'नानी दसैंमा त खाने, घुम्ने र रमाउने, मज्जा गर्ने हो किन गृहकार्यको सुर्ता लिन्छौ?,' मैले भनेँ।
'नकराउनु न बाबा! यो गृहकार्यबाट म्याडमले नम्बर फाइनलमा जोडनुहुन्छ रे,' छोरीले झटपट उत्तर दिइहालिन्।
होला त्यस्तो पनि सायद तर हामी पढ्दा स्कुलमा गृहकार्य भएको याद छैन। स्मरण नभएर हो वा साँच्चै गृहकार्य नभएको हो म आफू द्विविधामा छु तर आज सबै घरमा गृहकार्यको जुन आतंक छ त्यो बालमस्तिष्क वा बालमनोविज्ञानको प्रतिकूल छ।
म आफै शिक्षा क्षेत्रमा कार्यरत भए पनि एक पीडित प्रत्यक्षदर्शी र विवश अभिभावक हुँ। म न बच्चालाई गृहकार्य नगर भन्न सक्छु, न स्कुल पुगेर विरोध गर्न सक्छु, न त मलाई विश्वाश छ मेरो कुरा स्कुलले सुनुवाई गर्ला भनी। १९औँ शताब्दी तिर हारेस म्यानले पत्ता लगाएको यो गृहकार्य आम मानिसमा पिरलो नै बनेको छ।
दसैं तिहारको अवसरमा लामो छुट्टी दिइए पनि दिनका दिन स्कुलले गृहकार्य पठाउँछन्। एकजना साथीले भन्नुहुन्थ्यो- 'यो गृहकार्य त विद्यार्थीलाई होइन, हामी अभिभावकलाई पठाएको जस्तो छ! के गर्ने उपाय छैन। देशमा प्रजातन्त्र छ भन्यो, सम्झ्यो बस्यो।'
गृहकार्यबारे सबैका आ–आफना कथन छन्। अधिकांश अभिभावकहरू बच्चालाई किन गृहकार्य दिएन भनेर स्कुललाई कराउन जान्छन्- 'गृहकार्य दिए पो व्यस्त भएर भएर बच्चा चुपचाप बस्छन्, नत्र त कहिले चलेर, झगडा गरेर आपत। घर बाहिर गए बिग्रिन्छन् कि भन्ने डर, घर बसे मोबाइल चलाएर आँखा बिर्गाछन् कि भन्ने डरै डर।'
विदेशीहरू बच्चा कत्रो छ भनेर सोध्छन्। सानो छ भनेपछि 'ठिक छ यही मौका हो बच्चासँग बस्ने, ठूला भएपछि सँगै बस्दैनन्' भन्छन्। हुन त विदेशतिर त्यस्तो होला तर हामीकहाँ ६० वर्षीय आमाले २० वर्षको छोराछोरीको लुगा धुने, काठा सफा गर्ने अवस्था छ।
गृहकार्यको विषयमा शिक्षकका पनि आ-आफ्ना तर्क छन्। गृहकार्य दिए बच्चालाई तनाव नदिए बाबुआमालाई तनाव। के गर्ने? कोही अभिभावक टन्न गृहकार्य दिनुस् सर भन्न आउँछन् कोही गृहकार्य धेरै भो भन्छन्। हामीलाई पनि गाह्रो छ।
हुन त गृहकार्यले बारम्बार अभ्यास गर्दा बच्चाहरूमा पूर्णता आउँछ भन्ने पनि तर्क छ। गृहकार्य गर्दा बच्चाहरूमा पढ्ने बानी बस्छ। अनुशासित हुन्छन्। तर पर्व, रमाइलो, चाडपर्वका बेला गृहकार्यको तनावले बच्चाहरू बढी प्रताडित भएका छन् पनि। अझै कतै घुम्न जाँदा समेत 'मेरो धेरै गृहकार्य छ, म त घुम्न जान्नँ। गृहकार्य सकिएन भने स्कुलमा म्याडमले गाली गर्नुहुन्छ' भन्छन्।
हामीले यदाकदा बच्चालाई आफू स्वयमसँग पनि तुलना गर्नुपर्छ। यदि हामी उनीहरूको ठाउँमा भए के गर्थ्यौं भनेर विचार गर्नुपर्छ। आफू बच्चा छदाँ के गर्थ्यौं, कसो गर्थ्यौं, कसरी खेल्थ्यौँ, रमाइलो गर्थ्यौं स्मरण गर्दै त्यो अवस्थामा आफ्ना बच्चाहरूलाई राखेर सोच्नुपर्छ। घर पहिलो विद्यालय हो, आमाबाबु शिक्षिका र शिक्षक। बच्चाहरू पनि धेरै समय घरमै बिताउँछन्। यसर्थ अभिभावकको समयले महत्वपूर्ण भूमिका खेल्दछ।
गृहकार्यका सबल र दुर्बल पक्षहरू छन्। जस्तो कि बारम्बार अभ्यास गर्नुभयो भने सिकाइमा पूर्णता आउँछ। अर्कोतर्फ केवल गृहकार्य गृहकार्य भनिरहनु पर्दा त्यो तनावले बाल मतिष्कमा अर्को असर पर्छ। बच्चालाई खेल्न, रमाउन, टिभी हेर्न, परिवारमा बसेर अभिभावकसँग कुरा गर्न, कथा सुन्न मनपर्छ।
उनीहरूसँग अभिभावकहरूले झर्को नमानी गुणस्तरीय समय दिनुपर्छ। आखिर हामी जे जस्तो मेहनत परिश्रम गरी अहोरात्र खटिरहेका छौँ, त्यसको फल खाने पनि सन्तान नै हुन्। उनीहरूलाई यो अवस्थासम्म पुर्याउन हामीले उनीहरूलाई गुणस्तरीय अर्थात् अर्थपूर्ण, मनग्गे र सहभागी भै घुलमिल हुनुपर्छ।
गृहकार्य नगरेको भनेर स्कुलमा सर र मिसले सजाय दिने चलन पनि छ। यसबाट बच्चा स्कुल छाड्ने, तर्सिने, विरक्त हुने पनि हुन सक्छ। तसर्थ गृहकार्य नगरेको विद्यार्थीलाई सही कारण, अवस्था र परिस्थितिले नगरेको भए अभिभावकलाई पनि परामर्श गर्नुपर्छ।
गृहकार्य गराउने र गर्ने विषयमा कतिपय अवस्थामा शिक्षककै पनि दोष देखिएको छ जबकी कक्षाकोठामा विद्यार्थीले पाठ नबुझी कसरी गृहकार्य गर्न सक्छ? तसर्थ कक्षाकोठामा विद्यार्थीलाई सिकाउँदा शिक्षकले विद्यार्थीले बुझेको नबुझेको विशेष हेक्का राख्नुपर्छ। नबुझेमा दुई/तीन पटकसम्म बुझाउने प्रयास गर्नुपर्छ।
चतुर, चलाख र जेहेन्दार विद्यार्थीलाई मात्र हेरेर सिकाइ र पढाइ सम्पन्न हुन्न। कतिपय विद्यार्थी नबुझेको कुरा सोध्न समेत डराउँछन्, लजाउँछन्, बोल्न साहस गर्दैनन्। साथै सबै विद्यार्थीको बुझ्ने, सम्झने क्षमता एउटै हुँदैन।
कक्षाकोठामा विद्यार्थीलाई सहज, सरल र स्वभाविक वातावरण बनाउन शिक्षकको भूमिका अहम हुन्छ। यसमा विद्यालय सञ्चालकको पनि भूमिका रहन्छ। शिक्षकहरूले पनि सञ्चालक अगाडि जायज कुरा पनि राख्न सक्दैनन्। यो अर्को समस्या हो।
गृहकार्यका पछाडि अनगिन्ती कारणहरू छन्। सबै विद्यालय सञ्चालकमा सबै कुराको ज्ञान पनि हुँदैन। तसर्थ शिक्षकहरूले यस विषयमा मनन गर्दै इमान्दारीपूर्वक नम्र भएर पेशागत उच्च नैतिकता देखाएर विद्यार्थीका समस्या, गुनासा, कमी कमजोरी र सिकाइका अवरोध हुने विषयमा प्रष्ट बुझाउन सक्नुपर्छ।
स्कुलको गृहकार्यको विषयमा बच्चाले स्कुल छाड्ने, कक्षामा नबस्ने, शिक्षकप्रति नकारात्मक हुने, साथीहरूसँग नमिल्ने, पढाइप्रति अरुचि बढ्ने हुन्छ। गृहकार्यको वैकल्पिक बाटो खोज्नुपर्छ।
कक्षाकार्य र गृहकार्य बीचमा भिन्नता छ तर कक्षाकार्यमा सहभागी नहुने विद्यार्थीहरूले गृहकार्य कसरी गर्न सक्छन्? कक्षाकोठामा शिक्षकसँग सिक्दै गर्दा स्पष्ट नभएका विषयवस्तुहरू घरमा कसरी गर्न सक्छन्? यो विषय बुझ्न जरुरी छ। साथै सबै अभिभावक पढे लेखेका हुँदैनन्। कक्षाकोठा, पुस्तक, पाठ्यसामाग्री, शिक्षक, कक्षाको वातावरण सिकाइको समय, अवस्था सबै ध्यान राख्नुपर्छ। केबल गृहकार्यको भारीले असल शिक्षक बन्न सकिन्न।
गृहकार्यका अवगुणहरूमा विद्यार्थीलाई तनाव, गृहकार्य गरेपछि विद्यार्थीले अरु विषयहरू पाठहरू आफै पढ्ने, अभ्यास गर्ने बानी हट्छ। केवल गृहकार्य गरेपछि पुग्यो भन्ने भ्रम अभिभावकहरूमा र विद्यार्थीहरूमा हुन्छ। साथै गृहकार्यमा जोड दिनाले विद्यार्थीहरूमा गृहकार्य गरे मात्र पुग्छ, पढ्न पर्दैन भन्ने भावनाको विकास हुन्छ भने अर्कोतर्फ पढाइको दायरा खुम्चिन्छ।
गृहकार्यमा गुणहरूमा पढ्ने बानी बस्ने, अभ्यास गर्ने, जिम्मेवारी निभाउने संस्कार बस्छ। साथै हरेक दिन पढेको कुरा पुनःस्मरण गर्न बानी पर्छ, सहज हुन्छ। हरेक दिन घरमा आएर विद्यालयको कार्य गर्ने बानीले पछिसम्म जीवनमा लगनशीलता बढ्छ।
गृहकार्य पनि विभिन्न प्रकारका छन्। पाठ्यपुस्तका मात्र कुरा नभई अन्य समसामयिक विषयवस्तु, घटना, पर्व, चाड, रिवाज, संस्कार, धर्म, संस्कृतिबारे गृहकार्य दिँदा विद्यार्थीहरूमा खोज अनुसन्धान गर्ने, किताब बाहिरका विषयवस्तुहरू जान्ने बुझ्ने अवसर मिल्छ।
लामो बिदामा गृहकार्य नदिँदा विद्यार्थीहरूमा पढ्ने बानी हट्छ। साथै उनीहरू कुलत, गलत बानी व्यहोरा, चालचलनतर्फ लाग्ने, गलत संगत गर्ने संभावना पनि हुन्छ। तर त्यसो भन्दैमा धेरै गृहकार्य दिनु गलत हो। गृहकार्य दिँदा हरेक विषयका थोरैथोरै दिने या एउटै विषयमा धेरै दिने सोचनीय विषय छ।
यो तह, कक्षा, विद्यार्थीको स्तर, परिवेशअनुसार फरक-फरक हुन्छ। गृहकार्यले केही हदसम्म उनीहरूलाई बन्धनमा राख्छ। बिदामा किताब र कापीसँग समीपमै रहने, नअलग्गीने हुन्छ। चाडपर्वको बेला गृहकार्य भन्दै बच्चाहरूलाई रिवाज संस्कार नसिकाउने, केबल किताब, कापी र गृहकार्यमा अलमल्याइरहँदा उनीहरूले जीवन जिउने कला, आफ्नो रिवाज, धर्म, संस्कृति भुल्दछन्। यो पनि घातक हुन्छ।
हाम्रो समाजमा फेसबुक, मोबाइल, फिल्म प्रतिको लगाव छ। यही प्रभाव बच्चाहरूमा पनि पर्छ। हामी केबल हाम्रो बच्चालाई समाजबाट अलग देख्छौँ तर बच्चाले हाम्रो समाजमा भैरहेको हरेक घटनाक्रमले त्यो बच्चाको जीवन व्यवहार र बाँच्ने शैलीमा प्रभाव राख्दछ। तसर्थ हामी सबै आफना काम, कर्म, व्यवहारप्रति सजग हुनपर्छ जसबाट हाम्रा बच्चाले सिक्दछन्।