शालिनी आज धेरै दिनपछि घरको बरण्डामा पारिलो घामसँगै निलो आकाश नियाल्दै छिन्। बगैंचामा फूलेका चमेलीका मगमग बास्नाले वातावरणमा अझै रौनकता थपिरहेको थियो।
टेबलमा तातो कफी अनि खैरो कलरको डायरी। डायरीको तल्लो बायाँपट्टि छेउमा ‘मानसी’ लेखिएको थियो। निकै लामो समयपछि मात्र उनले हातमा त्यो डायरी थमाएकी थिइन्। बैठक कक्षको टिभीबाट, आर्ट अफ लिभिङका अध्यात्म गुरू ऋषि नित्यप्राज्ञका भजन एक सुरले बजिरहेको, जुन बाहिर राम्रैसँग सुनिन्थ्यो।
‘मानसी,
भलै बाहिरी दुनियाँमा तिमी एउटा डायरी हौ, मेरो लागि त तिमी संसारकै सबभन्दा प्रिय मित्र हौ।
मान्छे कहिलेकाहीँ चाहन्छ कि उसको भावनाबिना कुनै भेद गरी सुनिदियोस्, मात्र सुनिदियोस्।
भरोसा गर्न सकियोस्, मन रित्तो बनाउन पाइयोस्। मैले त्यो सब तिमीमा पाएँ, मनको भारी बिसाउने चौतारी।
केही समय तिमीलाई आफ्नो बह पोख्न सकिनँ। किनकी समयको भुमरीले मैले कहिले नचिताएको दुनियाँमा पुर्यायो, जहाँ म हराएँ। नदेखिने मनको घाउले, म नराम्रोसँग थला परेँ। आज धेरै समयपछि ती सब घटना तिमीलाई पोख्न आएकी छु, नत्र यो मनको भारी लिएर जीवनको रथ कसरी अघि बढाउँ?’
कुरा डेढ वर्ष अगाडिको हो।
३-४ दिनअघि मात्रै भोज-भतेरमा रमाइलो गर्नुभएका एकजना निकै आत्मीय आफन्तको अकस्मात देहान्तको खबरपछि मन अस्थिर भयो। हजारौं प्रश्न मनमा उब्जिए। जीवनको अनिश्चचताको डरबीच हामी घेरिएका छौं।
शोकाकुल परिवारसँग कसरी बोल्ने, कसरी दुःखको माहोलमा आत्मीयता प्रदान गर्ने। कति संवेदनशील परिस्थिति हो यो। केही परे हामी छौ नि! मनलाई सम्हाल्नु है! भनी औपचारिकता लागि मात्रै बोलिने यस्ता शब्द बोल्न उचित लागेन। सके कामले सहयोग गर। नसके त्यस्तो क्षण मौन बस भन्ने कुरा ठिक लाग्यो।
शोकको घडी, यो एक नितान्त व्यक्तिगत पीडादायी क्षण हो। जसले बाँचुन्जेल कहिले पनि आत्मीयता प्रदान गरेनन्, तिनै व्यक्ति पार्थिव शरीरको फोटो फेसबुकमा राख्दै श्रद्धाञ्जली दिँदै थिए। ढिलोचाँडो यो पोस्ट कुनै दिन सन्तप्त परिवारले देख्लान् र त्यसले दिएको पीडाको अनुभव के तिनले गर्न सक्लान्?
विशेष कारणले काठमाडौं बाहिर जानुभएकाले यो दुःखद घटनाबारे बुबा अनभिज्ञ हुनुन्थ्यो। कोरोनाको त्रास यत्रतत्र थियो। फोनमार्फत बुबासँग कुरा भयो। त्यस बखत कसैसँग अनबन परेको कुरा सुनाउँदै हुनुहुन्थ्यो। कुरै कुरामा भन्न पुगे उक्त शोकको घटना। बुबा स्तब्ध हुनुभयो। पत्याउनै सक्नु भएन।
मैले भनेँ, ‘बुबा, हेर्नु त जीवन कस्तो अनिश्चित छ है। बुबा हामी सबैसँग मिलेर बस्नुपर्छ है। हामीलाई कसैले यस्तो उस्तो किन भन्ने पार्ने?’
कोरोनाले देशमा लकडाउन जारी भयो। अन्तर्राराष्ट्रिय उडान सबै ठप्प। विदेशमा लकडाउनका बीचमा अत्यावश्यक सेवा अन्तर्गतकै काम भएकाले मेरो काम यथावत् थियो।
‘आमा, बुबालाई चित्त दुखाउने कुरा कहिल्यै केही नभन्नु है। कहिले प्रेसर हाई हुँदा बुबाले कराउनुभयो भने चुप लाग्नु ल,’ धेरै बेर अन्यावश्यक कुरा गर्नुभन्दा थोरै चाहिने कुरा मात्र गर्छु जस्तो लागी यस्तै कुरा गर्थे आमासँग म।
कस्तो विरक्त लाग्दो समय, के यो संसार पहिलेजस्तो होला? शोकाकुल परिवार कति भए, परिवार क्षतविक्षत। उफ् !!!
‘बुवा कोरोना संक्रमित हुनु भयो रे!’
जसै यो खबर कानमा पर्यो, सन्त्रास छायो। अब के गर्ने, कसो गर्ने, अनि बाँकी परिवार? ‘सुरक्षित हुनु है, बुवालाई आइसोलेटेड राख्नु त भएको छ तर एक्लै बुवालाई त्यसै राख्दा बुवाको मनोबल घटला है, बुवालाई यो बुझाउन जरूरी छ ’ म भन्थे।
अस्पतालमा बिरामीको चाप बढ्दो, घरमा अक्सिजन जसोतसो बन्दोबस्त भयो। बुवाको अवस्था अत्यन्तै नाजुक हुदै गइरहेको थियो। जीवनको कठिन परिस्थितिमा कहिले त दिमागले काम नै नगर्दो रहेछ।
हिजोका दिनमा कोरोना केही पनि होइन, बेसार पानी खाए त निको भइहाल्छ नि जस्ता भाषण हाम्रो देशको तत्कालिन प्रधानमन्त्रीको थियो। बुबा पनि अस्पताल जाँदै नजाने अडानमा हुनुहुन्थ्यो। निमोनियाले शरीर झन्झन् बिग्रदो अवस्था थियो। बुबा आइसियूमा भर्ना हुनु पर्यो। कहाँ भनेजस्तो अस्पताल पाउनु? जहाँ जस्तो पायो, त्यहीँ कुरा ठूलो भयो। बुबाको मनोदशा कस्तो भयो होला? कति नकारात्मक विचार आए होलान्?
आइसियूमा भएका अरू बिरामीको शव त्यही हुन्थ्यो रे! चर्को शुल्क उस्तै, हाइजिन कुरा धेरै पर। बिरामीको अत्याधिक चापले अस्पताल कर्मचारीको व्यवहार पनि रूष्टजस्तो भान हुन्थ्यो। विकसित राष्ट्र समेत त्राहित्राहि बनेको बेला हाम्रो देशको स्वास्थ्य क्षेत्र किंकर्तव्यविमूढ अवस्थामा थियो। एउटा अस्पतालबाट अर्को सुविधासम्पन्न अस्पताल लैजान बुबाले लाख बिन्ती गर्नुभयो। दाँयाबाँया कुनै पनि अस्पताल खाली नभएपछि सबैले हरेश खानुभएछ।
झन्डै १०-१५ दिनपछि कोरोना नेगेटिभ आयो। तर पनि तत्काल डिस्चार्ज गर्न नमिल्ने भयो। जे होस्, आशा जागेर आयो। केही दिनमा बुबा पक्कै पनि घरमा हुनुहुनेछ।
दिन, हप्ता हुँदै महिना बित्यो। अस्पतालमा कुर्ने व्यक्तिको अति नै आवश्यक पर्न थाल्यो।
मैले बुझेँ, अस्पतालमा बिरामी कुरूवालाई पालो दिँदा मात्रै पनि कतिको सहयोग हुने रहेछ। संक्रमित परिवारको मनोदशा, आर्थिक संघर्ष, बिरामीलाई खाना पुर्याउनु, अनि डाक्टरका हरेक निर्देशनको चाँजोपाँजो मिलाउनु। यी सबै कुरा गर्न एकदमै हम्मेहम्मे पर्थ्यो। यो नेपालको प्रत्येक संक्रमित परिवारको हविगत नै थियो।
तब सोचेँ, जीवनमा यो महत्व राख्दैन कि फेसबुक, इन्स्टाग्राममा कति आफन्त मित्रहरू छन्। परेको बेला साथ सहयोग आत्मियता राख्ने केवल २-४ जना भए, त्यो नै लाख हो।
आइसियूमा फोन लैजान मनाही भए पनि बुबाले जिद्दी गरी मोबाइल साथमा राख्नुभएको थियो। मैले फोन गरेँ, 'बुबा हामी अर्को राम्रो अस्पतालको खोजीमा छौं है! बुबाको अवस्था एकदम राम्रो भइरहेको छ भनी डाक्टरले खबर गरिराख्नु भएको छ। केही आत्तिनु पर्दैन।’
म बुबाको मनोबल बढाउन चाहन्थेँ। मेरो फोनले उता नर्स नराम्रोसँग रिसाइछन्।
‘कस्तो कमनसेन्स नभएको मान्छे होला, आइसियूमा भएको बिरामीसँग पनि फोनमा कुरा गर्ने हो?।’
त्यसपछि कुरा गर्ने आँटै आएन। म्यासेज पठाएँ। नर्सलाई भनेर सुनाइदिनु भनेर।
‘उहाँलाई जसरी पनि निको हुन्छ’, हो म कदापी नकारात्मक सोच्ने पक्षमा थिइन।
झन्डै दुई महिना बित्दै थियो, बुबाको अवस्थामा सुधार आएन।
सन्ध्याकालिन समय थियो, एक अपरिचित व्यक्ति अनुहार पूरै ढाकेको व्यक्ति धारिलो चक्कु लिँदै निकै आक्रामिक भई मतिर आउँदै थियो। म डरले भाग्दै थिएँ। पसिनाले निथ्रुक भई सकेको थिएँ। थाहा थिएन म कहाँ पुग्छु, तर म भाग्दै थिएँ। अकस्मात् त्यो व्यक्ति मेरो सामु उभियो। त्यो व्यतिले धारिलो चक्कु लिएर हान्न मात्र के लागेको थियो, आतिदै, ‘बुबा मलाई मार्न लागे, बुबा मलाई बचाउनुस्।’
झल्याँस्स ब्युझेँ। कस्तो कहाली लाग्दो सपना थियो त्यो। बिहानको ४ बजेको थियो। यसो फेसबुक म्यासेन्जर खोलेँ।
एक म्यासेज आएको थियो। जसमा लेखिएको थियो, ‘शालिनी, जे नहुनुथ्यो त्यो भयो। हामीले बुबालाई बचाउन सकेनौं।’
यो हुनै सक्दैन, बुबाले यति चाडै हार मान्नै सक्नुहुन्न। मन भक्कानिएर आयो। छाती फुट्ला जस्तो भयो। मस्तिष्कमा बिताएका क्षणहरू बाढीको भेलझै उर्लेर आयो। जो व्यक्तिसँग जन्मदेखि नाता थियो। के अब म कहिल्यै भेट्न पाउँदिनँ? पश्चातापले मुटु छियाछिया भयो। कोरोनाले सबै उडान ठप्प थियो। अनि ठाउँ-ठाउँमा कर्फ्यू। विदेशको यो भूमी मलाई जेलझै लाग्यो।’
शालिनी लेख्दा लेख्दै त्यहि रोकिन्छे। फेरी ती क्षणले, उनी भक्कानिएर रून्छिन्। बाहिर वातावरणमा पनि सूर्य बादल पछाडि परेकोले पारिलो घाम अब बिस्तारै ओझेल पर्दै गइरहेको थियो। आफूलाई सम्हाल्दै शालिनी फेरी कलम समाउँदै लेख्न थाल्छिन्।
‘मानसी,
त्यो समय नभोगिएको शोकको दुनियाँ जुन सागर झैं अनन्त गहिरो थियो। जहाँ म नचाहेरै पुगेँ। भनिन्छ जाने मान्छे त गए, अब सम्झेर पटक-पटक रूनु उहाँको आत्मालाई बाधा अड्चन गर्नुझैं हो रे! जाने मान्छेको सामान दान गर्नुपर्छ रे! यस्ता थुप्रै अ रे! सुनियो। विगतमा मैले पनि कहि कसैलाई यस्तै भने होला। झस्स मनमा बिझ्यो।
के शोक प्रेम स्वरूप गरिने अन्तिम कार्य होइन र?
यसको कुनै सिमाबन्धन हुँदैन। सके जीवनभर चल्छ। एउटा मिठो माया र सम्झना बोकेर। म कल्पना गर्छु त्यो परलोक ज्यादै सुन्दर छ, जहाँ मेरो बुबा आफ्नो आमाबुवा अनि बुवालाई माया गर्ने नजिकका आत्माहरूको साथमा हुनुन्छ। आत्मा अज्जर अनि अमर छ। त्यसैले उहाँ हुनुन्थ्यो होइन, हुनुन्छ भन्ने छु।
मृत्यु स्वासत सत्य हो। दिन आएपछि, सबै एकदिन जानै पर्छ।
शोकपछि जीवन हेर्ने दृष्टिकोण फेरियो। सम्झेँ, आफन्त इष्टमित्रका घरका भित्तामा टाँगिएका दिवंगत प्रियजनका फोटा। सम्झेँ, थुप्रै प्रियजन गुमाउनु भएकी मेरी बज्यै, कति किम्तिको हाँसो थियो जुन सधैं अरूका लागि साच्थिन्। सम्झेँ, आफ्नी आमा गुमाएकी साथी, जसलाई कुन शब्द लिएर मैले सम्झाएँ या तिनको घाउ बल्झाएँ। सम्झेँ, आफूलाई जन्म दिने आमाबुबा, जसले आफ्नो मनको घाउ कहिल्यै बाहिर ल्याएनन्।
आफ्नो प्रियजनको बिछोडको पीडा आखिर सबैले लिएर हिँडिरहेका हुन्छन् नै। खेलमा हार्नु, जागिर जानु, घर नहुनु, पारिवारिक कलह सबै समस्या उपर शोकको पीडा हावी हुन्छ। आज आफ्नो प्रियजन स्वस्थ अनि सहिसलामत साथमा छन् भने त्यो व्यक्ति जस्तो भाग्यशाली अरू को हुन सक्छ र?
हामी गौतमबुद्ध जस्तो पनि त हुन सकेनौं! भौतिक संसारमा छौं र यो भोग्नुथियो, माया मोह बन्धनबाट मुक्त छैनौं र पीडामा छौं।
भनिन्छ, यदि परलोकमा जानेका निमि सहि रूपमा सम्मान गर्ने कुनै तरिका छ भने त्यो हो सहि रूप र अर्थपूर्ण पूरा जीवन बाँचेर देखाउनु। ठूला-ठूला दान अनि वर्षमा एक दिन श्राद्ध गरिँदैमा कर्तव्य पूरा हुँदैन। हामीले कस्तो भावना राख्छौ त्यसले महत्व राख्छ।
आफूले चाहे हरेक दिन, चाडपर्वमा सम्झन सक्छौ। सकारात्मक भाव अनि मिठा सम्झनाको साथमा।
हरेक मानिसलाई सहानुभूतीको खाँचो रहेको महसुस भयो, सबैप्रति क्षमाको भावले हेर्न थाले।
जीवन भोलिका लागी होइन वर्तमानमा बाँच्नका लागि हो। अनि जीवनप्रति कृत्यज्ञता भाव राख्न थाले।
हो मानसी, नभोगिएको शोकको दुनियाँले मलाई नयाँ स्वरूप दियो। दुःख सुख एउटै सिक्काका दुई पाटा हुन्, शोकलाई बिर्सेर म जीवनमा अगाडि पक्कै लाने छैन, जबसम्म जीवन छ, साथमा हुनेछ। मिठो सम्झना अनि मायाको स्वरूपमा।
तिमीलाई आफ्नो मनको भारी बिसाएँ। मन चंगा भयो। सार्है हलुको। अब त कोरोना लहरले शान्त स्वरूप लिएको छ, अन्तराष्ट्रिय उडान पनि खुल्दैछ।
ऋणको भारी बोकेर आएको यो परदेशबाट अब सदाको लागि बिदा हुँदै नेपाल, आफ्नो मातृभूमि जाने सोचमा छु। फेरि जीवनका नयाँ आयाम तिमीलाई पोख्नेछु, यो साथको लागि सधै आभारी छु, मानसी।’
यति लेख्दै लामो स्वास लिँदै शालिनी, आफ्नो डायरी बन्द गर्छिन्। टेबुलमा राखिएको कफी पनि चिसिसकेको थियो। फेरि तातो कफी खाने मनसाय राखी आफ्ना डायरी अनि कफी लिँदै बैठक नजिकको भान्छामा जान्छिन्।
बैठक कक्षको टि.भीमा तीनै गुरु ऋषि नित्यप्राज्ञ, जो गत कोरोनाको चपेटामा दिवंगत हुनुभयो, उहाँकै गीत एवं प्रकारले बजिरहेको थियो, पुरानो हिन्दि चलचित्रको नयाँ संस्करण गीत,
‘ये जीवन है
इस जीवनका
यही है, यही है, यही है रंग रूप
थोडे गम हैं, बहुती सी खुसीयाँ
यही है, यही है, यही है छाँव धूप
ये जीवन है…’