नेपालका चारधाम पशुपती, रूरू, बराह र मुक्तिक्षेत्रलाई मानिन्छ। मुक्तिक्षेत्रमा मुक्तिनाथको दर्शन गर्ने इच्छा पहिलेदेखि नै थियो। छोरा शरदसँग सल्लाह गर्दा ‘नआत्तिनुहोस्, जाऊँला’ भनेको थियो। गत जेठ महिनामा मुक्तिनाथ जाने घर सल्लाह गरियो। जेठ पाँच गते छोरा ध्रुव परिवारसहित अमेरिकाबाट नेपाल आयो। सबैजना जेठ १२ गते मुक्तिनाथ जाने निर्णय गरियो।
बिहानै नौ बजे काठमाडौंबाट छोरा ध्रुव, बुहारी सपना, नाति सुभृत, नातिनी आशंसा, छोरा शरद गरी सातजना बसबाट पोखरा गयौं। भोलिपल्ट बिहानै पोखरामा रहेको बिन्ध्यवासिनी मन्दिरको दर्शन गर्यौं। सोहिदिन महेन्द्र, चमेरो, गुप्तेश्वर गुफा र पाताले छाँगोको दृश्यावलोकन गर्यौं। फेवातालमा तालबाराहीको दर्शन गरी उक्त दिन पोखरामै बास बस्यौं।
ध्रुव छोराको परिवार १४ गते पोखरा नै घुमघाम गरी १५ गते जाने भए। अर्को छोरा शरद र हामी दम्पती मुक्तिनाथ जाने भयौं।
प्लेनमा जोमसोम जाने कि भनी कुरा भएको थियो। तर पोखरामा मौसम बदली भइराख्थ्यो। त्यसैले उडान समयमा नहोला भनेर बसमा जाने सल्लाह गर्यौं। १४ गते बिहानै जोमसोमका लागि प्रस्थान गर्यौं।
पर्वतको कुश्माबाट एकजना बसमा चढ्नुभयो। केही समयमा उहाँसँग परिचय गर्यौ। उहाँ जोमसोमका होटल व्यवसायी होमनाथ तिवारी हुनुहुँदो रहेछ। हामीलाई बस्न खानका लागि फोन गरी उहाँकै होटलमा व्यवस्था मिलाइ दिनुभयो।
राति ८ बजे जोमसोमस्थित तिवारीजीको पर्वत होटलमा पुग्यौं। भोलिपल्ट(१५ गते) का लागि कागबेनी र मुक्तिनाथ जान ट्याक्सीको व्यवस्था पनि मिलाइ दिनुभयो।
१५ गते बिहानै ६ बजे होटलमा ट्याक्सी आइपुग्यो। हामी कालीगण्डकीको किनारै-किनार कागखोला मिसिएको ठाउँ कागबेनी पुग्यौं। कागबेनीमा पितृहरूलाई तर्पण दिई पिण्ड दिने परम्परा छ। बद्रिनाथ धामको ब्रह्मकपालीमा पिण्डदान गरेपछि अन्य तीर्थस्थलमा मात्र तर्पण दिँदा पिण्ड दिनु पर्दैन भन्ने मान्यता छ। अग्रज पण्डितहरूको सुझाव अनुसार गण्डकीमा स्नान गरी तर्पण दिएर मुक्तिनाथ प्रस्थान गर्यौं। कागबेनीदेखि मुक्तिनाथ मन्दिर तल रानीपौवासम्मको बाटो पिच भएको रहेछ। ४५ मिनेटमै रानीपौवा पुग्यौं।
रानीपौवादेखि घोडामा जान समिने व्यवस्था पनि रहेछ। ठाडो १५० सिँढी चढ्न नसक्ने र लेक लाग्ने डरले मानिसहरू घोडामा पनि गइरहेका थिए। हामी पैदलै सिँढी चढि गयौं। सजिलै मन्दिर प्राङ्गणमा पुग्यौं। मन्दिर प्राङ्गणमा नेपाली तथा भारतीय भक्तजनको भीड थियो। हिमाली क्षेत्र भए पनि मौसम सफा थियो। घाम लागेको थियो। जसका कारण जाडो खासै थिएन। हामीले १०८ गौमुखी धारामा स्नान गरी मुक्तिनाथको दर्शन गर्यौं।
मन्दिरबाट केही पर रहेको ज्वालामाईको दर्शन पनि गर्यौं। ज्वालामाईको मन्दिरभित्रै सिसाभित्र सुरक्षित तीनै स्थानमा राखिएको ज्वालाको दर्शन गर्यौं। त्यसपछि हामी जोमसोम फर्कियौं।
जोमसोममा तिवारीजीले फर्कनको लागि काठमाडौं जाने रात्रीबसको टिकट लिई दिनुभएको थियो। हामीले खाना खाएर सोही दिन ३ बजे जोमसोमबाट प्रस्थान गरी बेनीमा बास बस्यौं।
१६ गते सोमबारे औँसी परेको थियो। उक्त दिन बिहानै ट्याक्सी लिएर गलेश्वरधाममा महादेव लगायत देवीदेवता दर्शन गर्यौं। बेनीमा फर्की सोही ट्याक्सीमा बागलुङ बजारको समिट होटलमा बस्ने व्यवस्था मिलायौं।
बागलुङ कालिका भगवतीको दर्शनगरी नजिकै रहेको बागलुङ र पर्वतलाई जोड्ने कालीगण्डकी माथिको झोलुङ्गे पुल अवलोकन गर्यौं। खाना खाई केहीबेर होटलमा आराम गरी बागलुङ बजारमाथि रहेको पञ्चकोट भन्ने स्थानमा गयौं। पञ्चकोट डाँडाको चट्टानमाथि निर्माणाधीन भगवान विष्णुको मन्दिर, राधाकृष्णको मूर्ति रहेको शिश भवन, बागलुङ, पर्वतका विभिन्न स्थानको दृश्यावलोकन गरी फर्कियौं।
१७ गते बिहान साढे सात बजे काठमाडौंका लागि बस बागलुङबाट छुट्यो। बेलुकी साढे पाँच बजे आराम साथ काठमाडौं पुग्यौं।
पहिलेदेखि नै मुक्तिक्षेत्रमा गएर भगवान मुक्तिनाथको दर्शन गरी पूजा गर्ने चाहना थियो। जुन पूरा पनि भएको छ।
मुक्तिनाथको पौराणिक एवं ऐतिहासिक सन्दर्भ
यस खण्डमा मैले मुक्तिनाथको पौराणिक एवं ऐतिहासिक सन्दर्भ समेट्ने प्रयास गरेको छु।
यहाँ उल्लेख गरिएका तथ्यहरू ‘प्राचीन नेपाल’ शोध पत्रिका (सं. १०२, २०४४) मा प्रकाशित इतिहासविद् रमेश ढुंगेलको लेख ‘मुक्तिनाथ: केही ऐतिहासिक तथ्य’ बाट लिइएका हुन्।
निलगिरी, मुक्तिनाथ, दामोदर हिमालजस्ता पवित्र हिमश्रृंखलाले घेरेको, कालीगण्डकी (कृष्णा गण्डकी) को स्रोतस्थलको रूपमा स्कन्द पुराण, बराह पुराण जस्ता पौराणिक ग्रन्थहरूमा मुक्तिनाथको महिमा गाइएको पाइन्छ। यस देवस्थललाई हिन्दु तथा बौद्ध दुवै धर्मावलम्बीहरूले पहिलेदेखि नै उच्च स्थान दिई मान्दै आएका छन्। तिब्बती भाषामा सा-ला-मे-वर, दो-ला-मे-वर र छु-ला-मे-वर भनेर क्रमश: माटो, पानी र ढुंगाबाट आगो बल्ने ठाउँको रूपमा मुक्तिनाथको ज्वाला निस्कने स्थललाई चिनाएको पाइन्छ।
मुक्तिनाथको मन्दिर नजिकै जमिनबाट तीन थरी ज्वाला निस्कने स्थललाई हिन्दुहरूले ज्वालामाई भन्छन्। त्यसैगरी बौद्धहरूले सोही स्थलमा गोन्पा बनाई तीर्थस्थलको रूप दिएका छन्।
मुक्तिक्षेत्र अन्तर्गत पर्ने अर्को वैष्णव तीर्थस्थल दामोदर कुण्ड पनि हो। कालीगण्डकी नदीको उत्पति यही कुण्डबाट भएको हो।स्कन्द पुराणको हिमवतखण्ड कृष्णागण्डकी महात्म्यमा ब्रह्माजीले मुक्तिक्षेत्रको मध्य भागमा बसेर तपस्या गरी त्यहाँको पवित्र जलमा अग्निको आह्वान गरेर हवन गरेको चर्चा छ। पछि त्यही ठाउँमा विभिन्न देवताहरू आएर ब्रह्माजीले हवन गरेको पञ्चामृतयुक्त पदार्थलाई बल्दो ज्वालाको रूप लिएर ग्रहण गरेको र त्यसैबाट जलाग्नी मूर्ति भएको भन्ने कुरा उल्लेख गरिएको छ। उक्त जलाग्नीमध्ये विष्णुको मूर्ति जल र शिवको मूर्ति अग्नि हो। त्यस पवित्र स्थलमा ब्रह्मादि देवताहरूले बास गरिरहन्छन् भन्ने चर्चा हिमवत खण्डमा रहेको छ।
हिमवत खण्डमा ज्वाला बाहेक मुक्तिनाथको अर्को छुट्टै मन्दिर वा तीर्थ भएको वर्णन पाइँदैन। हिन्दुले भन्दा पहिले नै उत्तरी क्षेत्रका स्थानीय जनजातिहरूले उक्त क्षेत्रलाई पहिलेदेखि तीर्थस्थलको रूपमा मान्ने गरेको देखिन्छ। ज्वालास्थललाई बौद्ध गोन्पाभित्र पारिएको र मुक्तिनाथको मूर्ति र मन्दिर छुट्टै भएपछि पनि भिक्षुणी तथा लामाहरूको मुक्तिनाथ मन्दिरसँग रहि आएको सम्बन्ध तथा धार्मिक अधिकारीका तथ्यहरूले उक्त कुरालाई पुष्टि गर्ने इतिहासविद् ढुंगेलले लेखमा उदृत गरेका छन्।
मुक्तिनाथको हालको मन्दिर शाहकालमा निर्माण भएको पाइन्छ। सर्वप्रथम श्री ५ रणबहादुर शाहले मुक्तिनाथसँग सम्बन्धित गुठी, पाटीपौवा आदिको व्यवस्था गरेका थिए। वि. सं. १८६३ मा रणबहादुरकै माइली महारानी सुवर्णप्रभाबाट मुक्तिनाथ दर्शन गरी मुक्तिनाथमै एउटा विशाल पौवा बनाउन लगाएको र प्रशस्त जग्गासहित गुठीको व्यवस्था गरिएको पाइन्छ। रानी सुवर्णप्रभाले बनाउन लगाएको पौवालाई रानीपौवा पनि भनिन्छ।
यात्रा अनुभव
हिमालपारीको जिल्ला मुस्ताङमा रहेको मुक्तिनाथ हिमालको काखमा मुक्तिनाथको मन्दिर रहेको छ। उक्त मन्दिर समुन्द्र सतहदेखि ३७१० मिटर उचाइमा रहेको छ।
पोखराबाट बसमा पर्वत जिल्लाको सदरमुकाम कुश्मा, मालढुंगा र म्याग्दीको सदरमुकाम बेनीबाट कालीगण्डकीको किनारै किनार मुक्तिनाथ जान सकिन्छ। कालीगण्डकी करिडोर सडक योजना अन्तर्गत मुस्ताङको कोरोला नाकासम्म सडक चौडा गर्ने काम भइरहेको छ। त्यसैले सडक कच्ची नै थियो।
मुस्ताङ जिल्ला प्रवेश गरेसँगै जोमसोमसम्मका धेरै ठाउँमा सडक पिच भएको पाइयो। जोमसोममा हामीलाई होटल व्यवसायी होमनाथ तिवारीले बसोबास तथा मुक्तिनाथ जान-आउनको लागि सहजीकरण गरेका कारण यात्रा सहज भएको थियो। मुक्तिनाथलाई हिन्दुहरूले भगवान श्री नारायण मान्छन् भने बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा (अर्थात् सय पानी) भन्छन्।
मुक्तिनाथको मन्दिरमा स्थानीय बौद्धमार्गी महिला पुजारीले पूजा गरेको पाइयो। हिन्दु पण्डितहरूले मन्दिरको प्राङ्गणमा पाठ गरिरहेका थिए। ज्वालामाईमा पनि स्थानीय बौद्धमार्गी महिलाले नै ज्वालाको रेखदेख गरिरहेका थिए। जेठ १५ गते हामी मुक्तिनाथ थियौं। सोही समय पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटना भएको खबर सुनेका थियौं।
हिमालपारिको जिल्ला भएकाले धवलागिरी लगायत हिमालहरू दक्षिणतर्फ देखिन्थें। मुगु, हुम्ला जस्ता हिमाली जिल्ला र भारत उत्तराखण्डका केदारनाथ, बद्रीनाथ पनि पुगेको छु तर त्यहाँको भूगोल र मुस्ताङको भूगोल फरक पाएँ। मुस्ताङ स्याउको लागि एकदमै प्रसिद्ध छ। मार्फाको बगैँचामा स्याउलाई आँखाले नै देखे पनि स्याउको सिजन नभएकाले खान पाइएन।
सतिदेवीको गला पतन भएको भनेर मानिने म्याग्दीको गलेश्वरमा एउटै चक्र शिलामा गलेश्वर महादेव लगागत अन्य देवीदेवताका मन्दिर पनि निर्माण भएका छन्। मुक्तिनाथको प्रवेशद्वारको रूपमा रहेको यो ठाउँ सफा सुन्दर देखिन्थ्यो।
बागलुङ बजारमा रहेको प्रसिद्ध बागलुङ कालिका भगवतीको मन्दिर बजारभन्दा दक्षिणतर्फ सालको वनको बीचमा रहेछ। उक्त आकर्षक मन्दिरमा भगवतीको दर्शन गर्दा छुट्टै आनन्दको अनुभूती भयो। यस मन्दिरमा खड्का क्षेत्री पुजारी हुने परम्परा रहेछ। मन्दिर रहेको जंगलको बीचबाट कालीगण्डकी झर्ने बाटोमा बाफ आउने दुलोबाट हरेक मध्यरातमा कालिका भगवती बाघमा चढी कालीगण्डकी नुहाउन जान्छिन् भन्ने जनविश्वास पनि रहेछ।
मन्दिरमा राति जाग्राम बस्ने कतिपय महिलाहरूले देवी बाघमा चढ्दा देखेको सुनाउने गर्दा रहेछन्। कालिका भगवती मन्दिर परिसरमा १६५ मिटर तल रहेको कालीगण्डकीको पानी ल्याई कालिका मन्दिरमा आउने श्रद्धालु भक्तजनहरूलाई लक्षित गरी नौवटा धारा सहित स्नान गृह निर्माण भएको रहेछ। कालिका भगवतीको दर्शन गर्न आउने भक्तजनले कालीगण्डकीको जलमा स्नान गरी भगवतीको दर्शन पाइने हुँदा मन्दिरको महत्त्व झनै बढेको रहेछ। यस यात्राको क्रममा साबिकको धवलागिरी अञ्चलका चारै जिल्ला र नेपालमा सबैभन्दा धेरै पानी पर्ने स्थान कास्की जिल्लाको लुम्ले पनि पहिलोपटक पुगियो।