म विद्यार्थी भएको पनि कति वर्ष बिते पत्तो छैन। स्मरण भएदेखि आजसम्म म विद्यार्थी नै छु।
कक्षा फेरिए, शिक्षक फेरिए, स्कुल फेरिए, पाठ्यक्रम फेरिए तर म अनवरत विद्यार्थीकै पहिचान बोकेर हिँड्दैछु।
२००२ मा सायद मैले पहिलोपटक स्कुल टेकेँ, आज २०२२ भैसक्यो। सायद अर्को २० वर्षसम्म पनि म विद्यार्थी नै रहनेछु।
अक्टोबर १५, विश्व विद्यार्थी दिवस।
भारतका पूर्व राष्ट्रपति र वरिष्ठ वैज्ञानिक ए.पी.जे अब्दुल कलामको जन्मजयन्ती।
उनकै स्मरणमा यो दिन संसारभरका विद्यार्थीलाई समर्पित गरिएको छ। हामीलाई गुरूपूर्णिमा, शिक्षक दिवस धेरैजसो हेक्का हुन्छ तर विद्यार्थी दिवस बिरलै वास्ता गरिन्छ।
अचम्मको पहिचान हो विद्यार्थी, कक्षाकोठामा विभिन्न परिवेश, परिस्थिति, परिवार अनि पृष्ठभूमिबाट आएका विभिन्न कद, रङ, बनोट, जात, धर्म, लिङका फरकफरक व्यक्तिहरूलाई ग्वार्ल्यम्म सिङ्गो संज्ञामा बेर्ने।
एउटा कक्षाकोठाभित्र कोही डाक्टरको सन्तान, कोही डाकुको सन्तान, कोही दुर्गम जिल्लाको, कोही सुगम बस्तीको, कोही मरन्च्याँसे, कोही मोटोघाटो भनेर भेदभाव गर्न अनुचित हुन्छ।
विद्यार्थीको पगरी गुथेपछि मस्तिष्कमा समझदारी, हृदयमा इमान्दारी र काँघमा जिम्मेवारी लिएर अघि बढ्नुपर्छ।
ठूला-ठूला व्यक्तिको आत्मकथा पल्टाएर पढ्यो, सधैंजस्तो विद्यार्थी कालकै (नोस्टाल्जिया) मा भावविभोर भई डुबेका हुन्छन्।
स्वर्णिमकाल हो विद्यार्थी जीवन भनी अभिभावकहरूले गुनगुनाएको सुन्छु।
‘तिमीहरूजस्तो विद्यार्थी फेरि हुन पाए:::’, मेरी आमाको सधैंको गुनासो हो।
तर आजका अधिकांश विद्यार्थीलाई विद्यार्थी जीवन प्रिय छैन। गलामा पासो लगाएर उकुसमुकुस पारे जसरी यो कालबाट सबै उम्कन चाहन्छन्।
निबन्ध लेख्दा 'मेरो प्यारो विद्यालय' भन्दै मसी सकाए पनि स्कुल, कलेज, जानु नपरे सबैजना गदगद हुन्थे।
कक्षा कोठामा शिक्षक अविरल बोली रहन्छन्।
विद्यार्थीहरू आङ तान्दै, आँखा मिच्दै, झपझप निदाउँदै घन्टीको प्रतीक्षामा बस्छन्। मानौं कक्षा सकिएर बज्ने घन्टीको ध्वनि सञ्जीवनी बुटी जसरी उनीहरूभित्रको मृत ऊर्जालाई पुनर्जीवित गर्ने सामर्थ्य राख्दो हो।
विद्यार्थी हुनु एउटा औपचारिकता पूरा गर्नुमा मात्र सीमित हुँदैछ धेरैजसो। आखिर किन आजका विद्यार्थीलाई विद्यार्थी हुनुको रस बस्न सकेको छैन।
मलाई याद छ, सानो हुँदा हनहनी ज्वरो आउँदा पनि म स्कुल छुटाउन मान्दिनँ थिएँ।
बिहानै स्कुल जानुपर्छ भनेर आठ बज्दानबज्दै आमा सुत्न पठाइहाल्थिन्। बिहान उठेर स्कुल जाँदा मभन्दा ठूलो त ब्याग हुन्थ्यो।
च्युइक्कँ भारी बोक्दै लुखुरलुखुर पढ्न जाँदा पनि मेरो मन हलुको हुन्थ्यो। आखिर विद्यार्थी हुनु रमाइलो थियो।
आफ्ना उमेरका साथीहरूसँग भेट्न पाइने ठाउँ विद्यालय थियो।
खाजा ब्रेकमा सबैको टिफिनको मगमग बास्ना सुन्दै आफ्नै परवर र रोटी निल्नुको मजा बेग्लै थियो।
दिनभरि विद्यार्थी भएर बाँच्दा पनि म आजित हुँदिनँ थिएँ। सायद त्यतिखेर मेरो संसार नै सानो थियो।
घरदेखि स्कुल, स्कुलदेखि घर। ठूलाठूला आकांक्षाहरू थिएनन्। धेरै आवश्यकता थिएनन्। सानै उमेरमा विद्यार्थी जीवनसँग गहिरो लगाव थियो तर जति-जति मेरो ज्ञान बृहत् हुँदै गयो, मेरो संसार चौडा हुँदै गयो अनि मेरो विद्यार्थी पहिचान हुँदै सतही गयो।
बिहान ५ बजे हाई गर्दै उठ्दा पल्लो कोठामा युद्ध चल्दै हुन्छ, बहिनी र आमाबीच ।
'ढिलो भइसक्यो चाँडो उठ्, कोचिङ छुट्छ।'
'मामु, म एकदम थाकेको छु, रातिसम्म होमवर्क गर्दैथिएँ,निन्द्रा पुग्या छैन।'
समुद्र मन्थन जसरी सिरक तानातान हुँदा धेरैजस्तो देवगणकी मेरी आमाकै विजय हुन्छ।
निन्याउरो अनुहार लगाउँदै उठेकी बहिनीको आँखा तीन हात तल धसिएको हुन्छ। विद्यार्थी जो परि, करकापले भएरै पनि कोचिङ जान बाध्य छे।
कहिलेकाहीँ रिजल्ट लिन जाँदा बहिनीका अरू साथीका बाआमा शिक्षकसँग चर्काचर्की गरेको सुन्छु।
‘पढाइ अझै पेल्नु पर्यो। होमवर्क अझै थप्नुपर्यो। साँझको कोचिङ पनि लगाउनुहोस्। म होस्टेल राखिदिन पनि तयार छु।’
म छक्क पर्छु। उसै त झिसमिसे अँध्यारोमा निन्द्रा नपुग्दै खाली पेटमा पढ्न जान्छन् भाइबहिनीहरू अझ त्यसमाथि पेल्न पुगेन अरे।
पढाइ हो कि प्रेसर कुकर! अनि किन बैराग्य नछाओस् विद्यार्थीहरूमाझ।
सानासाना बालबालिकालाई उचित ढंगले पढाउन भनेर मन्टेश्वरी धकेलिन्छ। तर के १/ २ वर्षको समयावधिमा मात्र मन्टेश्वरी सीमित छ त ? के हो मन्टेश्वरी? बच्चाको प्राकृतिक, मनोवैज्ञानिक, शारीरिक र सामाजिक विकासको सम्मानलाई जोड दिँदै अपनाइने एक वैज्ञानिक रूपमा आधारित शिक्षा प्रणाली हो।
यो शिक्षा प्रणालीको दृष्टिकोणबाट विद्यार्थीले तबमात्र सिक्छ जब ऊ स्वतन्त्र हुन्छ।
पढाइ के हो, शिक्षा के हो, विद्यार्थीको हुनु के हो? केही नबुझ्दा नै यो प्रणालीमा पढ्न सुरू गरिन्छ।
वास्तवमा बुझ्ने भएपछि स्कुल-कलेज, युनिभर्सिटीसम्म लागू हुनुपर्ने हैन र मन्टेश्वरी?
हाम्रो समाजमा गलत विचार छ। अनुशासनमा राख्न दबाउनुपर्छ, पेल्नुपर्छ भन्ने मान्यता यत्रतत्र सर्बत्र व्यापक छ। तर विज्ञानको नियम हो। जति दबाबमा केही कुरो राखिन्छ त्यति नै तीव्र गतिमा त्यो फुस्किएर जान्छ।
बेलुनभित्र ठुसेको हावा क्षणभरमा फुस्स उडे जसरी, स्वविवेकले नअपनाएका संस्कार त्यसैगरी विद्यार्थीको मनमस्तिष्कले स्वीकार्दैन, फुस्स उडेर जान्छ। जबरजस्ती गरेर घण्टौं कक्षाकोठामा राखे पनि मन अन्तै डुलेपछि केही फाइदा छैन।
मेरा नेपाली गुरू भन्नुहुन्छ ‘कानले हैन मनले सुन्नुपर्छ।’
हाम्रो शिक्षा प्रणालीले विद्यार्थीलाई सधैं कानले सुन्न बाध्य बनाएको छ। जबसम्म शैक्षिक शैली रूपान्तरण गरी मनबाट सुन्न सिकाइँदैन, तबसम्म यो क्रम यस्तै रहन्छ।
तेस्रो वर्ष पुगिसक्दा पहिलो सालको नतिजा पनि नआएको विद्यार्थी टाउको कन्याउँदै बोलेको सुन्छु ‘आ जाँच त देकै छ, रिजल्ट आए आउँछ नभए डिभी भर्याछु। परे उड्ने हो।’
जाँच लिनको लागि लिएजसरी कलेजहरूबीच होडबाजी चल्छ।
देवतालाई प्रसाद चडाएजसरी बोर्ड जाँच दिएर फर्कंदा बाटोभरि कलेजका पर्चा चढाउँछन् हामी विद्यार्थीलाई।
भर्नाको बेला स्वयंम् राम भगवान वनबासपछि अयोध्या फर्किए जसरी हामी विद्यार्थीमा पुष्पवर्षा हुन्छ। तर विद्यार्थी भएपछि विद्यार्थीका गुनासा, समस्या सुन्न कोही तयार छैनन्।
कानमा तेल हालेर हिँड्छन् टेबल पछाडि बस्ने साहेबहरू।
कपालको रंग हेरेर चरित्रको सफाइ नापिन्छ।
नङको लम्बाई हेरेर बौद्धिकताको गहिराइ नापिन्छ।
के निहुँ पाउँ कनिका बुक्याउँ भनेर ढुकेर बसिएको हुन्छ। कि कहाँ विद्यार्थी चिप्लियोस् र घित्रो समात्दै शैक्षिक न्यायका पक्षपाति तराजु अगाडि विद्यार्थीलाई उभ्याउँ।
स्वतन्त्रताका नाममा आवारापन देखाउनु उचित पक्कै छैन। तर समय, परिस्थिति बदलिएसँगै विद्यालयका नीतिनियम बदल्न पनि जरूरी छ। विद्यार्थीलाई भेडाबाख्रा जसरी आफ्ना पूर्वाग्रही सोचरूपी पातपतिङ्गर कोच्याउन खोजे अवश्य आजको विद्यार्थीले त्यो ओकल्छ।
परापूर्वकालका शैक्षिक प्रणाली अपनाएर लगाएर आजका विद्यार्थीलाई मनाउन सकिँदैन।
एउटा यस्तो जमाना थियो जहाँ होमवर्क नगरे बेन्चमाथि उभ्याएर दुई कान समाई घण्टौं राख्न पनि पाइन्थ्यो। स्टिल स्केलले हातमा सुम्ला बस्नेगरी पिटाइ खाँदा पनि सहेर बसेकै हो।
अहिले क्षणभरमा शिक्षकले चित्त नबुझेको केही कार्य गरे विद्यार्थीहरू टिकटकमा भाइरल बनाइदिने सामर्थ्य राख्छन्। मिनेट भरमा सामाजिक आक्रोशले बनिबनाएको छवि नष्ट गरिदिन सक्छ।
अहिलेको संसार सञ्चारको संसार हो। आजको विद्यार्थीले ‘इन्सट्यान्ट ग्राटीफिकेसन’ अर्थात तत्कालीन सन्तुष्टि खोज्छ।
डिजिटल युगमा हुर्केका हामी विद्यार्थीलाई व्यवहारिक लाभ देखाउन सके हामी लोभिन्छौं। शिक्षकहरूको जिम्मेवारी हो हामीलाई यसै किसिमको शैक्षिक वातावरण प्रदान गर्नु। शिक्षकले आफ्नो पेसा भारी बोझको रूपमा लिए त्यो प्रष्ट झल्किन्छ।
कुनै नविनताबिना १० वर्षअघिको ढाँचामा रामायण भट्याए जसरी पढाउँदा विद्यार्थीले हल्ला नगरे के गरून् ?
अहिलेको स्मार्टफोनको जमानामा महिना महिनामा सिस्टम अपडेट हुन्छ। उस्तै परे बर्सेनि फोन फेरिन्छ। हाम्रा शिक्षक, शैक्षिक प्रणाली अनि सिस्टम कहिले अपडेट हुने?
संसार कहाँबाट कहाँ पुगिसक्यो। यो मेरो विद्यार्थी हो, म शिक्षक हुँ, मेरो अगाडि यो झुक्नैपर्छ भनेर हैकम चलाउन खोज्दा विद्यार्थी झन् विद्रोही हुन्छन्। विदेशमा र यहाँ मैले भेटेको सबैभन्दा ठूलो फरक यही हो।
त्यहाँ विद्यार्थी र शिक्षक दुबैको परीक्षा हुन्छ। विद्यार्थीमात्र होइन शिक्षक पनि अब्बल हुनुपर्छ।
कसैले कसैलाई आदर गर भनिराख्नु पर्दैन। करकापमा कोही पर्दैनन्। विद्यार्थी पढ्छन् किनकि उनीहरू आफैंलाई पढ्नुपर्छ भन्ने चेतना छ र शिक्षकले विद्यार्थीमा यो चेतना उजागर गर्न आफैं साधना गरेका हुन्छन्।
लोकप्रिय विश्वासविरूद्ध मेरो मान्यता छ कि, 'सम्मान कसैको नैसर्गिक अधिकार होइन।' सम्मान कमाउनुपर्छ।
शिक्षकले विद्यार्थीको मन जित्न सके, आफूलाई योग्य साबित गरे स्वत: सम्मानका पात्र हुन्छन्। यहाँ धेरैजसो ठाउँमा सम्मान चाहिएको छ। सलाम चाहिएको छ।
तर कर्म त्यो सम्मान पाउन लायकको छैन।
एकदिन म एउटा कविता प्रतियोगितामा गएको थिएँ। कविताका शीर्षकहरू त्यसबेला फूल, हिमाल, मेरो देश, आमा यस्ता मात्र थाहा थियो। त्यसबेला अचम्मको शीर्षक पाएँ 'बालमैत्री विद्यालय'।
मेरो सानो बुद्धिले त्यतिखेर जे भ्यायो त्यही कनीकुथी लेखेँ तर यसो सोच्दा आजका विद्वान भनौदाहरू पनि सायद यो विषयमा लेख्दा घोत्लिनु नै पर्ला। आखिर बालमैत्री वा विद्यार्थीमैत्री विद्यालय वा कलेज किन छैन आजकल?
सरले घाँटी सुक्ने गरी कराउँदा विद्यार्थी गफ गर्छन्।
बरू घरमा गएर युट्युबमा जाँचअघि कसरी गर्ने?, के गर्ने अनलाइन नै सिक्छन्। स्कुल 'फि ' बढेको बढ्यै छ। स्कुलप्रतिको विद्यार्थीको श्रद्धा घटेको घट्यै छ।
हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक सबै मिलेर यो छुट्टीको बेला 'डेड पोएट्स सोएटी', '३ इडियट्स र ‘तारे जमिन पर' सिनेमाहरू पुनः हेर्नैपर्छ।
विद्यार्थीको मर्म, समाजको अपेक्षाहरू, समय अनि पहार सबै मध्यनजर गर्ने पर्छ।
घरपरिवार छोडेर पढ्न बसेका विद्यार्थीको त्याग तपस्या, विदेशमा भोकनिन्द्रा त्यागी पढ्न मरिमेटेका विद्यार्थीको लगन, प्रथम हुने विद्यार्थीहरूको हर्ष, फेल हुने विद्यार्थीको निराशा सबैलाई हात जोडेर प्रणाम।
शिक्षण पेसाजस्तो नि:स्वार्थ पेसा केही छैन। वास्तवमा अन्धकार हटाई उज्यालो ल्याउने गुरू सर्वोपरी हुन्छन्।तर विद्यार्थीको हौसला, जाँगर, हिम्मत र मेहनत पनि कम सराहनीय छैन।
युट्युब हेर्दै नयाँ पकवान पकाउन सिक्ने मेरी हजुरआमा पनि विद्यार्थी, हार्मोनियम सिक्ने जमर्को गर्ने मेरी आमा पनि विद्यार्थी, अनलाइन बैंकिङ सिकाइदे, सिकाइदे भन्ने मेरा बा पनि विद्यार्थी।
नयाँ कुरा पढ्ने हामी पाठक पनि विद्यार्थी, नयाँ-नयाँ चोर बाटो पत्ता लगाउने हामी लाइसेन्स बिनाका चालक पनि विद्यार्थी।
जीवनदेखि हार खाएर भौंतारिएका हामी सबै विद्यार्थी। जीवन जिउने कला सिक्दै शान्तिको गन्तव्य खोज्ने हामी सबै विद्यार्थी। के दल्दा चाउरी घट्छ भन्ने हामी सबै पार्लरका विद्यार्थी।
के खाँदा डेंगी भाग्छ भनेर खोजतलास गर्ने हामी घरघरका सचेत नागरिक मिनी चिकित्सा विद्यार्थी। सिक्ने क्रम कहिले सकिन्छ र ? आखिर को चाहिँ विद्यार्थी होइन र ?
सबैलाई ह्याप्पी स्टुडेन्ट्स डे!