झट्ट हेर्दा ठूलो भिडभाड देखिन्छ। एक/दुई जना जता गयो त्यसकै पछिपछि हिँड्दै, दगुर्दै त्यो भिडको पिछा गर्दैछन् मानिसहरू।
लाग्छ कुनै जात्रा, मेलापर्व वा कुनै ठूलै नेता वा कलाकारको आगमन हुँदैछ! तर त्यस्तो सोच्दै हुनुहुन्छ भने हजुहरू गलत हुनुहुन्छ। त्यो दृश्य जुम्ला एयरपोर्टको हो। त्यो भिड जहाजको टिकट नपाएर यताउती भौतारिरहेका जुम्ली जनताहरूको हो।
अविरल वर्षाका कारण कर्णाली राजमार्गको ठाउँठाउँमा पहिरो खसेर बाटो बन्द भएपछि दसैं मनाउन जुम्ला पुगेका उनीहरू आफ्नो कर्मथलो फर्किन जहाजको टिकट पाइन्छ कि भनी गरेको भिडभाड हो त्यो जुम्ला एयरपोर्टको दृश्य।
कहिले त्यो भिड जिल्ला प्रशासन कार्यालय तिर लाग्छ त कहिले जुम्ला एयरपोर्ट तिर। कहिले त्यही भिड निजी एयरलाइन्सका स्टेशन म्यानेजरहरूको घरतिर लाग्छ त कहिले टिकट दिने ट्राभल एजेन्सी चलाउँछु भन्दै कालोबजारी गर्नेहरूको पछि।
त्यही भिड टिकटको लागि एयरपोर्टदेखि जिल्ला प्रशासन कार्यालयसम्म नि लाग्छ।
बाहिरी जिल्ला हेर्दा लाग्छ होला 'आहा! कति रमाइलो।' तर पीडा के हो जहाजको टिकट नपाएर उज्यालो नहुँदै एयरपोर्ट धाउने जुम्ली जनता तथा जुम्ला-रारा घुम्न भनी गएका तर टिकट नपाएर एयरपोर्टमै अलपत्र परेका जनताहरूलाई मात्र थाहा छ।
दसैं तिहार लाग्दा निजी विमान कम्पनीहरूका जहाजहरू पूर्व जाँदा र भएको एउटा नेपाल वायु सेवा निगमको जहाजले पनि नियमित सेवा नदिँदा, कर्णाली राजमार्ग बाढी र पहिरोले बन्द हुँदा कर्णाली बासीहरूले दुःख खेप्नु परिरहेको छ।
जुम्लाको लागि दैनिक एक मात्र फ्लाइट छ। त्यो फ्लाइटको टिकट पनि ठूलाबडा, आफन्त, आसेपासेहरूले मात्र पाउने गरेका छन्। बाँकी रहेको टिकट कहिले प्रशासन त कहिले एयरपोर्टको टावर त कहिले एयरलाइन्सका कर्मचारी, कहिले ट्राभल एजेन्सी चलाउँछु भन्नेहरूले आफ्ना आफन्तहरूलाई मात्र दिन्छन्।
यता सुरक्षाकर्मीहरूले पनि सुरक्षा कडा गरेर एयरपोर्ट भित्र टिकटका लागि जान नदिँदा असली समस्या परेका बिरामी र परीक्षा दिन हिँडेका विद्यार्थीहरू धेरै मारमा पढेका छन्।
एयरपोर्ट भित्रैबाट फोनको सहायताले टिकट बाँड्ने, चिनेजानेका ठूलाबडा आफ्ना आफन्तहरूलाई मात्र एयरपोर्टभित्र बोलाउने र टिकटको लिस्ट तयार पार्ने जस्ता विकृतिहरू पहिलेदेखि जुम्ला एयरपोर्टमा मौलाइरहेका छन्।
वर्षको एक पटक आउने नेपालीहरूको महान चाड दसैं पनि अविरल वर्षाका कारण यो वर्ष उल्लासमय हुन सकेन। करिब एक हप्ताको अविरल झरीले साबिकको कर्णालीका जिल्लाहरूमा ठूलो जनधनको क्षति भयो। दसैं मनाउन घर गएकाहरू बर्से झरीले गर्दा ओडार र त्रिपालमा बास भयो।
करिब एक साताको अविरल वर्षाका कारण कर्णाली एवं जुम्ला जिल्लामा बाढी पहिरो गएर बाटो अवरुद्ध, खानेपानीको समस्याका साथै सञ्चार विहीन, डिजेल पेट्रोलको हाहाकार एवं दैनिक उपभोग्य सामाग्रीको अभाव भएको छ।
साबिकको कर्णाली एवम् जुम्ला जिल्ला करिब १० दिनपछि सञ्चार माध्यममा जोडिएको छ। बाढी पहिरोले साबिकको कर्णाली, जुम्ला जिल्लामा तहसनहस भएर आपत् विपद पर्दा पनि राज्य उदासीन देखिएको छ।
कर्णालीलाई परापूर्व कालदेखि नै सबैतिरबाट बेवास्ता गरिएको छ। कर्णालीका समाचारले प्राथमिकता पाउने पनि विरलै हुन्छ।
दसैंको खुसी आफ्ना आफन्तजनसँग साँट्न नपाउँदै कर्णालीबासीका दु:ख सुरू भए। साबिकको कर्णालीमा बाढी पहिरो मात्रै आएन, सुखी र खुसी साथ दसैं मनाउँला भनेका उनीहरूको लागि दु:खको बाढी नै आयो।
दसैं सकेर कर्मथलो फर्केनेहरू पैदलयात्रा गर्दै कालिकोटको डिल्लीकोट हुँदै महावु लेक काटेर दैलेख, सुर्खेतसम्म पुग्नुपर्ने भए पनि पहिरोले समस्या थपेको छ। यस्तो कर्णालीको नाजुक स्थिति हेर्दा लाग्छ कर्णालीमा विकास होइन, विनाशको बाढी नै आइराखेको छ।
अन्ततः यस्तो विषम् परिस्थितिमा कर्णाली तिर केन्द्रीय र प्रदेश सरकारको साथै विभिन्न मन्त्री र नेताहरूको जति सक्दो चाँडो ध्यान जानुपर्छ। बाढी पहिरोले क्षति पुर्याएका जनताहरूलाई राहतको बेवास्ता जति सक्दो चाँडो गरिदिनु पर्छ। कर्णाली राजमार्ग खुलाउने काम सरकारसँग जतिसक्दो चाँडो गरिदिनु पर्छ।
नेपाल एयरलाइन्स एवम् निजी वायुसेवा कम्पनीका जहाजहरूले पनि कर्णाली एवम् जुम्लामा दैनिक उडान भर्नुपर्छ। नेपाली सेनाले पनि आफ्ना विमान तथा हेलिकप्टरको सहायताले जति सक्दो चाँडो राहत तथा यात्रु ओसारपसार गरिदिनु पर्छ र कर्णालीमा यस्तो आपत् विपद पर्दा सेवा सुविधा दिनबाट जो कोही पनि पछि नहटी अघि सरेर कर्णालीलाई दुःख, चोट र समस्या पर्दा मलमपट्टी लगाउनु पर्छ।