि बनाएको भए मंगलसेन दरबारजस्तो बनाउने इच्छा थियो रे।
हजुरबालाई देउडा खल्न कहिल्यै मन परेन रे। एक/दुई पटक साथीहरूकै करबलमा राति केटीहरूसँग खेल्न गएको बाहेक खेल्न गएको कथा थिएन। हजुरबालाई राजनीति पनि कहिल्यै मन परेन रे। एक पटक प्रधानपञ्च बन्न सबैले आग्रह गर्दा नि आफू नभई अर्कै साथीलाई प्रधानपञ्च बनाएको रे।
म काठमाडौं आएदेखि हजुरबासँग वर्षमा दुई पटक मात्र भेट हुन्थ्यो- दसैंमा घर गएको बेला, हजुरबा काठमाडौं आएको बेला। पछिल्लो दुई वर्षदेखि काठमाडौं आउनु भएको थिएन तर हरेक पटकको फोनमा हजुरबा 'मकन भट्न कहिले आउने होस्' मात्र भन्नु हुन्थ्यो।
७० वर्षको उमेरमा बडिमालिकाबाट एक दिनमै घर आइपुग्नु भयो। म सम्झिने भएदेखि उहाँ बिरामी भएको याद छैन। तर हजुरबाले गत फागुन ३ गते यो धराधाम छोड्नु भयो। अन्तिम समयमा हजुरबासँग देखभेट भयो तर कुरा हुन पाएन।
यो दसैंमा घर गइयो, सबै आफन्त भेटिए, साथीभाइ भेटिए। हजुरबाले बनाएको घर अझ उस्तै छ, त्यो भेटियो। हजुरबाले जोडेका खेतगरा भेटिए। हजुरबाले लगाएका सय बढी सल्लाका रुख, ठाउँ-ठाउँमा लगाएका पिपलका बोटहरू भेटिए, अरु फलफूलका रुख भेटिए तर हजुराबा भेटिनु भएन।
हजुरबाको स्वर्गबास भएदेखि उहाँको कोठा पसेको छैन। कोठाको भित्तामा भगवान र हामी दाजुभाइका फोटो टाँस्नु भएको थियो। सायद ती फोटोहरू अझै होलान्। म आजभोलि त्यो कोठा जानै सक्दिनँ। भावुक हुन्छु। हजुरबाले सुनाएका अनेक प्रसंग याद आउँछ। ओहो! त्यही कोठामा हो उहाँले चाँदीको पैसा देखाउनु भएको। ती चाँदीका पैसामा भएको फोटो अघिल्लो महिना बितेकी बेलायती महरानीको रहेछ।
घरबाट काठमाडौं फर्कदाको दिन सधैं हजुरबाले टीका लगाइदिनु हुन्थ्यो। एअरपोर्टसम्म पुर्याउन आउनु हुन्थ्यो। म आफै जागिरे भैसक्दा पनि खल्तीमा खुसुक्क बाटो खर्च राखिदिनु हुन्थ्यो। योपालि हजुरबा नै हुनु भएन। टीका चल्ने थिएन। निधार खाली, मन भारी गरी घर छोडी काठमाडौं आएँ। चलनअनुसार चार महिनापछि टीका चल्ने छ तर हजुरबा अब सम्झनामा मात्र भेटिनु हुनेछ।