बुबाले हामीलाई २०७० साल जेठ २५ गते काठमाडौं हस्पिटल, त्रिपुरेश्वरमा सधैंका लागि छोडेर जानुभयो। बुबा खासमा लामो समयदेखि पीडित दीर्घरोगी हुनुहुन्न थियो। केही वर्षदेखि उहाँलाई साधारण दम थियो। त्यसैले उकालो चढ्न भने केही गाह्रो महसुस गर्नुहुन्थ्यो।
बुबालाई रोगले केही च्यापेको भने २०६९ साउनदेखि हो। २०६९ असार १० गते छोरीको विवाह थियो। जेठमा ठूलोबुबा बिरामी भएर उपचारका लागि हेटौँडाबाट ठूलीआमाले काठमाडौं लिएर आउनु भएको थियो। केही समयको उपचारपछि ठूलोबुबालाई केही सुविस्ता त भयो तर पूर्ण निको भएन।
छोरीको विवाहको दिन तोकी सकिएको थियो। तयारी तीव्र गतिमा गर्दै थियौँ। ठूलोबुबा ओछ्यानमै पल्टेर बुबासँग भन्नुहुन्थ्यो, 'नातिनीको जग्गेमा त धोतीपाटा फेरेर म बस्ने हो नि।'
बुबा खुसी हुँदै आफ्नो दाइलाई भन्नुहुन्थ्यो, 'दाइ, बिरामी निको त हुनुहोस् सबै गर्ने हजुरले नै हो नि।'
तर दुर्भाग्य! ठूलोबुबा ओछ्यानबाट उठ्न सक्नु भएन र चिकित्सकको सल्लाहअनुसार घर लैजाने निर्णय भयो। छोरीको विवाहमा दुई जना हजुरबुबा सँगै बस्ने दाजुभाइको चाहना पूरा हुन सकेन र ठूलीआमाले ठूलो बुबालाई लिएर हेटौँडा जानुभयो।
म बल्खुसम्म पुर्याउन गएको थिएँ। त्यो दिन ठूलो बुबालाई बिदाइ गर्दा मेरा आँसु थामिएनन् र स्थिति साँच्चै भावुक बनेको थियो। ठूलोबुबालाई केही निको त भयो तर उठबस, हिँड्डुल गर्न नसक्ने हुनुभयो। छोरीको विवाहमा ठूलीआमा मात्र आउनु भयो।
असार १० गते छोरीको विवाह सकिएपछि बुबा असार १४ गते जस्तो लाग्छ ठूलीआमासँगै हेटौँडा दाजुकोमा जानुभयो। बुबाले हिँड्ने बेलामा 'म दाइलाई कि पूर्ण निको पारेर आउँछु कि आर्यघाटमा दाह संस्कार गरेर आउँछु। त्यसैले चाडो नआउन सक्छु' भन्नु भएको आज पर्यन्त मेरो कानमा गुञ्जिरहेजस्तो लाग्छ। तर बुबाले भने जस्तो दुवै भएन।
बुबा करिब २ हप्ता जतिको हेटौँडा बसाइपछि असारको अन्तिम सातातिर घर फर्किनु भयो। दाइलाई निको पारेर आउँछु भनेर मकवानपुर जानु भएको बुबा आफै केही बिरामी भएर फर्कनुभयो। उहाँलाई हल्का ज्वरो आउने र सुख्खा खोकी लाग्ने भएछ।
एक हप्ता जति त मेडिकलतिर जचाउँदै र औषधि खाएर घरमै बस्नुभयो तर ज्वरो र खोकी निको नभएपछि साउनको पहिलो हप्ता नागरिक अस्पताल लगियो। त्यहाँका वरिष्ठ चिकित्सक डा.दामोदर गजुरेल आफैले बुबाको चेकजाँच गर्नुभयो। उहाँले भर्ना गर्न सल्लाह दिनुभयो र हामीले सोहीअनुसार गर्यौं।
भर्ना भएकै दिन रगत, पिसाब, खकार परीक्षणलगायत छातीको एक्स-रे गर्ने काम सम्पन्न भयो। एक्स-रेको रिपोर्ट र स्क्रीन हेरेर बुबालाई हेर्ने जुनियर चिकित्सकले मलाई बाहिर बोलाएर (सँगै वरिष्ठ चिकित्सक दामोदर गजुरेल पनि हुनुहुन्थ्यो)।
'बुबालाई क्यान्सर भएको छ, अब त्यहीअनुसार उपचार गर्नुपर्छ' भन्नुभयो। तर डा.गजुरेलले उहाँलाई सम्झाउँदै र मलाई सान्त्वना दिँदै भन्नुभयो, 'यतिबाट मात्र यो निष्कर्षमा पुग्नु हुँदैन, मात्र शङ्का हो। अब हामी बायप्सी गर्छौं आशा गरौँ बायप्सीको परिणाम सुखद् नै आउँछ।'
म त छाँगाबाट खसे जस्तै भएँ, मलाई आकाश खसेको, पृथ्वी भासिएको भन्दा पनि बढ्ता भयो। म केही बोल्न सकिनँ।
डा.गजुरेलले मलाई सम्झाउँदै भन्नुभयो, 'सायद क्यान्सर नहुन सक्छ, हो नै रहेछ भने पनि यो आधुनिक जमानामा उपचार हुन्छ र बुबालाई निको हुन्छ।'
तर पनि मेरो मन आश्वस्त हुन सकेको थिएन। यति भनेर डा.दामोदर बुबाको कोठामा छिर्नुभयो र आश्वस्त पार्दै भन्नुभयो, 'खास जटिल रोग छैन, फोक्सोमा अलि समस्या देखिन्छ, हामी उपचार गर्छौं, पीर मान्नु पर्दैन बुबा' भनेर फर्किनु भयो।
एक व्यवसायिक र वरिष्ठ चिकित्सकको यो मनोसामाजिक उपचार देखेर मेरो उहाँप्रति सम्मान झन् बढेर आयो। बुबाले मलाई सोध्नुभयो, 'के भएको रहेछ त?'
मैले कठिनका साथ भनेँ, 'फोक्सोमा सानो घाउ छ रे त्यसलाई निको पार्न औष्धि मगाएको छ, डा. साबले चाँडै निको हुन्छ भन्नुभएको छ।'
बुबाले फेरि भन्नुभयो, 'मेरो फोक्सो त सकिएको छ बाबु, के-के औषधि उपचार गरेर बचाएको छस्, अब लामो समय बाँच्न गाह्रो छ।'
बुबाको यो वाक्यले मलाई भावुक बनायो र म भकानिएँ, केही बोल्न सकिनँ।
बुबालाई क्रमशः सुविस्ता हुँदै गएको थियो। उठेर बस्ने, हिँडडुल गर्ने, खाना खाने गर्न लाग्नु भएको थियो। बायप्सीको रिपोर्ट आएपछि घर जाने सोचमा थिएँ म। करिब तीन/चार दिनपछि रिपोर्ट आयो। डा.गजुरेलले मलाई बोलाउनुभयो र रिपोर्टको कुरा बताउनुभन्दा मलाई बुझाउन तिर लाग्नुभयो।
मैले कुरा बुझिहालेँ, मलाई सहन गाह्रो भैसकेको थियो। जे भए पनि दह्रो मुटु बनाएर सोधेँ, 'के रहेछ डा.साब? प्रष्ट भनिदिनुस् न।'
उहाँले मलाई भन्नुभयो, 'जे नदेखियोस् भनेको त्यही देखियो। बुबालाई फोक्सोको क्यान्सर भएको रहेछ, त्यो पनि तेस्रो स्टेजमा पुगिसकेको रहेछ। अब औषधि चलाउनु पर्छ। त्यसको खासगरी ३ थरी उपचार विधि छन्- अप्रेशन, केमो थेरापी र रेडियो थेरापी। बुबाको उमेर हेर्दा अप्रेशन नगर्नु राम्रो, केमो थेरापीमा के गर्ने तपाईंहरू पनि घर सल्लाह गर्नुहोस्। हामी पनि टिममा छलफल गरेर तपाईंलाई सल्लाह दिन्छौं। अब एक हप्ताको लागि औषधि दिएर म डिस्चार्ज लेखिदिन्छु, एक हप्तापछि निर्णयसहित फेरि लिएर आउनु।'
मैले केही उत्तर दिन सकिनँ। म करिब करिब फ्रीज भैसकेको थिएँ। तर सम्हालिन पर्यो, डिस्चार्ज लेखिएको फाइल बोकेर बुबाको कोठामा आएँ र कृत्रिम खुसी देखाएर 'बुबा, त्यस्तो खास देखिएन, एक हप्तालाई औषधि दिएर आज घर पठाउँदै छन्। एक हप्तामा फेरि देखाउन आउनु पर्छ।'
बुबा केही खुसी देखिनुभयो। त्यसबेलासम्म भाइ शिव पनि आइसकेको थियो। अनि हामीले बुबालाई डिस्चार्ज गरेर घर लग्यौं।
मलाई भने भित्र चिन्ता र पीरले डुबाइसकेको थियो। के गर्ने, कस्लाई सुनाउने, एक हप्तापछि के उपचार विधि प्रयोग गर्ने भन्ने इत्यादिले त्यो रात पटक्कै निन्द्रा लागेन। भोलिपल्ट अफिस पनि गइनँ। सबभन्दा पहिला मेरो आत्मीय मित्र स्वर्गीय डा.बालकृष्ण थापा (जो भरतपुर अस्पतालमा कार्यरत हुनुहुन्थ्यो) लाई फोन गरेर सबै बेलिविस्तार सुनाएँ।
उहाँले फोनमै 'तपाईं बुबालाई लिएर चितवन आउनुहोस्, भरतपुर क्यान्सर रोग अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञहरू राखेर म चेकजाँच र छलफल गराइदिन्छु अनि के उपचार गर्ने, निर्णय गरौंला' भन्नुभयो।
मलाई केही राहत भएजस्तो भयो। मैले त्यसै दिन भाइलाई यो कुरा सुनाएँ र दीपक शर्मा, विष्णु दाइ र बलराम केसी सरलाई पनि सुनाएँ र भरतपुर चितवन जान अनुरोध गरेँ।
२०६९ भदौ १८ गते बिहानै म, दीपकजी, विष्णु दाइ र बलराम केसी सर बुबालाई नलिई सबै कागजात बोकेर भरतपुर लाग्यौं। हामी पुगेको केही क्षणमा विशेषज्ञ टिमसँग डा.बालकृष्णले मलाई भेटाउनु भयो। ४/५ जनाको विशेषज्ञको टिम थियो। त्यसमध्ये एक जनाले सबै रिपोर्ट अद्योपान्त पढ्नुभयो, अरु डाक्टरसँग पनि केही बेर छलफल गर्नुभयो।
कतिपय प्राविधिक भाषा म बुझ्दैन थिएँ। करिब २० मिनेटपछि उहाँले मसँग सोध्नुभयो, 'तपाईंको को हो बिरामी? अहिले हिँडडुल गर्न, खाना खान सक्नुहुन्छ? शारीरिक तौल कस्तो छ?' आदि धेरै सोध्नुभयो।
मैले सविस्तार उत्तर दिएँ। त्यसपछि उहाँले मलाई 'अब तपाईंले, तपाईंको परिवारले पीर मान्ने, चिन्ता लिने गर्नुहुँदैन। बुबाको उमेरको कारण हामी अप्रेशन गर्न सल्लाह दिदैनौँ। अब गर्ने भनेको केमो थेरापी र रेडियो थेरापी हो। त्यसमा पनि बुबाको क्यान्सर अन्तिम अवस्थामा पुगिसकेको रिपोर्टले देखाउँछ। त्यसैले तपाईंलाई प्रस्ट भन्दा अब बुबालाई १०/१२ महिनाभन्दा बढी बचाउन सकिँदैन।'
बुबालाई क्यान्सर देखिएपछि त्यो एक हप्ताको बीचमा मैले क्यान्सर बारे गुगलमा धेरै खोज्ने र पढ्ने गरेको थिएँ। उपचार विधिमा माथि उल्लेखित बाहेक टार्गेटेड थेरापी (औषधि खुवाउने) पनि हुन्छ भनेर पढेको थिएँ। मैले चाहिँ सकेसम्म यही विधि प्रयोग गर्न पाए हुन्थ्यो भन्ने सोचेको थिएँ। त्यहीअनुसार डाक्टरलाई सुनाएँ।
उहाँहरूको जवाफ थियो- 'हुन त हुन्छ तर काम गर्दैन कि भन्ने हो। पहिले धुम्रपान गर्ने र पुरुषलाई १०% मात्र यो औषधि सफल भएको छ, जे होस् निर्णय गर्ने कुरा तपाईंको हो, नियमित उपचार गराइरहेको चिकित्सकसँग छलफल गरेर उपयुक्त निर्णय गर्नुहोला।'
उहाँहरूलाई धन्यवाद दिँदै बैठकबाट निस्किएँ अनि सबै कुरा डा.बालकृण, दीपकजी, विष्णु दाइ र बलराम सरलाई सुनाएँ। बालकृष्णसँग बिदा भएर हामी त्यो रात बस्न हेटौँडा क्षेत्रीय शिक्षा निर्देशनालय गयौं।
भोलिपल्ट बिहानै हामी काठमाडौँ फर्कियौँ। म सरासर पहिले नागरिक अस्पतालमा बुबालाई नियमित हेर्ने क्यान्सर रोग विशेषज्ञ डा.पौडेललाई भेट्न गएँ। उहाँ आफ्नै कार्यकक्षमा हुनुहुँदो रहेछ। मैले सबै कुरा सुनाएँ। उहाँ सालिन, भलाद्मी तथा बिरामी र आफन्तका पीडा बेली विस्तार सुन्ने हुनुहुन्थ्यो।
उहाँले मेरो कुरा सुन्नुभयो र भन्नुभयो, 'म त औषधि प्रयोग गर्ने सल्लाह दिन्नँ। यसले काम नगर्न सक्छ। केमो थेरापी गरौं पहिला अनि बाँकी रहेमा रेडियो थेरापी गरौंला' उहाँले भन्नुभयो।
मैले फेरि भनेँ, 'डा.साब केमोले कपाल झरेको, अनुहारको रङ कालो भएको, बिरामीलाई पीडा धेरै भएको, त्यो मात्र नभएर केमो गर्न लैजाँदा सबैले जानकारी पाउने र फलानालाई त क्यान्सर भएछ भनेर छिमेकीहरूले खिसी टिउरी गरेको अरु धेरैको देखेको छु। बुबालाई पनि त त्यस्तै हुनसक्छ, त्यसैले हामी त अझ पनि औषधि चलाउने पक्षमा छौँ। हेरौं हाम्रो भाग्यमा के लेखेको छ त्यही हुन्छ।'
उहाँले अझ थपेर भन्नुभयो, 'केमोभन्दा औषधि ज्यादै महङ्गो हुन्छ। तपाईंलाई यसले गाह्रो पनि हुनसक्छ, ल जे भए पनि घरमा सल्लाह गर्नुहोस्, भोलि निर्णय गरेर आउनुहोस्, जे गरे पनि भोलिदेखि उपचार सुरु गर्नुपर्छ।'
मैले भाइसँग त्यही साँझ सल्लाह गरेँ। विष्णु दाइ, बलराम केसी र दीपक जीसँग त एकसरो निर्णय चितवनबाट फर्कदा नै भैसकेको थियो। भाइ र मैले अन्तमा परिणाम जे भए पनि औषधि प्रयोग गर्ने निर्णय गर्यौँ। मैले औषधिको केमो थेरापी जस्तो साइड इफेक्ट हुँदैन भनेर लेखिएको भेटेको थिएँ, त्यसैले मैले औषधि प्रयोगमा बढी जोड दिएको थिएँ।
भोलिपल्ट भाइ र म फेरि डाक्टरलाई भेट्न गयौँ। हाम्रो निर्णय सुनायौँ। तर पनि डाक्टर कन्भिन्स हुनु भएन तर हाम्रो हठको अगाडि उहाँले आफ्नो लामो भनाइ लेखेर छोराहरूको अनुरोधअनुसार यो औषधि सिफारिस गरिएको भनेर लेख्नुभयो। औषधिले काम गरे नगरेको ३ महिनापछि फेरि चेक चाँज गर्नुपर्छ, अनि के गर्ने त्यसपछि निर्णय गरौँला भनेर डाक्टरले भन्नुभयो।
हामी घरतिर लाग्यौं। मैले त्यसै दिन एक महिनाको लागि सिफरिस गरिएको औषधि किनेर ल्याएँ। औषधि जहाँ पायो त्यही नपाइने। कालिमाटीमा एउटा औषधिको होलसेल गर्ने पसलमा डाक्टरले बताएअनुसार पाएँ र भदौ २० गतेदेखि बुबालाई त्यो औषधि चलाइयो।
हामीले औषधि प्रयोग गर्ने निर्णय गरेर ठिक गर्यौँ कि बेठिक गर्यौँ थाहा छैन, सायद ईश्वरलाई थाहा होला। तर बुबा जति समय बाँच्नु भयो, बिना पीडा सहजताका साथ बाँच्नुभयो।
त्यो ३ महिनाको बीचमा बुबालाई खासै स्वास्थ्य समस्या देखिएन। बुबाको खानपान राम्रै थियो, हिँडडुल गर्नु हुन्थ्यो। तीन महिना बितेपछि डा. पौडेलसँग समय लिएर जाँचको लागि बुबालाई लिएर नागरिक अस्पताल गएँ। अस्पतालमा धेरैथोक जाँच गरियो। पूरा रिपोर्ट भोलिपल्ट मात्र आउने भएकाले हामीलाई घर जान भनियो।
मैले बुबालाई लिएर घर आएँ। भोलिपल्ट डा.पौडेलले दिएको समयमा उहाँलाई भेट्न गएँ। उहाँ आफैले सबै रिपोर्ट सङ्कलन गरेर टेबुलमा राख्नु भएको रहेछ। म भित्र पस्ने बित्तिकै हँसिलो अनुहारमा उहाँले मलाई बधाई दिनुभयो र भन्नुभयो, 'ल औषधिले काम गर्यो, अब बुवालाई १०/१२ महिना केही हुँदैन, ढुक्कसँग यो औषधि प्रयोग गर्नु, केही समस्या देखियो भने मलाई फोनमै सम्पर्क गर्दा पनि हुन्छ' भनेर फोन नम्बर समेत दिनुभयो।
कतिपय चिकित्सकले फोन नम्बर माग्दा त नदिएका मसँग थुप्रै उदाहरण छन् भने डा.पौडेलले आफै फोन नम्बर दिनुभयो। मेरो उहाँ प्रतिको श्रद्धा झन् बढ्यो। त्यसपछि म अस्पतालबाट सरासर घर फर्किएँ र बुवालाई औषधिले राम्रोसँग काम गरेको र फोक्सोको घाउ करिब करिब निको भएको भनेर सुनाएँ। तर औषधि चाहिँ छोड्नु हुँदैन भनेर डा.साबले भन्नुभएको छ भनेर भनेँ।
बुबाले अरु केही भन्नु भएन, 'घाउ निको भएको भए औषधि चाहिँ किन खाइरहनु पर्ने नि? डाक्टरको कुरा पनि बुझ्नै गाह्रो' भन्नुभयो।
त्यसपछि भाइ र म नियमित अफिस जान थालौँ। बुबा पनि करिब करिब स्वस्थ हुनुभयो। दिनको दुई पटक आमा र बुबा सँगै घुम्न निस्कनु हुन्थ्यो। म अफिसबाट फर्केर आएपछि आमाले सुनाउनुहुन्थ्यो, 'आज त बुबा मज्जासँग घुम्नु भयो नि, थाक्नु पनि भएन। अब उहाँमा बल भरिंदै आएजस्तो छ।'
आमाको यी कुराहरू सुनेपछि मलाई भने पीडा भएर आउँथ्यो र लाग्थ्यो, 'आमा, हजुरलाई के थाहा अबको ६/७ महिनापछि बुबाले हामीलाई छोड्दै हुनुहुन्छ र हामी टुहुरा हुँदैछौं।'
म आमाको हँसिलो अनुहारबाट यी कुरा सुनिसकेपछि कयौं पटक कोठा थुनेर रोएको छु। सम्भावित दुर्घटना र त्यो कालो दिन नजिकिँदै आएको छ भनेर। जति जति दिन, महिना बित्तै गए मभित्र पीडा, चिन्ता र भय बढ्दै जान थाल्यो।
यो कुरा विष्णु दाइ, दीपकजी र बलराम सरलाई सुनाउँथेँ। उहाँहरू सान्त्वना त दिनुहुन्थ्यो, फेरि घर फर्किएर बुवा आमालाई भेटेपछि त्यही पीडाको पुनरावृत्ति हुन्थ्यो। यसरी नै बिते मेरा करिब १० महिना।
२०७० साल जेठ महिनाको १८ गते बुबा बैठक कोठामा सुतिरहनु भएको थियो। त्यो दिन बलराम सर, चौलागाईजी र कृपाश्वरजी बुबालाई बोलाउन आउनुभएको थियो। उहाँहरूले केही बेर बुबासँग स्वास्थ्यबारे सोधपुछ गर्नुभयो। बुबालाई खासै त्यस्तो केही गाह्रो भएको थिएन। हामी छोरीको कोठामा बसिरहेका थियौँ।
करिब करिब चार बजेतिर देवकी अलि डराएको भावमा तल आइन् र मलाई 'बुबालाई अलि गाह्रो भए जस्तो छ, माथि आउनुस्' भनेर दौडेर माथि गइन्। हामी सबै जर्याक जुरुक्क उठेर माथि गयौँ। माथि पुग्दा त बुबा आमालाई 'यसो गर्नू, उसो गर्नू' आदि इत्यादि अर्ति उपदेश दिँदै हुनुहुँदो रहेछ।
मैले 'के भयो बुबा?' भनेर सोधें।
बुबाले सोझो भाषामा भन्नुभयो, 'अब मेरो जाने दिन आए, तिमीहरूले आमालाई अहिले पालेका जसरी नै पाल्नू।'
मैले मन दह्रो बनाएर त्यस्तो हुँदैन, अब अस्पताल जाने भनेँ। ट्क्यासी बोलाएर नागरिक अस्पताल तुरुन्त पुर्यायौं पनि। बुबालाई अस्पताल पुर्याउँदासम्म त आइसियूमा राख्नु पर्ने भैसक्नु भएछ। नागरिक अस्पतालमा त्यसबेला आइसियू नभएकोले काठमाडौँ हस्पिटल त्रिपुरेश्वरमा आइसियू पाइयो, त्यहीँ दौडाएर लग्यौँ।
अस्पताल पुर्याउने बित्तिकै वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.मदन पियाले पूरा रिपोर्ट हेर्नु भयो र तुरुन्तै बुबालाई आइसियूमा राखियो। ३ दिन आइसियूमा राखेपछि बुबाको स्वास्थ्यमा सुधार आयो र क्याबिनमा सारियो। बुबा मजाले गफ गर्न थाल्नुभयो। यतिसम्म कि थलीको द्वारिका भाइले बनाएर ल्याएको सुप मिठो मानेर खानुभयो।
मलाई अहिलेसम्म सम्झना छ परशुजी, विष्णु दाइ, रामशरण दाइ, बलराम केसी सर, दीपकजी, म र आमासँग लामो समयसम्म गफ गर्नु भएको। अस्पतालका चिकित्सकले पनि २५ गते डिस्चार्ज गर्ने निर्णय गरिसकेका थिए। त्यसैले डा.पियाको सिफारिसअनुसार घरमा अक्सिजन लगाउनु पर्ने र त्यसको लागि चाहिने सम्पूर्ण सामग्री र औषधि २४ गते नै विष्णु दाइ र म भएर किनिसकेका थियौँ।
२४ गते सामान किनेर म अस्पताल फर्किएँ, दाइ त्यतैबाट घर फर्किनुभयो। अस्पतालमा भाइ पनि थियो। बुबालाई अस्पताल भर्ना गरेपछि म अफिस पूरै बिदा लिएर बसेको थिएँ। राति कुर्न पनि कहिले दुई दाजुभाइ, कहिले म एक्लै तर मैले कहिल्यै छोडिनF बुबालाई।
२४ गते साँझ किन हो कुन्नी बुबाले 'अब भोलि घर गैहालिन्छ, भाइ छँदै छ, तँ धेरै थाकिस् आज घरमा गएर सुत्' भन्नुभयो।
बुबाले भनेपछि केही नभनी भाइलाई औषधि खुवाउने समय र मात्रा सुनाएर म घर फर्किएँ। घर आएर अब बुबालाई भोलि घर ल्याउने कुरा सुनाएँ। घरमा आमा, देवकी, छोराछोरी साह्रै खुसी भए। मैले सात बजे तिर खाना खाएँ र भाइलाई फोन गरेर बुबाको अवस्था सोधेँ र सुतेँ।
के भएर हो कुन्नी करिब तीन बजेपछि मलाई पटक्कै निद्रा लागेन। पूरा छ्याङ्ग बिउँझिएँ, के गरौं, के गरौं भयो। अत्यन्त छटपट छटपट, चिट्चिट्याहट भए जस्तो भयो। आधा घण्टा जति त्यसै यता फर्किने र उता फर्किने गरेर सुतेँ। तर धेरै भएपछि करिब साँढे तीन बजे तिर उठेँ, कपडा लगाएँ र घरमा देवकीलाई म अस्पताल हिडेँ है भनेर हिडेँ।
तीनकुने मूल सडक सुनसान थियो। हिँडेर बानेश्वरसम्म पुगें। त्यतिबेला एउटा तरकारी बोकेको भ्यान तीनकुने तिरबाट हुइँकिएर आउँदै थियो। मैले पेटीमा बसेर दुवै हात पूरै तेर्स्याएर भ्यान रोक्न अनुरोध गरेँ, भ्यान रोकियो पनि।
मैले 'बुबा त्रिपुरेश्वर अस्पतालमा भएको, म जान लागेको, केही पाइएन लगिदिनुस् न' भनेँ।
उहाँले पछाडि बस्न भन्नुभयो। म तरकारीको छेउमा कोचिएर बसेँ र मलाई काठमाडौँ अस्पताल लगेर छोडिदिनु भयो।
मैले उहाँको न नाम सोधेँ, न गाउँ र ठेगाना नै सोधें, धन्यवाद भाइ मात्र भनेँ बस्। मान्छेको पेसा, व्यवसाय, शिक्षा, धन सम्पत्ति आदिले हृदय विशाल हुने होइन रहेछ, त्यो भाइको सहयोग र सद्भावको लागि मैले मुरी मुरी धन्यवाद दिनैपर्छ। आज मलाई पश्चाताप लाग्छ, उहाँको नाम नसोधेकोमा।
म सरासर हस्पिटल गएँ। बुबालाई माथिल्लो तलाको क्याबिनमा राखिएको थियो। हतार हतार भर्याङका खुट्किलाहरू चढेर कोठाभित्र छिरेँ। म छिर्दा भाइ बुबाको गोडानिर बसिरहेको रहेछ। बुबा भित्तापट्टि फर्केर सुत्नु भएको रहेछ। म पुग्ने बित्तिकै भाइले बुबालाई हिजोभन्दा अलि बढी च्यापेको कुरा चिन्तित अनुहारले फटाफट सुनायो र भन्यो- 'आज डिस्चार्ज नगर्ने होकी दाइ।'
मैले सबै कुरा सुनेँ तर खास प्रतिक्रिया केही जनाइनँ।
बुबाको निधारमा छामेँ र बुबा भनेर बोलाएँ। बुबा मतिर फर्किनुभयो र मलाई ठूला आँखा पारेर पूरा हेरेर सोध्नुभयो, 'तिमीले खाना खायौ?'
यस बेला, त्यही पनि खानाको कुरा सोधेकोले म भने अक्क न बक्क परेँ र केही बोल्न सकिनँ। बुबालाई अत्यन्तै गाह्रो भैसकेको रहेछ। त्यति बोलेपछि बुबाले पारि-पारि भित्तामा हेरे जस्तो लाग्यो।
मैले 'बुबा बुबा' भनेँ। बुबा बोल्नु भएन। भाइले झन् ठूलो स्वरमा 'बुबा-बुबा' भनेर बोलायो। बुबा मात्र एकोहोरो हेरिरहनुभयो, बोल्नु भएन। बुबाको वाक्य बसिसकेको रहेछ, बोल्न सक्ने कुरै भएन।
मैले बुबालाई समाइरहेँ, भाइलाई नर्स र डाक्टर बोलाउन भनेँ। मैले विष्णु दाइ, रामशरण दाइ, दीपकजी र बलराम केसी सरलाई फोन गरेँ, अरुलाई पनि गरेँ कि सम्झना छैन। डाक्टर र नर्स तुरुन्तै आए, भेन्टिलेटरमा लाने कि भन्ने कुरा भयो। हामीले नलाने भन्यौं। अस्पतालले हामीलाई सही गरायो।
केही क्षणमा नै विष्णु दाइ, रामशरण दाइ, लक्ष्मण भाइ, परशु जी, बलराम केसी सर, दीपक जी लगायत धेरै आफन्त, दाजुभाइ, छिमेकी आइसक्नु भएको थियो। तर बुबाको अन्तिम प्राण परिसकेको थिएन। विष्णु दाइले 'काका धार्मिक मान्छे, केही धार्मिक सूक्ति सुन्न खोजेको हुनसक्छ, गायत्री मन्त्र सुनाइदेऊ न' भनेर भन्नुभयो।
कसले सुनायो कुन्नी, त्यसपछि करिब १०:१५ बजे तिर बुबाले अन्तिम श्वास लिनुभयो। बुबाको 'तिमीले खाना खायौ?' भन्ने वाक्य नै पृथ्वी लोक र हाम्रो लागि अन्तिम वाक्य भयो। बुबा हजुरको त्यो वाक्य सम्झनु र भक्कानिनु बाहेक हामीसँग बाँकी नै अब के छ र? हार्दिक श्रद्धासुमन बुबा, पाउमा सेवा ढोग।